आलु, प्याज, फलफूल भने भारत र चीनकै भरमा
लुम्बिनी संवाददाता
बुटवल
तरकारीमा रहेको परिनिर्भरता हट्दै गएको छ । मूलुकभित्र व्यवसायिक तरकारी खेती बढेपछि आयात घटेको हो । बुटवलको थोक बजार केन्द्रमा गत आर्थिक वर्षमा आयात भएको हरियो तरकारीको मात्राले परनिर्भरता कम भएको संकेत गर्छ । विगतमा ७० प्रतिशतसम्म परनिर्भरता रहेको हरियो तरकारीमा अहिले जम्मा २८ प्रतिशतमात्रै आयात हुने गरेको छ ।
विगतका वर्षहरूमा हरियो तरकारीमा परनिर्भरता अत्याधिक थियो । स्वदेशी २० प्रतिशत मात्रै हरियो तरकारी थोक बजार भित्रिन्थ्यो । पछिल्लो केही वर्षदेखि सो मात्रा घट्दै गएको छ । गत आर्थिक वर्षमा तीन करोड ४७ लाख मेक्ट्रिक्टन हरियो तरकारी बुटवलको थोक बजारबाट बिक्री भएको थियो । यो बजारबाट लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरूमा तरकारी निर्यात हुने गर्छ ।
एक अर्ब ४८ करोडको तरकारी बुटवलबाट बिक्री भएको तथ्यांक छ । बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिको तथ्यांकअनुसार योमध्ये ७८ प्रतिशत तरकारी स्वदेशमै उत्पादन भएको हो । लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघ रूपन्देहीका महासचिव मेघनाथ पौडेलले हरियो तरकारीमा आत्मनिर्भरोन्मुख अवस्था रहेको बताए । ‘अहिले स्वदेशकै तरकारीले बजार भरिन्छ, आलु र प्याज भने अझै भारतकै भरमा छ ।’– उनले भने ।
बुटवलको थोक बजारमा करिव २२ जिल्लाबाट तरकारी आयात हुन्छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार सबैभन्दा बढी चितवनबाट हरियो तरकारी बुटवलमा आउने गर्छ । चितवनबाट खपतको १२ प्रतिशत तरकारी आउँदा दोस्रो धेरै सल्यानबाट नौ प्रतिशत तरकारी आउने गरेको छ । पाल्पाले आठ प्रतिशत, मकवानपुर, धादिङबाट बराबर ६ प्रतिशत र रूपन्देहीले पाँच प्रतिशत तरकारी बजार ओगट्ने गरेका छन् । पाल्पा र रूपन्देहीबाट आउने धेरै तरकारी सिधै हाटबजारमा खपत हुने गरेको छ । कञ्चनपुर, कैलाली, गुल्मी, अर्घाखाँची, धनकुटा, झापा, रोल्पा, काठमाडौं, बाँके, दाङ, सल्यानबाट बुटवलको थोकबजारमा तरकारी आउने गरेको लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघ रूपन्देहीका अध्यक्ष बाबुराम भुसालले जानकारी दिए ।
थोकबजारमा भित्रिने हरियो तरकारीसहित अन्य कृषि उपजमा भने भारतीय उत्पादनको दबदबा गरेको छ । गत आर्थिक वर्ष थोक बजारमा भित्रिएको ९१ करोड ७० लाख मेक्ट्रिक्टन कृषि उपजमा ५६ प्रतिशत भारतबाट आएको हो । २० प्रतिशत चीन र २४ प्रतिशत नेपाली उत्पादन भित्रिने गरेको छ । केरा र सुन्तला बाहेक थोक बजारमा भित्रिने फलफूलमा परनिर्भरता रहेको छ । स्याउ, अनार, अंगुरमा भारत र चीनको परनिर्भरता रहेको व्यवसायीहरू बताउँछन् । ९१ करोड ७० लाख मेक्ट्रिक्टन कृषि उपजमध्ये २६ प्रतिशत फलफूल हो । हरियो तरकारीको मात्रा ३८ प्रतिशत रहेको छ भने आलू प्याजले क्रमशः २५ र आठ प्रतिशत हिस्सा ओगट्छन् ।
गत आर्थिक वर्षमा आलु र प्याज आयातमा भने कमि देखिएको छ । आर्थिक वर्ष ०७५÷०७६ को तुलनामा गएको आर्थिक वर्षमा यी दुई वस्तुसहित फलफूल आयातमा कमि आएको छ । कोरोना महामारीका कारण करिव तीन महिना बजार प्रभावित भएपछि आयात कम भएको हो । हरियो तरकारी भने ६३ लाख मेक्ट्रिक्टनले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा थोकबजारमा दुई करोड ८४ लाख मेक्ट्रिक्टन हरियो तरकारी कारोबार भएको थियो । गत आर्थिक वर्षमा तीन करोड ४७ लाखको भएको छ ।
ड ४० लाख मेक्ट्रिक्टनले कमि आएको छ । समितिले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७५÷०७६ मा ३ करोड ७४ लाख ९९ हजार मेक्टिक्टन आलु थोक बजारबाट कारोबार भएको थियो । गत आर्थिक वर्षमा भने घटेर दुई करोड ३४ लाख २९ हजार मात्रै पुगेको छ ।
भारतले प्याज निर्यातमा गरेको रोकले स्वदेशी प्याजले बजार पाएको थियो । यी दुई वस्तु आयातमा कोरोना महामारीको प्रभावसमेत परेको व्यवसायीहरूले बताएका छन् ।
चालु आर्थिक वर्षका पहिलो चौमासिकमा भने भारतबाट हरियो तरकारी आयात भएकै छैन् । आलु भने काठमाडौं र सल्यानसहित भारतबाट आयात भएको छ । प्याज भारतबाटै आएको छ । लसुन चीनसहितका स्वदेशका जिल्लाबाट थोक बजारमा भित्रिएको छ । मालभोक केरा र सुन्तला भने स्वदेशमै उत्पादित थोक बजारमा पुगेको छ । एक लाख ३१ हजार मेक्ट्रिक्टन सुन्तला थोक बजारबाट बिक्री भएको तथ्यांक सञ्चालक समितिको रहेको छ । काचो नरिवल, भुईकटहर, केरामा भने अझै भारतीय परनिर्भरता रहेको छ ।
नेपालमा आयात हुने अधिकांश आलु उत्तरप्रदेशको हो । स्वदेशमा व्यवसायिक आलु खेती नहुँदा भारतीय परनिर्भरता रहेको व्यवसायीहरू बताउँछन् । लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघ रूपन्देहीका अध्यक्ष भुसालले व्यवसायिक उत्पादन गर्ने क्रम बढ्दै गए पनि अझै प्रयाप्त नभएको बताए ।