यज्ञप्रसाद न्याैपाने ‘दीपक’

पंक्तिबद्ध हिंड्छन् कमिलोहरू
लहरै पाइला चाल्छन्
र पुग्छन् खोजी रहेको गन्तव्य
आफै भन्दा गह्रौं भारी बोक्छन्
ओसार्छन् आहारा समूहले नै
कति सुन्दर हुन्छन् कमिलोहरू ।

कतै भत्कियो भने मार्चपास
हतारिन्छन् र समात्छन् फेरि आफ्नै पाइला ।
चुपचाप हिडिरहेका यी कमिलोहरू
पृथ्वीको जुन भूगोलमा पुग्छन्
बनाइदिन्छन् त्यसैलाई रमणीय
कति सुन्दर हुन्छ उनीहरूको भूगोल ।

कमिलोहरू आफ्नो अगाडि हिंडिरहेको अर्कोलाई
पूरापुर भरोसा गर्छन्
कमिलोहरू आफ्नै पछाडि हिंडिरहेको अर्कोलाई
खाडलमा खसाउँदैनन्
कति सुन्दर हुन्छ उनीहरूको विश्वास ।

कहिले ननिदाई हिंड्छन् कमिलोहरू जमिनभरि
आफ्नै टाउकोमा अडाइदिन्छन् दुखको तौल
र सञ्चित गरिदिन्छन् अरूको लागि आफ्नै पेट ।
बुझ्नु ! कमिलोको पनि आफ्नै धर्म छ ।
कति सुन्दर हुन्छ उनीहरूको धर्म ।

जीवन बाँची हिंड्छन् रुख, माटो, खोला जता पनि ।
पहरा वा खरबारी उतै पनि भेटिन्छन् कमिलोहरू ।
कमिलोहरू साह्रै सुलभ हुन्छन्,
कति सुन्दर हुन्छ उनीहरूको बाँच्नुको मूल्य ।

कमिलोको समाजमा कमिलोहरू मान्छे हुन सक्छन् ।
तर मान्छे कहिल्यै कमिलोे बन्न सक्दैन ।