विनबहादुर कुंवर
अहिले नेपाल कमुनिष्ट पार्टी (नेकपा) अर्थात डबल नेकपा भित्रको अन्तरकलह बाहिर चारैतिर छताछुल्ल भइ पोखिन थालेको छ । दुई अध्यक्ष ओली र प्रचण्ड बीचको यो लडाइँ केन्द्रीय सचिवालय हुँदै अहिले तल जिल्ला जिल्ला र गाउँ बस्तीसम्म पुगिसकेको छ । यतिसम्मकी यी दुई खेमा बीच आपसी भिडन्तदेखि जिन्दावाद र मुर्दावादको नारा अनि कालो झण्डा र घेराबन्दी आदिसम्म हुन थालेको छ । करिब दुईतिहाई बहुमत प्राप्त यो दल बीचको कलहले अरू विरोधी सबैलाई हसाएको छ भने शुभचिन्तक कार्यकर्ता र जनतालाई यसले निराश पारेको छ । भोट हालेर अत्याधिक बहुमत दिलाए पनि देश र जनताको हितमा केही पनि काम गर्न नसक्दा आम जनता त्यत्तिकै निराश थिए । तर अझ अहिले यो दलभित्रको यो खिचातानी र कलह अनि यो पाटी नै टुक्रिने संकेत देख्दा आम कार्यकर्ता झन् निराश र खिन्न भएका छन् । कुकुरलाई घिउ नपछे जस्तै यो दललाई पनि यो पार्टी एकता र यो विशाल जनसमर्थन नपचेको स्पष्ट छ ।
सत्ताधारी यो दल अहिले पूर्णरूपमा असफल भएको स्वयं उक्त दलकै शीर्ष नेताहरूले बताउन थालेको छन् । महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय बैठकमा नै यो कुरा उठाएर त्यसपछि अहिले पनि बाहिर विभिन्न मिडियामा यो भन्दै आएका छन् । मूल नेतृत्व नै पार्टी र सरकार सञ्चालनका असफल भएको भन्दै पुरै सचिवालय सदस्यहरूले सामूहिकरूपमा राजीनामा दिई अर्को विकल्प दिनुपर्ने उनले बताए रहेका छन् । तर यो भनिरहँदा उनीपनि असफल भएको प्रमाणित हुन्छ ।किनभने स्वयं उनी सचिवालय सदस्य मात्र नभई उक्त पार्टीका एकमात्र महासचिव पनि हुन् । दुई पार्टी अध्यक्षबीच आपसी राजनीतिक रूपमा सामन्जस्यता र समन्वय गर्ने जिम्मेवारी उनको पनि हो । यो गर्न नसक्नु र दुई अध्यक्ष दुई तिर फर्कनुमा उनको पनि गम्भीर त्रुटि छ । त्यसलाई स्वीकारी स्वयं उनले नैतिकताको आधारमा त्यो उक्त महासचिव र अनि सचिवालय सदस्यबाट पनि पहिले राजीनामा दिई यसो भन्दै हिंड्नु स्वभाविक हुन्थ्यो । तर त्यो केही नगरी त्यसो भन्दै हिड्नु यो उनको राजनैतिक नैतिकता र इमान्दारिता भन्दा बाहिराको कुरा हो । एक प्रकारले त्यो पार्टी अनुशासन हीनताको प्रकाट पनि हो । हुनत उनले जे भन्छन् त्यो गर्दैनन् । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा नै हुने भन्दै उनले चुनावमा अत्याधिक मत लिई सभासद भए पनि तर अहिले अन्त्यमा उनले यसलाई बेवास्ता गरी लुम्बिनी प्रदेशको राजधानी दाङ नै हुने भएको छ ।
महासचिव विष्णु पौडेलको यो भनाईलाई न प्रधानमन्त्री ओलीले स्वीकार गरी प्रधानमन्त्री र अध्यक्ष नै छोड्छन् न प्रचण्डले नै । वास्तवमा नेकपा कम्युनिस्ट पार्टी भनिएतापनि वास्तवमा यो बुर्जुवा अझ सामन्ती संस्कार र चरित्र भएको दल हो । कम्युनिष्ट पार्टीको नेतृत्व एउटा खास विचार सिद्धान्त र राजनीति अनि तत्कालीन क्रान्तिकारी कार्ययोजना र दिशाका आधारमा छानिन्छ र चुनिन्छ । तर यो पार्टीको निर्माण नै सामन्ति र बुर्जुवा प्रकारले भएको छ । एउटा दल तर दुई अध्यक्ष हुने यो कुन सिद्धान्तको आधारमा भएको छ ? स्पष्ट नै छ अरू भनिरहनु पर्दैन ।
