प्रेम सुनार
गुल्मी ।
केन्द्रदेखि स्थानीय तहसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ता आरोप–प्रत्यारोपमा लागिरहेका बेला गुल्मीमा पनि दुवै समूह आ–आफ्नो पक्ष बलियो देखाउने प्रयासमा लागेका छन् ।
गुल्मीका १२ वटा पालिकामा नेकपाका अहिले रहेका अध्यक्ष र सचिवमध्ये सात अध्यक्ष र १० सचिव प्रचण्ड नेपाल पक्षमा देखिएका छन् भने अरू ओली पक्षमा देखिएका छन् । नेकपाबाट प्रतिनिधित्व गर्ने जिल्लाका वडाध्यक्षहरूमा पनि दुवै समूहले आफ्नो पक्षका वडाध्यक्षहरू बढी रहेको दाबी गरेका छन् ।
जिल्लाबाट नेकपाको केन्द्रीय कमिटी र प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने, प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएका पदाधिकारीहरू तथा नेकपाबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने तथा स्थानीय तहमा पार्टीको तर्फबाट नेतृत्व गर्ने व्यक्तिहरूको आधारमा गुल्मीमा आफ्नो पक्ष बलियो देखिएको प्रचण्ड नेपाल पक्षको दाबी छ भने ओली पक्षले पनि आफ्नो पक्ष बलियो भएको दाबी गरेको छ ।
पार्टीको केन्द्रीय कमिटीमा जिल्लाबाट चार जनाले प्रतिनिधित्व गर्छन् । जसमध्ये गोकर्ण विष्ट, दिनेश पन्थी र रामकुमारी झाँक्री गरी तीनजना प्रचण्ड नेपाल पक्षमा छन् भने प्रदिप ज्ञवाली ओली पक्षमा रहेको नेकपाका लुम्बिनी प्रदेश कमिटी सदस्य युवराज केसीले जानकारी दिए । जिल्लाबाट चारजना संघीय सांसद रहेका छन् । जसमध्ये गोकर्ण विष्ट र रामकुमारी झाँक्री प्रचण्ड पक्ष र प्रदिप ज्ञवाली र मैना भण्डारी ओली पक्षमा रहेका छन् ।
नेकपाको लुम्बिनी प्रदेश कमिटीमा गुल्मीका ११ जना छन् । जसमध्ये आठजना प्रचण्ड–नेपाल पक्षमा छन्, दुईजना ओली पक्षमा रहेका छन् भने एक जना तटस्थ देखिएका छन् । युवराज केसी, बुद्धि जिसी, निकलण्ठ गौतम, लिला थापा, सुदर्शन बराल, वीरबहादुर कार्की, निमबहादुर केसी र गणेश विश्वकर्मा प्रचण्ड पक्षमा छन् । त्यस्तै मधुकृष्ण पन्थ र मैना भण्डारी ओली पक्षमा देखिएका छन् भने नर्मदा भण्डारी तटस्थ रहेकी छिन् । गुल्मीबाट कुल पाँच जना लुम्बिनी प्रदेशसभा सदस्य छन् । जसमध्ये दिनेश पन्थी, सुदर्शन बराल र गीता थापा गरी तीन जना प्रचण्ड पक्षमा छन् भने खड्ग केसी र कमलराज श्रेष्ठ ओली पक्षमा रहेका छन् । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षहरूमध्ये १३ जना प्रचण्ड नेपाल पक्षमा छन् भने एकजना ओली पक्षमा देखिएका छन् भने दुईजना तटस्थ रहेका छन् । रेसुङ्गा र मुसिकोट नगरपालिका, इस्मा, मदाने र मालिकाका अध्यक्ष–उपाध्यक्ष, धुर्कोट गाउँपालिका अध्यक्ष, रूरूक्षेत्र गाउँपालिका अध्यक्ष तथा चन्द्रकोट गाउँपालिका उपाध्यक्ष प्रचण्ड नेपाल पक्षमा देखिएका छन् । स्थानीय तहबाट गुल्मीमा छत्रकोट गाउँपालिकाका अध्यक्ष ओली खेमामा लागेका छन् । छत्रकोट र रूरूक्षेत्र गाउँपालिका उपाध्यक्षहरूको बारेमा अझै खुलेको छैन । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली प्रचण्ड पक्षमा छन् भने उप प्रमुख तुलसी देवी श्रेष्ट ओली पक्षमा देखिएकी छिन् ।
नेकपा गुल्मीमा सात सदस्यीय जिल्ला कार्यालयको समूह छ । जसमा पार्टी सचिव वीरबहादुर कार्की, भुपाल पोखरेल, हिरा एसी र ज्ञानकुमार बुढा मगर गरी चार जना प्रचण्ड नेपाल पक्षमा छन् भने पार्टी अध्यक्ष मधुकृष्ण पन्थ, बालसिंह काउछा र कृष्ण सुनार गरी तीन जना ओली पक्षमा छन् । नेकपा गुल्मी जिल्ला कमिटी ४९ सदस्यीय छ । जसमा ३० जना प्रचण्ड पक्षका १९ जना ओली पक्षमा रहेका प्रचण्ड पक्षका नेता युवराज केसीले जानकारी दिए । त्यस्तै १ सय ४६ जनाको जिल्ला कमिटीमध्ये एक सयभन्दा बढी प्रचण्ड पक्ष र ४६ जना ओली पक्षमा छन् ।
नेकपाले जिल्लाका सबै पालिकामा इञ्जार्चसहित अध्यक्ष र सचिव तोकेको थियो । जसमध्ये ६ पालिकाका इञ्चार्ज प्रचण्ड–नेपाल पक्ष, ४ पालिकाका इञ्चार्ज ओली पक्ष तथा दुई पालिकाका पार्टीका इञ्चार्ज तटस्थ देखिएका छन् । नेकपा रेसुङ्गा नगरपालिकाका इञ्चार्ज अशोककुमार थापा, चन्द्रकोट गाउँपालिकाका इञ्चार्ज चित्रबहादुर के.सी., गुल्मी दरबार गाउँपालिकाका इञ्चार्ज यमबहादुर पाण्डे, कालीगण्डकीका इञ्चार्ज तेजेन्द्र सलामी मगर, मदाने गाउँपालिकाका इञ्चार्ज वेगम चन्द र मालिका गाउँपालिकाका इञ्चार्ज ज्ञानकुमार बुढा मगर प्रचण्ड पक्षमा रहेका छन् ।
छत्रकोट गाउँपालिका इञ्चार्ज विष्णु पौडेल, रूरूक्षेत्र गाउँपालिकाका इञ्चार्ज हिमाल श्रेष्ठ, सत्यवती इञ्चार्ज अमर सिंजापति तथा धुर्कोट इञ्चार्ज कृष्ण घिमिरे ओली पक्षमा रहेका छन् । मुसिकोट नगर इञ्चार्ज जीवन खरेल र इस्मा गाउँपालिकाका इञ्चार्ज दलबहादुर विक तटस्थ रहेका छन् ।