हिन्दूहरुको महान् पर्व दशैं, तिहारपछिको महत्वपूर्ण पर्व छठ आज हर्षाेल्लासका साथ मनाइदैछ । कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा छठ पर्व धुमधामका साथ मनाउने प्रचलन छ । यस पर्वमा सूर्र्यको उपसना गरिन्छ र छठी माताको पूजा गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो ब्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विर्सजन हुने गर्छ । सूर्य र उनको देवी रुप उषालाई छठी मैयाँको रुपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको हो ।
छठ पर्व एउटा यस्तो पर्व हो, जसमा पूजारी र पुरोहित आवश्यक पर्दैन । छठमा अर्घ दिइने सूर्य भगवान् प्रत्यक्ष देखिन्छ, त्यसैले पूजारी चाहिदैन । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिंदा पनि पूजारी आवश्यक पर्दैन । ब्रतालुहरु सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्दछन् । छठको ब्रत लिने ब्रतालुका घरमा छठमा चढाउनका लागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केरा, नरिवल, भोगटे एवं अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याइएका फलफूलहरुलाई छठको अन्तिम दिन बिहानै अर्घ स्वरुप उदाउँदो सूर्यलाई देखाएपछि प्रसाद स्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पूरा होस् भनेर भाकल गरेका हुन्छन् र सोही कारण प्रसादी चढाउने प्रचलन छ । छठ पर्वमा जीब वली भाकल गर्ने चलन छैन ।
छठ विशुद्ध रुपमा एउटा धार्मिक आस्थाको पर्व हो । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘अस्वा, दोस्रो दिनलाई ‘खर्ना’ भनिन्छ । तेस्रो दिनलाई ‘सझिया अर्घ’ छठ भनिन्छ चौथो दिन सबैभन्दा महत्वपूर्ण छठ पर्वको दिन हो । छठको ब्रत लिनेहरुले नुहाएर शुद्ध भएर बसी एक छाकमात्रै खानुपर्दछ । वास्तवमा छठ पर्व निकै पवित्र सफा सुग्घर र निष्ठापूर्वक मनाइने पर्व हो ।
छठ पर्व एकताको पर्व हो । यस पर्वले सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाई गनर्,े मानवीय भाइचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई बलियो बनाउन मद्दत गरेको छ । छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्दछ । दशैं लगायतका पर्वमा जस्तो बली प्रथालाई यस पर्वले निषेध गरेको छ । छठ पर्व अहिंसा नहोस भन्नेमा केन्द्रित छ । जीवन जिउनका लागि शाकाहारी भोजनलाई महत्व दिएको छ ।
सनातन धर्मावलम्बीबीच समुदायगत जातिगत, भाषागत भिन्नता पनि छन् । धार्मिक भिन्नता पनि छन् तर यो ब्रत गर्ने ब्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै द्वन्द्व वा वैमनस्यता रहने गरेको छैन । वास्तवमा यो पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको देखिन्छ । यद्यपि यस पटक छठ पर्व मनाउँदा भने धेरैै सावधानी अपनाउनु पर्नेछ । किनकि कोरोना महामारी समुदायमा फैलिएको छ । यस्तो अवस्थामा कसरी सुरक्षित भएर छठ पर्व मनाउने भन्ने कुरा ब्रतालु र श्रद्धालुले ख्याल गर्नुपर्दछ । भीडभाड नगरेर पर्व मनाउने अधिकतम प्रयत्न गर्नुपर्दछ । पर्वहरुलाई कोरोना फैलाउने ठाउँका रुपमा परिणत गर्न दिनु हुँदैन । जिम्मेवार नागरिकको भूमिका हामी सबैले खेलौं । देश विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरुलाई छठ पर्वको हार्दिक मंगलमय शुभकामना !