आर बी निश्चल

नेपालको पश्चिमी भागमा अवस्थित लुम्बिनी प्रदेशमा पर्ने सुन्दर पहाडी जिल्ला पाल्पाका विभिन्न दशवटा स्थानीय तहमध्ये रिब्दीकोट गाउँपालिका पनि एक हो । साविकका ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाविस मिलेर बनिएको यस गाउँपालिकाको नाम भने एउटा प्रसिद्ध लेक ‘रिब्दीकोट’को आधारमा गरिएको छ । साविकका गाविसहरू अहिले वार्डमा रूपान्तरित गरिएको यस गाउँपालिकाको पूर्व र उत्तरमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका र दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन् । प्राकृतिक, धार्मिक , ऐतिहासिक तथा साँस्कृतिक विविधताका दृष्टिले यो गाँउपालिकामा पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको देखिन्छ । बाहुन, क्षेत्री, जनजाति र दलितजातिको बसोबास रहेको यो गाउँपालिकाको कार्यालय रिब्दीकोट—३ खस्यौलीमा रहेको छ ।

रिब्दीकोट गाउँपालिका चिनाउने प्रमुख पर्यटकीय गन्तव्यलाई प्राकृतिक महत्त्वका पर्यटकीय गन्तव्य र धार्मिक तथा ऐतिहासिक महत्त्वका पर्यटकीय गन्तव्यको रूपमा विभाजन गरि उल्लेख गर्नु सान्दर्भिक हुन्छ । हुन त प्राकृतिक महत्त्व बोकेका पर्यटकीय गन्तव्यको धार्मिक तथा ऐतिहासिक महत्त्व नहुने भन्ने होइन । तथापि मानवनिर्मित संरचनाभन्दा पनि प्राकृतिक भौगोलिक बनावट र मनोरम दृश्यका कारण पर्यटकीय गन्तव्य बनेका यस्ता स्थानको बेग्लै महत्त्व हुन्छ र कहिलेकाहीँ यी दुवै विषय परस्पर गाँसिएर आउन पनि सक्छन् । त्यस्तै, अहिले पर्यटकको मुख्य आकर्षण रहेका स्थानविशेषको मात्र चर्चा गर्दा पर्यटकीय सम्भावना बोकेका अन्य कतिपय महत्त्वपूर्ण स्थानविशेष छुट्ने भएकोले यहाँ सम्भावित पर्यटकीय गन्तव्यको बारेमा पनि उल्लेख गर्ने प्रयत्न गरिएको छ । रिब्दीकोट गाउँपालिकामा रहेका यस्ता प्रमुख पर्यटकीय गन्तव्यमा भैरव मन्दिर र जलेश्वर मन्दिर हुन् । त्यस्तै रिब्दीकोट लेक, रिङ्सिङ पहाड , छुन्फान डाँडा , छत्रदेव मन्दिर र सेल्फी डाँडो, योगीकुटी मन्दिरलगायतका स्थान प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेका स्थान हुन् । यीमध्ये केही पर्यटकीय गन्तव्यको बारेमा यस आलेखमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।

पाल्पा भैरव मन्दिर

‘रिब्दीकोट’ लेकको नामका आधारमा गाउँपालिकाको नामकरण हुनुअगावै पाल्पा भैरव मन्दिर प्रख्यात रहेको हो । यो मन्दिर रिब्दीकोट गाउँपालिकामात्र नभई पाल्पा जिल्ला नै चिनाउने एउटा प्रमुख धार्मिक एवम् ऐतिहासिक पर्यटकीय गन्तव्य हो । रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानमा अवस्थित यो मन्दिर जिल्ला सदरमुकाम तानसेनबाट ९.५ किलोमीटर पश्चिममा पर्दछ । चारैतिरबाट शिखरिँदै गएको डाँडोको टाकुरो जो अन्तमा समतल छ त्यहीँ यो मन्दिर रहेकोे छ । समुद्र सतहबाट १४७० मिटर उचाइमा रहेको यो मन्दिरको परिसरले ११ रोपनी ४ आना ३ दाम क्षेत्रफल ओगटेको छ । यसका अलावा ५४ रोपनी ३ आना १ पैसा २ दाम क्षेत्रफल भएको जग्गा मन्दिरले चर्चेको छ । मुकुन्द सेन प्रथमले वि.सं. १५१५ मा मच्छेन्द्रनाथको विहारको पटाङ्गिनीमा रहेको भैरवको मूर्ति ल्याई स्थापना गरेका थिए । यसैलाई पाल्पा भैरव भनिन्छ । यहाँ वर्षभरी नै भक्तजनको घुइँचो लाग्दछ ।

