दीपक न्यौपाने
सैनामैना
रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ८ का विशाल भुषाल कम्बोडीयामा आउँदो जनवरीबाट सुरु हुने कम्बोडीयन प्रिमियर लिगमा छनौट भएका छन् । पहिलोपल्ट लिग हुन थालेको कम्बोडीयामा १ महिनासम्म चल्ने प्रतियोगितामा छनौट हुने भुषाल नेपालका एक मात्र खेलाडी हुन् ।
झन्डै १२०० जनाले अनलाइन आवेदन दिएकोमा नेपालबाट उनी छनौटमा पर्न सफल भएका हुन् । भिडीयो रिपोर्टको आधारमा उनी छनौटमा पर्न सफल भएका हुन् । गौतमबुद्ध क्रिकेट एकेडेमी मुर्गियामा नियमित अभ्यास गरिरहेका उनी सानैदेखि क्रिकेटमा शौख रहेका कारण यसै क्षेत्रलाई करियर बनाएर अगाडि बढ्न चाहेको बताए । हजुरबुवा नृत्यानन्द भुषाल र बुवा छबिलाल र आमा माया भुषालको प्रेरणाले क्रिकेट खेल्न थालेका उनी रूपन्देहीको खुकुरी कप, रूपन्देही सुपर लिग, काठमाडांैको नेक्सस कप भारतको सिलिगुढी प्रिमियर लिगलगायत दर्जनौ प्रतियोगितामा आफ्नो खेल कौशल देखाइसकेका छन । बिगत ६ वर्षदेखि व्यवसायिक रूपमा क्रिकेट खेलीरहेको छु,’ सैनामैनामै भेटिएका विशालले भने – ‘ग्लोबल अनलाइन सेलेक्सन भयो र अन्तिममा म नेपालबाट छनौट हुन पाए जसले गर्दा क्रिकेटमा आगामी दिनमा केही गर्न सकिन्छ कि भन्ने हौसला आएको छ ।’ प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।
रामापुर रिभाइबल बोर्डिङ् स्कुलबाट स्कुलिङ सकेका उनी गाउँघरमा हुने साना ठुला प्रतियोगितामा भाग लिइरहन्थे । पहिलोपल्ट रूपन्देहीको पड्सरीमा नेपाली राष्ट्रिय खेलाडी शक्ति गौचनको आफ्नै स्टार क्रिकेट एकेडेमीमा जब विशालले प्रशिक्षण लिए तब उनले आफुलाई निखार्दै गए । घरेलु प्रतियोगिता खेल्दै आफुलाई निखार्दै गएका १९ बर्षका भुषाल पोखराका विभिन्न प्रतियोगिता हँुदै काठमाडांैको नेक्सस अन्डर सिक्सटिनसम्मका टुनामेन्टमा अनुभव बटुलिसकेका छन् । खेलमा हौसल्ला प्रदान गर्न सैनामैना नगरपालिकाले समेत भुषाललाई सहयोग गरेको छ । ‘उदयमान र क्षमता देखाउन सक्ने खेलाडीहरूका लागि हामीले समयसमयमा सहयोग गरिरहेका छौं,’ सैनामैनाका नगरपालिका प्रमुख चित्रबहादुर कार्की भन्छन् – ‘कम्बोडीयन प्रिमियर लिगमा छनौट भएका विशाल भुषाललाई समेत ३० हजार नगदले सम्मान गरेका छौं ।
खेल र खेलाडीलाइ नगरपालिकाले सधै सम्मान गर्छ ’ । यता विशालले समेत पहिलोपल्ट हुने प्रतियोगिताको अनुभव लिएर आगामी दिनमा क्रिकेटमै थप उचाइ बढाउन चाहेको सुनाउँछन् ।
गाउँगाउँ क्रिकेट क्रेज
रूपन्देहीको सैनामैना नगरपालीका आसपासमा क्रिकेटका विभिन्न संरचनाहरू धमाधम बन्न थालेपछि खेलाडीहरू उत्साहीत देखिएका छन् भने गाउँगाउँमा क्रिकेट क्रेज बढेको छ । नेपालकै सबैभन्दा ठुलो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सैनामैनामा बन्दै गर्दा छिमेकी गाउँपालिकाहरूमा समेत खेलाडी उत्पादनका लागि एकेडेमीहरू सञ्चालनमा आएका छन् ।
लकडाउन खुलेसंगै रूपन्देहीको गैडहवामा नेशनल क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ भने सैनामैनाको मुर्गीयामा गौतमबुद्ध क्रिकेट एकेडेमी सञ्चालन भइरहेको छ जहाँ विद्यार्थीहरूले क्रिकेट अभ्यास गर्ने गरेका छन् । यसले क्रिकेटको क्रेज बढाएको छ ,’ निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण समितिका अध्यक्ष किशोर राना भन्छन् –‘गाउँ घरमा लकडाउनको अवधिमा पनि क्रिकेट सिक्न चाहानेहरूले समयको सही सदुपयोग गरे । खेलकुदमा केही गर्छु भन्नेहरूको लागि सैनामैनामा संरचनाका अभावहरू भने हुने देखिएको छैन ।’