चाडबाडमा समेत बिकेन ढाका
कृष्ण पोखरेल

पाल्पा
पाल्पाका ढाका उद्यमीलाई चाडबाडमा केही राहत मिल्ला भन्ने आशा थियो । चैतदेखि व्यापार नै नभएर निराश भएका उनीहरू दसंै तिहार आउँदा उत्साहित थिए । तर यी चाडमा समेत पाल्पाली ढाकाको व्यापार भएन् । व्यापार नभएपछि उद्योगीदेखि व्यापारीसम्म निराश भएका छन् ।
स्वदेशी उत्पादनका उद्योगहरू व्यापार नहुँदा संकटमा परेका छन् । पाल्पाली ढाका प्रख्यात ब्राण्ड हो । विदेशमा समेत खपत हुने ढाकाका उत्पादन कोरोना महामारीका कारण संकटमा परेका छन् । उत्पादित सामग्रीको बजारीकरण नभएपछि उद्योग संकटमा परेका हुन् । उद्योग संकटमा पर्दा त्यसमा आस्रित ८० प्रतिशत मजदुरको रोजिरोटी खोसिएको छ ।
२०१५ सालदेखि देशकै नमूना उद्योगको रूपमा स्थापित पाल्पाली ढाका कपडा उद्योग यतिखेर कोरोना संक्रमणका कारण धराशायी हुने अवस्थामा पुगेका छन् । पर्यटन व्यवसाय ठप्प भएपछि पाल्पाली ढाका व्यवसाय प्रभावित भएको हो । कोरोना संक्रमणको जोखिमले यातयात, पसल, उद्योगधन्दा बन्द हँुदा पाल्पाली ढाका उद्योग तथा व्यवसाय पनि धराशायी हुने अवस्थामा पुगेको हो ।
कोरोना संक्रमणले ढाकाको व्यापार व्यवसाय बन्द भए पनि कामदारले दूरी कायम उद्योगमा उत्पादन गर्दै आएका थिए । उत्पादित कपडा बिक्री नभएपछि स्टोर भरिभराउ छ । ‘चैतदेखि एक पैसाको ढाका बिक्री भएको छैन । कामदारलाई ऋणधन गरेर ज्याला दिएका छौं तर उत्पादित वस्तु बिक्री नभएपछि उद्योग नै बन्द गरी कामदारलाई बिदा गर्नुपरेको छ ।’– सरस्वती ढाका उद्योगका प्रोपाइटर हरि रायमाझीले बताए ।
पाल्पाली ढाका स्वदेशमा मात्र नभइ विदेशमा पनि लोकप्रिय छ । पाल्पामा आउने पर्यटकको पहिलो रोजाइ नै पाल्पाली ढाका हुन्छ । पाल्पा आउने पर्यटकले कोसेलीको रूपमा ढाका कपडा तथा चोलो, खास्टो, टोपी, ब्याग, पछ्यौरा लैजाने गर्छन् । चैतदेखि असारसम्म ४ महिना पूर्णरूपमा ढाका पसल बन्द भयो । साउनमा पसल खोले पनि पर्यटकको आवतजावत ठप्प हुँदा एक पैसाको व्यापार नभएको कार्की ढाका उद्योगकी प्रोपाइटर ज्ञानु कार्कीले बताइन् । चाडवाडमा समेत व्यापार नभएको उनको गुनासो छ ।
पाल्पाली ढाका उद्योगमा एक हजार पाँच सयभन्दा बढीले काम गर्दै आएकोमा अहिले ८० प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । ढाका बुनेर जीविकोपार्जन गर्दै आएका अधिकांश महिला कामबिहीन भएका छन् । ढाका व्यवसाय पर्यटनमा आधारित व्यवसाय भएकाले चैतदेखि भदौसम्म व्यापार भएन । असोज कार्तिक महिना पनि उस्तै रह्यो । कोरोना संक्रमणको समयमा ढाकाको माक्स मात्र बिक्री भएको र अन्य सरसामान बिक्री नभएको मदनपोखरा ढाका पसलकी सञ्चालिका शितम भण्डारीले बताइन् । विगतमा वार्षिक ५०÷६० लाखसम्म कारोबार हुँदै आएकोमा पाँच महिनाको अवधिमा पसल भाडा तिर्न समेत धौधौ भएको भण्डारीले बताइन् ।
पाल्पामा २०१५ सालदेखि ढाका उद्योग सञ्चालनमा छन् । स्वर्गीय गणेशमान महर्जनले पाल्पामा ढाका उद्योग सञ्चालनमा ल्याएका थिए । पाल्पामा हाल दुई सयभन्दा बढी महिला उद्यमीले ढाका उत्पादन गर्दै आएका छन् । ढाका व्यवसायलाई देशकै प्रमुख उद्योगको रूपमा स्थापित गर्दै विदेशमा समेत निर्यात गर्ने उद्देश्यले यूनडीपीको सहयोगमा करिब ६ करोडको लगानीमा तानसेन नगरपालिकाले सुरु गरेको परियोजनासमेत कोरोना संक्रमणका कारण अगाडि नबढेको तानसेन नगर प्रमुख अशोककुमार शाहीले बताए ।
‘घरमा बस्दा मानसिक तनाव बढ्यो । लकडाउनपछि पसल खुल्यो तर व्यापार भएन । बत्ती काटेर दिन बिताएँ । अहिले पुनः पसल बन्द भयो, के गरेर खाने हो ? कसरी परिवार पाल्ने हो ?’–ढाका उद्यमी सरस्वती भट्टराईले बताइन् ।
तानसेन, अर्गली, मदनपोखरा क्षेत्रमा रहेका ढाका उद्योग अहिले पाल्पाका १० वटै पालिकासम्म पुगेका छन् । घरमै बसीबसी सञ्चालन भएका कपडा उद्योग कोरोना संक्रमणले धराशायी बन्दै गएका छन् । ढाकाको सरसामान बेचेर जीविकोपार्जन गर्दै आएकी रामपुरकी सविता रानालाई अहिले काम नहुँदा घरखर्च चलाउन कठिन छ ।