भैरव मन्दिर

पाल्पा भैरवमा भक्तजनले आआफ्नो मनोकांक्षा पूरा होस भनी वर माग्ने र भाक्कल गर्ने चलन छ । यहाँ मागिएको वर पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । आफूले भाक्कल गरेको कुरा पछि मन्दिरमा चढाउने गरिन्छ । यहाँ भाक्कल पूजाका साथै क्षमा पूजा र पञ्चबलि पूजा हुने गर्दछ । चामलको पिठोमा चिनी, ल्वाङ, नरिबल, सुकमेल आदि राखेर बनाइएको बिशेष प्रकारको रोटी जसलाई ‘रोट’ भनिन्छ, प्रसादीको रूपमा यहाँ चढाइन्छ । रोट कुनै मानाका त कुनै पाथीका हुन्छन् । यहाँ नित्य पूजा हुन्छ र अखण्ड धुनी चल्दछ । यस मन्दिरमा गोरखनाथ सम्प्रदायका योगीबाट पूजा गर्ने प्रचलन छ । खासगरि वैशाख , मंसिर र नवदूर्गाको बेला भक्तालुको घुइँचो लाग्ने यस मन्दिरको तल्लो तला (गुफा) मा रहेको खास भैरव मूर्तिलाई पुजारी बाहेक अरुले हेर्न नहुने मान्यता रहिआएको छ । अनौठो पूजाविधी रहेको यो मन्दिरमा दिनको करिब ३ बजेतिर पुजारीले रातो कपडाले मुख छोपी, दाहिने हातका औँलाहरूमा फूलपाती सिउरीएर जलघडाको मुखलाई पनि रातो कपडाले छोपी दाहिने काँधमा बोकी कसैसँग नबोली, सोही ठाउँको प्राचीन जय धाराबाट जल लिएर आउने र जल मन्दिरमा भित्रिएपछि भक्तालुको पूजा नलिइने तथा उक्त जल भोलिपल्ट नित्य पूजाको लागि प्रयोग गरिने श्री भैरव मन्दिर व्यवस्थापन समितिद्वारा प्रकाशित ब्रोसरमा उल्लेख गरिएको छ ।

पाल्पा भैरव मन्दिर धार्मिक, साँस्कृतिक, ऐतिहासिक, आर्थिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको छ । यो मन्दिर धार्मिक रूपले हिन्दूहरूको महत्त्वपूर्ण गन्तव्य त हुँदै हो साथै, यसको सम्बन्ध सेन वंशका राजा रूद्र सेनका सन्ततिसँग जोडिएको तथा राज्य विस्तारका अनेक प्रसंग जोडिएको हुनाले यसको ऐतिहासिक महत्त्व र सन्दर्भ दर्शिन्छ । यहाँ प्रचलित फागू नाच, लाखे नाच, लोक भजन आदि साँस्कृतिक दृष्टिले महत्त्वपूर्ण छन् । भेटीबाट उठ्ने रकमका दृष्टिले यसको आर्थिक महत्त्व झल्किन्छ । त्यस्तै, यहाँबाट उत्तरका अग्ला–अग्ला चाँदीझैँ टल्किने हिमालका साथै सेरोफेरोका हरिया पर्वतमाला पनि अवलोकन गर्न सकिने भएकोले पर्यटकीय दृष्टिले यो ठाउँ अति महत्त्वपूर्ण मानिन्छ । यहाँ सुनौलो, ठूलो ऐतिहासिक त्रिशुल छ जुन एशिया महादेशकै सबैभन्दा ठूलो त्रिशुलको रूपमा प्रसिद्ध रहेको छ । त्यस्तै मल्लकालीन कलाले सुसज्जित गजुरले मन्दिरको शोभा बढाएको छ । यस मन्दिरको पश्चिमपट्टि अनेक सुन्दर फूलले सुसज्जित मणिमुकुन्द सेन (प्रथम ) फूलवारी रहेको छ जहाँ पर्यटक तस्वीर लिन व्यस्त देखिन्छन् ।

