प्रदेश सरकार स्थापना भएको अब तीन वर्ष पुग्दैछ । ढिलै भए पनि प्रदेशसभाले हालै प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी क्षेत्र (दाङ) तोकेको छ । स्थायी राजधानी तोकिदा साबिक लुम्बिनी क्षेत्रमा असुन्तुष्टीका स्वर सुनिए । आन्दोलन र निषेधाज्ञाकाबीच अन्ततः राजधानी बुटवलबाट सरेको छ । राजधानीको सवालमा लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद र सरकारका मन्त्रीहरू चुपचाप बसेको भन्ने आरोप छ । स्थायी राजधानी निर्धारण, करिव तीन वर्षको अवधिमा प्रदेश सरकारले उद्योग र पर्यटन क्षेत्रमा गरेका काम र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मनमुटावका विषयमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीसंग हामीले लामो कुराकानी गरेका छौं । प्रस्तुत छ, नेकपाका केन्द्रीय सदस्य एवं रूपन्देही इञ्चार्जसमेत रहेका गिरीसंग गरिएको कुराकानीको संपादित अंश :
प्रदेश सरकार बनेको तीन वर्ष पुग्नै थालेको छ । यो अवधिमा पर्यटन र उद्योगका क्षेत्रमा सरकारले के काम गर्न सक्यो ?
समग्रमाभन्दा प्रदेश सरकार देखिने अवस्थामा आएको छ । यो अवधिमा पर्यटन क्षेत्रमा निकै महत्वपूर्ण काम प्रदेश सरकारबाट भएका छन् । लुम्बिनी विकास गुरुयोजनाको जिम्मेवारी संघ मातहत रहेको छ । यद्यपि प्रदेश सरकारले विकासमा झकझकाउने र बाहिरको सौन्दर्यकरणमा प्रदेश सरकारले काम गरिरहेको छ । गुरुयोजना अविलम्ब पूरा गर्नका लागि मुख्यमन्त्री र मैले पनि संघलाई निकै दबाब दियौं । अब बजेट व्यवस्थापन भएको छ । रिङ रोड बनाउन हामीले काम गरिरहेका छौं । भैरहवा लुम्बिनी सडकमा झकझकाएका छौं ।
लुम्बिनी भ्रमण वर्ष आयोजना गरेर लुम्बिनी, तिलौराकोट, रामग्रामको प्रचारप्रचारमा काम गरेका छौं । कनकमणि बुद्धको, बलिहाङ राजाको, दंगीशरण राजाको शालिकसहितका पार्क बनाउने काम भइरहेको छ । लुम्बिनीसहित कपिलवस्तु, पाल्पा, दाङ, बर्दिया क्षेत्रका पर्यटकीय पूर्वाधारको काम भइरहेको छ । रूरूधाम विकास, पाणिनी र सुपादेउराली जोड्ने पदमार्ग, नुवाकोट–बल्डेङगढी जोड्ने मार्ग निर्माणको काम भइरहेको छ । प्रदेशमा पाल्पाको श्रीनगर, बुटवलमाथि नुवाकोट, दाङको घोरदौरा र बर्दियाको ठाकूरद्वारामा सांस्कृतिक डबली निर्माणको काम भइरहेको छ । पर्यटकीय हिसाबले धर्म र संस्कृतिलाई जोड दिएर पनि काम भइरहेको छ । बाँकेमा प्रतिकात्मक मानसरोवर निर्माणको काम भइरहेको छ । जहाँ मानसरोवर जान नसक्नेहरूले दर्शन गर्नेछन् ।
उद्योगतर्फ हामीले दुई औद्योगिक क्षेत्रमा काम गर्ने योजना बनाएर संघीय सरकारसंग रूपन्देहीको मोतिपुर र बाँकेको नौवस्था औद्योगिक क्षेत्र प्रदेशमातहत ल्याउन माग गरिरहेका छौं । अझै ‘ह्याण्ड ओभर’ भएको छैन । अहिले कोरोना महामारीमा विदेशबाट आएका युवालाई उद्योगमा जोड्न १० करोडको ब्याज अनुदान कार्यक्रम ल्याएका छौं । नेपाल बैंकसंग पौने ८ प्रतिशत ब्याज सम्झौता भएको छ । प्रत्येक युवाले निब्र्याजी १० लाख ऋण अनुदान पाउनेछन् । ब्याज सरकारले तिरिदिनेछ । उद्योगमा चाहिने दक्ष, अर्धदक्ष कर्मचारी भारतबाट आउने सकेनन्, अब स्वदेशकै जनशक्तिलाई सीपयुक्त बनाउने काम सरकारले गरिरहेको छ । कोरोना नआएको भए प्रदेश सरकारका काम अब उद्घाटनका चरणमा पुगिसकेका थिए । धेरै काम भइरहेको छ ।

पर्यटन क्षेत्रमा कोरोनाले निकै असर गरेको छ । यसको उत्थानका लागि प्रदेश सरकारले कसरी सम्बोधन गर्दैछ ?
