निर्वाचनमा उम्मेदवारहरुसँग मतदाताले राखेको प्रमुख माग खानेपानी हो । सोहीअनुसार जिल्लाका सबै स्थानीय तहहरुले काम गरिरहेका छन् तर प्रदेश सरकारको लक्ष्य भेटाउन भने कतिपय स्थानीय तहहरुलाई कठिनाई देखिएको छ ।
हुमाकान्त पोखरेल

गुल्मी
मदाने गाउँपालिका–३ सिर्सेनीमा ‘एक घर एक धारा’को लागि गत वर्ष प्रदेश सरकारबाट ५० लाख विनियोजन भयो । गाउँपालिकाले ‘सिर्सेनी एकीकृत खानेपानी आयोजना’ नाम दिएर कामको लागि टेन्डर आह्वान ग¥यो । २९ लाख रुपैयाँमा कालिका निर्माण सेवाले कामको जिम्मा पायो । गत असार मसान्तसम्म उक्त कम्पनीले चार वटा ट्याङ्की र १३० घरमा धारा बनाउनुपर्ने थियो । तर, काम नै सुरु नगरिकन चार महिनाको म्याद थप भयो । अहिलेसम्म कम्पनीले माटो मिसिएको दुई ट्याक्टर बालुवा लैजानुबाहेक अरु काम गरेको छैन ।
निर्माण कम्पनीको ढिलाइ र नियामक निकायको निरिहताले गर्दा एकातर्फ सिर्सेनीका नागरिक खानेपानीबाट बञ्चित भएका छन् भने अर्कोतर्फ राज्यको ‘एक घर एक धारा’ अभियानमा पनि धक्का पुगेको छ । कम्पनीका संचालक दिपक भण्डारीले कोभिडका कारण आयोजनाको काम रोकिएको र अबको केही दिनभित्रै काम सुरु हुने बताए । सिर्सेनीमै गत बर्ष ‘एक घर एक धारा’को लागि ७५ वटा घरमा एक÷एक वटा धारा निर्माण गरियो । होल्बाङ बाङ्ग्रा खानेपानी आयोजनामार्फत घर घरमा धारा जडान गर्ने लक्ष्य लिए पनि अहिलेसम्म पनि पानी अभावका कारण अधिकाशं धारामा पानी जोडिएको छैन ।
धुर्कोट गाउँपालिका–४ जैसिथोकमा ०७१ सालमा १० वटा धारा बने । तर, स्थानीय तहको निर्वाचनपश्चात ‘एक घर एक धारा’को कार्यक्रम आइसकेपछि पानी नै नआइकन धाराको संरचना भत्कन सुरु गरेका छन् । यसले गर्दा राज्यको १५ लाख बालुवामा पानी खन्याएसरह भएको छ ।
मदाने गाउँपालिका–१ अग्लुङमा ०५७ सालमा बस्तीभन्दा झण्डै दुई सय मिटर टाढाबाट खानेपानी आयोजना संचालनमा आयो । तत्कालिन समयमा ४५ घरधुरी चार बर्षसम्म उक्त आयोजनाबाट लाभान्वित पनि भए ।
चार वर्षपछि त्यहाँका संरचना कमजोर हुँदै गए र भत्कन थाले । अहिले उक्त बस्तीमा घरधुरी सङ्ख्या बढेर ६० पुगेको छ । उक्त आयोजनाबाट भने अहिले चार घर मात्र लाभान्वित छन् । बाँकी ५६ घर कुवा वा कुलोको पानी प्रयोग गर्न बाध्य छन् ।
अग्लुङमा ‘एक घर एक धारा’ बनाउने उदेश्यले मदाने गाउँपालिकाले ०७४÷७५ मा मयबोट घडेरी खानेपानी योजनाका नाममा चार लाख बजेट विनियोजन भयो ।
उक्त योजना अग्लुङकै मयबोटबाट दुई हजार पाँच सय मिटरको दुरीमा रहेको घडेरीमा पानी ल्याउने ग्राभेटी योजना हो ।
अग्लुङ घडेरीका ६० घरधुरीलाई खानेपानी पु¥याउने उदेश्य राखिएको यो योजना चार बर्षसम्म पनि बजेट अभावमा सम्पन्न भएको छैन । योजना सुरु भएदेखि हालसम्म पनि थोरैथोरै मात्र बजेट बिनियोजन भएको छ । यसले गर्दा एकातिर नागरिकले सहज रुपमा पानी पाएका छैनन भने अर्कोतर्फ बनाएका संरचना भत्कन थालेका छन् । सुरुको बर्ष चार लाखबाट २५ सय मिटर पाइप विस्तार गरिएको थियो । दोस्रो बर्ष आएको तीन लाखले २० हजार लिटर पानी अट्ने ट्याङ्की र तीनवटा धारा बने । यो वर्ष पाँच लाख बजेट बिनियोजन भएको छ जसबाट ५४ वटा धाराको स्टिमेट रहेको छ । ६० घरधुरीमा नै पानी पु¥याउने लक्ष्य भने झण्डै डेढ लाखको अभावमा अहिले पनि पुरा नहुने उपभोक्ता समितिका अध्यक्ष दिपक थापाले जानकारी दिए ।
