कविता आनन्द वा सुखमा शुरु हुन्छ र ज्ञानमा अन्त्य हुन्छ । कवि मित्र ‘उराठी’ गौतमका कविताले यस्तै सत्य बोल्छन् ।

माधवकुमार पौडेल

साहित्यका विधाहरूमध्ये सर्वाधिक लेखिने विधा हो कविता । सजिलो कामको कठिन बाटो हो कविता । एउटा भावुक व्यक्तिले आफ्ना भावना र संवेदनाहरूलाई प्रकट गर्न कवितालाई नै पहिलो र सजिलो माध्यम ठान्दछ । कविमा अध्ययनशीलता हुनुपर्छ । फगत भावना र कल्पनाको उडानले कविता स्तरीय बन्दैन । कला र विचारले ओतप्रोत नभएको कविता पूर्ण मानिदैन ।

कोभिड १९ को कारणले गर्दा यसपालि चाडबाडमा खासै रौनक भएन । बडादशैंको सप्तमीको दिन कवि दलबहादुर गुरुङले भोलि बिहान एउटा कविता संग्रहको विमोचन हुँदैछ तपाईंले समीक्षा गरिदिन पर्यो भन्नुभयो । दशैं नजिकिदै थियो त्यसैले बुटवलको माहोल सुनसान हुँदै थियो । यति छोटो समयमा कविता संग्रह पढेर त्यसको चिरफार गर्न सम्भव होला जस्तो लागेको थिएन । मित्रको आग्रहलाई अस्वीकार गर्न सकिन । कवि को हुन् भन्ने पनि थाहा थिएन ?

मित्र ‘उराठी’ गौतमको कृति रहेछ ‘लकडाउनको उपहार’ कविता संग्रह । जम्मा १०२ पृष्ठको पुस्तिका एकै बसाइमा सरसर्ती सकें । कविता रसिला रहेछन् र समय सान्दर्भिक पनि । विश्वविद्यालयको स्नातक तहमा अंग्रेजी साहित्य अध्ययन गर्दा सय पूर्णाङक्को पोयट्री विषय पढेको काम लाग्यो । एकपटक पुनःस्मरण गरें कविताका तत्वहरू । सैद्धान्तिक रूपमा पढेका उतिबेलाका कुरालाई कवि मित्र ‘उराठी’ गौतमको कृति ‘लकडाउनको उपहार’ कविता संग्रहमा खोजि गर्न बसें । समालोचकको आँखाबाट भन्दापनि एउटा स्वतन्त्र पाठकको पठन अनुभव साट्न उचित ठानें । हतार हतार गरेर २/३ पटक दोहोर्याएर पढें कविता संग्रह ।

संघर्षको भुमरीमा हण्डर, ठक्कर खाँदै, लड्दै र फेरि बौरिदै एउटा व्यक्तिले जीवन गुजारा गरिरहेको हुन्छ । कष्टकर अवरोधहरू पार गर्दै जीवनलाई सिर्जनाकर्ममा व्यस्त राखेर दीर्घकालीन ‘स्वान्तसुखाय’ प्राप्त गर्न सम्भव हुन्छ साहित्य सिर्जना मार्फत । मनशुद्धिको एकमात्र बाटो नै सिर्जनाको बाटो हो । भनिन्छ, सामान्य मानिस दश अंशमा एकांशको एषणा (अभिलाषा)को पनि तुष्टि गर्न नसकी बाँचिरहेको हुन्छ । तर सच्चा सर्जक नवनवांश एषणाको तुष्टिमा सानदार जीवन बाँचिरहेको हुन्छ । सम्प्रेष्य सर्जकले आफ्ना रचना मार्फत अरुलाई पनि यस उचाईमा उठाउन सक्छ । त्यस्तै सिर्जनात्मक विधा अन्तर्गतको सशक्त विधा हो कविता ।