हो, तपार्इंले भनेजस्तै पर्यटन व्यवसाय अहिले संकटमै छ । हामीले संघीय सरकारलाई छिटो पर्यटन क्षेत्र खुलाउनुपर्छ भनेर दबाब दिइरहेका छौं । होटल व्यवसायलाई राहत पुगोस् भनेर होटल क्वारेन्टाइनको अभ्यास प्रदेश सरकारले नै गरेको हो । यसले केही सहज भएको छ । पर्यटन व्यवसायमा नयाँ खोल्नेहरूले उद्योगले पाउने सरह नै ब्याज अनुदानको ऋण पाउनेछन् । चलिरहेकाको हकमा संघसरकारसंगको समन्वयमा केही सम्बोधन गर्ने तयारी छ । पर्यटन व्यवसायीलाई परेको अप्ठ्यारो टार्न केही काम हुन्छ ।
पहिलो कुरा पर्यटक ल्याएर नै राहत मिल्छ । भैरहवा विमानस्थलमा चाँडोभन्दा चाडो विदेशी पर्यटक ल्याण्ड गर्ने योजना छ । त्यसका लागि संघीय पर्यटन मन्त्रीसंग कुराकानी भएको छ । पर्यटक जहाँ सुरुमा झर्छन्, त्यहाँ धेरै खर्च गर्छन् । भैरहवा आउने पर्यटकलाई हवाई उडानमा हुँदै आएको महंगो शुल्क हटाउने काम कार्यान्वयनमा आइसकेको छ ।

अब राजधानीको विषयमा केही कुरा गरौं, बुटवलमा रहेको अस्थायी राजधानी सरेर दाङ पुगेको छ । राजधानी सार्ने मामिलामा साविक लुम्बिनी अञ्चलका मन्त्री र सांसदहरू निरीह रहे, बुटवलमै स्थायी राजधानी राख्न सकेनन् भन्ने आरोप छ नि ?