भैरव मन्दिरसम्म पुग्नको निम्ति सार्वजनिक यातायात सेवा उपलब्ध छ । तानसेन ( तम्घास सडक खण्डको भैरवस्थान लोकमार्गमा ओर्लिएर करिब १० मिनेट पैदल हिँडेपछि मन्दिर पुग्न सकिन्छ । कार, जीप, मोटरसाइकल जस्ता निजी सवारी साधन लिएर पनि मन्दिरसम्म पुग्न सकिन्छ । यो मन्दिरसम्म पुग्नको निम्ति पूर्व, पश्चिम र दक्षिण गरि ३ वटा प्रवेशद्वार छन् । पूर्व र पश्चिमबाट प्रवेश गर्दा करिब १० मिनेट पैदल यात्रा गर्नुपर्ने हुन्छ । यहाँ पैदल यात्राको निम्ति सिमेन्ट लगाएर बनाइएका सिंँढीहरू छन् भने दक्षिणतिरको प्रवेशद्वारबाट सवारी साधन लिएर जान सकिन्छ ।

जलेश्वर मन्दिर

रिब्दीकोट गाउँपालिका ५ कुसुमखोलामा अवस्थित जलेश्वर मन्दिर पनि पर्यटनका दृष्टिले महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने देखिएको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब २२ किलोमिटर पश्चिम र भैरवस्थान मन्दिरदेखि करिब १२ किलोमिटर पश्चिम–दक्षिणमा रहेको यो मन्दिर वडा नं ७ को बतासे बजारबाट करिब डेढ किलोमीटर दक्षिणमा पर्दछ । बतासे–ठिमुरे सडक खण्डको देब्रे साइडमा रहेको यो मन्दिरमा महाशिवरात्रीमा मेला लाग्दछ । यो स्थान एउटा प्रसिद्ध वनभोज स्थल पनि हो । यस मन्दिरमा चढाइएको एउटा घण्टमा सम्बत १९८० साल माघ २८ उल्लेख गरिएको देखिएकोले मन्दिर अझ पुरानो हुनुपर्छ भन्ने लाग्दछ । यो मन्दिरको गूठीको नाममा ६५ रोपनी जग्गा रहेको छ । त्यस्तै, यो क्षेत्र साविकका ७ वटा गाविसको खानेपानीको मुहान रहेको क्षेत्र पनि हो ।

यो मन्दिर स्थापना हुनुपछाडी केही किंवदन्ती पाइन्छन् । एउटा विश्वासअनुसार बालपुरी स्वामी पूजाका निम्ति दिनदिनै रिडी गै नुहाउने र जल लिएर आउने गरेकोमा उनलाई दुः ख नहोस् भनी एकरात सपनामा जलेश्वरले दर्शन दिई दीक्षा दिएको र बालपुरी स्वामीले चिम्टा गाडेर जल निकालेको भनाई प्रचलित छ । यहाँ अखण्ड धुनी जलाइन्छ र निभ्न दिइएको छैन । ५२ धुनीमध्ये यहाँको धुनी जेठो मानिन्छ । यहाँ महाशिवरात्रीमा मेला लाग्दछ । मेलाको दिनमा हिन्दू हरूका आराध्य देव शिवजीलाई प्रसन्न पार्नका निम्ति भाङ,धतुरो हालेर प्रसाद तयार पारिन्छ । पन्चामृतमा पनि थोरैमात्र भए पनि भाङ मिसाइएको हुन्छ र सबैलाई त्यो प्रसाद बाँडिन्छ । भजनकृतनका साथै नाचगान गरेर रमाइलो गरिन्छ ।

