जेबी दर्लामी

२०१६ मा पहिलो जननिर्वाचित मन्त्रिमण्डलमा समावेश हुँदा काशीनाथ गौतमको उमेर जम्मा ३३ वर्षको थियो । २०१७ को शाही कूपछि प्रवास (भारत) मा रहेका गौतमले काशी विद्यापीठबाट अर्थशास्त्रमा एम.ए. पूरा गरे । सोही अवधिमा उनले लेखेका ‘जनक्रान्ति किन ?’, ‘नेपालका लागि प्रजातान्त्रिक समाजवादी मार्ग’ लगायतका पुस्तक प्रकाशित भए ।

अर्घाखाँची जिल्लाकोे राजनैतिक इतिहास र अझ खासगरी राणाशासन अवधिको अर्घाखाँचीको उल्लेख गर्दा एकजना आन्दोलनकारीको नाम छुटाउनै मिल्दैन । ती हुन् काशीनाथ गौतम । गौतम यस जिल्लामा प्रभावशाली नेताका रूपमा परिचित थिए ।


काशीनाथ गौतमको जन्म वि. सं. १९८३ साल असोज महिनाको २१ गते खिदिम पोखराथोकमा भएको थियो । शिक्षित परिवारमा जन्मिएका गौतमले हरिहर संस्कृत पाठशाला, खिदिम पोखराथोकबाट वि. सं. १९९८ सालमा प्रथमा उत्तीर्ण गरेका थिए । गुरुहरूप्रति देखाइने या देखाउनुपर्ने अतिशिष्टाचारका बारेमा बहस चलाएको अभियोगमा गौतम आफूले पढिरहेको हरिहर संस्कृत पाठशालाबाट निष्कासन पनि भएका थिए । पछि उनले ‘सम्पूर्ण मध्यसिद्धान्तकौमुदी’ कण्ठस्थ सुनाएपछि पुनः पाठशालामा प्रवेश पाएका थिए । यसरी हेर्दा काशीनाथ गौतम सानैदेखि केही फरक सोच्ने मानिस थिए भन्न सकिन्छ ।
परम्परामाथि प्रश्न गर्ने उनको सानैदेखिको स्वभावले नै उनलाई कालान्तरमा नेताको रूपमा स्थापित गरेको हो पनि भन्न सकिन्छ ।

केही समयपछि उनका पिता नारायणप्रसाद गौतमले उनलाई हरिहर संस्कृत पाठशालाबाट छुटाएर काठमाडौं लिएर गए । वि. सं. १९९८ सालमा उनी काठमाडौंमा रहेको तीनधारा संस्कृत छात्रवासमा रहेर रानीपोखरी संस्कृत प्रधानपाठशालामा अध्ययन गर्न थालेका बुझिन्छ । वि. सं. १९९९ मा उनको विवाह शारदा पोख्रेलसित भयो । वि. सं. २००० सालमा उनले व्याकरण विषयबाट सम्पूर्णमध्यमा उत्तीर्ण गरे । उनले २००३ सालमा साहित्य विषयमा शास्त्री (स्नातक) द्वितीय श्रेणीमा उत्तीर्ण गरे । यही शास्त्री तृतीय खण्डको परीक्षा दिन काठमाडौंबाट बनारस (काशी) गएको समयमा २००३ साल फागुन २ गते उनले विश्वेश्वरप्रसाद कोइरालाको हातबाट बनारसको ब्रह्मघाटमा नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टीको सदस्यता ग्रहण गरे । शास्त्री तृतीय खण्डको परीक्षा उनले दिन पाएनन् कारण, बनारसमा त्यस समय हिन्दु मुस्लिम दङ्गा सुरु भएको थियो । स्थगित परीक्षा २००४ सालको जेठ ८ गते हुनेभएको थियो । सोही परीक्षा दिन जाने बेलाको रेलमार्गको व्यय र दैनिक खर्चको विषयमा पाठशाला प्रशासन र विद्यार्थीकाबीच विवाद हुनपुग्यो । विवादले ‘जयतुसंस्कृतम्’ आन्दोलनको रूप लियो । त्यही आन्दोलनको बलमा काशीनाथ गौतम, श्रीभद्र शर्मा, एकदेव ज्ञवाली, राजेश्वर देवकोटा, खगनाथ नेपाल, खुबीराम आचार्यहरूले २००४ सालको जेठ १५ गते संस्कृतशिक्षा डाइरेक्टर पण्डित हेमराज पाण्डेसामु संस्कृत शिक्षामा सुधार गरी भूगोल, इतिहास, राजनीतिशास्त्र लगायतका विषय समावेश गरिनुपर्ने माग राखे । जयतुसंस्कृतम् आन्दोलनको उद्देश्य शिक्षामा सुधार भनिएपनि त्यो वास्तवमा राणा शासनकै विरुद्धमा थियो । आन्दोलनबाट तर्सिएका राणाहरूले ती विद्यार्थीहरूको माग सुनुवाई गर्नु त कता, झन् उनीहरूलाई ३ दिनभित्र चारभञ्ज्याङ कटाउने आदेश दिए ।

