राधिका भुसाल
प्यूठान ।
प्यूठानको झिमरूक गाउँपालिकाले कृषकहरूलाई सहजता दिनका लागि कृषि पाठशाला सञ्चालन गरेको छ । कृषि तालिम तथा नर्सरी प्रर्दशनी केन्द्र रूपमा पाठशाला सञ्चालन गरेको हो । पालिकाको कृषि शाखाले हाल साप्ताहिक रूपमा आलु पाठशाला सञ्चालन भइरहेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको पालिकाले जानकारी दिएको छ ।
पाठशालामा सकृय कृषक पाठशालाका २५ जना सदस्यहरू सहभागी भएका छन् । गत कार्तिक ३ गते आलु रोपण गरिसकेपछि प्रत्येक हप्ता प्रदर्शनी फर्ममा सहभागी भई आलु लगाउनुका साथै यसको संरक्षण गर्ने विषयमा ज्ञान लिएको समूहकी अध्यक्ष भेषा पोख्रेलले बताइन । गत कार्तिक ३ गते १ क्वीन्टल आलु लगाएका थियौ,’ उनले भने–‘हाल प्रत्येक हप्तामा आएर आलुको निरिक्षण गर्छौ ।’ पहिले परम्परागत रूपमा ड्याङ्ग नपारी आलु लगाउने गरेपनि हाल ड्याङ्ग पारेर आलु लगाउन सिकेको उनले बताए । घरमा भन्दा यहाँको आलु राम्रो समेत भएको उनको भनाइ छ । गाउँपालिकाले आफ्नै क्षेत्रमा तरकारी खेती सञ्चालन गर्नुले यहाँका किसानहरूलाई फाइदा समेत पुगेको उनले बताए । आलु पाठशाला १६ हप्तासम्म सञ्चालन गरिने कृषि शाखा प्रमुख वि.क.ले जनाए ।
४ रोपनी जमिनमा प्रदर्शन केन्द्र
गतवर्षको माघ महिनादेखि गाउँपालिकाको केन्द्र नजिकै वडा नं. ४ स्थित भ्यागुतेमा प्रदर्शन केन्द्र सञ्चालनमा ल्याएको हो । पालिकाले ४ रोपनी जग्गा लिजमा लिई प्रदर्शनी केन्द्रमा कृषकलाई तालिमसंगै विभिन्न तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टेकबहादुर वि.क.ले जानकारी दिए । अघिल्लो वर्षमा अढाई रोपनीमा सञ्चालन गरिएको फर्म यस वर्ष ४ रोपनीमा बिस्तार गरिएको उनले बताए ।
पालिकाले कृषकहरूलाई विभिन्न कृषिसम्बन्धी तालिम दिएपनि किसानहरूले खेती नगरेपछि आफै जग्गा लिजमा लिई प्रयोगात्मकका लागि खेती गरेको उनले बताए । अघिल्ला वर्षहरूमा तालिम धेरै पटक दियौँ, उनले भने–‘तर किसानहरूले तालिमपछि खेती गर्न उत्साहित भएनन् ।’ पहिले दिएका तालिमहरू कोठामा मात्रै सीमित भएपछि यसलाई व्यवहारत कृषि गर्नका लागि प्रर्दशनी केन्द्र सञ्चालनले सहयोग पु¥याएको उनको भनाई छ । प्रयोगात्मक कृषि तालिम सञ्चालन भएसंगै कृषि गर्न ईच्छुक कृषक मात्र तालिममा सहभागी हुने गरेको उनले बताए ।
तरकारीमा आत्मनिर्भर बन्ने लक्ष्य
पालिका क्षेत्रभित्र सधै बाहिरबाट लिएको तरकारीमा आत्मनिर्भर हुने देखीएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन थप टेवा पु¥याउने विश्वास पालिकाले लिएको छ । पालिकाले सञ्चालन गरेको प्रर्दशनी केन्द्रमा हाल टमाटर, च्याउ, आलु, गाजर, धनिया , भान्टा, मुला लगाएतका तरकारी उत्पादन भइरहेका छन् । त्यस्तै हाललाई प्याज र गोपीका बेर्ना उत्पादन गरिएको छ भने मौषम अनुसारका बेर्नाहरू समेत राख्ने गरेको कृषि शाखा प्रमुख टेकबहादुर वि.क.ले बताए । त्यसमध्ये टमाटर, काउली, भान्टा, धनीया बिक्रीसमेत भइरहेको कृषि शाखा प्रमुख वि.क.ले जानकारी दिए । बजार क्षेत्रमा भन्दा केन्द्रमार्फत केही सौलियतमा तरकारी बिक्री गर्दै आएको समेत उनले बताए । अबको केही समयमा काँक्रा, करेला लगाउने समेत तयारी भएको उनको भनाइ छ । उत्पादित तरकारी केन्द्रबाटनै बिक्रीवितरण हँुदैँ आएको छ । पालिकाले अघिल्लो आर्थिक वर्षमा केन्द्र सञ्चालनका लागि चार लाख ७० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा दुई लाख रुपियाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले बताए । उनकाअनुसार अघिल्लो आर्थिक वर्षमा तरकारी बिक्री वितरणबाट ९४ हजार पाँच सय रुपियाँ र चालु आर्थिक वर्षको हालसम्म करिब ३५ हजार रुपियाँ बराबरको तरकारी बिक्री गरिएको छ । तरकारी बिक्रीबाट आएको रकम पालिकाको खातामा राख्ने गरिएको उनले बताए । पालिका भित्र दुई सय सात वटा कृषि समूह तथा कृषि तथा पशुपंक्षी फर्म रहेका छन् । पकेट क्षेत्रको आधारमा कृषकहरू छनोट गरिएको छ । पालिकाले मौसमीसंगै बेमौसमी खेतीलाई पनि प्राथमिकता दिने पालिकाले जनाएको छ । अन्य स्थानीय तहको तुलनामा नयाँ र कृषिमैत्री काम गरेकोले किसानहरूलाई व्यवसायिक बनाउनको लािग टेवा पुग्ने विश्वास लिएको उनले बताए ।