लुम्बिनी संवाददाता
बुटवल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा छ । आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै गर्दा प्रतिनिधिसभा विघटन भएपछि यो पार्टी विभाजित भएको हो । कानूनी रुपमा भने अझै एक नै रहेको छ ।
पार्टी दुई समूहमा बाढिएपछि सातै प्रदेशका सरकारहरुमा समेत यसको असर छ । दुई वटा प्रदेशका मख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अन्य प्रदेशमा नेताहरु तानातान र कारबाहीको शिलशिला चलिरहेको छ । यही क्रम चलिरहँदा लुम्बिनी प्रदेशमा हालकै मुख्यमन्त्री बलिया देखिएका छन् । अहिलेसम्म स्पष्ट बहुमत नदेखिए पनि अधिकांश सांसदहरु मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा रहेका छन् । पूर्व एमालेका सांसदहरु एकसाथ देखिएका छन् । एकाध सांसदमा अन्योलता रहेको नेताहरु बताउँछन् । पूर्व माओवादी पक्षका सांसदहरु विभाजित भएका छन् ।
केन्द्रीय नेतृत्वमा जस्तै प्रदेशमा पनि प्रभावशाली नेताहरु ओली पक्षमा देखिएका छन् । रुपन्देहीमा राम्रो पकड रहेका पूर्व माओवादीका नेता तथा नेकपाका रुपन्देही सह–इञ्चार्ज दधिराम न्यौपाने (माधव शर्मा) ओली पक्षमा खुलेरै लागेका छन् । उनी सुरुआती चरणमा प्रचण्ड–माधव खेमाको केन्द्रीय समिति बैठक र जिल्ला भेलामा पनि सहभागी भएका थिए । पार्टीभित्रको खास कुरो पत्ता पाएपछि आफू प्रधानमन्त्रीकै समर्थनमा आएको उनले प्रतिक्रिया दिएका छन् ।
लुम्बिनी प्रदेशसभाको संसदीय समितिका सभापति समेत रहेका सांसद न्यौपानेले पार्टी भित्रको किचलो स्वार्थका लागि रहेको बताए । न्यौपानेले प्रचण्ड र माधव नेपालहरु पदका लागि आफ्नै सरकारको विरुद्धमा उत्रिएको र जनमतको अपमान गरेको टिप्पणी गरे ।
‘म पनि पहिला उता (प्रचण्ड–माधव) पक्ष तिरै थिए । केन्द्रीय समितिको बैठकमा पनि गए, भेलामा पनि पुगे,’ उनले भने–‘कुरा बुझ्दै जाँदा त यो पदको लोलुपता पो रहेछ । अनि मैले वर्तमान सरकार पक्षमै उभिने निर्णय गरे ।’
प्रेस संगठन रुपन्देहीको शनिबार बुटवलमा भएको विस्तारित बैठकमा बोल्दै उनले थपे–‘म जस्तै धेरै साथीहरु अन्योलमा हुनुहुन्छ । केपी ओलीले गलत गरे भन्ने बुझाई पनि होला । तर यो त बाध्यताको निर्णय रहेछ । असंवैधानिक भन्ने त गलत प्रचार पो रहेछ ।’ नेकपाका तमाम कार्यकर्ताहरु भ्रममा रहेको भन्दै उनले सबैलाई ओपी पक्षमा खुलेर आउन आग्रह समेत गरे ।
आफ्ना मान्छेलाई राजदूत, मन्त्री बनाउन नपाउँदाको छटपटीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको भन्दै उनले पार्टीलाई परिवार केन्द्रित बनाउन नहुने टिप्पणी गरे । ‘न नीतिमा भिन्नता छ, न सिद्धान्तको लडाई छ, उहाँहरु (माधव–प्रचण्ड) सडकमा किन आउनु भयो भन्ने प्रश्नको त उत्तर नै रहेनछ,’ उनले भने–‘बुझ्दै जाँदा आफू र आफ्ना मान्छेले पद नपाउँदाको पीडा पो रहेछ ।’ उनले मुलुक समृद्ध बनाउने मताधिकार पाएको पार्टीलाई प्रचण्ड–माधवहरुले नै अहिलेको स्थितिमा पुराएको दाबी गरे ।
पद पाउनका लागि सडकमा उत्रिन सक्ने नेताहरु जनताका एजेण्डाको विषमा कहिल्यै नबोलेको उनले बताए । ‘पार्टीको सचिवालय, स्थायी, केन्द्रीय कमिटीमा कहिल्यै पनि जनताका मुद्दाहरुका विषयमा छलफल भएनन्, खाली पदकै बार्गेनिङ भए,’ उनले प्रश्न गर्दै भने–‘यस्तो पनि हुन्छ ?’ आफूले ४० वर्षअघिदेखि निरन्तर पार्टीको झोला बोकेर हिँडेको भन्दै आदर्श राजनीति गर्नेहरु ओली पक्षमै रहने बताए ।