२० बर्षदेखि अलपत्र योजना
इस्मा र मालिका गाउँपालिकाका १५ हजार ४६ जनसङ्ख्यालाई पानी खुवाउनको लागि मालिका गाउँपालिकामा पर्ने निस्तिको शिरबाट ०५७ सालदेखि ‘अर्खबाङ्ग–इस्मा बृहत खानेपानी’ को नामबाट ग्राभेटी योजना सुरु भयो । देशमै मेलम्चिपछिको दास्रो ठुलो योजना भनिएको उक्त योजना इस्मादेखि १७ किलोमिटर टाढा पर्छ । सुरुको बर्ष डिपिआर गर्दा ६ करोड लागतमा सकिने इस्टिमेट आयो तर उक्त बर्ष जम्मा आठ लाख मात्रै विनियोजन भयो । पछिल्लो डिपिआरअनुसार जनश्रमदानसहित कुल १५ करोड ३५ लाख १४ हजारमा योजना सम्पन्न हुन्छ । चालु अर्थिक बर्षमा भने उक्त आयोजनामा एक रुपैँया पनि बजेट छैन ।
योजना सुरु गर्दा पहिले पानीको मुहानमै विवाद भयो । त्यसपछि मुहान वरपरका नागरिकलाई सोलार पु¥याइदिएपछि मात्र योजना सुरु भयो । अर्खबाङ्गबाट घमिर, छाप हुँदै पानी इस्मा आइपुग्छ जसले गर्दा घमिरमा नौ, छापहिलेमा १४ तथा अर्जैमा चारओटा धारा बनाइएको छ । इस्मामा पनि केही धारा बनाइएको थियो । तर, आएको केही पानी पनि मानिसहरुले बीचबाटै पाइप काटेर घरघर लैजान थाले । यसले गर्दा धारामा गरिएको लगानी बालुवामा पानी सरह भएको छ भने अहिले मुहानबाट आएको पानी पनि उचित संरक्षणको अभावमा निकै कम मात्रामा आउँदा समस्या परेको छ । हाल इस्मा गाउँपालिकाका अध्यक्ष लक्षमण विष्ट तत्कालिन उपभोक्ता समितिका अध्यक्ष हुन् । तर अहिले उपभोक्ता समिति पनि निष्क्रिय हुँदा योजना झनै अलपत्र परेको इस्मा गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले बताए ।
योजनामा २० बर्षसम्म जम्मा सात करोड ४० लाख ४६ हजारको मात्रै काम भयो । यसबाट ११७ किलोमिटर पाइप समेत बिछ्याइएको छ, तर योजनाको मुहान तथा विभिन्न ठाउँमा बनाएको संरचना भने भत्कन सुरु गरेको छ । गाउँपालिकाले एकजना कर्मचारी हेरालुको रुपमा राखेपनि पर्याप्त छैन । उक्त योजना झन् पछाडी पर्दै गएको इस्मा गाउँपालिका अध्यक्ष लक्षमण विष्टले बताए ।
पानी लिन मध्यरातमा
कालिगण्डकी गाउँपालिका–२ अर्वेनीमा १४ किलोमिटर टाढा त्रिसुली भन्ने ठाउँबाट ल्याइएको ग्राभेटी खानेपानी आयोजना संचालनमा थियो । पछिल्लो समय मोटर बाटो खन्दा पाइप काटिने, पहिरोले पाइप बगाउने, जडान गरेको ठाउँबाट भाँचिने जस्ता कारणले उक्त आयोजना लामो समय टिक्न सकेन । फलस्वरुप अहिले अर्वेनी भयकोटका १०५ घर स्वच्छ खानेपानीको अधिकारबाट बञ्चित भएका छन् । सोही ठाउँका ३१ बर्षिया देउ बहादुर दर्लामीले एक गाग्रो पानीका लागि मध्यरातमै वा ढिलोमा बिहान ३ बजेसम्म उठेर जंगल वा कुवामा जानुपर्ने बाध्यता रहेको गुनासो गरे । ‘एक गाग्रो पानीको लागि जान १ र आउन २ गरी ३ घण्टा लाग्छ’, उनले भने, ‘खानेपानीकै कारण अन्य घरायसी तथा सामाजिक काम गर्न पाइएको छैन ।’ त्यसरी ल्याउने पानी पनि सफा नभई खुल्ला आकाशमुनी जनावरले खाएको पानी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।
