लुम्बिनी संवाददाता
बुटवल
कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि खुलेको छ । सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेको छ । अन्य पर्यटकीय क्षेत्रजस्तै लुम्बिनी पनि बुधबारदेखि पर्यटकका लागि खुला गरिएको हो । लुम्बिनी जानेहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नुपर्नेछ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनी पनि खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी क्षेत्र खुला भए पनि मायादेवी मन्दिरभित्र प्रवेश पाइने छैन । तर मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा खुला रहनेछन् । उनले मायादेवी मन्दिर परिसरमा प्रवेश गर्ने पर्यटकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र प्रवेश गर्नुअघि तापक्रम मापन गरेर मात्रै प्रवेश दिइने बताए । लुम्बिनीका अरु विहार र मन्दिरहरुमा घुमघामका लागि पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने उनले बताए ।
कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द रहेको लुम्बिनी अहिले सिंगारिएको छ । लकडाउनको सदुपयोग गर्दै लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रभित्र सरसफाई, मर्मत सम्भार, वृक्षारोपण र सौन्दर्यीकरणका काम गरेर लुम्बिनीलाई सिंगारेको छ ।
अहिले लुम्बिनी सुन्दर र चिटिक्क बनेको छ । लकडाउनको सदुपयोग गर्दै सिंगो लुम्बिनी क्षेत्रको सौन्दर्यीकरणको काम भएको कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले बताए ।
लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगीन इटा बिछ्याइएको छ। यसअघिको पक्की सडक भत्काएर रंगीन इटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुवो काटेर चिटिक्क बनाइएको छ भने विभिन्न ठाउँमा रंगीबिरंगी फूल फुलेका छन् । मायादेवी मन्दिर परिसरमा रहेको पवित्र पुष्करिणी पोखरी सफा गरिएको छ । माटो भरेर प्राचीन बोधी वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पूरातात्विक संरचनाहरुको मर्मत सम्भार गरिएको छ ।