त्यही बेला हो, काशीनाथ गौतमको साथसंगत विश्वेश्वरप्रसाद कोइरालासँग झाङ्गिने मौका पाएको । छात्रावासबाट निकालिएका विद्यार्थीहरू बनारस पुगी नेपाली राष्ट्रिय काङ्ग्रेसमा आबद्ध भए ।


यसरी अर्घाखाँचीमा नेपाली राष्ट्रिय काङ्ग्रेसको पहिलो सदस्य बने काशीनाथ गौतम । उनका बारेमा विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो ‘आत्मवृत्तान्त’ मा यसरी बयान गरेका छन्— ‘काशीनाथ गौतम, हाम्रा पर्चाहरू लिएर एउटा भरियाजस्तो बनेर जान्थे आफ्नो जिल्लामा र काम गर्थे । त्यसरी हाम्रो काम चलिरहेको थियो । …’


काशीनाथ गौतम तत्कालीन गुल्मीका सर्वमान्य नेता नै थिए । अर्घाखाँची त्यतिबेलासम्म पनि गुल्मीकै अङ्ग रहिआएको थियो । जयतुसंस्कृतम् आन्दोलनले गौतमलाई काङ्ग्रेस पार्टीसँग नजिक बनायो । त्यतिबेलाको राजनैतिक परिवेशका बारेमा लेखक राजेश्वर देवकोटाले यसरी वर्णन गरेका छन्,— ‘सरसरी हेर्दा पाठ्यक्रमको सुधारको माग गरी विद्यार्थीहरूले आन्दोलन मच्चाए । तीमध्ये गुल्मी–पाल्पाका काशीनाथ गोेतामे एक प्रमुख पात्र थिए । पाठशालाबाट निकालिएर प्रवासतिर लाग्नेहरूमध्ये हाम्रा अगुवा एक काशीनाथ भए, ती त्यसपछि गौतम पनि भए ।’

देवकोटाको शब्दमा ‘क्रान्तिका लागि आधारभूमि तयार पार्न बनारसबाट नेपालको पहाडतिर आउँदैगर्दा काशीनाथ गौतम पक्राउ परेका थिए । एउटा काममा लागेपछि उनको अर्कोतिर ध्यान बाँडिँदैनथ्यो । कता लेक्चर दिँदैथिए, होश राखेनन् होला, समातिए । उनले आफैंले सुनाएको हो– उनी रात परेपछि पढ्न बस्थे । अरू सुतेपछि उनलाई चुरोट खाने आदत थियो । एक रात त पढ्दापढ्दै चुरोट खान मन लागेछ तर सलाई सिद्धिएछ । उनको तल्तल् धेरै जागृत भएछ । एकछिन अघि फ्याँकेको चुरोटको ठूटो सिरकमा अल्झिएर आगो लागेको रहेछ । उनलाई आफ्नै सिरक डढेको कति खुसी लागेछ ! पहिले त्यसै आगोमा चुरोट सल्काएछन् अनि बल्ल आगो मारेछन् ।’

