(कैन्डिड सन् १७५९मा पहिलोपटक प्रकाशित भएको भोल्टेयरको चर्चित उपन्यास हो । विश्वका चर्चित कृतिहरूमध्येमा गनिने यो फ्रेन्च उपन्यासको अनुवाद फणिन्द्र प्रसाद उपाध्यायले गर्नुभएको थियो । यसको प्रकाशन विसं.२०२३ सालमा तत्कालिन रायल नेपाल एकेडेमीले गरेको थियो । पाहुरका पाठकलाई क्लासिक रचनाहरूको पठन गराउने उद्देश्यले यो अंकदेखि यस अनुवाद धारावाहिक प्रकाशन गरिनेछ ।
बौद्धिक जागरण युगका महान् हस्तीमध्ये एक भोल्टेयरको चिनारी तत्कालिन रायल नेपाल एकेडेमीका भाइस–चान्सलरले पुस्तकको प्रकाशकीयमा यसरी दिएका छन्— “ईसवी अठारौं शताब्दीको यूरोपीय साहित्य–जगत्का महान् रत्न भोल्टेयरका अनेकानेक कृतिहरूमध्ये प्रस्तुत उपन्यास पनि एउटा सर्वश्रेष्ठ रचना मानिन्छ । भोल्टेयर कानून, व्यवस्था, शिक्षा, साहित्यका विधा आदिका अत्यन्त प्रभावशाली आलोचक र मार्ग निर्देशकमात्र थिएनन्, बरन् त्यस युगका एक महान् कवि, आलोचक, नाटककार र कथाकार पनि थिए । उनको निर्भीकताका कारण उनले ‘बेस्टील’जस्तो नारकीय बन्दी–गृहमा मात्र पर्नु परेन अपितु स्वदेशबाट निष्कासितसमेत हुनुप¥यो । उनको यस्तो महान् व्यक्तित्व र प्रतिभाको प्रत्यक्ष दर्शन उनको यस असाधारण उपन्यासमा पनि हुन्छ ।
भोल्टेयरको युग काइदा–कदर र प्रत्युत्पन्न–बुद्धिमत्ताको युग थियो । उनको प्रभाव केवल फ्रान्समा मात्र होइन, उनको जीवन कालमै इग्लैण्डसमेतका श्रेष्ठतम नाटककार र कविहरूसमेतमा पर्यो । त्यस युगको कुनै पनि यस्तो व्यक्तित्व थिएन जो आफ्ना कृतिमा भोल्टेयरको प्रतिक्रिया जान्न उत्सुक नहोस् र त्यसबाट अनुप्रेरित नहोस् ।”)

भाेल्टेयर

(१६९४—१७७८)

पहिलो परिच्छेद
सुन्दर ग्राम–निवासमा क्यान्डिडको लालन–पालन र त्यहाँबाट उसको निष्काशन

वेस्टफालियामा व्यारन थन्डर–टेन–ट्रोङखको ग्रामनिवासमा अत्यन्त सुखद शिष्टताद्वारा नियतिले नै आशीर्वादित एक जना तरुण केटोको पनि खान–पान र रहन सहनको कृपापूर्ण बन्दोबस्ता गरिएको थियो । उसको चरित्रको अध्ययन उसको अनुहारबाट गर्न सकिन्थ्यो । उसमा गम्भीर विवेचनाका सँगसँगै प्राकृतिक सादगी पनि मिसिएको थियो, र त्यसै कारणले मलाई लाग्दछ, उसको नाम क्यान्डिड राखिएको होला, त्यस परिवारका पुराना नोकर–चाकरहरूले त्यसलाई व्यारनकी आफ्नी बहिनीले त्यसे छिमेकको एकजना योग्य भलाद्मीसँगको गुप्त सहबासबाट जन्माएको छोरो भन्ने शंका गर्दथे, जसलाई ती तरुणी महिलाले कहिल्यै पनि धार्मिक रीतिअनुसार आफ्नो पति रोज्न स्वीकार गरिनन् किनभने उसले तीन बीस एघार पुस्ताको मात्र प्रमाण पेश गर्न सकिन् र उसको परिवारका वंशावलीको शेष भाग लपेटामा परी विनष्ट भैसकेको थियो ।
ती व्यारन वेष्टफालियाका अत्यन्त प्रभावशाली भद्र पुरुषमध्येका एक जना थिए किनभने उनको भवनमा एउटा ढोका र कैयौं झ्यालहरू थिए र उनको ठूलो बैठक साँच्चिनै, तसबीर लेखिएका कीमति लुगाले सिंगारिएको थियो । उनी शिकारमा जाँदा उनकहाँ भएभरिका कुकुर सेवामा प्रयुक्त गरिन्थे र उनको सयसले प्रचेतकको काम गर्थे । त्यस गाउँका पुजारी उनको निजी पुरेत थिए । गाउँका सबैले उनलाई ‘हजूर राजा’ भनी सम्बोधन गर्थे र उनले गरेको हास–परिहासमा नहाँस्ने पनि कोही थिएन ।

