भैरहवा । नेकपाको बहुमतको सरकार कमजोर बनाउन मन्त्रीहरू नै लाग्नु देशका लागि दुर्भाग्य भएको लुम्बिनी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् ।
भैरहवामा आयोजित नेपाल कम्युनिष्ट पार्टी सिद्धार्थनगरको विस्तारित भेलालाई सम्बोधन गर्दै मन्त्री गिरीले प्रधानमन्त्री केपी ओली नेतृत्वको बहुमतको सरकार कमजोर बनाउनका लागि सरकारमा सहभागी मन्त्रीहरू नै लागेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इञ्चार्ज समेत रहेका मन्त्री लिला गिरीले भूकम्पले धरहरा तहसनहस भएको, थुप्रै संरचना गुमाए पनि ओली सरकारले पुनः निर्माण गरी सम्पन्न हुने अवस्थामा पुग्नु देशका लागि सुखद अवसर भएको बताए ।
विगतमा नाकाबन्दीमा ओली सरकार डटेर देशका लागि लडेको बताउँदै उनले यो सरकार देश र जनताको सरकार भएको दाबी गरे । केही मन्त्रीहरू नै ठेक्का पट्टामा लागेका कारण देशले दुःख पाएको उनले बताए ।
पार्टीको चुनाव चिन्ह सूर्य यहीं नेकपाले नै पाउने दाबी गर्दै गिरीले यदि यो पार्टीले सूर्य चुनाव चिन्ह र पार्टीको नाम नपाए कसैले पाउन नसक्ने दाबी गरे । यो पार्टी सहमतीमा चलाउने निर्णय भएको बताउँदै उनले पार्टीको प्रथम अध्यक्ष र महासचिव भएका कारण पनि सबै अधिकार यहीं पार्टीलाई भएको बताए ।
कार्यक्रममा वक्ताहरूले सरकारका राम्रा कामको सहयोग नगर्नेहरू सच्चा कम्युनिष्ट हुन नसक्ने बताए ।
आफ्नै पार्टीले गरेका राम्रा कामहरूको जनतामाझ प्रचार गर्नुको सट्टा आफ्ना स्वार्थ केन्द्रित काम गरी ठूलो कम्युनिष्ट पार्टीलाई फुटाउनतर्फ लाग्नु दुर्भाग्य भएको बताए ।
राष्ट्रले उठाएका सही कदमको पछि नलागी विदेशीको इसारामा चल्नेहरू कुर्सीका लागि सधै लालायित भएको उनीहरूले बताए । नेकपाका जिल्ला कमिटी सदस्य, नगर सह–इञ्चार्ज तथा सिद्धार्थनगर नगरपालिकाका कार्यपालिका सदस्य प्रेम सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू राजेन्द्रप्रसाद पन्थी, प्रेम गुरूङ, हितराज पन्थीलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पम्फावति खनाल, प्रदेश विभाग सदस्य डासुराम पाण्डे, नेकपा जिल्ला सदस्यहरू उमा अधिकारी, डिजाइन थापा, क्षेत्रीय सदस्य उमेश थापा, अनेरास्ववियूका केन्द्रीय सदस्य सरोज ठकुरी, भीम भण्डारी, सिद्धार्थनगर नगर कमिटी सदस्य कुमार गुरूङलगायतको आतिथ्यता रहेको थियो । सिद्धार्थनगर नगरकमिटी सदस्य लक्ष्मी पाण्डेको स्वागत मन्तब्य र सिद्धार्थनगर नगर कमिटी सदस्य चक्रबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।