अर्की स्थानीय गोमा दर्लामीले फोहोर तथा दुषित पानीका कारण झाडापखाला, टाइफाईड जस्ता समस्या देखिएको, घरमा तरकारी पनि लगाउन नपाएको, विद्यार्थीहरु समयमै विद्यालय जान नपाएको जस्ता समस्या देखिएको उनको भनाई छ । निर्वाचनमा नेताहरुले पानी ल्याइदिने बाचा गरेर भोट मागेपनि नेताहरुले ‘खोला तर्ने, लौरो बिर्सने’ जस्तै व्यवहार गरेको उनले बताए । धुर्कोट गाउँपालिका ६ रजस्थल साविकको वडा नम्बर ७ मसुरीखर्कका १६ घर पनि स्वच्छ खानेपानीबाट बञ्चित छन् । ०५८ सालबाट उक्त क्षेत्रमा होल्बाङ बाङ्ग्रा खानेपानी आयोजना संचालनमा आएपनि पानी पर्याप्त छैन । जसका कारण त्यस भेगका नागरिकले खानेपानीमा सास्ति खेप्दै आएका छन् ।
मसुरीखर्कका नागरिकले झण्डै एक घण्टाको बाटो हिडेर मदाने गाउँपालिकाको गन्पानीमा पुगेर पानी ल्याउने गरेको स्थानीय सुस्मा जिसीले बताइन् । आफुहरुले धेरैपटक खानेपानीको समस्या समाधानका लागि वडा तथा गाउँपालिकामा आग्रह गरेपनि सुनुवाई नभएको उनले गुनासो गरिन् । अर्वेनी र मसुरीखर्क खानेपानीबाट बञ्चित भएका केही उदाहरण मात्र हुन् । जिल्लाका अझैपनि दर्जनौ गाउँ स्वच्छ खानेपानीबाट बञ्चित छन् । सिर्सेनी, बाझँकटेरी, अग्लुङ, इस्मा रजस्थल, पूर्तिघाट, लुम्पेक लगायतका गाउँमा खानेपानीको समस्या छ । जिल्लाका सबै पालिकामा हाल ४२ हजार ७ सय १८ परिवार खानेपानीबाट बञ्चित छन् ।
साढे तीन बर्षमा ९१ करोड खर्च
०६८ को जनगणना र स्थानीय तह गठन भइसकेपछि केही स्थानीय तहले गरेको गणना तथ्याङ्कअनुसार जिल्लाका सबै पालिकामा कुल ६४ हजार ८६२ घरधुरी छन् । जसमध्ये हालसम्म २२ हजार १४४ घरमा स्वच्छ खानेपानीको धारा पुगेको छ । उक्त घरमा पानी पु¥याउनको लागि ९० करोड ८४ लाख ४० हजार ५३२ रुपैँया खर्च भएको छ । जिल्लाका सबै स्थानीय तहमा चालु आर्थिक बर्षमा ५४ करोड ३६ लाख ५२ हजार ७२१ को लागतमा १६८ वटा खानेपानीका योजना सम्पन्न हुँदैछन् । उक्त योजना सम्पन्न हुँदा थप २२ हजार ४ सय ६ घरधुरी लाभान्वित हुनेछन् । यसरी हेर्दा जनप्रतिनिधिहरुको यस कार्यकालअवधिभर कुल ५८ हजार २२४ घरमा स्वच्छ खानेपानीको धारा निर्माण भई खानेपानीको सुविधा उपलब्ध हुनेछ । भने बाँकी ६ हजार ६३८ घरधुरी खानेपानीको सुविधाबाट बञ्चित हुने देखिएको छ ।
लुम्बिनी प्रदेश सरकारले आगामी दुई बर्षमा सबै नागरिकका घरमा ‘एक घर–एक धारा’ पु¥याउने लक्ष्य लिएको छ । निर्वाचनमा उम्मेद्धारहरुसँग मतदाताले राखेको प्रमुख माग खानेपानी हो । सोहीअनुसार जिल्लाका सबै स्थानीय तहहरुले काम गरिरहेका छन् तर प्रदेश सरकारको लक्ष्य भेट्याउन भने कतिपय स्थानीय तहहरुलाई कठिनाई देखिएको छ । रेसुङ्गा, मुसिकोट, चन्द्रकोट र रुरुक्षेत्रमा अबको डेढ बर्षमा एक घर एक धारा पुग्दैछ भने बाँकी सात स्थानीय तहमा उक्त कार्यक्रमले पूर्णता पाउन नसक्ने पक्कापक्की भएको छ ।