आफ्ना शरीरको चार मन पन्ध्र सेर जतिको मासुको पहाडले यिनकी धर्मपत्नी व्यारनेस्लाई वरपर छिमेकका निकै धाक रवाफ त उपलब्ध भएकै थियो त्यसमा पनि यिनले भोज इत्यादिमा आमन्त्रितहरूको भव्य खातिरदारी गरिदिंदा यिनका आदरमा झन् वृद्धि भयो । यिनकी सुपुत्री क्यूनेगोन्ड सत्र वर्षकी मत्तकाशिनी महिला थिइन् जसको त्वचारको रंग ताजा र गुलाफी थियो, ओह ! अत्यन्त मनोहारिणी मैयाँ व्यारन्का छोरा हरेक दृष्टिमा आफ्ना बुवाका सुयोग्य पुत्र थिए । यिनका गुरु प्यानग्लस् त्यस परिवारमा विद्वत्ताका सबै कुरामा साधिकार पण्डित मानिन्थे, र तरुण क्यान्डिड आफ्नो वय र चरित्र सुभल कति पनि शंका नगर्ने विश्वासले यिनको पाण्डित्यपूर्ण शिक्षा–दीक्षालाई तल्लीन भएर सुन्दथ्यो ।
प्यानग्लस्— दर्शन, ब्रम्हविद्या, ब्रम्हाण्ड विद्या र अरु यस्तै प्रकारका गूढ विज्ञानको अध्यापन गर्दथे । उनले यो कुरा कसैले पनि खण्डन गर्न नसक्ने गरीकन प्रमाणित गरेर देखाई सकेका थिए कि कारण बेगर कार्य हुँदैहुँदैन, र सम्भव संसारहरूमाको सर्वोकृष्ट यस संसारमा श्रीमान् व्यारनको ग्राम नै निवास सर्वसुन्दर भवन थियो र उच्चकोटिका सम्भव महिलाहरूमध्ये श्रीमती व्यारनेस् नै अत्युत्कृष्ट महिला हुनुहुन्थ्यो ।