काशीनाथ गौतम पक्राउ परेको मिति प्रा. माधवराज गौतम वि. सं. २००७ सालको भदौ ६ गते लेख्छन् । काशीनाथ गौतम केन्द्रिय कारागारमा रहेका टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद ढुंगाना, गोविन्दप्रसाद शर्मा, खड्गमान सिंह बस्नेतसँगै २००७ सालको माघ ९ गते रिहा गरिएका थिए । एउटा रोचक पक्ष के छ भने गौतम जेलमै रहेको अवस्थामा २००७ साल माघ ३ गते मिलेटरी गभर्नर रुद्रशमशेरको अधीनमा रहनेगरी एक मन्त्रिमण्डलको गठन गरिएको थियो, त्यस मन्त्रिमण्डलमा जेलमा रहेका काशीनाथ गौतमलाई मुख्यमन्त्री बनाइएको थियो ।

मन्त्रिमण्डलमा उपमुख्यमन्त्री नरेन्द्रध्वज जोशी, परराष्ट्रमन्त्री जगतबहादुर जोशी, रक्षामन्त्री धैर्यशमशेर राणा, न्यायमन्त्री भुवनविक्रम शाह, गृहमन्त्री पद्मचन्द्र श्रेष्ठ, खाद्यमन्त्री मथुराप्रसाद प्रधान, अर्थमन्त्री लक्ष्मीप्रसाद प्रधान, यातायातमन्त्री मोहनलाल भारी, सिविल सप्लाईमन्त्री चेतमान बज्राचार्य, मिलिटरी सप्लाईमन्त्री भूपेन्द्रविक्रम शाह, स्वास्थ्यमन्त्री श्यामकृष्ण मल्ल, प्रचारमन्त्री महेन्द्रप्रसाद प्रधान, सूचनामन्त्री जङ्गबहादुर चन्द, जनसम्पर्कमन्त्री त्रिरत्न शाक्य वैद्य, शिक्षामन्त्री सुश्री तरुलता भट्टराई र ग्रामसुधारमन्त्री कमलराज रेग्मी थिए ।

सम्भवतः विश्वको आँखामा छारो हाल्ने राणाहरूको यो रणनीति हुनुपर्छ । तर, काशीनाथ गौतमजस्ता होनहार काङ्ग्रेसी (जो बमबारुदको जोहो गर्न र क्रान्तिमा युवाहरूलाई समावेश गराउने उद्देश्य लिएर भारतबाट आएका) लाई मुख्यमन्त्री बनाउने योजना कसरी बन्यो होला ? यो प्रश्न निकै गम्भीरजस्तो लाग्छ । पक्राउ परेको ६ महिनामै काशीनाथ यसरी मन्त्रिमण्डलको मुखिया बने । के उनले आत्मसमर्पण गरेका थिए ? कि उनको विद्वता देखेर राणाशाही उनका अगाडि झुकेको थियो ? यी प्रश्न यहाँ जायज देखिन आउँछन् ।

वि. सं. २००३ सालमा स्थापना भएको विश्वेश्वरप्रसाद कोइरालाहरूको नेपाली राष्ट्रिय काङ्ग्रेस र २००५ सालमा सुवर्णशमशेर, महावीरशमशेर लगायतले स्थापना गरेको नेपाल प्रजातन्त्र काङ्ग्रेसकाबीच वि. सं. २००६ सालको चैत २७ गते एकीकरण सम्पन्न भएको हो र एकीकृत पार्टीको नाम नेपाली काङ्ग्रेस राखिएको हो । २००४ को जयतुसंस्कृतम्को आन्दोलन हुनुअघि २००३ मै काशीनाथ गौतमले नेपाली राष्ट्रिय काङ्ग्रेसको सदस्यता विश्वेश्वरप्रसाद कोइरालाबाट प्राप्त गरिसकेको चर्चा माथि नै गरियो । जयतुसंस्कृतम्को नेतृत्व गर्नेमध्ये काशीनाथ गौतम त थिए नै, साथै आन्दोलनमा संलग्न अर्घाखाँचीका अन्य केही छात्रहरू पनि थिए । जसमध्ये खिदिमका ज्ञानहरि पौडेल, सिद्धाराका पुष्करनाथ शर्मा, अर्घाका खुबीराम आचार्य (जो पछि कम्युनिष्ट पार्टीमा आबद्ध भए) लगायतका थिए ।

