रामचन्द्र श्रेष्ठ

तिम्रा गीतहरूमा के छन् ? तिम्रा गीतहरूमा वेदना छन् । पीडा छन् । आँशु छन् । जीवनको निश्वास छ । परिस्थिति र बिछोडको सन्ताप छ । तर, तिमी अतिशयोक्तीलाई प्रेम गर्छौ । अनुभुतिलाई अतिशयोक्तिको चरममा अभिव्यक्त गर्न तिम्रा कलम किन बाध्य भए ?

प्रिय अमृत

लाग्छ जिन्दगी अनगिन्ती संयोगहरूको शृंखला हो । संयोग हो मान्छेको जन्म । संयोग हो मान्छेको मरण । संयोग हो मान्छेको मिलन । अनि यसरी नै संयोग हो बिछोड ।

तिमीसँग परिचित हुनु संयोग नै त थियो । फेसबुकको भित्तामा कसैले ‘सद्भावको सहर नेपालगञ्ज’को कभर पोष्टिनु । कसैले केही चर्चा गर्नु । शहर अध्ययन गर्ने रहर जागेको मलाई ती तस्वीर र चर्चाले लोभ्याउनु । अनि फेसबुकको बाटो गरेर मैले सम्पर्क गर्नु । अनि तिम्रो उदार हृदयले एकदिन कुरियर गरेर पुस्तक पठाउनु । बेला–बेलामा बातचित हुनु । अनि कहिले लाइक, केही कमेण्ट र परैबाट एकखालको सद्भाव रहिरहनु ।

आजसम्म हाम्रो भौतिक भेट भएको छैन । हामीले सँगै चिया खाएका छैनौ । हामीले हाम्रा तमाम वैचारिक बहसहरू पनि त गरेका छैनौं । तै पनि एउटै धर्तीको एउटै गोलाद्र्धका मान्छेहरू रुचि र परिवेशहरू उस्तै भए पछि कतै न कतै ठोक्किदाँ रहेछन् शायद । अनि पो हामी परिचित भयौ । है ! मान्छेलाई आफुजस्तै मान्छेसँग परिचय हुन पनि बहाना चाहिंदोरहेछ । बहाना नबनेको बखत कुम ठोक्केर बाटो काटेका तमाम अनुहारहरू भीडसँगै कता हराइगए कता, कस्लाई कस्को मतलब !

फेरि कुनै क्षण फेसबुकको भित्तामा देखियो तिम्रो गीतसंग्रहको आवरण— ‘लजालु पहाडहरू’ । अनि कमेण्ट बक्समा मैले खुसुक्क भनिदिएँ बटौलीले पनि पढ्न पाउनुपर्यो । अनि फेरि मंसिर १० गतेको मध्याह्नतिर मोबाइलमा अपरिचित नम्बर बज्यो । अनि त्यसले कुरियरको अफिसमा बोलायो अनि थमायो एउटा लिफाफा । जहाँ चुपचाप आएको थियो उहीं ‘लजालु पहाडहरू’ ।
सामाजिक सञ्जालको माध्यमले परिचित होइनु, कुराकानी भइजानु, अनि कुरियरबाट किताब आइरहनु । मेरो लागि विगत खाताको कुनै पाना पल्टिए जस्तो लाग्यो । लाग्यो, यो कुनै पत्रमित्रताको समय हो अनि मेरो पत्रमञ्जुषामा अपरिचित पत्र आएर परिचय गर्न थाल्छ । त्यसैले प्रिय अमृत मलाई किन–किन पत्रकै सहारा लिन मनलाग्यो । किन–किन पत्रकै माध्यमले सम्बोधन गर्न मन लाग्यो । अनि औपचारिकताको ‘तपाईं’ सम्बोधन भत्काएर ‘तिमी’ मा ओर्लन (वा उक्लिन ?) मन लाग्यो ।