सन्दर्भले सिर्जना जन्माउँछ । भर्खरै पढ्दै गरेको अल्वेयर कामुको ‘प्लेग’ सम्झें । मार्खेजको ‘लव इन द टाइम अव कलेरा’ पढेको स्मरण भयो । इतिहासका कष्टकर समयमा भोगेका दुःख कष्टलाई सहित्यको मालामा उनेर भावी पुस्तालाई काम लाग्ने नीधिकोरूपमा छोडेका छन् विश्वका थुप्रै साहित्यकारले । कोरोना संक्रमणको त्रासमा लकडाउन भएर घरभित्रै थुनिन विवश भयो सारा विश्व । कतिले त शुरु शुरुमा लामो छुट्टी मिलेजस्तो रमाइलो अनुभव गरेका कुरा देखिन्थे सामाजिक सञ्जालका भित्तामा । कवि मित्र ‘उराठी’ गौतमले भने बाध्यताबस आइलागेको लकडाउनले जबरजस्ती थोपरेको अत्यास लाग्दो फुर्सदलाई सिर्जना कर्ममा लगाउने रहर गरे । कवितासंग्रह निकालेर दस्तावेजीकरण गर्ने रहर, आफन्त र शुभेच्छुकहरूको आग्रहलाई शिरोधार्य गर्नु पक्कैपनि नराम्रो होईन । यस अर्थमा कवि जीलाई धेरै धेरै बधाई भन्न चाहन्छु ।

पाठकको रूपमा जस्तो लाग्यो त्यस्तै अनुभव लेखेको छु । कवि जीसँग विमोचन कार्यक्रममा मात्र भेट भएको हो पहिलोपटक । अपरिचित कविको रूपमा नै उहाँको कवितासंग्रह पढें । जस्तो लाग्यो त्यस्तै बोलें । जे बोलें तिनै कुरालाई यहाँ लिपिबद्ध गरेको छु । त्यसैले ‘लकडाउनको उपहार’ कवितासंग्रहको यो मेरो पठन अनुभव वा भनौं समीक्षा निरपेक्ष र निष्पक्ष छ ।

विश्वप्रसिद्ध कवि रबर्ट फ्रस्ट भन्छन्– जब संवेदनाले चिन्तन वा विचार पाउँछ र उक्त विचार शब्दद्धारा अभिव्यक्त हुन्छ, त्यो नै कविता हो । उनी भन्छन् कवि ढँटुवा हो, किनकी ऊ सधै सत्य बोल्छ । कविता आनन्द वा सुखमा शुरु हुन्छ र ज्ञानमा अन्त्य हुन्छ । कवि मित्र ‘उराठी’ गौतमका कविताले यस्तै सत्य बोल्छन् । संग्रहको नाम लकडाउनको उपहार देख्दा कवि अलि निराशावादी पो हुन् कि ? जस्तो लाग्छ । कवितामा दुःख र कष्टका वृत्तान्त त होलान् भन्ने मेरो अनुमान गलत ठहरियो । संग्रहमा समेटिएका २७ वटा कवितामध्ये झण्डै आधादर्जन जति कविता कोरोना प्रभावित छन् । अरु केहि कविताले त्यस्तै झल्को दिन्छन् । बाँकी कविताहरू समसामयिक विषय केन्द्रित छन् । कुकुरदेखि सावधान, को आफ्नो को बिरानो ?, सुम्निमा म तिम्रो मित्र हुँ, म मान्छे भएको छु , यमराजको कठघरा अदि कविता ओजिला लाग्छन् ।

कवितामा समकालीन समयको सपाट अनुहार प्रतिविम्वत छ । त्राशदीपूर्ण समयमा बाँच्नुपर्दाको कहर र करुणाको उद्बोधन र अन्यौल छ । सामाजिक विसङगतिमाथि प्रहार छ , मानवताको वकालत छ , धर्मान्धताप्रतिको रोष छ, देशप्रेम छ , अन्तर्राष्ट्रिय चेत र सुकिलो जीवनको अभिलाषा छ । कवितासंग्रहमा २०७६ चैत्र ११ गतेदेखि घोषणा भएको लकडाउनपछि ०७७ भाद्रसम्म लेखिएका कविता संग्रहित छन् । लकडाउन नभएको भए फुर्सद कम हुन्थ्यो, यति धेरै कविता लेख्न सम्भव थिएन । त्यसैले विषम परिस्थितिको उपहार मानेर ‘लकडाउनको उपहार’ नामाकरण गरेको बताएका छन् कविले ।

