बुटवल । स्वास्थ्यकर्मीमाथि बिरामी कुरूवाले हातपात गरेको छ दिन बित्दासमेत दोषीमाथि कारबाही नभएको विरोधमा लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् ।
ड्युटीमा खटिइरहेका डाक्टर र प्यारामेडिक्सहरूलाई आक्रमण हुँदासमेत दोषीलाई कारबाही नभएको विरोधस्वरूप स्वास्थ्यकर्मीले बिहीबारदेखि अस्पतालमै धर्ना शुरू गरेका हुन् ।
गत पुस १० गते राति अस्पतालको आकस्मिक कक्षमा बिरामी कुरिरहेका बिरामीकै छोराले अस्पतालको इमर्जेन्सी विभागका एक जना डाक्टरलाई हातपात गरेको र अन्य तीन जना प्यारामेडिक्सहरूलाई अपशब्द बोलेको भन्दै अस्पताल प्रशासनले प्रहरी समक्ष उजुर गरेको थियो ।
छ दिन बित्दा समेत उजुरी उपर प्रहरीले कुनै पनि कारबाही अगाडि नबढाएको विरोधमा आकस्मिक कक्षमा काम गर्ने डाक्टर, प्यारामेडिक्स तथा कर्मचारीहरूले बिहीबार आकस्मिक कक्षमा धर्ना दिएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए । डाक्टर तथा कर्मचारीहरू सुरक्षाको माग गर्दै धर्नामा बसेको प्रवक्ता डा. गौतमले बताए ।
दमको जटिल समस्या देखिएका बिरामीलाई उनका छोराले अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए । जाँचपछि डाक्टरले बिरामीलाई तत्काल भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा बेड खाली नभएको जानकारी दिँदै गर्दा उनले हातपात गरेको स्वास्थ्यकर्मीहरूले बताए । डाक्टरलाई हातपात गर्ने कुरूवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासनमा गएको र प्रशासनले प्रहरीमा उजुरी दिए पनि कुनै कानूनी कारबाही प्रक्रिया अघि नबढ्दा आफुहरू आन्दोलित हुन बाध्य भएको अस्पतालमा धर्ना दिइरहेका स्वास्थ्यकर्मीहरूले बताए । चिकित्सकमाथि हुने प्रहार आफुहरूलाई मान्य नभएको र हातपात गर्नेमाथि कानूनी कारबाही हुनु पर्ने स्वास्थ्यकर्मीले माग राखेका छन् ।
गत पुस १० गते ११ बजे राति उपचारको लागि अस्पतालमा ल्याईएका बिरामीका आफन्तले ड्यूटीमा रहेका चिकित्सकलाई हातपात गरेको उनीहरूले बताए ।बिरामीका कुरूवा अनुराग रसाइलीले ड्युटीमा रहेका एक जना चिकित्सक र तीन जना प्यारामेडिकलाई हातपात गर्नुको साथै अपशब्द बोलेको धर्नामा खटिएका स्वास्थ्यकर्मीले बताए ।
बिहीबार पहिलो दिन इमर्जेन्सी विभागमा कार्यरत चिकित्सक र कर्मचारी गरी ५० जनाले धर्ना दिएका थिए