जनताले लागेको कुरा उनीहरूले भने । उनीहरूले जस्तो बुझे त्यस्तै भने । निरीह रहे भन्नु पनि त्यस्तै नै हो । संसदीय राजनीतिमा जनवादी केन्द्रीयता भन्ने हुन्छ । माथिबाट दुई अध्यक्षले निर्णय गरेर पार्टीले ह्वीप जारी गरेपछि हामीले मान्नुपर्छ । यो पार्टीको निर्णय हो । राजधानी सार्ने विषयमा मन्त्रिपरिषद् बैठक, संसदीय दलमा कति छलफल भए, डिवेट ग¥र्याे त्यो सार्वजनिक गर्ने विषय भएनन् । कतिपयले ‘फ्लोर क्रस’ गरेको भए हुन्थ्यो पनि भन्नु भयो । मलाई मन्त्री पदको लोभ थिएन, म छोड्न तयार थिए । सांसद पनि ठूलो कुरा भएन । तर पार्टी सदस्य नै नरहने कुरा महत्वपूर्ण हो । यही पार्टीमा जीवनअर्पण गरे, त्यही पार्टी छाड्न सकिन् । यो मेरो कमजोरी हो भने यसलाई सर्वसाधारण, बौद्धिक वर्ग, पत्रकारहरूले बुझ्नुहुन्छ । मलाई पद ठूलो कुरा थिएन, तर गौरवशाली पार्टीको गौरवशाली सदस्यता छाड्न मैले सकिन, यो मेरो निरीहताभन्दा पनि परिवन्ध, एक खालको बाध्यता हो । मेरो पनि चाहाना थिएन, यहाँबाट राजधानी सरोस् भन्ने ।
हामीले क्याबिनेटमा, संसदीय दलमा छलफल ग¥र्याै । त्यसपछि क्याबिनेटले बुटवल र भैरहवालाई वित्तीय राजधानी, नवलपरासी, कपिलवस्तु र रूपन्देहीलाई सांस्कृतिक राजधानी बनाउने निर्णय गरेको छ । यसलाई राजपत्रमै सार्वजनिक गरेर कार्यान्वयनमा लैजाने विषय मुख्यमन्त्रीले नै संसदमा बोल्नुभएको छ । उद्योगी व्यवसायीले पनि कानून बनाएर यसको कार्यान्वय गर्न माग गर्नुभएको छ । बुटवल क्षेत्र आर्थिक राजधानी नै हो । मल्टि सपिङ कम्प्लेक्स, अस्पताल अन्य आर्थिक पूर्वाधारसहित धितोपत्र बोर्डसमेत बुटवलमा स्थापना गर्ने तयारी भएको छ । बुटवलको चलहपहल घट्ने छैन । पर्यटकीय आवागमन यही हुन्छ, व्यापारिक चलहपहल यही हुन्छ, देउखुरीमा हुने त प्रशासनिक काम मात्रै हो ।

तपार्इंले अस्थायी राजधानी बुटवल तोक्नु नै गलत थियो भनेको भन्दै केही समाचारहरू पनि आएका थिए, के यो सत्य हो ?
यो बीचमा एकाध मिडियाहरू अलि पूर्वाग्राही भएर प्रस्तुत भए । मैले नेतृत्वलाई इंिगत गरेर त्यतिखेर अस्थायी राजधानी बुटवल तोक्दा कि विचार नपुराएको ? अन्य प्रदेशका राजधानी त्यतिबेलै तोकेको स्थानमा हुने बुटवलको मात्रै किन सार्नुपर्ने ? भनेर प्रश्न गरेको थिए । केही सञ्चारकर्मीले फरक तरिकाले बुझ्नुभयो । बुटवल स्थायी राजधानी बनाउनुपथ्र्याे । तर भएन । जनवादी केन्द्रीयताका कारण यस्तो भयो ?

मुख्यमन्त्रीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै स्थायी संरचना बनेपछि मात्रै सरकारी संरचना सर्ने भन्ने बताउनुभएको थियो, तर अहिले अस्थायी संरचनामै प्रदेशसभासहितका संरचना सारेर फजुल खर्च गर्ने तयारी गरेको देखिएको छ । के यो सान्दर्भिक हो ?