रेसुङ्गा नरपालिकामा कुल ८ हजार ३ सय ५३ घरधुरी छ । हालसम्म आठ करोड ७५ लाख खर्चेर पाँच हजार ११ घरमा ‘एक घर–एक धारा’ पुगेको छ । नगरपालिकामा चालु आर्थिक बर्षमा २६ करोड २२ लाख खानेपानीको लागि विनियोजन भएको छ । यस अन्र्तगत वडा नम्बर १४ मा खुट्टेखोला खानेपानीको लागि १ करोड, वडा नम्बर ११ को खानेपानीको लागि १० लाख तथा रेसुङ्गा भञ्याङ्ग भाडगाउँ खानेपानीको लागि २५ करोड १२ लाख रहेको छ । यसबाट तीनवटा योजना सम्पन्न भई बाँकी ३ हजार ३ सय ४२ घरमा धारा पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । मुसिकोट नगरपालिकाका सात हजार ७८ घरधुरीमध्ये नगरपालिकाले हालसम्म सात करोड ५५ लाख खर्चेर तीन हजार ४ सय ५० घरमा खानेपानीको धारा पु¥याएको छ । अब यो आर्थिक बर्षमा मात्रै तीन करोड ७० लाख खर्चेर ९ सय ९५ घरलाई खानेपानी पु¥याउने लक्ष्य छ । आगामी डेढ बर्षमा प्रदेश र संघीय सरकारको सहयोगमा सबै घरमा धारा पु¥याउने नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।
चन्द्रकोट गाउँपालिकामा कुल पाँच हजार १ सय ४० घरधुरी छन् जसमध्ये हालसम्म चार करोडको लागतमा ९ सय ९२ घरमा पानीको धारा पुग्दैछ । चालु आर्थिक बर्षमा दुई करोड ९० लाख ५० हजारको लागतमा ११ वटा योजना सम्पन्न हुँदैछन् । जसबाट ७ सय ८५ घरमा धारा पुग्ने गाउँपालिकाका अध्यक्ष द्रोर्ण खत्रीले बताए । चालु आर्थिक बर्षमा केही क्रमागत योजना रहेको, केही नयाँ योजना सुरु हुने भएको तथा पानीको स्रोत सहज ठाउँमा भएकाले सजिलै खानेपानी पु¥याउन सक्ने उनले बताए । ‘सुरुको बर्ष सडकलाई प्राथमिकता दियौँ,’ उनले भने, ‘अब खानेपानीलाई प्राथमिकता दिन्छौ ।’ जिल्लाको धुर्कोट गाउँपालिकामा कुल पाँच हजार ३ सय १८ घरधुरी छन् । हालसम्म ११ करोड २४ लाख ३६ हजार ५ सय ७२ को लागतमा दुई हजार ३ सय ११ घरमा खानेपानीको धारा पुगेको छ । अबको दुई बर्षमा सबै घरमा खानेपानीको धारा पु¥याउने लक्ष्य रहेपनि पुरा नहुने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । गाउँपालिकाले यो आर्थिक बर्षमा खानेपानीको लागि दुई करोड ६० लाख ९६ हजार ५ सय ८३ विनियोजन गरेको छ । सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले कोरोनाका कारण आठ सय घरधुरीलाई पुग्ने खानेपानी योजना सफल नभएको बताए । गोर्खा वेलफेयरले गर्ने उक्त कामले गर्दा अन्य योजनालाई पनि असर गरेको र आफ्नो कार्यकालभर खानेपानीको लागि गरेको बाचा पुरा गर्न गाहे भएको बताए । यो बर्ष राजस्व बाँडफाँडतर्फको दुई करोड ७५ लाख रकम नै नआएकाले आगामी दिनमा पनि त्यही समस्या रहेमा खानेपानीको क्षेत्रमा असर पुग्ने उनको भनाई छ । इस्मा गाउँपालिका अध्यक्ष लक्षमण विष्टले नागरिकले श्रमदान गर्न नखोज्ने तथा योजनाको मर्मत पनि गर्न नखोज्दा समस्या देखिएको बताए ।