महिलाविरुद्ध भइरहेको हिंसा अन्त्य गर्न सञ्चालन हुने विभिन्न अभियानमध्ये अन्तर्राष्ट्रिय रूपमा मनाउने गरिएको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आज बुधबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । क्यारेबियन मुलुक डोमिनिकन गणतन्त्रमा राजनीतिक कार्यकर्ता तीन दिदीबहिनीको हत्याविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता स्वरूप यो दिवस मनाइन्छ । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो ।
विश्वव्यापी रूपमा सुरु गरिएको यो अभियानको मुख्य उद्देश्य महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नु होे । लैंङ्गिक हिंसाविरुद्ध जनचेतना जगाउने र महिलाविरुद्ध हुने हिंसाको प्रभावलाई कम गर्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको हो । निश्चय नै १६ दिने अभियानले लैंङ्गिकताका आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्न प्रचारात्मक र नैतिक साहस प्रदान गर्दैै आएको छ तर १६ दिने अभियानले मात्रै समाधान हुन नसक्ने भएकाले यस्ता पहललाई निरन्तरता दिन जरूरी छ ।
लैंङ्गिक हिंसालाई व्यापक रूपमा बुझ्नु पर्दछ । यौन शोषणलाई मात्र हिंसाका रूपमा नहेरेर महिलाविरुद्ध हुने सामाजिक, साँस्कृतिक र विविध विभेद नै समग्रमा लैंङ्गिक हिंसा ठहर्ने भएकाले यस्ता विभेदको अन्त्य जरूरी छ । नेपालको संविधानले महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ । महिलाविरुद्ध धार्मिक, सामाजिक, साँस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिए कानून बमोजिम दण्डनीय हुने संवैधानिक व्यवस्था र विभिन्न कानूनले महिलालाई सुरक्षित गरेको छ । तर व्यवहारमा महिलामाथि घरेलुदेखि सामाजिक रूपमा हिंसा भइरहेका घटना भने सार्वजनिक भइरहेका छन् ।
नेपालमा महिलामाथि हुने हिंसा चिन्ताजनक रूपमा बढ्दै गएको छ । समाजमा छोरी बुहारी जोगाउन गाह्रो भइरहेको छ भन्दा पनि हुन्छ । वास्तवमा महिलामाथि हुने हिंसा महिला पुरूषबीच रहेको असमान शक्ति सम्बन्धले गर्दा भएको हो । यस्तै राज्य वा गैरराज्यबाट गरिने लैंङ्गिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । अहिले पनि महिला आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिकलगायत मानव अधिकारका आधारभूत अधिकारहरूबाट वञ्चित छन् ।
वास्तवमा महिलाविरुद्धको हिंसा नितान्त रूपमा मानव अधिकारको हनन हो । अपराध हो । महिला हिंसाको कुनै पनि स्वरूप सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन । अब हिंसालाई सहनु अथवा भागेर केही नबोल्नु भनेको हिंसालाई प्रश्रय दिनु हो । महिला पुरूष मिलेर नै हिंसाको अन्त्य गर्न सकिन्छ । मूलतः कानूनी राज्यमा हिंसा गर्नेहरूले कठोर दण्ड सजाय पाउने व्यवस्थाको ग्यारेन्टी गरिनु पर्दछ । शक्ति र पहुँचका भरमा अपराधी उम्किने अवस्थाको अन्त्य हुनुपर्दछ । गरिबी र विपन्नताको अन्त्य गर्न सक्ने हो भने पनि हिंसामा कमी आउन सक्दछ । महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध नारी जागरण नै आजको आवश्यकता हो ।