बुटवल । रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेल रुपन्देहीका बिभिन्न कार्यक्रममा सहभागि हुन आज बुटवल आउदैछन् ।


अर्थमन्त्री बनेपछि पौडेल पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउन लागेका हुन् । उनले रुपन्देहीमा तीन दिनसम्म रहदा बिभिन्न कार्यक्रममा सहभागि हुने सचिवालयले जनाएको छ ।
आज मध्याह्न भैरहवा विमानस्थलबाट आउने पौडेल साझ ५ बजे बुटवलको पार्टी कार्यालयमा भेटघाट कार्यक्रम रहेको छ । बुधबार विहान १० बजे सैनामैनामा दुई विद्यालय भवनको उद्घाटन कार्यक्रम रहेको सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले जानकारी दिए ।


त्यस्तै बुधबार ११ बजे तिलोत्तमास्थित गिर्वाण स्कुलको भवन शिलान्यास हुनेछ । यी भवन पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण गरेका हुन् ।


बुधबार दिउसो १ बजे तिनाउ दानव कोरिडोरका शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाकार विकास मन्त्रालयले जनाएको छ । सडक विभागको आयोजनामा यो कार्यक्रम तिलोत्तमाको मगरघाटमा हुने बताइएको छ । यो पौडेलको ड्रिम प्रोजेक्ट हो ।


बुधबार साझ पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको छ । मंसिर ११ गते बिहिबार पौडेलले झुम्सा खानेपानीको कार्यक्रममा पाल्पाको दोभान पुग्नेछन् । सोही दिन १२ बजे तिलोत्तमा स्थित आनन्दवनमा १५ शैयाको अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पौडेलले करिव ४ सय स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेका थिए । सोही अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा पहिलो अस्पताल शिलान्यास गर्न लागेका हुन् ।


बिहिबार दिउसो बुटवलमा करसम्बन्धी कार्यक्रम समेत हुनेछ । बुटवल नगरपालिकाका आयोजनामा छलफल कार्यक्रम समेत रहेको छ । बिहिबार साझ पौडेल काठमाण्डौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।