सैनामैनाको कार्यक्रममा अर्थमन्त्री पौडेल र नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्मा ।

बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समृद्धिको यात्रामा रहेको वर्तमान सरकारले नै ५ वर्ष काम गर्ने बताएका छन् । सरकार स्थिर रुपमै रहनेमा विश्वस्त हुन आग्रह गरे ।


‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारले पाँच वर्ष सरकार सञ्चालन गर्छ, अर्थमन्त्री पौडेलले भने,–‘अस्थिरता हुन्छ कि भन्ने आशंका गर्न जरुरी छैन । विश्वस्त रहनुस ५ वर्ष सरकारले काम गर्छ ।’ रुपन्देहीको सैनामैनास्थित पर्राेहा माध्यमिक विद्यालयको भवन आज शिलान्यास कार्यक्रममा बोल्दै पौडेलले जनताको जनादेश अनुसार नै सरकारले काम गर्ने बताए ।


सरकारले गत निर्वाचनमा गरेका प्रतिवद्धताहरु पूरा गर्दै लगेको भन्दै बाँकी कार्यभार पनि यही सरकारले पूरा गर्ने उनले जिकिर गरे । राजनीतिमा उतारचढाव हुँदा अस्थिरता उत्पन्न हुने चिन्ता नागरिकमा हुनु स्वभाविक रहेको भन्दै उनले संघर्षबाट प्राप्त उपलब्धी गुम्न नदिने विश्वास दिलाए ।

अर्थमन्त्रीलाई कालो झण्डा
निर्वाचन क्षेत्रमा तीन दिने कार्यक्रमका लागि आएका पौडेललाई नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघले कालो झण्डा देखाएका छन् । सैनामैनाको कार्यक्रममा बुटवलबाट जादै गर्दा नेपालगञ्ज रोडमा कालो झण्डा देखाइएको हो । प्रदेशको राजधानीसंग अर्थमन्त्री पद साटेको अरोप कांग्रेसले लगाएको छ ।
पौडेलले प्रदेश सभाको अधिकार क्षेत्रको विषयमा पद साट्ने भन्ने कुरै नहुने बताएका छन् । राजधानी नहुदैमा बुटवल पछि नपर्ने जिकिर उनको छ । ‘विकासमा यो या त्यो राजनीतिक दल भन्ने हुदैन सबै एकैसाथ मिलेर काम गर्नुपर्छ, उनले भने ।


नेकपाको आपत्ती
पौडेललाई कालोझण्डा देखाएकाप्रति नेकपा रुपन्देहीले आपत्ती जनाएको छ । विकास योजनाहरुको अनुगमन, उद्घाटन गर्न हिडेका जनप्रतिनिधिमाथि कालो झण्डा देखाएर कँंग्रेसले आफूलाई विकास बिरोधीका रुपमा उभ्याएको नेकपाले जनाएको छ । रुपन्देहीका प्रचार बिभाग प्रमुख मोहन चापागाईले यो विषयलाई पार्टीले गम्भिर रुपमा लिएको बताए ।