एसिड आक्रमणबाट पीडित वसन्तीको पीडा
रामकुमार श्रेष्ठ

नवलपुर
कावासोतीकी वसन्ती परियारमाथि एसिड आक्रमण भएको दुई वर्ष बितिसक्यो तर न उनको शरीरमा लागेको घाउ निको भएको छ न मनको घाउ । पूर्वी नवलपरासीको कावासोती १६ डण्डा हरबासी निवासी ३१ वर्षीया वसन्ती परियार त्यो घटनापछि उपचार गरेर घर आए पनि घरबाट बाहिर निस्कन सकेकी छैनन् ।
२०७५ साल असोज ८ गते सोमबारका दिन घरका लागि तरकारी किनमेल गर्न डण्डा हाटबजार गएकी वसन्ती परियारलाई हाटबजारबाट फर्कदै गर्दा साँझ साढे ६ बजेतिर बाटो ढुकेर छिमेकी विमल श्रीपालीले एसिड आक्रमण गरेका थिए । उनी घर बाहिर निस्कँदा छरछिमेकी कोही नबोल्ने गरेका कारण पनि घरबाट बाहिर निस्कन उनलाई मन लाग्दैन भने शरीरमा एसिडका कारण लागेको घाउले गर्दा पनि उनलाई घाममा निस्कन मिल्दैन ।
त्यति मात्र होइन उनको एउटा आँखामा एसिड परेका कारण समस्या भएकोले धुलो धुँवा, घाममा हिंड्न असहज भएको छ । वसन्ती भन्छिन् – पहिलासँगै हिंड्डुल गर्ने साथीहरू पनि भेट्न आउँदैन । मसँग बोल्दा भेट्दा इज्जत नै जान्छ जस्तो गर्छन् ।’
एसिड आक्रमणले उनको अनुहारको पुरै भाग बिग्रिएको छ त्यति मात्र नभएर नाक, आँखा, टाउको, हात समेत बिग्रिएको छ । एउटी सुन्दर महिला अहिले कुरूप जस्तै भएकी छिन् । वसन्ती भन्छिन् – ‘कहाँ त्यो रूप कहाँ आजको यो रूप । सम्झन पनि मन लाग्दैन ।’
एउटा आँखा खुल्लै
एसिड आक्रमणका कारण उनको एउटा आँखा नै बिग्रिएको छ । एउटा आँखा निदाउँदा पनि खुल्ला हुने र नदेख्ने भएका कारण उनलाई थप पीडा हुने गरेको छ ।
रात भरी निदाउँदा पनि आँखा खुल्लै भए पनि बिहान उठ्दा उनलाई त्यो आँखा साह्रै दुख्ने, पोल्ने गर्दछ । वसन्ती भन्छिन् – एउटा आँखा बन्द नै नहुने भएका कारण बिहान उठ्दा आँखा पोल्छ । आधा घण्टा लगाएर सफा नगरेसम्म निक्कै गाह्रो हुन्छ । बिहान किन भयो होला जस्तो लाग्छ ।
उपचार खर्च असीमित
उनको उपचारमा अहिलेसम्म आठ लाख बढी उपचार खर्च भइसकेको छ । उनलाई सहयोगको नाममा दुई÷चार हजार सहयोग आए पनि अन्य उपचार खर्च घर जग्गा धितो राखेर बैंकबाट कर्जा झिकेर गरिएको उनले बताइन् । उपचारका लागि निकालेको कर्जा तिर्न नसक्दा थप उपचार गर्न नपाएको उनी बताउँछिन् । उनको शरीरमा अझै पनि अनुहारमा परेको खाल्डा पुर्ने, एउटा आँखाको नानी फेर्ने, नाक, हातमा प्लाष्टिक सर्जरी गर्न बाँकी नै छ । त्यसैगरी एसिडका कारण उम्रन छाडेको उनको कपाल तान्न पनि बाँकी छ ।
बसन्तीको उपचारमा अझै खर्च कति लाग्छ यकिन थाहा छैन । उनले भनिन् – ‘कपाल तान्न मात्रै डेढ लाख खर्च लाग्छ भनेर भन्नुभयो आँखाको लेन्स, हात, मुखको सर्जरी, नाकको सर्जरी गर्दा कति लाग्छ थाहा छैन ।’
अहिले पनि एसिड परेको ठाउँमा दिउँसो घामले डढ्नबाट जोगाउन र पोल्नबाट जोगाउन अझै क्रिम लगाएर बस्नु पर्ने बाध्यता उनी सुनाउँछिन् ।
छोराछोरीको लागि बाँचेको छु
बसन्ती परियार एसिड आक्रमणमा पर्न अगाडि निक्कै सुन्दरी थिइन् । अहिले उनले त्यो रूप पुरै गुमाएकी छिन् । उनको मन शान्त पार्न आफन्त र स्वास्थ्यकर्मीहरूले सबै ठिक हुन्छ भन्दै ढाडस दिने गरे पनि उनको मनमा आफू पहिले जस्ती हुन्छ भन्ने कत्ति पनि लागेको छैन । उनी भन्छिन् – ‘पुरानो दिन सम्झिएर अर्थै छैन । छोरा छोरीको लागि बाँचेको छु । उनीहरूको आमा छैन भन्ने नपरोस् भनेर मन सम्हालेर बसेको छु । रूप हेर्दा त दुःख लाग्छ तर बच्चाहरू हेरेर मन बुझाउँछु ।’
