केशव पराजुली
नवलपरासी
पश्चिम नवलपरासीमा रहेका चिनी मिलहरू बन्द भएपछि किसानहरूले क्रसरमा उखु बिक्री गर्न सुरु गरेका छन् । जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाका किसानहरूले उत्पादन गरेको उखु (भेली उत्पादन गर्ने) क्रसरहरूमा बिक्री गर्दा नगद भुक्तानी पाउने गरेका छन् ।
नगदे बालीको रूपमा रहेको उखु चिनी मिलहरूले खरिद गर्दा समयमा भुक्तानी नदिने समस्याबाट पीडित बनेका उखु किसानले यस वर्ष क्रसरमा उखु बिक्री गर्दा नगद भुक्तानी पाउने गरेका हुन् । क्रसरहरूले प्रति क्वीन्टल चार सय ८० देखि पाँच सयसम्म नगद भुक्तानी दिने गरेका कारण पनि किसानले क्रसरमा उखु बिक्री गर्न थालेका हुन् । जिल्लामा रहेका तीन वटा चिनी मिल मध्ये लुम्बिनी र इन्दिरा चिनी मिल सञ्चालन नहुने भए पछि किसानहरूले क्रसरमा उखु बिक्री गर्न थालेका छन् । चिनी मिलहरूले समयमा भुक्तानी नदिने भएका कारण पनि किसानहरूले क्रसरमा उखु बिक्री सुरु गरेका हुन ।
जिल्लामा सञ्चालित करिव एक सयको हाराहारीमा रहेका क्रसर उद्योगहरूले उखु खरिद गर्दा कमतौल गर्ने गरेको गुनासो किसानहरूको रहेको छ । एक सयको हाराहारीमा रहेका क्रसरमध्ये २०÷२५ वटा क्रसर मात्र अनुमति लिई सञ्चालनमा रहेको बताइएको छ । उता क्रसर सञ्चालकहरूले आफुहरूले नगदमा उखु खरिद गर्न बाध्य भएका भए पनि भेलीको मूल्य उचित नपाएको महालक्ष्मी क्रसर उद्योग प्रतापुर ६ का विश्वनाथ यादबले बताए । बजारमा भेलीको मूल्य ५४ देखि ६० रुपैयाँ किलो रहेको उनले बताए । चिनी उद्योगहरूले बिगतका वर्षमा उखुको भुक्तानी समयमा नदिए पछि जिल्लामा यस वर्ष १० देखि १२ लाख क्वीन्टल उखु उत्पादन भएको उखु उत्पादक किसान समितिका अध्यक्ष उमेश यादबले बताए । उखु खेतीमा विभिन्न समया आएपछि किसानहरूले केरा, बदाम , बेसार लगाउन थालेका छन् ।
आन्दोलनका लागि काठमाडौं
सरकारसँग गत वर्ष गरेको सम्झौता कार्यान्वयन नभएको बताउँदै उखु कृषकहरूले आइतबारदेखि राजधानीमा फेरि आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।
एक वर्ष अगाडि जाडोयाममा काठमाडौंमा आन्दोलन गरेपछि सरकारले सम्झौता गरेका थियो ।
वर्षौंदेखि चिनी उद्योगले नदिएको रकम भुक्तानी हुनुपर्ने उनीहरूको मुख्य माग रहेको छ । त्यसबाहेक उखु खेतीसँग जोडिएका अन्य मागहरू पनि छन् । उखु कृषकको आन्दोलनमा नेपाल उखु उत्पादक महासङ्घजस्ता सङ्घसंस्थाले सहभागिता नरहेको बताएका छन् । आन्दोलनको चेतावनी दिने कृषकहरूका अनुसार गत वर्ष स्वतस्स्फूर्त रूपमा आन्दोलनमा आएका कृषकहरू नै सहभागी हुनेछन् । । नेपालमा वर्षौंदेखि उखु कृषकहरूले चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको गुनासो गर्दै आन्दोलन गरिरहेका छन् ।
हरेक सरकारले उखु किसानका माग सम्बोधन गर्ने सम्झौता गर्ने, कार्यदल वा समिति बनाउने र प्रतिवेदन तयार पार्ने पनि गरेका छन् । तर उखु कृषकको समस्या जस्ताको तस्तै रहेको बताइन्छ ।
उखु कृषकहरूले हरेक वर्ष आन्दोलन गर्नुपर्ने मुख्य कारण भनेकै चिनी उद्योगीहरूले समयमा भुक्तानी नदिनु भएको बताउने गरेका छन् ।
आन्दोलन घोषणा गरेका कृषकहरूका अनुसार अहिले पनि विभिन्न चिनी उद्योगबाट ठूलो रकम कृषकहरूले भुक्तानी लिन बाँकी छ । उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायकाअनुसार उद्योगहरूबाट कृषकले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।
कतिपय कृषकले त वर्षौँदेखि भुक्तानी पाएका छैनन् । त्यसैले गर्दा कृषकले आन्दोलनको बाटो रोज्ने गर्छन् ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमणि मैनालीका भनाइमा ६० करोडको हाराहारीमा बक्यौता रहेको छ । अहिलेको आन्दोलनबारे महासङ्घलाई जानकारी नभएको उनले बताए । तर उखु कृषकले बारम्बार आन्दोलन गर्नुपर्ने मुख्य कारण उद्योगीले समयमा भुक्तानी नदिनु नै भएकोमा उनी सहमत छन् ।