‘लजालु पहाडहरू’को शुरुवाती पानामा तिमीले लेखेका छौ— ‘शक्तिशाली समालोचक मित्र रामचन्द्र श्रेष्ठलाई समीक्षार्थ स–सम्मान ।’ अर्थात्, मेरो जिम्मेवारीमा परेको छ गीत संग्रहको समीक्षा गर्ने । तर तिमीले मलाई भन्दिएका छौ शक्तिशाली । थाहा छैन, कुन अर्थमा तिमीले यो शब्द छनोट गर्यौं । यो देशमा त शक्तिशाली केवल शासकहरू मात्र हुन् । शक्ति केवल मुढेबल हो वा राजकीय सत्ता हो । तर्क, चिन्तन, कला र भावनाभन्दा पर बसेपछि शक्ति केवल मुढे बलमा हुन्छ । त्यो शक्ति गब्बरको आतंक जस्तो मात्र हो । त्यसैले त ‘सोले’मा गब्बर भन्छ— गब्बरको आतंकबाट बचाउन सक्ने केवल एउटै मान्छे छ त्यो हो गब्बर । अनि यता राज्यले पनि उहीं त भन्छ— राज्यको आतंकबाट बचाउन सक्ने एउटै छ त्यो हो राज्य । राज्यको आतंकबाट राज्यले जोगाएको वा जोगाउने विश्वास दिलाएको कारण हामीले राज्यलाई कर तिर्छौ । यी यावत् कारणले आतंकसँग जोडिने शक्तिको अपेक्षा मबाट पुरा हुन नसक्ने आग्रह गर्छु । त्यसैले, कृपा गरेर यो ‘शक्तिशाली’ सम्बोधन फिर्ताको लागि याचना गर्छु ।

अब बाँकी रह्यो समीक्षा । त्यो पनि गीतको । यो कसरी हुनसक्छ मित्र मबाट ? बेला–बेलामा किताबहरूबारे आफ्नो पठन अनुभुति र धारणाहरू लेख्ने कारणले नै म समीक्षक भईसकेको जस्तो लाग्दैन । समीक्षाको जिम्मा साहित्यमा नै डिग्री हासिल गरेकाहरूलाई नै सुम्पनु जाती होला ।

प्रिय अमृत, जब तिम्रो गीत संग्रहको पाना पल्टाउन थालें मलाई प्राक्कथनमा लेखिएको तिम्रो भाषाले मोहित गरें । कवित्वले ओतप्रोत तिम्रो ‘गीत नदीको किनारमा वर्षौदेखि उभिएर…’ पढ्दा यस्तो लाग्यो तिमी मनको सामान्य आवृत्तिबाट उम्किएर भावना र संवेदनाको गहिराईमा पौडिरहेका छौ । लाग्छ, शब्द त केवल माध्यम हो । भावनाको वायु यानमा उडेर तिमी मावनीय संवेदनालाई उल्टाई–पल्टाई गर्न उद्दत छौ । तिम्रो लेखनीको केही वाक्यहरू सापटी लिऊँ है—

“रिसाउनु एउटासँग, खुसाउनु अर्कोसँग । जीवनको औसत लय यही हो । तर कुनै–कुनै सन्दर्भमा जीवनको लय औसतभन्दा माथि हुँदोरहेछ । रिस जोसँग उठ्छ, माया पनि उसैको लाग्छ । टाढा भइजाऊँ जोसँग लाग्छ, निमेषभरमै फर्केर भेटूँभेटूँ पनि उसैलाई लाग्छ । सम्झँदा जसलाई आँखा भरिन्छन्, बिर्सन खोज्दा पनि भरिन्छन् । सम्झ्यो— सम्झेर बेचैन, बिस्र्यो— बिर्सेर बेचैन ।”
यी वाक्यहरू, के जीवनको द्वन्द्वात्मक यथार्थको अभिव्यक्ति हो ? साँच्चै कसरी कुन पलमा कुन मुडमा लेख्न पुग्यौ यी शब्दहरू ?