सामन्ती र बुर्जुवा राजनीति भनेको व्यक्तिवादी राजनीति हो । तर कम्यूनिष्ट पार्टीको राजनीति जनतामा आधारित सामूहिक नेतृत्वमा हुने राजनीति हो । तर नेपालका प्रायःजसो दलहरू यस्तो राजनीतिमा आधारित छैनन् । प्रायः सबै सामान्ती र व्यक्तिवादी राजनीतिमा नै आधारित छन् । पन्चे कांग्रेस र अरू दलहरूको साथसाथै नेपालीका कम्यूनिष्ट पार्टीहरू पनि त्यस्तै व्यक्तिवादी राजनीतिमा नै सञ्चालित भइरहेका छन् । त्यसैको प्रभाव अहिले सत्ताधारी नेकपा पनि परेको छ । पद प्रतिष्ठा र कुर्ची कै हानथाप उनीहरूमा बढी छ । एउटा जंगलमा दुईवटा बाघ मिलि बस्नै नसके जस्तै नेकपामा पनि यी दुई शीर्षनेता ओली र प्रचण्ड पनि यसरी एउटै पार्टीमा मिलि बस्ने स्थिति छैन । जंगली बाघको जस्तै यी दुई नेताहरू पनि आफ्नै निजी पार्टी बनाई राज गर्ने कसरत भइरहेको छ । हुनत यस्ता निजी गुट र उपगुट त यो पार्टीमा एकता भए पानी त्यहाँ सधै थिए ।
अहिले नेकपाको दुई अध्यक्ष बीच आ–आफ्नै यस्ता आरोप प्रत्यारोपका दुई फरक लिखित दस्तावेज आउने भएका छन् । यी दुवैमा खासै कुनै वैचारिक र राजनैतिक भिन्नता हुने छैन । त्यसमा खाली एकले अर्कालाई खुइल्याउने र बदनाम गर्ने अनि आफू मात्र श्रेष्ठ हुने देखिन्छ । तर यी दुवैलाई चुनौती दिँदै त्यहाँ अर्को विशेष राजनैतिक दस्तावेजको आवश्यकता छ । तब मात्र महासचिव विष्णु पौडेलले भनेजस्तै मूल नेतृत्व असफल भएको भन्दै त्यसलाई चुनौती दिन सकिन्छ । नत्रभने जसले जे गरे पनि की ओली की प्रचण्डको अर्को विकल्प छैन । त्यहाँ प्रायः सबै दोस्रो पुस्ताका भनिने नेताहरू पनि आ–आफ्नो पद प्रतिष्ठा र कुर्सीका लागि बिक्री भइसकेका छन् । सबै की ओली की प्रचण्डकै गुणगान दलाली र चाकडीमा नै रमाइरहेका छन् । यतिसम्मकी आफूलाई माक्र्सवादी विद्वान र ब्याख्याता भन्दै जनतालाई कम्यूनिष्टको उपदेश दिँदै हिँड्ने घनश्याम भुसाल जस्ता नेता त प्रम ओलीको कृषिमन्त्री भई पार्टीको यस्तो स्थितिमा पनि चुप लागि बसीरहेका छन् । त्यस्तै कुनै बेलामा जुझारू विद्यार्थी नेता भनिने योगेश भट्टराई पनि ओलीकै पर्यटक मन्त्री भई यस्तो पार्टीको गम्भीर अवस्थामा पनि पुरानो नारायणी दरबार र पूर्व निरङ्कुश र तानाशाही राजाहरूको ऐतिहासिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्न भन्दै हिँडिरहेका छन् ।
अन्त्यमा कम्यूनिष्ट पार्टी एउटा खास विचार सिद्धान्त र राजनीतिका लागि जन्मन्छ र हुर्कन्छ । अहिलेको यो सरकारी नेकपा यस्तो कम्युनिष्ट पार्टी नै होइन । त्यसमा यस्तो कम्यूनिष्ट पार्टीको न विचार छ न सिद्धान्त र चरित्र नै छ । तर पनि बुर्जुवा राजनीतिमा पनि आफ्नै विचार र राजनीति हुन्छ र त्यसमा प्रतिस्पर्धा पनि हुन्छ । तर अहिले नेकपामा यो पनि छैन । दुई अध्यक्षका दुई अलग–अलग दस्तावेज भनिएतापनि त्यसमा खास राजनीतिक अन्तर देखिने छैन । खाली एकआपसमा आफ्नै पद प्रतिष्ठा र कुर्ची कै लागि एकले अर्कालाई लगाइएको आरोपप्रत्यारोप मात्रै हुनेछ । त्यसैले यसको विकल्पमा अर्को त्यस्तै राजनीतिक दस्तावेज जरूरी छ । के माथि विष्णु पौडेलले भने जस्तै यी दुई शीर्षनेताको विरोधमा यस्तै अर्को राजनीति दस्तावेज अघि सार्न नेकपाको अर्को दोस्रो पुस्ता तयार होला ? यो भयो भनेमात्र यो नेकपाको एकता बँच्ने देखिन्छ नत्र भने फुटको अर्को विकल्प नै छैन । माथि भनेजस्तै एउटा जंगलमा दुईवटा बाघ मिली बस्ने स्थिति नै छैन ।