काशीनाथ गौतमले २००४ सालतिरै पोखराथोक भन्ने (आफ्नै गाउँठाउँ) मा आएर भोजराज गौतम, परशुराम गौतम र बुद्धिनाथ गौतमलाई पनि नेपाली राष्ट्रिय काङ्ग्रेसको सदस्यता प्रदान गरेका थिए ।

२०१६ मा पहिलो जननिर्वाचित मन्त्रिमण्डलमा समावेश हुँदा काशीनाथ गौतमको उमेर जम्मा ३३ वर्षको थियो । २०१७ को शाही कूपछि प्रवास (भारत) मा रहेका गौतमले काशी विद्यापीठबाट अर्थशास्त्रमा एम.ए. पूरा गरे । सोही अवधिमा उनले लेखेका ‘जनक्रान्ति किन ?’, ‘नेपालका लागि प्रजातान्त्रिक समाजवादी मार्ग’ लगायतका पुस्तक प्रकाशित भए ।

नेपाली काङ्ग्रेस पार्टीभित्र सुरुआती चरणमा आबद्ध भएका अर्घाखाँचीका केही नेताहरूको नाम यहाँ उल्लेख गर्नु आवश्यक छ । तीमध्ये डा. काशीराज उपाध्याय गौतमको नाम पनि अग्रस्थानमै आउँछ । खिदिम अर्घाखाँची (तत्कालीन गुल्मी) स्थायी बसोबास भएका उपाध्यायको जन्म १९८४ को असोज २९ गते बनारसमा भएको थियो र उनको निधन २०६२ जेठ १९ गते काठमाडौंमा भयो । उनी नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक सदस्यमध्ये एक थिए ।
वि. सं. २०१२ माघ १३ गते गठित टंकप्रसाद आचार्य प्रधानमन्त्री रहेको मन्त्रिमण्डलमा केही मन्त्रीहरू थपिँदा २०१३ साल माघ २३ गते उपाध्याय उद्योग वाणिज्य उपमन्त्री बनेका थिए । उनी पञ्चायतकालमा नेपाल किसान संगठनका केन्द्रिय अध्यक्ष, शाही सल्लाहकार समितिका सदस्य, कर आयोग र राजसभाका पनि सदस्य बने ।

२००७ सालको क्रान्तिमा दाङ क्षेत्रका कमाण्डर बनेका उपाध्याय २०१७ को शाही ‘कू’पछि राजभक्तिमा समर्पित भए र जीवनका उत्तराद्र्धमा आएर रा.प्र.पा. पार्टीसँग पनि आबद्ध भए । तर, तिनै राजभक्त उपाध्यायलाई ज्ञानेन्द्र शाह शक्तिमा आएपछि भारतीय जासुस भनी अपमानित गर्ने काम भयो ।
तत्कालीन शाही सेनाका जर्नेल दीलिपजङ्ग रायमाझीको अग्रसरतामा सेनाको गुप्तचर निकाय डिएमआई (डिरोट्रेक्ट अफ मिलिटरी इन्टेलिजेन्स) ले २०६० सालको माघ महिनामा भारतीय जासुसहरूको एक सूची तयार पारेको थियो जसमा उनी लगायत धेरैलाई भारतीय जासुसी संस्था ‘रअ’सितको साँठगाँठ रहेको देखाइएको थियो ।

