विजय सागर

गुरुले विशारद नामबाट पनि रचना प्रकाशन गर्ने गर्नु हुन्थ्यो । भैरहवा आउनु हुँदा विशारद नामबाट प्रकाशन गर्नु भएको “स्वान्तसुखाय” कविता सङ्ग्रह दिनु भएको थियो । मैले “स्वान्तसुखाय” सम्झें ।

कृष्णदेव शर्मा ! हाम्रा गुरु हुनु हुन्थ्यो !


जनता विद्यालय तानसेनमा मैले २०१८ सालदेखि २०२२ सालसम्म अध्ययन गरें । विद्यालयमा हरेक शुक्रबार हुने साहित्यिक कार्यक्रममा गुरु कृष्णदेव शर्मा बेला बखत टिप्पणीकार पनि हुनु हुन्थ्यो ।

त्यसो त ! साहित्यिक कार्यक्रममा हेड सर जगतबहादुर जोशी, गुरुहरू कविन्द्रमान सिंह, अजम्बरध्वज खाती, लेखनाथ शर्मा, द्वारिका शर्माज्यूहरूको बाक्लो–पातलो उपस्थिति रहन्थ्यो ।

गुरु कृष्णदेव शर्मा २०७७ कार्तिक ११ गते यस संसारलाई छाडेर जानु भएको जानकारी कार्तिक १२ गते विहान मर्निङ वाकबाट फर्केपछि फेसबुक मार्फत पाएँ । विश्वासै लागेन । तत्काल भाइ राजेन्द्र गोपाल सिंहलाई फोन गरें । उनले दुःखद खबर सत्य भएको जानकारी दिए । म स्तब्ध भएँ ।

स्कुलमा पढ्दा हामी विद्यार्थी सानै थियौं । त्यही समय धवल पुस्तकालय तानसेनमा हुने साहित्यिक कार्यक्रमहरूमा गुरु कृष्णदेव शर्माज्यूले कविता पाठ गर्नु हुँदा गुरु कवि हुनु हुँदो रहेछ भन्ने हामीलाई गर्वको अनुभूति हुने गर्थ्याे ।
२०२२ साल सम्ममा ममा पनि साहित्यक अभिरुचि बढ्दै गई रहेको थियो । २०२४ सालदेखि मेरा कथाहरू पनि प्रकाशित हुन थाली सकेका थिए ।
२०३२–०३४ सालतिर तानसेनमा हुने साहित्यिक कार्यक्रमहरूमा गुरु कृष्णदेव शर्माज्यूको साथ एउटै मञ्चमा कविता पाठ गर्ने आँट गर्न सक्ने भईसकेको थिए । कार्यक्रमहरूमा गुरुबाट हिन्दी कविता पनि पाठ हुन्थ्यो ।

कृष्णदेव शर्मा


गुरु कृष्णदेव शर्मा रहनु भएन ! तर उहाँका सम्झना मन भित्र आई रहे । गुरुले विशारद नामबाट पनि रचना प्रकाशन गर्ने गर्नु हुन्थ्यो । भैरहवा आउनु हुँदा विशारद नामबाट प्रकाशन गर्नु भएको “स्वान्तसुखाय” कविता सङ्ग्रह दिनु भएको थियो । मैले “स्वान्तसुखाय” सम्झें ।

माथि अध्ययन कोठामा आएँ । दराजमा रहेका कविता सङ्ग्रहका लहरहरूबाट “स्वान्तसुखाय” निकालें । एकपल्ट पढी सकेका नेपाली कविताहरू फेरि सरसरती पढें । मन कस्तो ! कस्तो ! अस्थिर भइरह्यो । फेसबुक मार्फत् गुरुमा श्रद्धाञ्जली अर्पण गर्ने निधो गरें र फेसबुकमा श्रद्धाञ्जली सहित “स्वान्तसुखाय” को पृष्ठ बयालीसमा प्रकाशित “खै गुरु !” शीर्षकको कविता पनि पोष्ट गरें ।

नुहाई धुवाई पछि फेरि माथि अध्ययन कक्षामा आएँ । त्यही बेला मैले बुटवलका कवि रामचन्द्र श्रेष्ठलाई सम्झें । फेसबुकमा उनले श्रद्धाञ्जली अर्पण गरिसकेका थिए । गुरु कृष्णदेव शर्माका कुरा भए । उनले भने— अवसानपछि मात्र सम्झने हाम्रो चलन छ । गुरु कृष्णदेव शर्मा सम्बन्धमा केही लेखि दिन अनुरोध गरे ।
उनको एउटा प्रश्न थियो— गुरुका अरु कृतिहरू पनि छन् ?
जहाँसम्म लाग्छ “स्वान्तसुखाय” नै वहाँको कृति हो । अरु छैन होला – मैले जवाफ दिएँ । हाम्रो संवाद टुङ्गियो ।