मुख्यमन्त्रीज्यूले यो (संरचना सार्ने) विषयमा बोल्नुभएको छैन । सभामुख र कानून मन्त्रीले अनुगमन गरेर आउनुभएको भन्ने मैले समाचारबाट थाहा पाए । मुख्यमन्त्रीले राजधानी निर्णय हुँदैतस सभाको रोष्ट्रममा उभिएर तत्कालै झिटी गुण्टा बोकेर जाने र पाल टागेर बस्ने होइन, स्थायी राजधानी बनाउने हो भन्नुभएको थियो । यसले तपार्इंले सोधेको कुरा खण्डन हुन्छ । बुटवलमा अस्थायी राजधानीमा बसिरहँदा संरचना तयारमै हामीले करोडौं रकम खर्च गरेका छौं । अब पनि अस्थायी संरचना बनाएर करोडौं खर्च गर्ने गरी जाँदा हामीलाई कसैले बुद्धिमान मान्दैन । हामीलाई फजुल खर्च गरेको, राज्यकोषको पैसा दुरूपयोग गरेको आरोप लाग्छ । यो विषयमा मुख्यमन्त्री सचेत हुनुहुन्छ, हामी सचेत छौं । स्थायी संरचना बनाएपछि मात्रै सरकार जाने हो । यसमा विश्वस्त हुन आग्रह छ ।

प्रदेको राजधानी बुटवलबाट सर्दा नेकपाको गढ मानिएको साविक लुम्बिनी अञ्चलमा केही नोक्सान हुनेछ भन्ने आँकलन र विश्लेषण गरिएका छन् । केही यसै अनुरूप पार्टी कमजोर हुने हो र ?
वास्तवमा सुरुका समयमा केही हलचल भयो । केही साथीहरूले पार्टी छाडेको भन्दै घोषणा गर्नुभयो । त्यो एक खालको नेतृत्वका लागि दबाब थियो । यही भइपो हाल्छ कि भन्ने पनि थियो । अब निर्णय भइसक्यो । अवस्था सामान्य बन्दै गएको छ । राजधानी हामीबाट बिमुख नै भएको होइन । बाँके, बर्दियालाई पनि हेरेर विश्लेषण गर्नुपर्छ । राजधानी टाढा गएको होइन, हाम्रै नजिकमा रहेको छ । यसमा बिचलन हुनुपर्ने जरूरी छैन् ।
सरकारले उद्योग व्यवसायलाई टेवा पुराउने गरी काम गर्छ । त्यस अनुरूप नीति निर्माण गर्छ । साथीहरूले पनि बुझ्नुभएकै छ । कार्यकर्ताले पनि बुझ्नुभएको छ । यो सामान्य भइसकेको छ ।

पार्टी केन्द्रको कुरा पनि गरौं, बारम्बार नेताहरूबीच मनमुटाव भइरहेको छ । यसको असर त पार्टीका स–साना कमिटीमा पनि देखिन्छ । निराशा पनि छ । यसको समाधान के हो ?
हामी अस्थिर मनस्थितिका साथ राजनीतिमा काम गरिरहेका छौं । हाम्रो मुलुक धेरै समय अस्थिर रह्यो । जनताले स्थिर चाहेको छ । स्थिरता नभई मुलुक बन्दैन । विगतमा दुईतिहाईदेखि बहुमत पुगेका सरकारहरू पार्टीको आन्तरिक कारणले नै ढले । चाहे १५ सालपछिको सरकारको कुरा गरौं, चाहे ०४८ होस् वा ०५६ सालको सरकारको कुरा हो । पञ्चायतमा पनि स्थिर सरकार चलेनन् । अहिले यतिधेरै परिवर्तनपछि स्थिरताका लागि जनताले स्थिरताका लागि नेकपालाई झण्डै दुईतिहाईको जनमत दिए । वामपन्थी ध्रुवीकरण गरेर एकता समेत भयो ।