उनको तर्कको प्रवाह यसरी सलसली बग्थ्यो— संसारको बन्दोबस्त अर्थात् नियतिको सिर्जना जे जस्तो किसिमले भएको छ, त्यसभन्दा अरु कुनै पनि भिन्न प्रकारले हुनै सक्दैनथ्यो किनभने प्रत्येक कुराको सिर्जना एउटा अभिप्रायलाई मनन गरी गरिएकोबाट यहीं निष्कर्षमा पुगिन्छ कि हरेक कुरो उत्कृष्ट उद्देश्यका परिपूर्तिका लागि सृजित भएको छ । हेर— हाम्रा नाक चश्मा लगउनका लािग सृजित भएका हुँदा हामीहरू चश्मा लगाउँदछौं । स्पष्टतः गोडाको निर्माण वृचिशको निम्ति गरिएको हुँदा हामी तिनलाई पहिरहन्छौं प्रकृतिले ढुंगाहरू बुट्टा कुँद्न र घर बनाउनका पैदा गरिन् र त्यसै कारण हाम्रा मालिकको यस्तो अत्यन्त सुन्दर महल छ, किनभने वेस्ट फालियाका सर्वश्रेष्ठ व्यारनको अत्यन्त भव्य निवास हुनै पर्दछ । र, सुंगुरहरू खाइनाका लागि पैदा भएका हुँदा हामीहरू वर्षभर स्वादसँग तिनको मासु खान्छौं । यसबाट यहीं सार निस्कन्छ कि सब कुरा ठीक छ मात्र भन्नेहरू वाहियात कुरा गर्दछन्, तिनीहरूले त सब कुरा अत्याधिक कुशलताका निमित्त प्रबन्धित छ भन्नुपर्दछ ।

क्यान्डिडले ध्यानपूर्वक निशंक भएर सुन्यो किनभने उसलाई मैयाँ क्यूनेगोन्ड अत्यन्त सुन्दरी लाग्थिन् तर उनलाई यो कुरा भन्ने आँट उसलाई कहिल्यै पनि आएको थिएन । उसले आफ्नो मनमा निश्चय ग¥यो कि सौभाग्यको पराकाष्ठा प्रथमः व्यारन्थन्डर–टेन–ट्रोङख र त्यसपछि मैयाँ क्यूनेगोन्ड भएर जन्नम पाउनुमा नै रहेछ । दोस्रो सौभाग्य चाहिं ती सुन्दरी मैयाँलाई प्रतिदिन देख्न पाएर टाढैबाट तिनको अपूर्व सुन्दरता पिउन पाउनुमा र कदाचित् त्यस्तो सुअवसर नमिले प्यानग्लस जस्ता गुरुको विद्वतापूर्ण व्याख्यान सुन्न पाउनुमा नै छ, जो वेस्टफालियाका सर्वश्रेष्ठ दार्शनिक हुनु भएको कारणबाट नै संसारका श्रेष्ठ दार्शनिक हुनुहुन्छ ।

एकदिन क्यूनेगोन्ड आफ्नो बुबाका महल निकटको पार्क भनिने एउटा सानो कुञ्जमा विहार गरिरहेकी थिइन् यसै बखत पण्डित प्यानग्लसले आफ्नी मुमाकी एउटी सुन्दरी सानो गाँठीकी रक्तवर्ण केटीलाई प्रायोगिक दर्शनमा अध्यापन गराइ रहेकी उनले देखिन्, जो यस अध्यापन कार्यका निमित्त अत्यन्त उत्तम थिई । मैयाँ क्यूनेगोन्डलाई विज्ञानमा अधिक रुचि भएको हुँदा, तिनले त्यस प्रयोगलाई बराबर दोहोर्याइएको सास रोकेर अत्यन्त मोहित हुँदै हेरिरहिन् । पण्डितका ‘पर्याप्त कारणलाई’ उनले स्पष्टरूपेण निहारिन् र कार्य र कारणको पनि हृदयमा टिप्पणी गरिन् । त्यसपछि खल्बलिएको मन लिएर घोरिंदै, प्रशिक्षित हुने आतुर इच्छाले उद्दीप्तहुँदै उनी घर फर्किन् र आफुले तरुण क्यान्डिडसँग र उसले आफूसँग उत्तिकै राम्ररी तर्कगर्न सक्ने कुराको कल्पना गरिन् ।