यो लामो प्राक्कथनमा तिमीले गीतप्रतिको तिम्रो बुझाई, तिम्रो प्रेम, तिम्रो जानकारी र ज्ञान सबै सबै पोखेका छौ । अनि फेरि मनपर्ने गीत र गीतकारका नामहरू पनि उल्लेख गरेका छौं । खासमा यो प्राक्कथनमा तिम्रो जिकिर छ । संगीत र गायनको कोलाहलमा नेपथ्यमा परेको गीतकारको परिचय (अस्तित्व)प्रति तिम्रो वकालत छ । त्यसैले तिमीले भनेका छौ—
“संगीतमा मिसाइदिएपछि गीत बनिहाल्छ, सोच्नु गीतको हत्या हो । संगीत गीतको वैशाखी होइन । गीत उभिन कसैको सहारा चाहिँदैन । शक्तिशाली गीत उभिन मात्रै होइन, दौडन पनि सक्छ ।”

सम्भवतः यो तिम्रो गीतकारप्रतिको सम्मान हो र हो उसको अस्तित्वको लागि पैरवी । तर मित्र, संगीत र गायन बिना गीत एक्लै टुहुरो हुँदैन र ? आफुभित्र प्रशस्त उर्जा बोक्दैमा सबै अणुहरू अणुबम बन्दैनन् तिनलाई माध्यम चाहिन्छ । सबै पदार्थमा उर्जा लुकेको हुन्छ आइन्स्टाइनले भने, तर उर्जामा परिणत हुन पदार्थलाई गति चाहिन्छ । त्यसैगरी, शब्दको हरफहरूमा कैद लयहरूले न्यायोजित संगीत संयोजन र गायनको उतारचढाव पाएनन् भने ती त निर्जीव पो भइजालान् नि ? जसरी मुनामदनका हरेक पंक्ति आफैमा लयपूर्ण हुँदाहुँदै पनि नारायणगोपालले गाएका केही अंशहरू नै मान्छेका मन मन्दिरमा बसे । हो, शब्दमा समेटिएको भाव र संवेदनाको आयतनले नै गीतलाई जीवन प्रदान गर्छ । तर, यसको अर्थ संगीत र गायन बिना गीत पूर्ण हुनसक्छ भन्ने होला र ?

प्रिय अमृत, केटाकेटीलाई निद्रादेवीको काखमा गुटुुमुटु पार्नको लागि आमाहरूले गुनगुनाएका लोरीहरू नै सम्भवतः मानव समाजका आदि गीतहरू हुन् । शब्दको मूर्त आकार नपाएता पनि भावनाले ओतप्रोत ती उच्चारणहरूले मान्छेको जीवनमा लयको महत्त्वलाई सार्थक पारिदिए । तिमीले प्राक्कथनमा उल्लेख गरेजस्तै, वेदका ऋचादेखि वन्दना र प्रशंसामा गाइएका श्लोकहरू नै गीतका आदिम रूपहरू थिए । ती जो विभिन्न विधाहरूमा अभिव्यक्त छन् ।
तिम्रा गीतहरू पढ्दा म कतै भावुक भएँ । कतै गुन्गुनाउने प्रयत्न गरें । कतै चिन्तनशील भएँ । गीतको प्राण लय नै हो । तर, लय आफैमा सीमाहिन हुँदोरहेछ ।

