विनबहादुर कुँवर
कहीं पनि नभाको जात्रा हाँडीगाउँमा भनेजस्तै नेपालका दुई ठूला दल सत्ताधारी नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसभित्र यस्तै गाईजात्रा भइरहेको छ । ती आफ्ना गुटउपगुटहरूको बीचको किचलोले दुनियाँलाई हंसाही रहेको छ । लामो समय कोरोना भाइरस संक्रमणले देश र जनता आक्रान्त भइरहेका छन् । तर यो बेला देशका यी दुई जिम्मेवार दलहरुको यस्तो चर्तिकलाले देश र जनताको भविष्य नै अन्धकारमा धकिलिँदैछ । एउटा वस्तुमा जस्तै राजनीतिक दलमा पनि अन्तरविरोध र संघर्ष हुनु स्वाभाविक छ । तर त्यो एउटा विचारमा दृष्टिकोण र कार्यदिशामा हुनुपर्दछ । यसको परिणाम सकारात्मक हुन्छ । सत्यको विजय र असत्यको हार । तर जहाँ कुनै विचार दृष्टिकोण र कार्यदिशा नै नभई खाली आफ्नो व्यक्तिगत पद प्रतिष्ठा र कुर्सिको लागिमात्र हुने यस्तो प्रतिस्पर्धा र कलहले देश जनताको मात्र नभई आफ्नै दल ,दल नेता र आम कार्यकर्ताहरु सबैको भविष्य नै अन्योलमा पर्न जान्छ । ठीक आज नेपालका यी दुई प्रमुख दलहरु नेकपा र नेका भित्र यस्तै देखिँदै आइरहेको छ ।
नेपाली कांग्रेस त एउटा सामन्ती दलाल र बुर्जुवा पार्टी भएकाले यहाँ यस्तो हुनु स्वभाविक नै छ । तर नेकपा त एउटा कम्युनिष्ट पार्टी जसको एउटा विचार सिद्धान्त र दृष्टिकोण छ । त्यो भनेको द्वन्द्वात्मक भौतिकवाद हो । त्यसैको आधारमा राजनीति र कार्यदिशा बन्दछ । तर अहिले नेकपाभित्र यो कहीं कतै भएको पाइँदैन । यसको विषयमा कुनै छलफल बहस र अन्तरक्रिया हुँदैन । यहाँ खाली यस्तै व्यक्तिगत लाभहानी प्रतिष्ठा र कुर्सीको लागि मात्र लुँछाचुँडी भएको देखिन्छ । यसबाट के प्रष्ट हुँदै आइरहेको छ भने सत्ताधारी नेकपा आफूले कम्युनिष्ट पार्टी भनेपनि यसमा खास कम्युनिष्ट पार्टीको कुनै विचार सिद्धान्त र राजनीति देखिदैन । खाली सामन्ती दलाल र बुर्जुवा दलहरूको जस्तै चरित्र भएको पाइन्छ । त्यसैले यो दलमा पनि यस्तो गुट उपगुट बीचको लुँछाचुँडी र हानथाप हुनु स्वाभाविकै छ ।
झापा विद्रोह र १० वर्षीय माओवादी जनयुद्धको जगबाट जन्मिएको यो दल अन्तत यसको ठिक विपरीत दक्षिणपन्थी अवसरवाद त्यसमा पनि अझ अहिले त सामन्ती दलाल र नोकरशाही बुर्जुवा दलमा बदलिन पुगेको छ । हुनपनि जस्तो राज्यसत्ता त्यस्तै दलहरु हुनु र देखिनु स्वभाविक छ । जनवाद समाजवाद र साम्यवादको गीत गाएर यो सामन्ती दलाल र नोकरशाही बुर्जुवा सत्तामा पुग्ने अनि त्यहाँ गएर गर्ने र हुने भनेको नै यही हो । यस अर्थमा अहिले देखिएको नेकपाभित्रको यो अन्तर कलह स्वाभाविक नै छ । यी दुई दल पूर्व एमाले र माओवादी केन्द्रबीचको एकताको मूल जग नै पद प्रतिष्ठा र कुर्सी प्राप्तिकै लागि थियो । दुई दल मिली चुनावमा जाने अनि सदनमा बहुमत लिएर सरकार चलाउने र त्यसमा आलोपालो ओली र प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति थियो । त्यतिबेला र पछि पार्टी एकता हुँदा पनि त्यहाँ कुनै विचार सिद्धान्त र कार्यदिशाको बिचमा छलफल र बहसलाई नै भएन । अहिले नेकपाभित्र देखिएको कलहको मुलजड नै यो हो । अन्तत जस्तो बीउ रोपियो त्यस्तै बिरुवा हुर्किने स्वभाविक नै छ ।
अहिले पनि नेकपाका यी दुई अध्यक्षहरुमा त्यही झापा विद्रोह र १० वर्षीय जनयुद्धको दम्भ छ । दुवैले बेला मौकामा त्यसैको उदाहरण दिने गर्दछन् । ओलीले जुङ्गाको रेखि नहुँदै राजनीतिमा लागे र अहिले सबै फुलिसके भन्छन् । त्यस्तै प्रचण्डले केही परे अब फेरि पनि जंगलमै पस्नु परेपनि पछि हटिन्न भन्छन् । यो उनीहरूको नाङ्लो ठटाएर हात्ती तर्साउने चाल मात्र हो । हुनत नाङ्लो ठटाएर न हात्ती नै तर्सिन्छ न ओली प्रचण्डको यस्ता कुराहरूले देशी तथा बिदेशी शक्ति केन्द्रहरु नै तर्सन्छन् । बरु