आज कार्तिक १३ गते विहान गुरुका बारे केही लेख्नु पर्यो भनी सम्झनाका लहरहरूमा पस्न थालें । एक्कासी मलाई याद आया— तानसेनका साहित्यकार तथा लेखकहरूको कोष तयार गरिरहेका रामराज ज्ञवालीसँग जानकारी लिएँ भने झनै स्पष्ट हुनेछ । मैले तुरुन्तै रामराजसँग सम्पर्क गरें ।


उनीबाट जानकारी पाएँ— गुरु कृष्णदेव शर्माज्यूले वि.सं. २०७४ मा “शब्दोंमें खिली तस्वीरे” शीर्षकको दोस्रो कविता सङ्ग्रह (हिन्दी भाषामा) प्रकाशित गर्नु भएको छ ।
६३ वटा लामा छोटा कविताहरू भएको यस सङ्ग्रह ओरियन्टल हाउस काठमाडौँले प्रकाशन गरेको हो ।

अन्य जानकारी—
गुरु कृष्णदेव शर्माको जन्म वि.सं. १९८७ फाल्गुण ९ गते नवलपरासीमा भएको थियो ।
उहाँको माता लालकुमारी शर्मा र पिता सीताराम शर्मा हुनुहुन्थ्यो । “स्वान्तसुखाय” मा गुरु कृष्णदेव शर्माज्यूको परिचय यस प्रकार छ –
विशारद
परिचित नाम – कृष्णदेव शर्मा
स्थायी ठेगाना – तानसेन–१, पाल्पा
अस्थायी ठेगाना – कीर्तिपुर–६, समल
जन्म – फाल्गुण १९८७
शिक्षा – नेपाली भाषा साहित्यमा विशारद, मध्यमा ।
प्रथम प्रकाशित रचना– सन् १९५२ मा बनारसबाट प्रकाशित “युगवाणी” (नेपाली) मा– “पथ प्रदर्शक रे !”

उहाँ बहुचर्चित स्याटेर्ड क्लब तानसेनको संस्थापक सदस्य पनि हुनुहुन्थ्यो । त्यस्तै सुप्रसिद्ध धवल पुस्तकालय तानसेनसँग पचास वर्षसम्म सम्बद्ध हुनुहुन्थ्यो । उहाँले जनता माध्यमिक विद्यालय तानसेनमा २२ वर्षसम्म अध्यापन गर्नुभयो ।

“स्वान्तसुखाय” कविता सङ्ग्रह भित्र ५० वटा नेपाली र ५५ वटा हिन्दीका समेत १०५ वटा लामा छोटा कविताहरू समावेश छन् । सङ्ग्रह भित्रका कविताहरू— द्वन्दले भासिएको समाज ! गाउँका सुन्दर चेलीहरू विदेशीने लहर ! देशमा हुने र नहुनेका अवस्था आदि मन छुने गरी कोरिएका छन् ।

गुरु कृष्णदेव शर्माज्यूको मेरा सम्झनाका अन्य विशेष सन्दर्भहरु पनि छन् । म सेवा निवृत्त नहुँदा र भैरहवामा कार्यरत रहँदा गुरुज्यूले पटकपटक तानसेनबाट बिहान साढे ९ बजेतिर फोन गर्नु भएर आधा घण्टा भन्दा बढी समय कविता सुनाउनु हुन्थ्यो । आफूलाई अफिस जाने हतार ।

भैरहवा आउनु हुँदा नभेटी जानु हुन्थेन । एकाधरात म कहाँ पनि विताउनु भएकोे थियो । लामा लामा हिन्दी कविता सुनाउनु हुन्थ्यो । स्वर मधुर ! भाव मधुर ! विशेष गरेर हिन्दी कविताहरू प्रेममय ! रसमय हुन्थ्यो ।

अब कहिले पनि भेट नहुने गरी मेरा श्रद्धेय गुरु कृष्णदेव शर्मा विदा हुनु भएको छ । हार्दिक श्रद्धाञ्जलीका साथ अल विदा ! गुरु कृष्णदेव शर्माज्यू !