चलचित्रका लागि गीत लेखनको अनुभवबारे जावेद अख्तरले कतै भनेका थिए— “फिल्मका लागि गीत लेख्नुभनेको चिहानका लागि पहिला खाडल खनेर मिल्दो आकारको लास खोज्नु हो ।” साँच्चै नै पहिल्यै तयार भईसकेको कथ्य, घटनाहरूको फ्रेममा सुहाउँदो गीतको रचना त्यस्तै हुन्छ होला । शायद यस्तै खाडलको लागि लासको खोजीको क्रममा होला गुल्जारले इजाजत फिल्मको लागि लामो गीत लेखिदिए— ‘मेरा कुछ सामान तुम्हारे पास पडा है, सावन के कुछ भीगे भीगे दिन रखे हैं । और मेरे एक खत में लिपटी रात पडी हैं, वो रात बुझा दो, मेरा वो सामान लौटा दो…’ । तिमी जावेदको अतिरिक्त तनावबाट मुक्त छौं यद्यपी तिम्रा गीतका लामा लामा पंक्तिहरू पढ्दा मलाई अक्सर गुल्जारको यो गीत सम्झना भईरह्यो ।


म गायक होइन । न त मलाई संगीतको बारेमा जानकारी छ । म त स्रोता हुँ । मिठो धुन, भावनामा डुबुल्की मारेको आवाज अनि मावनीय संवेदनाको गहिराईलाई उझिल्याउन प्रयासरत शब्दका बान्कीहरू…मेरा लागि प्रिय यीनै हुन् । यसकारण म कहिले नारायणगोपाल, बच्चु कैलाश लगायतका सुगम संगीत सुनेर यसै यसै भावुक भइजान्छु । कहिले भने मनबहादुर मुखियाको ‘हे फूल चुँडेर लाने हो यहाँ माली रोएको देख्यौं कि सुनेर…’ उदास उदास भईजान्छु । कहिले भने १९७४ एडीको ‘गुराँसै फुल्यो लेकैंमा…’ सुनेर रोमाण्टिक भईजान्छु । गीतले त मानवीय जीवनको अनेक रंगहरूको संकलन गर्दोरहेछ । अनि बनाउँदो रहेछ कोलाज । लाइफ कोलाज । जहाँ गुञ्जिन्छन्, जीवनका अनेक उतार चढावहरू । अनि बन्दोरहेछ जीवनको इन्द्रेणी ।

प्रिय अमृत, तिम्रा गीतहरूमा के छन् ? तिम्रा गीतहरूमा वेदना छन् । पीडा छन् । आँशु छन् । जीवनको निश्वास छ । परिस्थिति र बिछोडको सन्ताप छ । तर, तिमी अतिशयोक्तीलाई प्रेम गर्छौ । अनुभुतिलाई अतिशयोक्तिको चरममा अभिव्यक्त गर्न तिम्रा कलम किन बाध्य भए ? के यो तिम्रो भोगाई हो ? केही पंक्तिहरू उदाहरणका लागि है त—

‘तिमीलाई सम्झेर झरिदिन्छन् कसोरी भनूँ, आँसु मेरा हुन्
तिम्रै यादमा कटी जान्छन् कसोरी भनूँ, दिनरात मेरा हुन् ।’
… … …
‘जलायौ मलाई म भन्ने छैन, जलेरै हो दियो बाँच्ने पनि त…’
… … …
‘अगेनोजस्तै मन भएपछि जल्नुमा पनि मजा रहेछ
जल्दा–जल्दा यति जलियो अब त जल्ने बानी परेछ ।’

यी पंक्तिहरूमा तिमी अनुभुतिलाई अतिशयोक्तीलाई चरम स्वरूप प्रदान गरिरहेछौं । तिमी बिम्ब, प्रतीक र रूपकहरूमा पनि यसैगरी अतिशयोक्ती खोज्दा रहेछौ ।

‘बाटो खोज्दै दोबाटोमा वर्षौ अलमल पीपलजस्तो
कैले होला जिन्दगानी चैतमासको सिमलजस्तो ।’
यो पंक्तिमा तिमीले पीपललाई किन अलमल पारिदियौ ? प्रकृतिको मानवीयकरण यहीं नै त हो । तर, तिमीले यसरी यो रूपक प्रयोग गर्यौं कि अब देखिने चोकका हरेक पीपल मलाई अलमल परेजस्तो लाग्नेभयो ।