स्थिर सरकार चलाउने बेलामा अहिलेको किचलो बेमौसमी बाजा हो । यो केटाकेटीपन हो । यो कत्ति पनि सुहाउँदैन् । अबको जिम्मा पार्टीको नयाँ पुस्ताले लिनुपर्छ । पुराना पुस्ता रिटायर्ड हुनुपर्छ । वर्तमान प्रधानमन्त्रीले अब पार्टी नेतृत्व पनि दाबी गर्दिन, कुनै पद पनि लिदिन भन्नुभएको छ । तीन वर्ष सरकार चलेको छ । अझै दुई वर्ष स्थिर रूपमा चल्न दिनुपर्छ । त्यसपछिको बाटोको विषयमा सल्लाह हुनुपर्छ । अभागीलाई खाने बेलामा रिस उठ्छ भनेजस्तै मुलुक बनाउने बेलामा यस्तो किचलो भइरहेको छ ।
मलाई विश्वास छ कि, अहिले पार्टी फुटिहाल्ने अवस्था छैन् । पार्टी फुट्यो भने नोक्सान पनि नेतृत्वलाई नै हुने हो, नफुट्दा लाभ लिने पनि उहाँहरू नै हो । इतिहासमा यो कालो दिनका रूपमा चिनिनेछ । ०५१ सालमा अल्पमतको सरकारबन्दा सरकार निकम्मा भो, काम गर्न सकेन भन्दै पार्टीभित्रैबाट आलोचना भयो । सरकार गि¥याउने खेल भए । तर अहिलेसम्म त्यही सरकारले गरेका राम्रा काम भजाएर राजनीति गरिरहनुपरिरहेको छ । त्यसैले वर्तमान सरकार राष्ट्रहितका विषयमा दरिलो छ भन्ने कुरा इतिहासमा देखिनेछ । भू–भाग अतिक्रमण, नाकाबन्दीमा डटेर अघि बढ्यो, भूपरिबेष्टिकबाट भुजडित मुलुक बनाउन सक्यो । यस्तो ऐतिहासिक काम गरिरहेको सरकारका विरुद्ध किचलो गरेर अस्थिरता देखाए इतिहासले मूल्यांकन गर्नेछ ।

प्रदेश तहमा रहेर केन्द्रका नेता र आम पार्टी कार्यकर्तालाई तपार्इंको सुझाव के हो ?
हामी विभाजित हुनुहँुदैन । बहुदलीय प्रतिष्पर्धाको युगमा छौं । पार्टीमा कार्यकर्ता सार्वभौमसत्ता सम्पन्न हुन् । महाधिवेशनमा राम्रो र योग्य हुन सकिन्छ । कार्यकर्ता र जनताले रूचाउनले नै नेतृत्व गर्ने हो । यही दिसामा जानुपर्छ ।

प्रदेशमा पार्टी किचलोको असर देखिन्छ भनिन्छ । अर्काेतर्फ मुख्यमन्त्रीको सरकार सञ्चालनमा एकलौटी छ भन्ने आरोप पनि छन् नि ?
सातै प्रदेशको मुख्यमन्त्रीको तुलनामा हाम्रो लुम्बिनी प्रदेशको मुख्यमन्त्री अब्बल हुनुहुन्छ । राज्य सञ्चालन, बैचारिकता, बौद्धिकताका हिसाबले उहाँ अब्बल हुनुहुन्छ । उहाँले प्रदेशको विकासमा यस्तो एजेण्डा ल्याउनुहुन्छ, जसलाई कुनै तर्कले काट्न सकिँदैन । यी योजनाले प्रदेशको विकासमा महत्वपूर्ण टेवा पुग्छन् । क्याविनेटमा गहन छलफल हुन्छन् । सुझाव ग्रहण हुन्छ ।
जहाँसम्म उहाँले पार्टीमा छलफल गर्नुहुन्न भन्ने सवाल छ, उहाँ आफै पार्टीको इञ्चार्ज हो । उहाँले प्रदेशका हरेक एजेण्डा पार्टी बैठकमा प्रस्तुत गर्नुहुन्छ । प्रदेश कमिटीका साथीहरूसंग सुझाव लिएर काम गर्नुहुन्छ । मुख्यमन्त्री सुझबुझ, विकासप्रति प्रतिबद्ध हुनुहुन्छ । उहाँका विषयमा हरेक कुरामा विश्वस्त भए हुन्छ । कहिकतै टिप्पणी हुन्छन् जस्तो मलाई लाग्दैन् ।