घर फर्कदाँ बाटामा उनले क्यान्डिडलाई भेटिन् र गुलाफी लाजले निहुरिन् । क्यान्डिड पनि अकस्मात लज्जित भयो । उसलाई शिष्टाचार गर्दा उनको आवाज भावनाले घाँटीमै अड्क्यो, क्यान्डिडले पनि चेतनाविहिन झैं भएर उनीसँग कुरा गर्यो । भोलिपल्ट भोजन गरेर बाहिर निस्कँदा क्यूनेगोन्ड र क्यान्डिड दुवैको पर्दा पछिल्तिर भेट भयो । क्यूनेगोन्ड्ले आफ्नो रुमाल खसालिन् र क्यान्डिडले त्यसलाई टिप्यो । उनले अत्यन्त सरल भावले उसको हात समातिन् उसले पनि उत्तिकै सरल भावले अपूर्व सुन्दरता र उत्कटताका साथ तिनका हातमा म्वाई खायो । तिनका ओठ मिले, तिनका आँखा दीप्त भए, तिनका घुँडामा कम्प भयो र दुवैका हातले छिनभर पनि शान्त नरहीकन खोजे, त्यसै बखत पर्दानेरबाट गुज्रिरहेका व्यारन थन्डर–टेन–ट्रोङखले कार्य र कारण दुवै देखे र क्यान्डिडलाई पिठ्यूँमा जोडसँग दुइ चार लात कसेर घरबाट तत्कालै धपाइदिए । क्यूनेगोन्ड मूर्च्छा परिन् र होस फिरेपछि श्रीमती व्यारनेस्ले खूबसँग उनको कान निमोठिन् । यस प्रकार सम्भव प्रासादमाको सबभन्दा सुन्दर र सबभन्दा सुखदायी प्रासादमा छिनभर हल्लीखल्ली निर्बाध शासन रह्यो ।

दोस्रो परिच्छेद
बलगारका दोस्तानले क्यान्डिडको नतीजा

त्यस पार्थिव स्वर्ग त्यसरी निर्वासित भएपछि आफ्नो गन्तव्यको ठेगानै नगरी क्यान्डिड यत्र–तत्र डुल्दै हिंड्यो । उनका पद पदका प्रगतिको सँगसँगै उसका आँखाबाट बर्बरी आँसु झर्दथे ऊ कहिलेकाहीं शून्य, सहानुभुति रहित आकाशतिर हेर्दथ्यो तर ऊ बराबर सर्वाधिक सुन्दर घरतर्फ नजर फिराउँथ्यो जसमा व्यारन्की छोरीहरूमाकी सबभन्दा हृदयहारिणी चाहिं बस्तथिन् । रातमा ऊ जोतेका खेतको ड्याङमा सुत्यो अब बाक्लो तुषारो जोडले परिरहेको थियो र उसँग खाने कुराको अभावले उसको दुर्भाग्य अत्यन्त असहनीय भएको थियो । भोलि बिहान जाडो र भोकले आधी प्राण भएको र पैसाको नाममा बगलीमा एउटा फुटेको कौडीसम्म पनि नभएको त्यस केटोले आफ्ना थकित अंग–प्रत्यंगलाई येनकेन घिसार्दै छिमेकको एउटा शहरमा पुर्यायो, जसको नाउँ बलिडबस्गफ—ट्रार्बक डिक्डफ्र्फ रहेछ, जहाँ एउटा पाटीको अगाडि उभिएर उसले त्यसको ढोकातिर अत्यन्त कारुणिक नजरले निहार्यो ।

नीला लुगामा ससुसज्जित दुईजनाले उसलाई देखे । तिनमध्ये एउटाले अर्को चाहिंलाई भन्यो— “हेर साथी, के मजको सुमरिएको तरुणो केटो, त्यसमा पनि ट्वाक्क हामीले नै खोजेको अग्लाईको ।”

तिनीहरू क्यान्डिडनेर गए र त्यसलाई बडो विनम्रतासँग आफूसँग खान निम्ता गरे । क्यान्डिडले विनीत भावले उत्तर दियो— “तपाई भलाद्मीहरूले गर्नु भएको सम्मानको म हृदयदेखि कदर गर्दछु, तर मेरा भोजनका भागको मूल्य चुकाउन मसँग एक पैसा पनि छैन ।”

तब नीलो लुगा लगाउने मध्येको एक जनाले भन्यो— “तपाईको जस्तो अनुहार र गुण भएका मानिसले कहिल्यै पैसा तिर्नु पर्दैन, तपाई पाँच फीट पाँच ईन्ची अग्लो हुनुहुन्न र ?”

