राधिका भुसाल
प्यूठान ।
तत्कालिन बाइसे चौबीसे राज्यअन्तरगत प्यूठानको राजधानी भित्रीकोट दरबारलाई पर्यटन विकास गर्न ‘घुम्न जाऊँ भित्रीकोट अभियान’ सुरु गरिएको छ । भित्रीकोटलाई पर्यटकीय गन्तव्य बनाउन अभियान थालिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।
‘आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउन अभियान सुरु गरेका छौं,’ नगर प्रमुख कक्षपतिले भने–‘साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक नगरका रूपमा यसलाई स्थापित गर्नका लागि विभिन्न योजना निर्माण गरिएको छ ।’ अभियानका क्रममा नगरभित्रका सबै पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने गरी कार्यक्रम हुने उनले बताए ।
भित्रीकोट क्षेत्रमा रहेका १७ मुख्य गन्तव्यलाई आधार मानेर दरबारको जीर्णोद्धारको काम भैरहेको उनले बताए । विसं १९९० को भूकम्पले भत्किएको दरबार अहिले जीर्ण अवस्थामा छ ।
अहिलेसम्म १४ करोडको लागतमा डीपीआर भएको छ । सोहीअनुसार पैदल मार्ग, ढुङ्गा बिच्छाउने र सिँढी निर्माण लगायतका काम भइरहेको उनले जानकारी दिए । यो दरबार भुरेटाकुरे राजाको पालामा बनेको मानिन्छ । यस क्षेत्रमा जिल्लाका आन्तरिक पर्यटक पुग्ने गरेका छन् । विभिन्न चाडपर्वमा पूजाआजा गर्न स्थानीयको समेत यहाँ लर्काे लाग्ने दरबारका हेरालु ७९ वर्षीय ढालबहादुर थापा मगरले बताए । दरबार क्षेत्रमा दुर्गादेवी मन्दिर, ऐतिहासिक तरबार छन् । यहाँबाट जिल्लाको सुन्दर झिमरूक फाँट, हिम श्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । दरबार क्षेत्र नजिकै पार्क समेत बनाइएको छ । भित्रीकोटमा चन्द्रवंशी राजाले राज्य सञ्चालन गरेको इतिहासमा उल्लेख छ । दरबार परिसरमा अझै केही संरचना निर्माण भएपछि हेरालुको व्यवस्था गरी प्रवेश शुल्क तोकिने मेयर कक्षतिले बताए । चौतर्फी रूपमा सडक पुगेपनि अझै पर्यटकलाई दिनभर घुम्नको लागि विभिन्न संरचना बनाउन बाँकी रहेको समेत जानकारी दिए ।