यस्ता कुराले आफ्नै नेता कार्यकर्ता अनि जनतामात्र तर्सन्छन् । यो नै उनीहरूको मूल चाल हो । अहिले त दुवैका यी भनाई आ–आफू एकले अर्कालाई अर्थात ओलीले प्रचण्ड–नेपाललाई अनि प्रचण्डले ओली र उनका केही भक्त दलालहरुलाई तर्साउनका लागि भनि रहेका छन् । किनभने अब नओली त्यस्तै संघर्ष गरी पुन १४ बर्षिय जेल जीवन बिताउन सक्छन् । प्रचण्डले पुन १० वर्षीय माओवादी जनयुद्धमा जस्तै भूमिगत भई जंगल पस्न सक्छन् । यो त खाली हिङ नभए पनि हिङ बनेको टालेको बखान गरेजस्तै आत्मरति लिनु मात्र हो ।
अहिले प्रम ओली र प्रचण्डबीच सत्ता प्राप्तिको लागि यस्तै दोहोरी नै चलिरहेको छ । एकले अर्कालाई कसरी हुन्छ खसाल्ने, गलाउने र बदनाम गर्ने काम गरिरहेका छन् । ओली त यति तल झरी सकेका छन् कि प्रचण्डलाई जाली फटाहा धोकेबाज र षड्यन्त्रकारी भन्दै निन्दा र घृणा गर्दै हिँडिरहेका छन् । यस्तै प्रचण्डले पनि ओलीलाई महा जाली फटाहा र महा षड्यन्त्रकारी भन्दै हीडिरहेका छन् । यसलाई दुवैले लीखतको रुपमा नै अघि सारेका छन् । हुन पनि सर्पले सर्पको खुट्टा देख्छ भने जस्तै वास्तवमा यी दुवैको चालचलन र चरित्र ठिक यस्तै नै छ । अचम्म त के छ भने हिजो प्रचण्डसँग घाँटी मिलाउँदा ओलीलाई आफ्नो पुरानो नेता कोही चाहिएन । एक्लै पार्टी एकताका लागि प्रचण्डसँग सहमति गरियो। तर अहिले प्रचण्डसँग यो विवादपछि ओली बल्ल आफ्ना पुराना नेता माधव नेपाल, वामदेव आदिसँग भेट गरी हारगुहार गरिरहेका छन् । पुनः फेरि उनीहरुलाई यस्तै पद प्रतिष्ठा र कुर्चीको लोभ देखाइरहेका छन् । ओलीका यस्ता थुप्रै सस्ता र उदाहरो प्रलोभन यसभन्दा पहिले पनि न पाएका होइनन् । तर जहिले पनि ती सबैलाई ओलीले माछो माछो भ्यागुतो मै थन्काउँदै आइरहेका थिए। अब पनि त्यस्तै हुने संखाले उनीहरु यसमा ढुक्क हुने स्थिति छैन ।
यसरी ओली र प्रचण्डबीचको सत्ता प्राप्तिको लुँछाचुँडीले गर्दा सिंगो नेकपा पार्टी नै फुटको डिलमा पुगिसकेको छ । पार्टी फुटाएर हुन्छ वा संकटकाल नै लागू गरेर हुन्छ, प्रधानमन्त्री ओली जसरी हुन्छ यही सत्तामा बसिरहन चाहन्छन् । तर नेकपाका बहुमत पार्टी नेता र कार्यकर्ता अनि सभासद्हरु भने जसरी हुन्छ – पार्टी एकतालाई नै बचाउन दौडधूप गरीरहेका छन् । यसका लागि ओलीको फेरो समात्दै पछि पछि दौडने केही नेताहरुले ओलिको त्यो फेरो न समाती प्रचण्ड ओली गुटमा समावेस हुनुपर्दछ । त्यो भयो भने मात्र प्रम ओलीले यो सदा सत्ता प्राप्तिको लालचाह र सपना सदाका लागि सकिने स्थिति छ । हुनपनि बुढी बाख्राका जुम्रा जस्तै अब ओली छोडी प्रचण्ड–नेपाल गुटमा सल्किन उनीहरू कसलाई पनि लाज छैन ।
तैपनि देशी तथा बिदेशी शक्तिकेन्द्रका थुप्रै धामी–झाँक्रीहरुले यसलाई फुकफाक गरेर मिलाउने तरखरमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पटकपटक ओलीसँग र प्रचण्ड अनि वामदेवसित भेट बार्ता गरिरहेकी छिन् । त्यस्तै विदेशी राष्ट्रका राजदूत र कूटनीतिज्ञहरुले पनि नेकपाका नेताहरुलाई भेटवार्ता गरी सम्झाइ बुझाई गरिरहेका छन् । मंसिर २ गते राति अबेरसम्म चिनियाँ राजदूतले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको समाचार छ । त्यसपछि नभन्दै गत पार्टी सचिवालयको बैठकमा प्रस्तुत प्रम ओलीविरुद्धको प्रचण्डको लामो आरोप पत्रलाई फिर्ता नगरेसम्म अर्को बैठक नै नगर्ने अड्डी कसी बसेका ओली एकाएक त्यो मंसिर ३ को बैठकमा बाध्यताबश सहभागी भएका छन् भने त्यस्तै अर्का अध्यक्ष प्रचण्ड पनि केही नरम र लचिलो भएको अनुमान सबैको छ । अन्त्यमा जस्ले जे भनेपनि नेकपा र यसका मुख्य नेताहरू सबै यस्तै विदेशी शक्ति केन्द्रकै इसारामा चल्दै आइरहेका छन् । त्यसो हुँदा नेकपाको पार्टी एकता र फुट यसैमा भर परेको छ ।