तिनाउ र दानव नदीलाई समेटेर रूपन्देहीमा कोरिडोर निर्माण सुरु भएको छ । तिनाउ र दानव नदीका दुवै किनारामा बन्ने यो सडकले बुटवलदेखि मर्चवारसम्मलाई जोड्ने छ । यो योजनालाई रूपन्देहीकै ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सारिएको छ । तिनाउ नदी किनारमा ३५ किलोमिटर र दानव नदी किनारमा १५ किलोमिटर गरी दुवैतर्फ दुई लेनको सडक निर्माण हुनेछ । त्यसको लागि पहिलो चरणमा तिनाउ नदीको साढे आठ र दानव नदीको साढे तीन किलोमिटरका लागि ठेक्का सम्झौता भइसकेको छ ।
पहिलो चरणमा तिनाउतर्फको बुटवल नयाँ बसपार्क पछाडिदेखि तिलोत्तमाको मगरघाटसम्म र दानवतर्फ बेलवास झोलुङ्गे पुलदेखि नयाँ गाउँ पुलसम्म करिडोर निर्माण हुनेछ । ठेक्का सम्झौताअनुसार तिनाउतर्फको ३६ महिना र दानवतर्फको २७ महिनामा सडक निर्माण सक्नुपर्नेछ । दुवैतर्फ गरी ५० किलोमिटर सडक निर्माणका लागि चार अर्ब १३ करोड रुपैयाँ लाग्ने अध्ययन प्रतिवेदनले देखाएको छ । करिडोेर निर्माणपछि अहिले अतिक्रमण हुँदै आएको तिनाउ नदीको उकास क्षेत्र जोगिने र नदीको बहाव क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ । हाल तिनाउको बहाव क्षेत्र समेत अतिक्रमण गरी बस्ती बसाइएको छ । सडक निर्माणको क्रममा बहाब क्षेत्र छाडेर नदीको जगदेखि नै पर्खाल लगाइने भएकोले नदी कटान तथा अतिक्रमणको समस्या हट्न सक्दछ । तर यसका लागि पालिकाहरूको अग्रसरता जरूरी रहन्छ ।
कोरिडोर निर्माण गर्न त्यति सहज छैन । अनेकौ चुनौती आउने छन् । मूलतः नदीको किनारसम्मै घर टहरा बनेकाले सहज रूपमा ती बस्तीको व्यवस्थापन नहुन सक्दछ । घरटहरा नहटाएसम्म कोरिडोर निर्माण सम्भव छैन । डिभिजन सडक कार्यालय बुटवलका अनुसार कोरिडोरका लागि सात सय पाँच वटा घर टहरा हटाउनुपर्ने छ । बुटवल उप–महानगरपालिकामा यी घरटहरा रहेका छन् । यसका लागि तिनवटै नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका नागरिकको व्यवस्थापन गर्नुपर्नेछ ।
अर्काेतर्फ ‘ड्रिम प्रोजेक्ट’ ठेक्का सम्झौता भएको समयावधि भित्र सम्पन्न हुन्छ कि हुन्न भन्ने कुराले पनि महत्व राख्दछ । ठेक्काको जिम्मा लिएका कम्पनीले कैयौैं प्रोजेक्ट समयमै सम्पन्न नगरेर र कसैले बीचमै काम छोडेर भागेका घटना हाम्रा सामु छन् । ठेक्काको कामको सुरुमै शंका गर्नु राम्रो त नहोला तर विगतका ठेक्काबाट पाठ भने सिक्नै पर्दछ । त्यसैले निरन्तर निगरानी जरूरी रहन्छ । त्यसका लागि पालिकाहरूको भूमिका समेत रहनेछ ।
वास्तवमा अहिले सञ्चालन भइरहेका र अगाडि सारिएका आयोजनाहरू सम्पन्न हुँदा रूपन्देही विकासमा सबैभन्दा अब्बल बन्न सक्दछ । किनकि रूपन्देही अहिले पनि आर्थिक, पर्यटन, सांस्कृतिक र वाणिज्यको केन्द्रको रूपमा विकास भइरहेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल आदिले यसको महत्व झन बढाएको छ । बौद्ध संस्कृतिको अनुपम उपहार रूपन्देही एवं छिमेकी जिल्ला कपिलवस्तु र नवलपरासीमा छन् ।
त्यसैले ‘ड्रिम प्रोजेक्ट’ का रूपमा सुरु भएको तिनाउ दानब कोरिडोर रूपन्देहीको विकासको हिसाबले अर्काे महत्वपूर्ण परियोजना हो । यसले तिनाउ र दानव नदीको सुन्दरतामा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । किनकि मानव सभ्यताहरू नदी किनारमै विकास भएका हुनाले तीनको संरक्षण पनि मानवले नै गर्नुपर्ने दायित्व छ । यस्ता परियोजना कहीं कतैबाट जुनकुनै बहानामा तुहिन दिनु हुँदैन । यो परियोजनाले बुटवलदेखि मर्चवारसम्मका जनताको भावनालाई जोड्ने छ । विकासका हिसाबले पछाडि परेको मर्चवारलाई समेत विकासको मूलधारमा ल्याउन भूमिका खेल्न सक्दछ ।