क्यान्डिडले शिर निहुर्याएर उत्तर दियो— “हो भलाद्मीहरू म त्यति नै अग्लो छु ।”

“बस्नोस्, बाबु बस्नोस्, तपाईले खाँदा लागेको खर्च हामी तिर्छौ र यसभन्दा पनि जड कुरा तपाइ जस्तो मानिसलाई हामी कुनै किसिमले पनि पैसाको कमी हुन दिने छैनौं । मान्छेको काम त्यति न हो नि, एउटाले अर्कोलाई मद्दत गर्नु ।”

क्यान्डिडले भन्यो— “तपाईले एकदमै ठीक कुरा गनुभयो, किनभने श्री प्यानग्लसले मलाई बारम्बार सिकाएको कुरा पनि त त्यही हो । तपाईहरूले मसँग गर्नु भएको भद्रव्यवहारबाट ममा यस कुराको विश्वास पर्यो कि सब कुराको परिबन्ध अधिकाधिक श्रेयका निमित्त भएको छ ।”

उसका नयाँ साथीहरूले तब उसलाई आफूले दिएका दुई चार शिलिङ ग्रहण गर्न आग्रह गरे । क्यान्डिडले तिनबाट पाएको पैसा कृतज्ञता जनाउँदै लियो र तिनलाई भरपाई दिन चाह्यो तर उसको यस पवित्र इच्छालाई कदापि स्वीकृत गरिएन र ती सबै जना खान बसे ।

नीलो लुगा लगाउनेमध्येका एकजनाले भन्यो— “के तपाईं भक्त प्रशंसक हुनुहुन्न…?”

क्यान्डिडले रोकिएर जवाफ दियो— “म किन हुन्नथें म हुँ, म मैयाँ क्यूनेगोन्ड्को साह्रै प्रशंसक हुँ ।”

त्यस मानिसले भन्यो— “निस्सन्देह, तर हामीले जान्न खोजेको कुरा के भने, तपाई बलगारहरूका राजाका परम भक्त हुनुहुन्छ कि हुनुहुन्न ?”

क्यान्डिडले जवाफ दियो— “हे परमात्मा अँह ! मैल्े उहाँलाई आजसम्म देखेकै छैन ।”

“ओहो, तर उहाँ राजाहरूमध्येका अत्यन्त प्यारा राजा हुनुहुन्छ र उहाँको सुस्वास्थ्यको कामना गरी हामीले रक्सी पिउनु पर्छ ।”

क्यान्डिडले आँखा चिम्लेर जवाफ दियो— “निश्चयनै भलाद्मी र उसले रक्सी तन्तनी पिएर रित्यायो ।”

तिनले केही जोडसँग भने— त्यतिले नै पुग्यो । तपाई अब राजाका समर्थक र संरक्षक हुनुभयो, र सँगसँगै तपाईं बलगार वीर पनि हुनुभयो । तपाईंको भाग्य सप्य्रो अब । अब जानोस् जहाँ तपाईलाई महिमाले आव्हान गरिरहेछ ।”

त्यति भनेर तिनले उसका हातमा हतकडी लगाए र लछार्दै व्यारेक तिर दगुराए । त्यहाँ उसलाई राईट्टर्न ‘लेफ्ट्र्न’, ‘क्वीक्मार्च’ ‘स्लोप आर्मस्’, ‘अडरआम्र्स’, ‘कसरी निशाना ठीक गर्न र कसरी बन्दूक हान्ने’ इत्यादिको शिक्षा दिइयो, र यसका अतिरिक्त, उसले तीस बेत पनि खायो । भोलिपल्ट कवाज खेल्दा उसले अलि राम्ररी खेल्यो र यसकारण उसले बीस बेत मात्र खायो । पर्सी पल्ट त झन् दस बेत मात्र खायो र उसका साथीहरूले उसलाई भूतै रहेछ भनिठाने ।

