रुपन्देहीका अधिकांश पालिकाले आइतबारदेखि विद्यालय सुचारु गर्ने तयारी गरेका छन् । यो निर्णयसंगै कक्षा १ देखि माथिका विद्यार्थीले भौतिक रुपमै विद्यालयमा पढ्नेछन् ।
लुम्बिनी संवाददाता
बुटवल
कोरोना महामारीका कारण चालु शैक्षिक सत्रको सात महिना बन्द भएको विद्यालय सुचारु हुन थालेका छन् । संघीय सरकारले कोरोना संक्रमणको अवस्था हेरिकन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सुचारु गर्न सकिने अधिकार स्थानीय तहलाई दिएको छ ।
स्थानीय तहले अधिकार प्राप्त गरेसंगै विद्यालय सुचारु गराउने निर्णय गरेका छन् । रुपन्देहीका अधिकांश स्थानीय तहमा यसअघि पनि आंशिक रुपमा विद्यालय खोलिएको थियो । छुट्टाछुट्टै कक्षाका विद्यार्थीहरु विद्यालय आउने र पठनपाठन गर्ने गरेका थिए । अब भने नियमित रुपमै कक्षा सञ्चालन गर्ने निर्णय स्थानीय तहले गर्न थालेका छन् ।
तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु जनस्वास्थ्य प्रोटोकल पालना गर्दै यहीँ मंसिर ७ गतेबाट खुल्ने भएका छन् । कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरु विद्यार्थीलाई भौतिक रुपमैं कक्षाकोठामा शिक्षणसिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।
संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुचारु गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । उनका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् । तोकिएको मापदण्डअनुसार विद्यालय सञ्चालन भए नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ–संस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समिति समेत गठन गरिएको छ ।
मापदण्डअनुसार विद्यालयले कक्षाकोठाभित्र विद्यार्थीहरुको भौतिक दूरी कायम गर्न एक बेञ्चमा दुई जना विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनु पर्नेछ । विद्यार्थी संख्या, भौतिक पूर्वाधारको उपलब्धता समेतको आधारमा कक्षा एकदेखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको छ । मापदण्डअनुसार अर्को निर्णय नहुँदासम्म विद्यालयले कक्षा १ भन्दा तल प्लेगु्रप, नर्सरी, एलकेजी, युकेजीका विद्यार्थीलाई विद्यालय बोलाउन पाउने छैनन् ।
ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा एकाघरका सदस्य कोरोना संक्रमित भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन पाइने छैन । विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनु पर्ने मापदण्डमा भनिएको छ ।
चार सयभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले अनिवार्य रुपमा कम्तीमा एक जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने पनि मापदण्डमा उल्लेख छ ।
विद्यालयमा विद्यार्थीहरुको बसाइ अवधि लामो हुन नदिन मध्यान्तर नगरी निरन्तर रुपमा कक्षा सञ्चालन गर्नुपर्ने, बस सेवा सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी विद्यार्थी राख्न नपाइने, बस प्रयोग गरेको दिनको आधारमा मात्र विद्यार्थीबाट बस भाडा लिनुपर्ने पनि मापदण्डमा तोकिएको छ ।
विद्यालयहरुले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई समेटी मापदण्डअनुसार कक्षा सञ्चालन कार्ययोजना बनाई मंसिर १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा अनिवार्य रुपमा पेश गर्न नगरपालिकाले भनेको छ ।
रेसुंगामा लकडाउन
गुल्मीको रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको भन्दै नगरपालिकाले बिहीबार राति १२ बजेदेखि १३ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले लकडाउनबारे बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । यस अवधिमा अतिआवश्यक पर्ने एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, इन्धन, सरसफाइ, स्वास्थ्यसेवा तथा औषधि पसलहरू पूर्ण रूपमा सञ्चालन हुनेछ ।
नगरपालिका तथा वडा कार्यालयहरूले पनि अतिआवश्यक कामबाहेक अन्य नगर्ने निर्णय गरेको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन पूर्णरूपमा बन्द गरेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
नगरपालिकाले तरकारी फलफूल दूध तथा दुग्धजन्य पदार्थको विक्री वितरण गर्न बिहान र साँझको समय तोकेको छ । जनस्वास्थ्यको मापदण्ड पालना गर्दै बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि साढे ६ बजेसम्म सञ्चालन गर्न दिन लागेको हो ।
अरू पसलहरूका हकमा भने बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ । बढी मानिस भेला हुन सक्ने स्थानमा पनि १० जना भन्दा बढी भेला नहुन आग्रह गरेको छ । त्यस्तै उद्योगधन्दा, निर्माणकार्य जुन स्थानमा सञ्चालन भएको छ सोही स्थानमा कामदारहरूलाई खाने बस्ने व्यवस्था मिलाई सञ्चालन गर्ने समेत नगरपालिकाले बताएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले पनि अत्यावश्यक सेवा मात्रै सञ्चालन गराउन आग्रह गरेको छ । लकडाउनका नियमहरू पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही समेत गरिने नगरपालिकाले जनाएको छ।