यस सूचीमा अर्घाखाँचीबाट राप्रपाका डा. काशीराज उपाध्यायलगायत नेपाली काङ्ग्रेसका पूर्वमन्त्री ढुण्डीराज शास्त्री, डा. चोपलाल भुसाल, डा. रामबहादुर बिसी, पुष्पा भुसाल र शोभाकर शर्मा साथै एमालेका पूर्वमन्त्री मोदनाथ प्रश्रित, लक्ष्मणबहादुर रायमाझी र डिल्लीराज शर्माको नाम उल्लेख थियो । त्यो समय राजा ज्ञानेन्द्रको राजनीतिक सक्रियताका विरुद्धमा देशका विभिन्न राजनीतिक दल र पेशाकर्मीहरू आन्दोलित भएका थिए । त्यस्तो समयमा सेनाले जारी गरेको भारतीय जासुसको सूचीमा धेरैलाई पूर्वाग्रहका साथ राख्ने काम गरिएको थियो । तसर्थ, उपाध्यायमाथिको आरोप पनि मिथ्या नै हुनसक्थ्यो । तरपनि एउटा क्रान्तिकारी पार्टी छाडेर राजा र राजसंस्थाको भक्तिमा लागेका व्यक्तिलाई राजाकै वफादार सेनाले त्यसरी अपमानित गर्ने गराउने काम गरेको थियो ।८

वि. सं. २००८ सालमा दिल्ली सम्झौताको विरोध गर्दै नेपाली काङ्ग्रेसमा विद्रोह गरेर सुन्दरराज चालिसेको नेतृत्वमा नेपाली काङ्ग्रेस बामपन्थी दल स्थापना गर्नेमा बालचन्द्र शर्मा, केदारमान व्यथित, निर्मल लामा, भरतमणि शर्मासँगै काशीराज उपाध्याय पनि एक थिए । २००९ सालको जेठ ११ र १२ गते जनकपुरमा सम्पन्न भएको नेपाली काङ्ग्रेसको महाधिवेशनमा यो समूहले भिन्न प्रस्ताव प्रवेश गराउन चाहेको थियो तर महाधिवेशन प्रतिनिधिहरूले अस्वीकार गरेपछि उनीहरूको प्रयास सफल हुन सकेन । उता मातृकाप्रसाद कोइरालाले पनि काङ्ग्रेसबाट अलग्गिएर राष्ट्रिय प्रजा पार्टी गठन गरेका थिए जसको महामन्त्री बालचन्द्र शर्मा थिए । यिनै शर्माले प्रजा पार्टीलाई प्रजापरिषद्मा विलय गराएपछि काशीराज उपाध्याय पनि प्रजापरिषद्मा संलग्न हुनआए । २०१० साल माघ २१ गते प्रजा पार्टी (बालचन्द्र शर्मा), नेपाली जनकाङ्ग्रेस (भद्रकाली मिश्र) र प्रजापरिषद् (टंकप्रसाद आचार्य) को पार्टी एक भएर प्रजापरिषद् पुनर्गठन भयो ।

२०१७ सालमा राजा महेन्द्रको कदमको काशीराज उपाध्यायले पनि समर्थन गरे । त्यसपछि उनी गण्डकी, कोशी र सेती अञ्चलको अञ्चलाधीश पनि बने । उनी विश्व हिन्दु महासंघका संस्थापक महामन्त्रीलगायत विभिन्न संघसंस्थामा आबद्ध थिए । अर्घाखाँचीबाट दुईपटकसम्म राष्ट्रिय पञ्चायतको सदस्यका लागि चुनावमा भिडेपनि सफल नभएपछि उनी पछिल्लो समयमा योग र प्राकृतिक चिकित्सातिर उन्मुख हुँदैगए ।