कानूनप्रति असन्तुष्टि एसिड आक्रमणमा परी आफ्नो सुन्दर रूप गुमाएकी वसन्ती परियारलाई आफूमाथि आक्रमण गर्ने दोषी विमल श्रीपालीले पाएको सजायले चित्त बुझेको छैन ।
आफ्नो रुप बिग्रियो, समाजले हेर्ने दृष्टिकोण बदलियो तर दोषी जेलमा सरकारी दालभात खाएर ससुरालीमा बसे झैैं गरेर बसेको छ ।
‘जसरी हाम्रो रुप बिगारिएको छ । एसिड आक्रमण गर्नेहरुको पनि त्यसैगरी नै एसिड हालेर रुप बिगारिदिनु पर्छ,’ बसन्ती भन्छिन् –‘हुन त हामीले चाहेको जस्तो कानून त आउन्न तर पनि यस्तो घटना रोक्न एसिड आक्रमण गर्नेलाई पनि एसिड हानेर अनुहार बिगारिदिने कानून बने बल्ल यस्तो घटना कम हुने थियो ।’
अझै आक्रमणको त्रास
वसन्तीमाथि आक्रमण गर्ने विमल श्रीपाली अझै पनि जेलबाट छुटेर आक्रमण गर्न आउँछ कि भन्ने त्रास बसन्तीमा देखिन्छ । बसन्ती भन्छिन् –‘त्यसले अझै पनि जेलमा राम्रो गरेझै गरेर सजाय कम गरी बाहिर निस्केपछि मार्छु भन्ने गरेको सुनेको छु ।’
वसन्तीलाई आक्रमण गर्ने विमल श्रीपालीको घर र वसन्तीको घर नजिकै भएको कारण पनि बसन्ती घरबाट निस्कन असहज महसुस गर्दछिन् । उनी भन्छिन् –‘डर त लाग्दैछ तर पनि घर नजिकै छ । उनको परिवारलाई देख्दा मन खिन्न हुन्छ । मेरो छोरालाई जेल पठाएर यहाँ मज्जाले हिंड्छे भन्छ कि झै लाग्छ ।’
यसरी भएको थियो आक्रमण
श्रीमान र एक छोरा, एक छोरीको साथमा हाँसिखुसी जीवन बिताइरहेकी वसन्तीलाई आफ्नो घर वरिपरिको वातावरण ठिक लागिरहेको थिएन । त्यसैले उनले आफ्नो श्रीमानलाई विदेशबाट बोलाइन् ।
श्रीमानसँग भारततिर छोरा छोरी सबै लिएर जाने उतै केही दुःख गर्ने र छोरा छोरीको पठनपाठन सकिएपछि मात्र नेपाल फर्किने सोच बनाएकी थिइन् वसन्तीले ।
२०७५ साल असोज ८ गते सोमबारको दिन थियो । गाउँ नजिकै डण्डा बजारमा हाटबजार लाग्थ्यो त्यही हाटबजारमा बहिनीसँगै तरकारी किनमेल गरेर बसन्ती फर्किदै थिइन् ।
बसन्तीको रुपसँग जलेर बसेका विमल श्रीपालीले मौका कुरेर बसेका थिए । बसन्ती घर फर्कदा साँझको साढे ६ बजेको थियो । विमलले एक्कासी पछाडिबाट एसिड आक्रमण गरे । मुख भरी हुने गरी एसिड फालिदिए । वसन्तीले आफूलाई के भयो भनेर बुझ्न नपाउँदै विमलले वसन्तीमाथि एसिड फालेर मात्र चित्त बुझाएनन् । ज्यान लिने उद्देश्यले सांघातिक आक्रमण पनि गरे ।
विमलले वसन्तीको पेटमा पटक–पटक छुरा प्रहार गरेर गम्भीर घाइते बनाए । संयोगले वसन्तीसँगै भएकी उनकी बहिनी र घटना लगत्तै घटना स्थल आइपुगेका वसन्तीका छोराका साथीले तत्काल उद्दार गरेर वसन्तीलाई अस्पताल पु¥याए र उनको ज्यान बचाए ।
वसन्तीले बेलैमा उपचार पाएर ज्यान त बचाइन तर उनको मनमा लागेका घाउ भने अझै आलै छ । वसन्तीका अनुसार त्यो दिन उनलाई बचाउन न कोही आए न त उनलाई सजाए दिलाउन घटनाका प्रत्यक्षदर्शीहरु साक्षी नै बस्न माने ।
काम पाए केही गर्छु
वसन्तीलाई अझै पनि घर परिवार र छोरा छोरीका लागि केही गर्न मन छ । वसन्तीले भनिन् – ‘सरकारले हामी जस्तालाई सीप र क्षमताअनुसारको काम दिने भनेको थियो म धेरै पढेको छैन तर पनि सरकारले पियनको काम दिए पनि गर्न तयार थिएँ ।’
वसन्ती थप्छिन् –‘छोरा छोरीलाई पढाइदिए हुन्थ्यो, हामी जस्तालाई निःशुल्क उपचार गरिदिए हुन्थ्यो । सानोतिनो भए पनि सरकारी जागिर खान पाए हुन्थ्यो ।’