पहिलो चरणमा ७२ करोडको लागतमा निर्माण हुने ५० किलोमिटर सडकको शिलान्यास मंसिर १० गते अर्थमन्त्री पौडेलले गर्ने कार्यक्रम छ ।

लुम्बिनी संवाददाता
बुटवल
रुपन्देहीका आर्थिक तथा पर्यटन विकासमा महत्वपूर्ण मानिएको तिनाउ दानव कोरिडोर निर्माण शुरु भएको छ । तिनाउ नदी र दानव नदीको दुबैतर्फ दुई लेनको सडक बनाउन लागिएको हो । यो सडक निर्माणपछि तिनाउ नटीय क्षेत्रको बस्ती सुरक्षित हुनेछ भने नदीको सौन्दर्यकरण समेत बढ्नेछ ।
रुपन्देही क्षेत्र नम्बर २ का सांसद एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो योजनालाई ड्रिम प्रोजेक्टका रुपमा अघि बढाएका थिए । निर्वाचन घोषणा पत्रमा महत्वका साथ राखेका पौडेलले योजना कार्यान्वयनमा तदारुकता देखाएका छन् । मंसिर १० गते अर्थमन्त्री पौडेलले नै कोरिडोर निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेकोछ ।
बुटवलको बसपार्क पछाडीबाट शुरु हुने कोरिडोर लुम्बिनी रोडमा पुगेर जोडिनेछ । यो दीर्घकालीन रुपमा मर्चवारसम्म पुराउने योजना रहेको छ । तिनाउ नदीलाई हिउदको समयमा जलासय बनाएर ढुंगा सयर गराउने योजना समेत रहेको छ । कोरिडोर निर्माण पश्चात ती योजनाहरुले समेत मूर्त रुप पाउदै जानेछन् ।
तिनाउ र दानव नदीको दायाँबायाँ दुई लेनको निर्माण हुने सडकले नदीको दीर्घकालीन व्यवस्थापन र पर्यापर्यटनको विकासका लागि महत्वपूर्ण काम गर्नेछ । तिनाउ आसपासको बस्ती संरक्षणका लागि अहिले पनि तटबन्धनको काम भइरहेको छ । डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरका अनुसार पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र दानव नदीको १५ किमिमा सडक निर्माण गरिनेछ । यसमध्ये तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किमिका लागि ठेक्का लागेको छ ।

विष्णुप्रसाद पौडेल


तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँको ठेक्का छ । असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा सक्ने सम्झौता छ । सम्झौताअनुसार किराँतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियाँ जेवीले सर्भेको काम थालेको प्रवक्ता कुँवरले बताए । ‘ठेक्का भएको तिनाउपट्टि बुटवल उपमहानगर बसपार्कपछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगरघाटसम्म र दानवपट्टि बेलवासको झोलुंगे पुलदेखि नयाँगाउँको पुलसम्म सर्भे गर्दैछौं,’ उनले भने, ‘सर्भेलगत्तै करिडोर निर्माणमा लाग्नेछौं ।’
करिडोर निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । त्यसले ५० किलोमिटर करिडोर निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने देखाएको छ । डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ ।
पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र बनाइनेछ । त्यसको छेउमा ७र७ मिटरको दुई लेन सडक हुनेछ । सडकको छेउमा फुटपाथ बनाइनेछ । बुटवल क्षेत्रमा पर्ने तिनाउ नदीको उकास क्षेत्रमा एक लेनको सडक सञ्जाल छ । दानव नदीको धेरै ठाउँमा भने ट्र्याकसमेत खोलिएको छैन ।
तिनाउ नदीकै उकास क्षेत्रमा मोतिपुर औद्योगिक क्षेत्र समेत बन्दै छ । यो सडक निर्माणका क्रममा केही घरटहराहरु सार्नुपर्ने बुटवल सडक कार्यालयले जनाएको छ । त्यसको उचित व्यवस्थापन समेत गर्ने कार्ययोजना तय भइसकेको छ ।