अर्घाखाँची जिल्लामा काङ्ग्रेसको इतिहास लेखिँदै गर्दा सिद्धाराको हर्रे गाउँमा वि. सं. १९८१ को मंसिर १० गते जन्मिएका पुष्करनाथ शर्मा पोख्रेलको नाम पनि लिनुपर्ने हुन्छ । अर्घाखाँचीबाट व्याकरण विषयमा आचार्य गर्ने पहिलो व्यक्ति पोख्रेल २००४ सालको जयतुसंस्कृतम् आन्दोलनमा सहभागीमध्ये एक थिए । त्यसपछि उनी २००५ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको सदस्य बने । २०१४ सालको मंसिर महिनामा भएको भद्र अवज्ञा आन्दोलनमा सरिक भएका पोख्रेललाई तत्कालीन सरकारले पक्राउ गरी पीताम्बर गौतम, शालिग्राम बेल्बासे लगायतसँगै पाल्पाको नारायणस्थाननिरको पोखरीमा १२ घण्टा चोबलेर यातना दिएको थियो ।

हालको अर्घाखाँची जिल्लाको दक्षिणपूर्वमा काशीनाथ गौतमको राम्रो छवि भएजस्तै दक्षिणपश्चिममा पुष्करनाथ शर्मा पोख्रेल लोकप्रिय थिए । यी दुवै भेग त्यतिखेर क्षेत्र नं. ९१ मा पर्दथे । ती दुई नेताको लोकप्रियताकै कारण २०१५ सालको नेपालकै पहिलो संसदीय निर्वाचनमा यस भेगमा पाइला नै नटेकी सुवर्णशमशेरले चुनाव जितेका थिए । सुवर्णशमशेरले बारा, पर्सा र यहाँ गरी तीन ठाउँमा चुनाव जितेका कारण अर्घाखाँचीको विजयी क्षेत्रमा आफ्नो प्रतिनिधित्व परित्याग गरेका थिए । त्यसरी यहाँ उपनिर्वाचन गर्नुपरेको थियो । उक्त उपनिर्वाचनमा पोखे्रल विजयी भए । यसरी उनी सांसद बन्नपुगे । सोही उपनिर्वाचनमा आफूलाई जनप्रतिनिधि स्वीकार नगरेको र काशीनाथका भिनाजु पर्ने व्यक्ति पुष्करनाथलाई टिकट दिएको आरोप लगाउँदै जयतुसंस्कृतम्देखिकै सहयात्री खुबीराम आचार्यले काङ्ग्रेस पार्टी त्यागेका थिए । यसरी अर्घाखाँचीमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

अहिले अर्घाखाँचीको खिदिम हर्राबोट नामक स्थानमा वि. सं. १९७२ सालमा जन्मिएका ज्ञानहरि पौडेलको नाम पनि यहाँ प्रस्तुत गर्नु आवश्यक छ । २००४ सालको जयतुसंस्कृतम् आन्दोलनलाई नेतृत्व दिनेमध्ये उनी पनि एक थिए । पछि उनी नेपाली राष्ट्रिय काङ्ग्रेसको सदस्य बने । प्रहरीको पिटाइकै कारण उनको अल्पायुमै वि. सं. २००६ सालमा निधन हुनगयो ।

त्यही हर्राबोटमै वि. सं. १९६३ सालको असोज महिनामा जन्मिएका गोविन्दप्रसाद गौतम प्रजातन्त्रका निम्ति लड्ने अर्को योद्धाको नाम हो । २००५ को फागुन महिनामा नेपाल राष्ट्रिय काङ्ग्रेसको सदस्य बनेका गौतमले २००७ सालको क्रान्तिमा उल्लेखनीय योगदान दिएका थिए । उनको निधन २०३२ सालको जेठ २६ गते भयो ।

