लुम्बिनी संवाददाता
बुटवल
प्रदेश राजधानीको विषयमा दबाब दिन सामूहिक राजीनामा दिने घोषणा गरेका रूपन्देहीका उद्योगी व्यवसायी पार्टीको पूर्ववत जिम्मेवारीमा फर्किन सहमत देखिएका छन् । मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजीनामाबाट फर्किएर पार्टी जिम्मेवारीअनुसार काम गर्न आग्रह गरेको थियो । पार्टीकै नेतृत्वमा रहेको प्रदेश सरकारले उद्योगी व्यवसायीका अधिकत्तम मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू पूर्ववत अवस्थामै फकिन तयार भएका हुन् ।
प्रदेशको राजधानी बुटवलबाट सार्न खोजिएको विषयमा असहमति जनाउँदै राजीनामा दिएका पार्टी निकट उद्योगी व्यवसायीलाई आ–आफ्नो जिम्मेवारीमा फर्किन निर्देशन समेत दिएको छ । नेकपा उद्योग व्यवसाय विभाग रूपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पूर्ववत पार्टी काममा फर्किन निर्देशन दिएको विभाग प्रमुख गोपाल रानाले जानकारी दिए ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीलगायतका पार्टी नेताहरू समेत सहभागी भेलामा उद्योगी व्यवसायीले १३ बुँदे मागसहितको ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापनपत्रमा उल्लेखित मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएपछि राजीनामा दिएका उद्योगी व्यवसायीहरू पार्टी काममा फर्किन तयार भएका छन् । ‘प्रदेश राजधानी यहीं हुनुपर्छ भन्ने हामी सबैको माग थियो, उद्योगीहरूले पनि यसैमा असन्तुष्टी जनाएर राजीनामाको घोषणा गरेका थिए, तर अब उनीहरू पार्टीको जिम्मेवारीमा फर्किन तयार भएका छन्–रानाले भने ।
बुटवललाई प्रदेशको स्थायी राजधानी कायम नगरिएपछि नेकपा निकट २२ सय ४९ जना उद्योगी व्यवसायीले पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको घोषणा गरेका थिए । राजधानी तय गर्न दबाबस्वरूप राजीनामा घोषणा गरिएको तर अब यो विषय टुंगिसकेको र पार्टीले अन्य मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले पुनः पार्टी जिम्मेवारीमै फर्किने गरी सहमति भएको रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।
उद्योगी व्यवसायीले बुटवललाई लुम्बिनी प्रदेशको आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरेको त्यसको ठोस आधार खाजेका छन् । ‘हामीले आर्थिक र पर्यटकीय राजधानीको ठोस आधार खोजेका छौं, पार्टीले यसका लागि समेत प्रतिबद्धता जनाएपछि हामी राजीनामा फिर्ता गर्न सहमत भएका हौं र काममा फर्किन तयार भएका हौं ।’– उनले भने । रूपन्देहीका २६ संघसंस्थाका उद्योगी व्यवसायी पार्टी काममै आएका छन् ।
नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाब पुगोस् भनेर राजीनामा घोषणा गरिएको तर पार्टीले अन्य मागहरूमा सकारात्मक प्रतिक्रिया जनाएकाले पूर्ववतः जिम्मेवारीमा फर्किन तयार भएको बताए ।
उद्योगी व्यवसायीको भेलामा सहभागी भएका प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री मन्त्री बैजनाथ चौधरीले रूपन्देहीलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सकरारले गरिसकेकाले यसका लागि विकास प्रवद्र्धन, लगानीको आकर्षण र यस क्षेत्रको प्रशासकीय सेवा उपलब्ध गराउने गरी कानून निर्माण गरिने प्रतिबद्धता जनाएका थिए । भेलालाई पार्टीका केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इञ्चार्ज एवं मन्त्री लिला गिरीले पनि सम्बोधन गरेका थिए ।
नेकपा रूपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले तत्कालीन अवस्थामा असन्तुष्टी हुनु स्वाभाविक भए पनि अन्ततोगत्वा पार्टीको जिम्मेवारीमा फर्किनुको विकल्प नभएको बताए ।
‘प्रदेश राजधानीको सन्दर्भमा हामी सबैको असन्तुष्टी थियो, तर निर्णय भइसकेपछि आ–आफ्नो जिम्मेवारीमा फर्किनु सबैको दायित्व हो, यसका लागि राजीनामा दिएका उद्योगी व्यवसायीले भेलामार्फत जिम्मेवारीमा फर्किन तयार भएका हुन ।’–उनले भने ।
प्रदेश सरकारले रूपन्देहीलाई आर्थिक तथा वित्तीय राजधानी घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरेको छ । त्यसअनुरूप कानून निर्माण र राजपत्र नै प्रकाशित गर्ने तयारी समेत छ ।