जलेश्वर मन्दिर प्राकृतिक तथा धार्मिक दुवै दृष्टिले महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । प्राकृतिक दृष्टिले यो ठाँउ रमाइलो स्थानमा छ भने धार्मिक दृष्टिले महाशिव रात्रीमा यहाँ मेला लाग्दछ । जलेश्वर मन्दिरलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन अहिले गाउँपालिकाले विशेष ध्यान दिएकोले यहाँ मन्दिरको पुनः निर्माण र नवनिर्माणका साथै शिव पार्वतीको मूर्ति र शिवलिङ्गको स्थापना गरिएको छ । निर्माणाधीन १०८ धाराले मुक्तिनाथ पुगेको झल्को दिनेछ । यहाँ जैविक महत्त्वका साथै आर्थिक आम्दानी हुन सक्ने विभिन्न विरुवा रोपिएको छ । यस हिसाबले जलेश्वर मन्दिर आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण रूपमा अघि बढ्ने देखिएको छ । जङ्गलको बीचमा खुला ठाउँमा मन्दिर अवस्थित् रहेकोले यहाँको वातावरण शान्त छ । एकान्त स्थानमा मन्दिर रहेको हुनाले ध्यान, तपस्याका दृष्टिले यो ठाँउ उपयुक्त रहेको छ । बिहानको समयमा जंगली पशुपक्षी जस्तै मृग, स्याल, कालिज आदि देख्न सकिन्छ । पर्यावरणको दृष्टिले पनि यो ठाउँ महत्त्वपूर्ण रहेको छ ।

यहाँ पुग्नको निम्ति सार्वजनिक यातायात सेवा उपलब्ध छ । हार्थोक( छहरा सडकखण्डको बतासे बजारमा ओर्लिएर करिब आधी घण्टा पैदल हिँडेर पनि यहाँ पुग्न सकिन्छ । सडक छेउ नजिकै रहेको हुनाले ठिमुरे जाने जिपहरूबाट पनि यहाँ पुग्न सकिन्छ । यहाँ पुग्नको निम्ति ग्राभेल गरिएको सडक उपलब्ध छ र निजी सवारी साधन लिएर पनि यहाँ पुग्न सकिन्छ ।