जयतुसंस्कृतम् आन्दोलनबाट राणाशासनको विरुद्धमा लागेका अर्घाखाँचीका आन्दोलनकारीमध्ये गुणनिधि पन्थीको पनि नाम लिनुपर्छ । त्यसैगरी २००७ सालको क्रान्तिमा अर्घाखाँचीबाट अतुलनीय योगदान दिनेहरूमा खिदिम पोखराथोकका पीताम्बर गौतम, खिदिम हटियाका बुद्धिनाथ गौतम, खिदिम पोखराथोकका रोहिणीप्रसाद गौतम, खिदिम पोखराथोककै भोजराज गौतम, खिदिम बतासेका रणवीर घले ऊर्फ सेते कटुवाल, बल्कोटका नेत्रलाल ज्ञवाली, ठूलाखर्कका दिव्यदेव ज्ञवाली, खिदिमका भरतमणि गौतम, सिद्धाराका कमलप्रसाद बेल्बासे, बेदीराम मगर, ऐनबहादुर आलेमगर, जीवनारायण बेल्बासे, टंकप्रसाद पोख्रेल, डिल्लीराज पोख्रेल, सुवर्णखालका पीताम्बर बेल्बासे, शालिग्राम बेल्बासे, डूँडकट्टाका भोजराज घिमिरे, ठाडाका टेकबहादुर जिमुवाल, डेवाका टीकाराम पण्डित, अर्घाका नारायणप्रसाद भुसाल, डिहीडाँडाका हिरण्यप्रसाद आचार्य, नरपानीका चूडामणि पाण्डे, ढाकाबाङका खिमानन्द खनाल, दुर्गाप्रसाद खनाल, जगतबहादुर टण्डन, रेशमबहादुर केसी, धातिबाङका गणपति शर्मा पौडेल, वाङ्लाका मुखिया पोमनारायण आचार्य, सिद्धिप्रसाद आचार्यलगायतको नाम थाहा हुन आएको छ । यीवाहेक पनि यस क्षेत्रमा त्यो बेलामा करिब ३ हजारको संख्यामा क्रान्तिकारीहरू रहेको अनुमान गरिएको छ ।१०

त्यसैगरी वि. सं. १९८१ को जेठ २२ गते जन्मिएका खुबीराम आचार्यको नाम पनि उल्लेखनीय छ । २०१५ सालसम्म काङ्ग्रेसमै सक्रिय रहेका उनी त्यसपछि भने कम्युनिष्ट पार्टीमा प्रवेश गरे । २०१५ सालको उपनिर्वाचनमा पुष्करनाथ शर्मा पोख्रेलसँग चुनावी मैदानमा भिडेका उनी ८,२२८ मतान्तरले पराजित भए । अर्घाखाँचीमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने एक प्रमुख पात्र खुबीराम आचार्य नै हुन् । उनका बारेमा थप पछि वर्णन गरिनेछ ।

सन्दर्भसुचीः
१. गौतम, प्रा. माधवराजः नेपाली काङ्ग्रेसको जनक्रान्ति र २००७ सालका गुल्मेली सेनानीहरू, चिनारी, अर्घाखाँची सम्पर्क सदन, काठमाडौ, २०६६, पृ. १९२
२. कोइराला, विश्वेश्वरप्रसादः आत्मवृत्तान्त, प्र. जगदम्बा प्रकाशन प्रा. लि., ललितपुर, पुनर्मुद्रण वैशाख २०७५, पृ. १०९
३. देवकोटा, राजेश्वरः काशीनाथ गौतम, संस्मरणको एक अध्याय, चिनारी (रजत जयन्ती अङ्क) अर्घाखाँची सम्पर्क सदन, काठमाडौ, २०६६, पृ. ११, १२
४. गौतमः ऐ. पृ. १९७
५. गौतमः ऐ. पृ. १९८
६. पाण्डे, डा. लालमणिः अर्घाखाँची जिल्लामा नेपाली काङ्ग्रेस, चिनारी, (रजत जयन्ती अङ्क) अर्घाखाँची सम्पर्क सदन, काठमाडौ, २०६६, पृ. २६०–२६२
७. नई प्रकाशनः काशीराज उपाध्याय, काठमाडौ
८. नेपाल पाटी अनलाइनः गोप्य सूचना चुहियो, ७५ जिल्लामा नै भारतीय एजेन्ट, मन्त्रीदेखि पत्रकारसम्म, भदौ १९, २०७४
९. गौतमः ऐ.
१०. गौतमः ऐ.

(लेखकको प्रकाशनोन्मुख पुस्तक ‘नेपालको राजनीतिमा अर्घाखाँचीः विद्रोह, हिंसा र आन्दोलनको इतिहास’बाट)