आज विश्व अपाङ्ग दिवस । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बरका दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । अपाङ्गता भएका व्यक्तिहरूले गरेको सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई आज विश्व समुदायले विभिन्न माध्यममार्फत् अवलोकन र श्रवण गर्ने गर्दछन् । अर्काेतर्फ आजकै दिन अपाङ्गमैत्री समाज र संरचनाका लागि पैरवी पनि गरिन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारबारे सन् १९५० को दशकभन्दा अगाडिसम्म खासै पहल भएको पाइदैन । मानवअधिकारसम्बन्धी घोषणापत्र सन् १९४८ ले सबै व्यक्तिहरू समान जन्मने र मर्यादित जीवनको अधिकार सबैलाई हुने भनी अधिकार सुनिश्चित ग¥यो । त्यसयता अपाङ्गता भएका व्यक्तिहरूकोे अधिकारको पक्षमा निरन्तर पैरवी हुँदै आएको छ ।
कुनै पनि व्यक्ति अपाङ्ग हुनका लागि उसको कुनै दोष हुँदैन । अपाङ्गता भनेको रोग नभएर एक अवस्था मात्र हो । अन्य व्यक्तिको तुलनामा अपाङ्गता हुनु भनेको शरीरको कुनै एक वा सोभन्दा बढी अंगमा जन्मजात वा जन्मपश्चात हुने घटना वा दुर्घटनामा परेर त्यो अंगले सक्रिय रूपमा काम गर्न अवरोध हुनु हो । त्यसैले अपाङ्ग भएका व्यक्तिहरूलाई उर्जा, हौसला र अवसर दिन जरूरी छ । अपाङ्गलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जरूरी छ । संसारमा अपाङ्ग भएका व्यक्तिहरू ठूला–ठूला वैज्ञानिक भएका छन् । अपाङ्ग हुँदैमा उसका अन्य क्षमतामा कुनै कमी हुँदैन । यद्यपि सबै व्यक्ति एकै प्रकारको अपाङ्ग हुँदैन । कसैका लागि दैनिक हेरचाहमा एकजना अभिभावक अनिवार्य हुनै पर्ने अवस्था हुन पनि सक्दछ । यस्तो अवस्थामा परिवारमा आर्थिकलगायतका कठिनाइ आउन सक्दछन् ।
नेपालको सन्दर्भमा ०६८ सालको जनगणना प्रतिवेदनअनुसार नेपालको कूल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको देखिन्छ । नेपालमा झण्डै साढे तीन लाख व्यक्ति कुनै न कुनै रूपमा अपाङ्ग रहेको बताइन्छ । अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक तथा शैक्षिक स्थिति पनि अत्यन्त नाजुक अवस्थामा छ । मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण परिवर्तन आए पनि अपाङ्गता भएका व्यक्तिहरूसम्बन्धी विशेष व्यवस्था भने हुन सकेको पाइएको छैन । सरकारी कार्यालय समेत अपाङ्ग मैत्री बन्न सकेका छैनन् ।
नेपालको संविधानले शारीरिक अस्वस्थता, अपाङ्गता, स्वास्थ्य स्थिति वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्न नपाइने, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका, अपाङ्गता भएका व्यक्तिलगायतका नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गरिएको छ । त्यसैले अपाङ्गता भएका व्यक्तिहरूले राज्यले उपलब्ध गराउँदै आएका सेवा सुविधा सहज रूपमा उपभोग गर्न पाउनुपर्दछ । अपाङ्गता भएको जनसंख्यालाई साथै लिएर हिंड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन । समावेशी र समान समाजको परिकल्पना व्यर्थ हुन्छ । समाजले पनि अपाङ्ग भएका व्यक्तिहरूलाई माया, सद्भाव, समान हेराइ र हौसला दिनु पर्दछ । सिर्जनात्मक एवं संरचनात्मक कार्यमा उनीहरूलाई निरन्तर सहभागी गराउनु पर्दछ ।
समाजमा अपाङ्गता भएकाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य क्षेत्रमा पहुँच पु¥याउन राज्य नै सहयोगी बन्नु पर्दछ । उनीहरूको संरक्षण एवं अधिकार प्रदान गर्ने दायित्व राज्यको हो । उसले वास्तविक अभिभावक बनेर अपाङ्ग व्यक्तिहरूलाई विभिन्न अवसर प्रदान गर्नुपर्दछ । उनीहरूको जीवनयापनको लागि क्षमता पहिचान गरी सोहीअनुसारको तालिम र रोजगारी दिन सक्नुपर्दछ, दिइनु पर्दछ । अपाङ्गता भएका व्यक्तिहरूलाई परनिर्भरताभन्दा पनि आत्मनिर्भर बनाउनेतिर राज्यको ध्यान जानु पर्दछ । अपाङ्गता भएका व्यक्तिहरूलाई तिरस्कार गरेर होइन, मानवअधिकारको संरक्षण र संवद्र्धन गर्दै समाजमा सम्मानपूर्वक बाँच्ने अवसर प्रदान गर्न सके अपाङ्ग दिवसको सार्थकता झल्कने छ ।