रामकुमार श्रेष्ठ
कावासोती
पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र रहेको निजी मेडिकलहरूले अवैध रूपमा गर्भपतन गराउने गरेको पाइएको छ । गतिपयले औषधि बिक्रीको मात्र अनुमति लिएर स्वास्थ्य चेकअप गर्नेदेखि अवैध गर्भपतन गराउनेसम्म गरेको पाइएको छ ।
अविवाहित युवतीहरू गर्भ पतन गराउन ति युवतीहरू यस्ता मेडिकल तथा क्लिनिकहरूमा जाने र तालिम प्राप्त स्वास्थ्यकर्मी विना नै औषधि दिएर गर्भपतन गराउने गरेको पाइएको छ ।
ति युवतीहरू त्यसरी गर्भवतन गराउँदा स्वास्थ्यमा थप समस्या भएपछि मात्र सरकारी स्वास्थ्य चौकी, अस्पतालमा आउने गरेका छन् । कावासोतीमा रहेको स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीले आफूले कावासोती ३ को मनकामना हेल्थ क्लिनक, अनु हेल्थ कियर, कावासोती ५ को वीर प्लस क्लिनिकलगायतका मेडिकलहरूमा अवैध गर्भवतन गराएर स्वास्थ्यमा समस्या भएपछि मात्र आफूहरूकोमा थप उपचारका लागि आएको बताए । स्वास्थ्य चौकी नजिक रहेको मेडिकलहरूले बढी मात्रामा यस्तो गरेको पाइएको छ । कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले आफूले पनि यस विषयमा जानकारी पाएको र अुनगमनको तयारीमा रहेको बताए ।
उनले अनुगमनको क्रममा कही कतै त्यस्तो गरेको पाइए त्यस्ता मेडिकल सञ्चालकहरूलाई कारबाही गर्ने चेतावनी दिए ।
कावासोती नगरपालिका भित्र रहेको अस्पताल तथा मेडिकलहरू मध्ये सरकारी अस्पताल तथा स्वास्थ्य चौकी र कालीगण्डकी सामुदायिक अस्पताल बाहेक अन्य कुनै पनि मेडिकल तथा अस्पतालमा गर्भपतन गराउन तालिम प्राप्त स्वास्थ्यकर्मी भएको र अनुमति लिएको जानकारी नभएको कावासोतीका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।
विना दर्ता चल्दै मेडिकल
कावासोती नगरपालिका भित्र ५० को हाराहारीमा निजी मेडिकल तथा अस्पतालहरू रहे पनि अधिकांश निजी मेडिकल तथा अस्पतालहरूले नगरपालिकासँग कुनै पनि अनुमति लिएका छैनन् ।
देश संघीयतामा गएपछि स्थानीय तहमा त्यो स्थानीय तह भित्र रहेको कुनै पनि संघसंस्था, फर्म, व्यवसाय आदि दर्ता गर्नु पर्ने प्रावधान भए पनि मेडिकलहरू दर्ता नभएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।
नागिलाकाअनुसार नगरपालिकाले करका दायरामा ल्याउन कावासोती नगरपालिका भित्र सञ्चालित निजी, सामुदायिक अस्पताल तथा क्लिनिकहरूलाई नगरपालिकामा दर्ता हुन आव्हान गरेको भए पनि कावासोती नगरपालिका भित्रका ८ वटा मेडिकल, अस्पताल तथा क्लिनिकहरूले मात्र निवेदन दिएको छ । कावासोती नगरपालिकामा कालीगण्डकी सामुदायिक अस्पताल, नवलपुर अस्पताल, शंकल मेडिकल एण्ड पोलिक्लिनिक, जीवन सिटी मेडिकल, सञ्चो मेडिकल, ओम मेडिकल, आले स्वास्थ्य क्लिनिक र सापकोटा क्लिनिकले मात्र निवेदन दिएको नागिलाले बताए ।
नागिलाले भने सबैको निवेदन प्राप्त भएपछि अनुगमन गरेर दर्ता प्रक्रिया अगाडि बढाउने नगरपालिकाले तयारी गरेको भए पनि अन्यले भने दर्ताको लागि निवेदन समेत नदिएको बताए ।
नागिलाले पुस महिना भित्र कावासोती नगरपालिका भित्र सञ्चालित अस्पताल, क्लिनिक र मेडिकलहरुको अनुगमन गरी कारबाही थालिने बताए ।
कावासोती नगरपालिका उप–प्रमुख प्रेमशंकर मर्दनियाले विना दर्ता सञ्चालनमा रहेको भेटिए तुरुन्त कारबाही गरिने बताए ।