लुम्बिनी संवादाता
बुटवल
भूमि व्यवस्था समस्या समाधान आयोगका अध्यक्ष ज्ञवालीले आगामी ३ बर्षमा १४ लाख अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताएका छन् । पहिलो चरणमा रुपन्देहीको कञ्चन गाउपालिकाबाट नापी कार्य गर्नेगरी भूमि व्यवस्था समस्या समाधान आयोगले सम्पूर्ण तयारी गरेको अध्यक्ष ज्ञवालीले बताए ।
बुधवार कञ्चन गाउपालिकाद्वारा आयोजित भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रममा अध्यक्ष ज्ञवालीले सो कुरा बताएका हुन् ।
अब्यबस्थित बसोबास सम्बन्धी समस्या समाधानका लागि कञ्चन गाउपालिकाले देखाएको तत्परताका कारण देशभरका एक सय स्थानियतहरु मध्ये कञ्चन गाउपालिकामा अब्यबस्थित बसोबास सम्बन्धी समस्या समाधानका गर्न आयोगले पहिलो प्राथमिकतामा राखेको बताए । अहिलेको आयोग बिगतमा गठन भएका आयोगहरु जस्तो कमजोर धरातलबाट गठन भएको नभई संसदमा छलफल र बहस पछि भएको बताउदै उनले देश भरका करिब १४ लाख भुमिहिन दलित, भुमिहीन सुकुम्वासी र अब्यबस्थित बसोबासीहरुको समस्या समाधान गर्न आयोग तत्पर रहेको उल्लेख गरे ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ (क) सांसद भुमिश्वर ढकालले नेकपा सरकारको नेतृत्वमा बनेको भुमि ब्यबस्था समस्या समाधान आयोगले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासीहरुको समस्यालाई सधैका लागि अन्त्य गर्ने बताए ।
कार्यक्रममा भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सदस्य शोभाराम बस्नेतले बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९का कारण आयोगले भौतिक रुपमा काम गर्न नसकेको भएपनि भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासी समस्या समाधानका लागि आवस्यक पर्ने ऐन, नियमावली र कार्याविधी तयार गर्ने कार्यलाई तिब्रता दिएको जानकारी गराए ।
आयोगका सदस्य सचिव लिला प्रसाद शर्मा र उप–सचिव राजेन्द्र अर्यालले आयोगको गठन आदेश २०७६, भुमि सम्बन्धी ऐन २०२१ (आठौं शंसोधन)२०७६,भुमि सम्बन्धी (अठारौंं शंसोधन) नियमहरु २०७७ भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अब्यबस्थिच बसोबासीको पहिचान र प्रमाणिकरणका आधार र मापदण्ड २०७७ लगायत विषयहरुबारे सरोकारवालाहरुबीच सहजीकरण गरेका थिए ।
कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले अव्यवस्थित रुपमा बस्दै आएका हरेक कञ्चनवासीले अब व्यवस्थित रुपमा बसोबास गरेको र भोगाधिकार सहितको जग्गाधनी पुर्जा प्राप्त गर्ने बताए ।
गाउँपालिकाका उपाध्यक्ष गोमा तरामुको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय दिननाथ आचार्य, नन्द बहादुर खडकाथोकी र राष्ट्रिय भूमि अधिकार मञ्चका शंकर प्रसाद आचार्य, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का भरतमणि सापकोटा र धनकुवेर बुढाथोकी, जनता समाजवादी पार्टीका सोमनाथ पौडेल, साविक रुद्रपुर गा.वि.स.का पुर्व गा.वि.स. अध्यक्ष लक्ष्मीकान्त पौडेल, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, कार्यपालिका सदस्य गीता थापा, महिला अधिकारकर्मी हिमा बेलवासे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत लगायतले आआफ्नो भनाई राखेका थिए ।