त्यो विस्मित भएको क्यान्डिड अझ पनि आफ्ना वीरताका बारे अन्धकूप मै थियो । एक दिन, अभिनव वसन्तको सुन्दर बिहान उसका मनमा सुईकच्चा ठोक्ने झोक चल्यो र तत्कालै कसैसँग सोधपुछै नगरी फटाफट हिंडिहाल्यो किनकि खुश उठेका बखत आफ्ना खुट्टाको प्रयोग गर्ने विशेष अधिकार मानिस र पशु दुवैलाई समान रूपले प्राप्त भएकै छ भन्ने उसको तर्क थियो । तर ऊ ६ मील पनि पर पुगेको थिएन कि पक्राउ पर्यो बाँधियो र ६ फिट अग्ला अरु चारजना वीरले कालकोठरीमा उसलाई जोडले हुत्याइदिए । जंगी अदालतमा उसउपर ठूलो कुरा गरी सम्पूर्ण रेजीमेन्टले छत्तीस पटक चुटेको सहने र बाह्र वटा गोलीले एकै पटकमा आफ्नो गिदी छरी माग्ने— यी दुइ दण्डमा आफूलाई मनपरेको एउटा चाहिं रोज्ने गरी उसलाई फैसला सुनाइदियो । स्वतन्त्र ‘इच्छामा’ आफ्नो विश्वासको घोषणा गरी ती दुई मध्ये ऊ कुनै पनि चाहँदैनथ्यो भनी भन्नु उसका लागि अहिले निरर्थक भयो, उसले एउटा रोज्नु पर्यो, पर्यो । यसकारण स्वतन्त्रता नामक दैवी वरदानको प्रयोग गर्दै, उसले रेजिमेन्टबाट छत्तीस पटक कोर्रा खाने नै निर्णय ग¥यो, र दुइ पटकको कुटाई खप्यो । त्यस रेजिमेन्टमा दुइहजार जवान भएका हुँदा उसले चार हजार कोर्रा खायो, जसबाट उसका गर्धन देखि पिठ्यूँसम्मका प्रत्येक स्नायु र मांसपेशी छर्लङ्ग गराइए । तेस्रो चुटाइका लागि काम शुरु हुनै आँटेको थियो, तर क्यान्डिडले कति सहन सकेन र घाँटी नै छिनाली दिने उपकार–कर्मका लागि तिनीहरूसँग दयाको भीख माग्यो । उसका अनुरोध बमोजिमनै हुने भयो उसको आँखामा पट्टी बाँधियो । उसलाई घुँडा टेक्न लगाईयो, त्यसै बखत बलगारका राजा त्यहीं बाटो जानु हुँदोरहेछ र उहाँले त्यस दोषीको अपराध सोध्नुभयो । राजा असाधारण विवेकशील मानिस भएका हुँदा क्यान्डिडका बारे जाहेर गरिएको कुराबाट उहाँलाई तत्कालै ज्ञात भयो कि संसारका रोह–रीत, छलकपटसँग यो तरुण दार्शनिक किंचितमात्र पनि परिचित रहेनछ, र तदनुसार उहाँले उसलाई राजकीय क्षमा प्रदा गर्नुभयो, जुन यस्तो दयाको कर्म थियो, जसलाई प्रत्येक समाचारपत्र र प्रत्येक युगले अवश्यमेव प्रशंसा गर्नेछन् । क्यान्डिडको घाउलाई परापूर्वमा डायसको राईडीजले बताई गएका मलहम पट्टीको औषधोपचारद्वारा एउटा सुयोग्य सर्जनले तीन सातामा निको पारे । पैतलामा हिंड्नसम्म हुने गरी मात्र के मासु पलाएको थियो, उता बलगारका राजाले अबात्का राजासँग युद्ध छेडि हाले ।