रिब्दीकोट लेक

रिब्दीकोट गाउँपालिकाको ५ नं वडा कुसुमखोला र ६ नं वडा ठिमुरेको संगमस्थलको रूपमा रहेको यो लेक तानसेनबाट करिब २४ किलोमिटर पश्चिम–दक्षिण तथा गाउँपालिकाको कार्यालय खस्यौलीबाट झण्डै ७ किलोमिटर पश्चिम–दक्षिण अनि वार्ड नं ७ को कार्यालय बतासे बजारबाट झन्डै ३ किलोमीटर दक्षिणमा रहेको छ । समुद्री सतहबाट १८९३.५ मिटर उचाइमा रहेको यो लेक रिब्दीकोट गाउँपालिकाको सबैभन्दा अग्लो लेक हो । ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण यो लेकबाट सेनवंशीय शासन सुरु भएको मानिन्छ । यस डाँडामा धर्मपाल सेनले ई.सं. १४२९ तिर पाल्पा राज्यको स्थापना गरेको इतिहासमा उल्लेख पाइन्छ । यहाँको ऐतिहासिकताका सन्दर्भमा केन्द्रीय तथ्यांक विभाग, तथ्यांक कार्यालय , पाल्पालाई उधृत गरी जलेश्वर मन्दिरमा झुन्ड्याइएको र्यागजिन पेपरमा यस्तो लेखिएको छ—“भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेनले पैयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ– साविकको फेक गाविस वडा नंं ४ मा लामो समयसम्म बसी पछि रिब्दीकोट–साविकको कुसुमखोला, पालुङमैनादी र ठिमुरे गाविसहरूको साँधमा आफ्नो स्वतन्त्र राज्य स्थापना गरे । तानसेन आउनुअघि सेन वंशीय राजाहरू शिलाङ्थोकको नजिक रहेको पुरानकोट (साविकको भैरवस्थान गाविस)लाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख पाइन्छ । वि सं १३६३ मा तुथारय सेनदेखि प्रारम्भ भई चन्द्र सेनका छोरा पाल्पा राज्यको सँस्थापक मानिने सेन वंशका दशौँ पुस्ताका राजा रुद्र सेनले वि सं १५६३ मा पाल्पा राज्यको स्थापना गरेका थिए । मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौ, धनकुटा भोजपुरसम्म पाल्पा राज्यको विस्तार गरेको पाइन्छ । झण्डै ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजाहरूमध्ये पछिल्ला पृथ्वी सेनको पालामा बहादुर शाह र भिमसेन थापाको चतु¥याइँले पाल्पा राज्य वि सं १८६१ मा नेपाल राज्यमा गाभियो ।”

यहाँबाट चारैतिरको रमणीय दृश्य देख्न सकिन्छ । अग्लो स्थानमा रहेको हुनाले रातको समयमा बुटवलको झिलीमिलीका साथै भारतको गोरखपुरसम्म र त्यहाँ रेल चलेको देख्न सकिने भनाइ रहेको छ । यस ठाउँमा निर्माणाधीन मौसमको भविष्यवाणी गर्ने राडारले गर्दा पनि पर्यटकीय आकर्षण झनै बढेको छ । ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण ठाउँ भएर पनि यसको प्रचारप्रसार त्यति हुन सकेको देखिदैन । रिब्दीकोट लेकलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यहाँ एउटा संग्रहालय निर्माण गरि ऐतिहासिक महत्त्वका सामग्री संकलन गरेर प्रदर्शन गर्न सकिन्छ । साथै, नजिकै मगरजातिको बाहुल्य रहेको बस्ती हुनाले यो ठाउँलाई साँस्कृतिक गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । मगरजातिमा प्रचलित ठूलो नाच, कौरा नाच, झ्याउरे नाच आदि साँस्कृतिक महत्त्वका नाचगान समेतलाई समेटेर होमस्टेको व्यवस्था गर्न सकिएमा यहाँ आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । यसको निम्ति रिब्दीकोट लेक छेउछाउका बस्तीमा होमस्टेको व्यवस्था गर्नुका साथै प्रचारप्रसार गर्नु आवश्यक देखिन्छ ।त्यस्तै, पुरात्तात्विक महत्त्वको यस कोटको संरक्षण गर्नुका साथै ऐतिहासिक अध्ययन हुनु जरुरी छ । यस ठाउँको उत्खनन गरेर पाल्पाली इतिहासमा नयाँ आयाम थप्न सकिन्छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न आवश्यक पूर्वाधारको निर्माण गरि प्रचार प्रसार गर्नुपर्ने देखिन्छ ।

यहाँ पुग्नको लागि बतासे–ठिमुरे मोटरबाटो हुँदै करिब १०÷१५ मिनेट ग्राभेल गरिएको कच्ची सडकमा यात्रा गर्नुपर्छ । बतासे बजारबाट करिब १ घण्टा पैदल हिँडेर पनि यहाँ पुग्न सकिन्छ । निजी सवारी साधन लिएर पनि यहाँ पुग्न सकिन्छ ।

(रिब्दिकोट गाउँपालिकाले पर्यटन प्रर्बद्धनको लागि आयोजना गरेको लेख प्रतियोगितामा प्रथम हुन सफल लेखको सम्पादित अंश)