‘प्रचण्ड–माधवको सत्ता लोलुपताले मूलुक संकटमा’
लुम्बिनी संवाददाता
बुटवल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले सत्ता लोलुपताले आफ्नै पार्टीविरुद्ध लाग्दा मुलुक अहिलेको अवस्थामा पुगेको बताएका छन् । नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले पद लोलुपता देखाउँदा पार्टी एकता भंग मात्रै नभई मुलुक दुर्घटनामा पुगेको उनीहरूले बताए ।
नेकपा रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेताहरूले प्रचण्डको प्रधानमन्त्री र एकल अध्यक्ष लोभले अहिलेको अवस्था निम्तिएको बताए । आफ्नै अध्यक्षविरुद्ध संघीन, फौजदारी आरोप लगाउने, अविश्वासको प्रस्ताव खल्तीमा राखेर हिंड्ने काम वरिष्ट भनिएकै नेताहरूबाट भएको उनीहरूले प्रष्ट्याए । प्रचण्डले केपी ओलीलाई लगाएको आरोप पत्र फिर्ता भए अझै पनि एउटै पार्टीमा बस्न सक्ने अवस्था रहने नेताहरूले बताए ।
भेलालाई सम्बोधन गर्दै नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपालको पदीय महत्वाकांक्षाले जटिल अवस्था सिर्जना भएको बताए । ‘पदको लोभले मुलुक र पार्टीलाई अराजकतातर्फ धकेल्ने प्रयास भइरहेको थियो, प्रचण्डलाई प्रधानमन्त्री र पहिलो अध्यक्ष बन्ने लोभ, माधव कमरेडलाई महाधिवेशन हारेर पनि अध्यक्ष बन्नुपर्ने लोभ,’ उनले भने–‘लोभमा परेर मूलुक र पार्टीलाई अराजकतातर्फ लैजाने प्रयास थियो, प्रधानमन्त्री ओलीले त्यसलाई रोकेर जनतामा जाने निर्णय लिनुभयो ।’ प्रतिनिधिसभा विघटन बाध्यताको उपज भएको उनले बताए । उनले वरिष्ट नेताहरूबाटै पार्टीमाथि धारिलो खड्ग प्रहार भएको बताए । प्रचण्डले पहिलो अध्यक्षमाथि लगाएका संघीन, फौजदारी आरोप नै पार्टी विभाजनको आधार भएको उनले बताए । सहमति गर्ने र मसि सुक्न नपाउँदै उल्लंघन गर्ने प्रचण्डको अस्थिर मनोविज्ञानले पार्टी एकताको काम हुन नसकेको उनको जिकिर छ । उनले गल्ती स्वीकार गरेर मूल पार्टीमै फर्किन आग्रह समेत गरे ।
प्रधानमन्त्रीले संविधान अनुरूप नै संसद विघटन गरेकाले पूनस्र्थापनाको प्रसंगै नरहेको उनले जिकिर गरे । बैशाखमा निर्वाचन गर्न अर्थ मन्त्रालयले बजेट व्यवस्थापनको तयारी गरिरहेको भन्दै उनले कार्यकर्तालाई चुनावमा होमिन समेत निर्देशन दिए । ‘कोही अलमलमा हुनुहुन्छ भने अब ढुक्क भएर आउनुस्, मुलधारको नेकपा यही हो,’ उनले भने–‘दुई तिहाई मतसहित चुनाव जित्ने योजना बनाएर जनतामा जानुस् ।’ उनले माधव नेपाल र प्रचण्डलाई समेत चुनावमा आउन सुझाव दिए । संसद पुनस्र्थापना नहँुदासम्म सडकमै बस्छौं भन्ने अडानले जीवन नै त्यही बित्न सक्ने उनले टिप्पणी गरे ।
‘उहाँहरूले संसद पुनस्र्थापना नभएसम्म सडकमै हुन्छौं भन्नुभएको छ, मलाई उहाँहरू सडकमै हराउनुहुन्छ कि भन्ने चिन्ता छ,’ उनले भने–‘किनभने संसद पुनस्र्थापना हुने कुनै आधार नै छैन ।’ आफूहरू पनि संविधान निर्माणकर्ता भएको भन्दै पौडेलले संविधानमा संसद पुनस्र्थापना हुने विकल्प नहरेको जिकिर गरे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डलाई चुनावमा आएर प्रधानमन्त्री हुन चुनौति दिए । महाधिवेशन हारेर अध्यक्ष र चुनाव विनानै प्रधानमन्त्री हुन रहर गर्नेहरू आन्दोलनभन्दा चुनावमा आउनुपर्ने उनले बताए । ‘टिका लगाएर प्रधानमन्त्री र अध्यक्ष हुने अवस्था छैन, त्यसैले हिम्मत भए चुनावमा आउनुस् ।’– उनले भने ।