काठमाडौंमा रहको दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले प्रकाशकीय दयित्व निर्वाह गरेको छ । मुद्रक हो सिद्धबाबा अफसेट प्रेस प्रा लि , बुटवल । निजामति सेवामा कार्यरत गौतमले गुल्मी अमरपुर र सत्तिम्लाका गौतम वंशको चिनारी (२०६९) कृति पनि प्रकाशन गरेका छन् ।


‘छोराले सहरमा घडेरी किन्यो’ शीर्षकको कवितामा उनी लेख्छन्…
घरमा पालेको भैंसी बेचेर
कहिले खसी, बाख्रा बेचेर
हाँस, कुखुरा, परेवा बेचेर
त कहिले
थोरै थोरै गरि जम्मा गरेको घ्यू बेचेर

सहरमा एक टुक्रो घडेरी किनेथें

अलि पर सहर छ छेउँमा
किनेर घडेरी एउटा
दङ्ग छ फुरुङ्ग छ
र गर्व सँग भन्दै छ
विदेशको आफ्नै कमाईले
सहरमा मेरो घडेरी छ
यो गाउँमा अब को बस्छ
सहरमा मेरो घडेरी छ ।
‘म तोप चरा शीर्षक’को कविताले जीवनदृष्टि, आनन्द र उमंग अभिव्यक्त गरेको छ ।

‘कोरोना आयो, क्या गज्जब भयो !’ कवितांश यस्तो छ…….
ढँटुवा र वेइमान
लजै पचाएका
न्जिक आउँदा पनि
थु थु थुक्नु पर्ने
कुहिएको सिनो जस्ता
ठुस्स गन्हाउने
कुमान्छेहरूको
दुघन्धबाट बच्न
हामी पनि मास्क लगाऔं ।

कविमा प्रशस्त अध्ययनशीलता देखिन्छ । मानव विकासक्रमको सुन्दर चित्रण छ ‘को आफ्नो को बिरानो ?’ शीर्षक कवितामा । मानिस जन्मिदा स्वतन्त्र हुन्छ तर पछि जताततै जञ्जीरले जेलिएको हुन्छ भन्ने रुसाेको गम्भीर दर्शन बोकेको कविता हो ‘च्यातेर पाठेघर आमाको’


शीर्षकलाई अझ सार्थक तुल्याउन कविले लकडाउनको क्रममा एकठाउँबाट आफ्नो थातथलो फर्किन मान्छेले गरेका कष्टकर पैदल यात्रा । श्रमजीवि वर्गका दुःख । सरकारी संयन्त्रका कमिकमजोरी । जनस्वास्थमा देखिएको अस्तव्यस्तता जस्ता विषय जोडेको भए कविता कृति अझ ऐतिहासिक बन्थ्यो । कतिपय कविताले प्रष्ट पार्न खोजेको भाव अभिव्यक्त भैसक्दा अनावश्यक तन्किएर गएजस्तो आभाष हुन्छ । मुक्त लयमा लेखिएका गद्य कविताहरू मर्मिक हुँदा हुँदैपनि कतिपय कविता अझ माझिन सक्ने गुञ्जायस राख्छन् ।

निजामति सेवामा रहेर देश सेवामा लाग्नुभएका मित्र जी साहित्यिक यात्रामा लामो रेसको घोडा हो भन्न सकिन्छ । साहित्य सिर्जनाजस्तो शुभकर्ममा लाग्नुभएका मित्र ‘उराठी’ गौतम जिलाई हार्दिक बधाई । हार्दिक शुभकामना ।