उनले प्रचण्ड–माधव एकसाथ हुन मिल्ने भए ओली–बादल, शंकर–दधिराम पनि एकै स्थानमा उभिन मिल्ने तर्क गरे । अहिले सिद्धान्त र नीतिको लडाई नभएको भन्दै कार्यकर्तालाई भ्रममा नपर्ने उनले आग्रह गरे । प्रतिनिधिसभा कुनै हालतमा पुनस्र्थापना नहुने जिकिर गर्दै उनले कार्यकर्तालाई गोलबद्ध भएर निर्वाचनको तयारीमा लाग्न आग्रह समेत गरे ।
एकताबद्ध हुन पत्रकारहरुलाई आह्वान
प्रेस संगठन रुपन्देहीले विद्यमान राजनीतिक परिस्थितिका कारण अल्मलिएका सबै पत्रकारहरुलाई संगठनमा एकतावद्ध हुन आह्वान गरेको छ । विषम परिस्थितिका कारण अल्मलिएका र अन्यौलमा रहेका पत्रकारहरुलाई पेशागत हक अधिकारको रक्षाका लागि प्रेस संगठनमा एकताबद्ध भएर भूमिका खेल्न आह्वान पनि गरेको छ । साथै बैठकले सरकारका राम्रा कामको समर्थन गरी सकारात्मक प्रचार गर्ने र नकारात्मक कामलाई खबरदारी गर्ने निर्णय पनि गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपाका नेताहरुले मुलुक विषम राजनीतिक परिस्थितिबाट गुज्रिएकाले प्रेस संगठनमा आवद्ध पत्रकारहरुको जिम्मेवारी र भूमिका अरु बढेको बताएका छन् ।
नेकपाका केन्द्रीय सदस्य, रुपन्देही इञ्चार्ज एवं लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा गरेको संसद विघटनलाई जनतामाझ बुझाउने काम पत्रकारहरुको रहेको भन्दै यसतर्फ रचनात्मक भूमिका खेल्न आग्रह गरे । उनले भागवण्डा र स्वार्थको राजनीतिले देशलाई अस्थिरतामा लैजान नहुने भन्दै यसका लागि भ्रम चिरेर अगाडि बढ्नुपर्ने दायित्व पत्रकारहरुको काँधमा आएको बताए । नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही अध्यक्ष शिवराज सुवेदीले मूल घर छाडर जानेहरु कमजोर भएपछि स्वतः फर्किने भन्दै स्पष्ट विचार र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने र पत्रकारहरुले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।
नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागार्इंले प्रेस संगठनलाई एकताबद्ध बनाएर जनतामाझ छरिएका भ्रम चिर्नुको विकल्प नरहेको भन्दै नीति, सिद्धान्त र विचारलाई आत्मसात गर्नहरु कहिले पनि विभाजित नहुने बताए ।
बैठकमा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, प्रेस संगठनका केन्द्रीय सदस्य एवं पत्रकार महासंघका प्रदेश उपाध्यक्ष भरत केसी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, प्रेस संगठन रुपन्देहीका संयोजक अमृत गिरी, सदस्य लक्ष्मण पौडेललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सफल पार्न सक्रियतापूर्वक सहभागिता जनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले उपयुक्त समयमा संगठन रुपन्देहीको बिस्तारित भेलाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
नेकपाका केन्द्रीय नेता बुटवलमा
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा केन्द्रीय नेताले सम्बोधन गर्ने भएका छन् । नेकपा रुपन्देहीले आज बिहान ११ बजे अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
पार्टी भित्र देखिएको विशेष परिस्थितको यथार्थता जानकारी गराउने उद्देश्यसहित भेला आयोजना गरिएको नेकपा रुपन्देहीले जनाएको छ । भेलालाई नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य एवं उर्जा मन्त्री टोपबहादुर रायमाझी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
नेकपाले भेला अघि १६ वटै पालिकामा विस्तारित बैठक सम्पन्न गरेको छ । अगुवा कार्यकर्ता भेलापछि पछिल्लो राजनीतिक उतारचढावको विषयमा जनतालाई जानकारी गराइने बताइएको छ ।