्रचण्ड÷माधव समूह कार्यकर्ताको नभई नेताहरूको झुण्ड मात्रै रहेकाले निर्वाचनमा जान हिम्मत नभएको उनले जिकिर गरे । ‘उहाँहरूमा निर्वाचनमा जाने हिम्मत छैन, त्यसैले हामी यहाँ छौं भन्दै सडकमा पुग्नुभएको छ,’ उनले भने–‘त्यहाँ नेतामात्रै छन्, कार्यकर्ता छैनन् ।’ अघिल्लो चुनाव जित्न प्रचण्डलाई ओलीको भाषण चाहिएको भन्दै आगामी निर्वाचन जितेर देखाउन चुनौति उनले दिए । नेता पोखरेलले नेपालको चुच्चे नक्सा जारी भएदेखि नै प्रधानमन्त्री ओलीविरुद्ध घेराबन्दी सुरु भएको जिकिर गरे । प्रचण्डले सरकारभित्र पनि सरकार चलाउने प्रयत्न गरेर असहयोग गरेको उनले बताए । प्रधानमन्त्री ओलीलाई असक्षम भनेर आरोप लगाउने प्रचण्डले एमाले खेमाभित्रको अन्तरविरोधमा खेलेर पार्टी कब्जा गर्ने रणनीति बनाएको उनको भनाइ छ । तर त्यो पक्षधरता लिएकाहरू खाडलमै फस्ने उनको जिकिर छ । स्थायी कमिटी सदस्य एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूलाई समिक्षा गरेर अघि बढ्न प्रचण्डलाई सुझाव दिए । ३३ वर्ष आफैले आफैलाई टिका लगाएर अध्यक्ष बनेको टिप्पणी गर्दै उनले अब उनको अधोगति सुरु भएको र खाडलमा फसेको बताए । ‘आफ्ना खल्तीबाट केन्द्रीय समिति निकाल्ने, चाकडी गर्नेलाई टिका लगाइदिने, नियुक्ती पनि आफ्नैलाई चाहिने,’ उनले भने–‘प्रचण्डलाई अझै कति अध्यक्ष चाहिएको हो ?’
प्रचण्डको रबैयाकै कारण पार्टी प्रति निष्ठावान विप्लप, बैद्य, बाबुरामहरू बाहिरिएको भन्दै अबको केही समयमै उनी एक्लै हुने जिकिर गरे । ‘चाकडी गर्नेहरूलाई माथि लैजाने, कार्यकर्तामा जानेहरूलाई तिरस्कार गर्ने छवि प्रचण्डको हो,’ उनले भने–‘अवसरवादीहरू अहिले उनीसंगै छन्, इमान्दारहरू पाखा लागे ।’
पार्टी प्यालेसमा गएर अध्यक्षको टिका लगाउने माधव नेपालले विधि र प्रक्रियाको कुरा गर्न नसुहाउने उनको टिप्पणी छ । पार्टी सञ्चालनको जिम्मा पाएका प्रचण्डको ध्यान नै प्रधानमन्त्रीको कुर्सी भएकाले एकताले मूर्तरूप पाउन नसकेको उनको भनाइ छ । ‘प्रचण्डहरूले अराजकतातर्फ धकेल्न लागेको मुलुकलाई प्रधानमन्त्री ओलीले अग्रगामी निर्णय गरेर जनतालाई सुम्पिनु भएको छ । प्रधानमन्त्रीको कदम अग्रगामी हो ।’– उनले भने । भेलामा नेकपाका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले अरू कुनै शक्तिबाट परिचालित भएर प्रचण्डहरू सरकारविरुद्ध र पार्टी विपक्षमा उत्रिएको बताए । प्रधानमन्त्रीले आत्मसाथ गरेको कदम साहसिक रहेको भन्दै उनले यसको विरुद्धमा रूवाबासी गर्नुको तर्क नभएको बताए । नेकपाका केन्द्रीय सदस्य दधिराम न्यौपानेले मर्ने बेला कमिलाको प्वाख आउने गरेको भन्दै प्रचण्ड माधवको हालत सोही अवस्थामा रहेको बताए ।
भेलामा केन्द्रीय सदस्य, भोजप्रसाद श्रेष्ठ, पुष्पाञ्जली उपाध्याय, केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष शिवराज सुवेदी, अनुप बराललगायतले सम्बोधन गरेका थिए ।