‘गुफा भई बाँच्ने मन पनि लाग्छ, अँधेरो देखेर डर पनि लाग्छ
लिङ्गो भई बाँच ए ! बाँस तिमी, बाँसुरी हुन त टुक्रिनुपर्छ ।’
यो पंक्ति पढेपछि मलाई बाँसुरीप्रति दया लागेर आयो । बिचरा आफ्नो सिंगो अस्तित्वबाट टुक्रिएर, चोइटिएर ऊ बाँसुरी हुनुपर्छ । शायद यसैले होला बाँसुरी रुन्छ । उसको रुवाईले हाम्रै मन व्याकुल पारीदिन्छ ।

‘एक्लै–एक्लै छोडिदेऊ मलाई मान्छेको भीडहरूमा
हराउने रहर छ आफ्नै आँखाहरूमा, बाटाहरूमा ।’
यो पंक्ति पढेपछि भने केहीबेर किताब बन्द गरें र मौनताको छोटो यात्रा गरे । आफ्नै आँखाहरूमा हराउने यो रहर हो वा विवशता ? यो कस्तो परिवेश मान्छेको भीडहरूमा आफ्नै बाटोको खोजी । किन यति साह्रो विरोधाभास तिम्रा शब्दहरूमा ? शायद हाम्रो जिन्दगी विरोधाभासहरूको असीमित शृंखला होला । त्यसैले त ती तिम्रा गीतहरूमा अभिव्यक्त भएहोलान् ।

‘मेरा आँखामा छैनन् आशाका फूल तिमी बतास भएदेखि
बाटाभरि हराएछु जीवन प्रवास भएपछि ।’
‘जीवन प्रवास भएपछि’ । प्रवास नेपाली समाजको बिम्ब हो । लाहुरे, गोर्खाभर्ती वा खाडी यात्रा सबैसँग प्रवास जोडिएको छ । नेपाली समाजको यो गहिरो बिम्बलाई जीवनसँग जोडेर तिमीले संवदेनाको अर्कै उचाई छोएका छौ ।

तिम्रा प्रायः गीतहरू प्रेम र वियोगको वरीपरी छन् । कता–कता तिमी जिन्दगीको एक रंगमा अल्झियौं कि जस्तो लाग्छ । तर, केही गीतहरू छन् जस्तो कि मान्छेको मनको हालत बताउने ‘के नै गाह्रो छ र, मान्छेको मन राख्न…’, गाउँले दुःखी जीवनको गीत ‘खर काट्दा खरसँगै…’, वा सरकारसँगको प्रश्न ‘दशैंको बेला आँसुलाई…’ ले तिमीलाई एकरंगीय भएको आरोपबाट बच्न मद्दत गर्नेछन् ।

तर, मित्र, हामीसँग किन केही गीतहरू छैनन् ? हामीसँग किन नष्टाल्जियाको कमी छ । जोन डेन्भरको ‘कन्ट्री रोड्स टेक्स मी होम…’ वा जगजितको गजल ‘वो कागजकी किस्ती…’ सुन्दा हामीसँग किन यस्ता नष्टाल्जियाका कमी छन् भन्ने प्रश्नले सँधै ग्रसित हुन्छु ।

तिम्रा गीतहरूमा केही शब्दहरू भने बारम्बार दोहोरिने रहेछन् । ‘बाटो बिराएको बादल’, ‘बतास’, ‘गाजल’, ‘सपना’, ‘आगो’ तिम्रा प्यारा शब्दहरू रहेछन् ।

प्रिय मित्र, जीवनभन्दा लामो गीतका अनेक आयामबारे गफिन शायद एक जीवन काफी हुँदैन होला । त्यसैले यो लामो पत्र अहिले म बन्द गर्छु । बाँकी संवाद फेरि अर्को भेटमा ।
तिमीलाई गीतको कोमल लयहरूले लुटपुटाउन कुनै प्रयास बाँकी नराखुन् ।

उही तिम्रो मित्र
राम