गोविन्द घर्ति

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा वडा समायोजन गर्न स्थानीय वासीले हस्ताक्षर संकलनको अभियान थालेका छन् । संघीय संरचनामा जाँदा सरकारले भूगोल नमिल्ने गरी वडाहरु बनाएको भन्दै उनीहरुले तीन वडामा पर्ने भूभागलाई गाभेर एउटै वडा बनाउनु पर्ने माग सहित भलुहीका नागरिकहरुले हस्ताक्षर संकलनको अभियान थालेका हुन् ।

स्थानीयको नगरपालिकाको वडा नं १० मा पर्ने भलुही क्षेत्र, ९ मा पर्ने भलुही क्षेत्र र ६ मा पर्ने केउलीलाई जोडेर एउटै वडा बनाउनुपर्ने माग छ ।

नगरपालिका गठन गर्दा वडाको भुगोल नमिलाउदा सरकारी कार्यालयमा कामकाज गर्द समस्या भएको भन्दै वडा मिलाउनको लागि हस्ताक्षर अभियान शुरुवात गरेको स्थानीयवासी केशवप्रसाद पराजुलीले बताए । विशेष गरेर भलुहीका जनता सरकारी कामकाज गर्न चरेङ्गे, घोहाडा र पिपलडाडा जानु पर्ने भएकोले बाटो देखि दक्षिण र उत्तरमा रहेको भलुहीलाई मिलाएर एउटै वडा बनाउनको लागि आमनागरिकको हस्ताक्षर अभियान शुरुवात गरेको पराजुलीले बताए ।

नगरपालिकालाई दवाव दिनका लागि नागरिकहरुले अभियान थालेको उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिले भुगोल मिलाएर वडाको लागि सिफारिस गर्नको लागि आवाज उठाएपनि सुनुवाई नभएको देवदह–१० का वडासदस्य अमर लामिछानेले बताए । ‘स्थानीय सरकार सञ्चालन ऐनअनुसार नमिलेको भूगोललाई मिल्ने गरि वडा समायोजन गर्न सकिन्छ ।’ उनले भने । आफैले पनि यसका लािग पहल गरिरहेको उनको भनाइ छ ।

नागरिकहरुले हस्ताक्षर संकलन गर्न एक उपसमिति नै गठन गरेका छन् । जसको सदस्यहरुमा दिपक थापा, अमर रोका, पुस्कर केसी, शेषकान्त गौतम, राजकुमार डुम्रे, बन्दाना न्यौपाने, वावुलाल यादव, शसी भण्डारी, हिमाल मल्ल छन् ।