लुम्बिनी संवाददाता
बुटवल
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले संसदीय व्यवस्था लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै यसको खबरदारीका लागि जावफदेहितासहितको प्रतिपक्ष आवश्यक हुने बताएका छन् । मुलुकमा विरोधका लागि विरोध गर्ने प्रवृत्ति मौलाएको भन्दै यसले सही निकास दिन नसक्ने उनले बताए ।
निर्वाचन पर्यवेक्षण समिति नेपालको आयोजना र दैनिक लुम्बिनीको सहकार्यमा सोमबार बुटवलमा भएको लोकतन्त्र शसक्तिकरणका लागि संसदीय शासन प्रणाली र प्रतिपक्षको भूमिका विषयक अन्तत्र्रिmयामा बोल्दै मन्त्री गिरीले जो सुकै प्रतिपक्ष भए पनि पुरानो प्रवृत्तिमा सुधार गर्नुपर्ने बताए ।
सत्ता निरंकुश हुने डर रहिरहने भएकै कारण संसदीय व्यवस्थामा प्रतिपक्षको कल्पना गरिएको उनले बताए । तर त्यो प्रतिपक्ष विरोधका लागि विरोध गर्ने मात्रै नभइ विकल्पसहितका सुझाव दिने हुनुपर्ने बताए । ‘सत्ताले ल्याएका योजनामा असहमति हुँदा प्रतिपक्षले विकल्पसहित आउनुपर्छ, तबमात्रै नीति कार्यान्वयनमा सकारात्मक परिणाम आउँछ,’ उनले भने–‘तर हाम्रो मुलुकमा त्यसो हुन सकिरहेको छैन ।’ आफ्नै सत्ताको विरोध गरेर सरकार गिराउने घिनलाग्दो प्रवृत्ति देखिनु गलत रहेको बताउँदै यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । संसदीय व्यवस्थामा अस्थिरता वा निरंकुशता हुन लागे जनतामा मत लिन जानुको विकल्प नभएको उनको भनाइ छ । त्यस्तै लुम्बिनी प्रदेशसभाको संसदीय समितिका सभापति दधिराम न्यौपानेले सत्ता पक्ष र प्रतिपक्षमा लोकतान्त्रिक सचेतनाको जरूरी रहेको बताए । जो सुकै नेता सत्तामा गए पनि सामान्तवाद प्रवृत्ति देखाउने गरेको प्रसंग उल्लेख गर्दै उनले अब हरेकको चित्तबाट नै सामान्तवाद हटाउनुपर्ने बताए । ‘मान्छे मन्त्री हुनासाथ सर्वसत्तावादको हाबी हुने रहेछ, यसको अन्त्य हुनुपर्छ ।’– उनले भने । सरकारले गर्ने गलत प्रक्रियाको विरोध प्रतिपक्षले गर्नुपर्ने र सकारात्मक काममा सहयोग समेत गर्नुपर्ने उनले बताए ।
कांग्रेसकी सांसद रमा अर्यालले सत्तामा बस्नासाथ राजाप्रवृत्ति हाबी देखिनु नै गलत भएको बताइन् । प्रतिपक्ष कमजोर हँुदा सत्ता निरंकुश हुने गरेको उनको भनाइ छ । अहिलेको संकट पनि सोही प्रवृत्तिका कारण भएको उनले बताइन् ।
कांग्रेसका महासमिति सदस्य युवराज गिरीले शासन व्यवस्था प्रति इमान्दार भए समस्या समाधान हुने बताए । वर्तमान अवस्थामा सत्तारूढ दलले नै प्रतिपक्षको अधिकार खोसेको उनको भनाइ छ । उनले संविधानमा प्रधानमन्त्रीय प्रणालीलाई संकुचन गरेको अनुभूति भएको उनले बताए । मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले सत्ता र प्रतिपक्ष दुवै आफ्नो जिम्मेवारीबाट चुक्दा लोकतन्त्रको चिरहरण भइरहेको बताए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले जनप्रतिनिधिमा लोकतन्त्र प्रतिको आस्था कमजोर रहेको बताए ।
यवस्था प्रति नै अविश्वास गर्ने दलहरू लोकतान्त्रिक हुन नसकेको उनको भनाई छ । राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय प्रमुख सम्झना शर्माले सरकारले मानव अधिकार संरक्षणको जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै यसमा प्रतिपक्ष समन्वय हुनुपर्ने बताइन् । राष्ट्रिय जनमोर्चाका रूपन्देही सल्लाहकार पदम श्रेष्ठले सत्ता र विपक्षीहरूमा नैतिकता र इमान्दारिताको अभाव देखिएको बताए । पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले वर्तमान समयमा मिडिया बाहेक अरू कोही प्रतिपक्ष नदेखिएको बताए । प्रतिपक्ष स्वार्थमा सत्तासंग जोडिने प्रवृत्ति देखिएको उनले बताए । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पर्यवेक्षण समितिका सदस्य राजाराम बर्ताैलाले सत्ता जहिले पनि निरंकुश हुने र त्यसलाई रोक्ने भूमिका प्रतिपक्षको रहने बताए । दुबै पक्षमा जनता सार्वभौम हुन भन्ने कर्तव्यबोध हुनुपर्ने उनको भनाइ छ ।
सिद्धार्थ पब्लिकेशन प्रा.लि. एवं दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाईंले संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रवृत्ति पुरानै रहेको बताए । प्रतिपक्षभन्दा सत्तापक्षका समूह नै प्रतिपक्षको भूमिकामा देखिंदा सरकारले काम गर्न नसक्ने प्रवृत्ति मौलाउँदै गएको उनले बताए ।
पर्यवेक्षण समितिका अध्यक्ष बद्रिप्रसाद सिलवालको अध्यक्षता, दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिसीको स्वागत र यज्ञ अर्याललको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।