उषा प्रियम्बदा


अनुवादः जंगबहादुर शाह

मैले सोचेको थिएँ कि वर्षौंसम्म तिमीहरूदेखि टाढा रहेर, अवकाश पाएपछि परिवारसँग बसूँला…। खैर…

(सन् १९३०मा कानपुरमा जन्मिएकी उषा प्रियम्बदा हिन्दी भाषाकी प्रसिद्ध साहित्यकार हुन् । उनले अंग्रेजी साहित्यमा पीएचडी गरेपछि अमेरिका गईन् । अमेरिकामा अध्यापन कर्म गरिन् । हाल उनी सेवानिवृत्त जीवन बिताइरहेकी छिन् । उनको ‘रुकोगी नहीं राधिका’, ‘शेष यात्रा’, ‘पचपन खम्भे’ जस्ता उपन्यासहरु र ‘वनवास’, ‘कितना बडा झूठ शून्य’ ‘जिन्दगी और गुलाब के फूल’, ‘मेरी प्रिय कहानियाँ’ लगायतका कथा संग्रहहरु प्रकाशित छन् । कथा आदरणीय जंगबहादुर शाहले अनुवाद गर्नुभएको हाे ।)

गजाधर बाबूले कोठामा भएका सामानतिर दृष्टिपात गरे— दुइटा बाकस, एउटा सानो भाँडो र बाल्टिन ।
“यो डब्बा कस्तो हो गनेशी ?” तिनले सोधे ।
बिस्तरा बाँधिरहेको गनेशी अलिकति गर्व, अलिकति दुःख र अलिकति लज्जासाथ बोल्यो— “घरवालीले यसमा केसनका केही लड्डु राखिदिएकी छ । भन्दै थिई कि बाबूजीलाई मन पर्छन् । अब फेरि हामी गरीबहरुले तपाईंको खातिर गर्न कहाँ पाऔंला !”


घर जाने खुशीमा पनि गजाधर बाबूले एउटा विषादको अनुभव गरे मानौं एउटा परिचित, स्नेहिल, आदरयुक्त, सहज संसारसँग तिनको सम्बन्ध–विच्छेद हुँदैछ ।
“कहिलेकाहीं हामीहरुको पनि खबर लिंदैगर्नुहोला ।” बिस्तरालाई डोरीले बाँध्दै गनेशीले भन्यो ।
“कहिले कुनै चीजको आवश्यकता परे लेख्नू गनेशी । यस अगहन (मंसिर)मा छोरीको बिहे गरिदिनू !”


गनेशीले गम्छाको छेउले आँखा पुछ्दै भन्यो— “अब तपाईंहरुले सहारा नदिए कसले देला ! तपाईं यता भएको भए बिहे गराउँदा अलि हौसला रहन्थ्यो ।”
गजाधर बाबू जानका लागि तयार बसेका थिए । रेलवे क्वाटरको यो कोठा जसमा तिनले अनेक वर्ष बिताएका थिए, तिनकका सामान हटाइँदा कुरुप र नांगो लागिरहेको थियो । आँगनमा लगाइएका पोथ्रा पनि परिचितहरुले गरिसकेका थिएि र ठाउँ–ठाउँमा माटो छितरिएको थियो तर पत्नी र बाल–बच्चहरुका साथ बस्न पाउने कल्पनामा यो वियुक्ति एउटा दुर्बल छालझैं उर्लिएर विलीन भयो ।


गजाधर बाबू प्रसन्न थिए । पैंतीस वर्षको नोकरीपछि तिनी रिटायर भएर जो जाँदै थिए । यी वर्षहरुमा तिनले अधिकांश समय एक्लै रहेर काटेका थिए । त्यस्ता एकाकी क्षणमा तिनले यस्तै समयको कल्पना गरेका थिए जब तिनी आफ्ना परिवारका साथ बस्न पाउलान् । यसै आशाको भरमा तिनी आफ्ना अभावका भार बोकिरहेका थिए । सांसारिक दृष्टिले तिनको जीवनलाई सफल भन्न सकिन्थ्यो । तिनले शहरमा एउटा घर बनाइसकेका थिए । जेठो, छोरा अमर र छोरी कान्तिको बिहे गराइसकेका थिए । दुई बच्चा उच्च कक्षामा पढ्दै थिए । गजाधर बाबू नोकरीका कारण धेरैजसो साना रेलवे स्टेशनहरुमा रहे र तिनको लालाबाला र पत्नी शहरमा, ताकि पढाइमा बाधा नपरोस् । गजाधर बाबू स्वभावतः स्नेही व्यक्ति थिए र स्नेहको आकांक्षी पनि । परिवार साथमा हुँदा, ड्यूटीबाट फर्किएपछि, तिनी बच्चाहरुसँग मीठा–मीठा कुरा र पत्नीसित अलिकति मनोविनोद गर्दथे । तिनीहरु जाँदा उनको जीवनमा गहन शून्यता भरियो । खाली समयमा तिनी क्वार्टरमा बस्न सक्दैनथे । कवि–प्रकृतिका नहुँदा पनि तिनलाई पत्नीका स्नेहपूर्ण कुरा याद आइरहन्थे । दोपहरमा गर्मी हुँदा पनि दुईबजेसम्म आगो बालेर बस्दछिन् र उनी स्टेशनबाट आएपछि तात्ताता रोटी पकाइन्थे । उनले खाइसकेर “भयो” भन्दा पपिन थालमा अलिकति केही राखिदिन्थिन् र खाइदिन सप्रेम आग्रह गर्दथिन् । जब तिनी बाहिरबाट थाकेर आउँदथे तब तिनी आएको चाल पाएर भान्साकोठाको ढोकामा आउँदथिन् र उनका सलज्ज नयन मुस्कुराउँदथे । तब गजाधर बाबूलाई हरेक साना–ठूला कुरा पनि याद आउँदथे र उदास हुन्थे…अब कति वर्षपछि त्यो अवसर आएको थियो जब तिनी फेरि त्यस्तै स्नेह र आदरबीच बस्न गइरहेका थिए ।


टोपी झिकेर गजाधर बाबूले चारपाई माथि राखिदिए, जुत्ता खोलेर तल्तिर घुसारिदिए । भित्रबाट बारम्बार खित्का छाडेर हाँसेको आवाज नगरीकन भित्र पस्दा देखे कि नरेन्द्र कम्मरमा हात राखेर, शायद, राती फिलिममा देखेको कुनै नाचको नक्कल गरिरहेको थियो र बसन्ती मरीमरी हाँसिरहेकी थिई । अमरकी पत्नीलाई तनबदन, आँचल र घुम्टोको होश थिएन र त्यो उच्छृंखलतापूर्वक हाँसिरहेकी थिई । गजाधर बाबूलाई देख्नासाथ नरेन्द्र थचक्क बस्यो । चियाको कप मुखमा ल्यायो । बुहारीलाई होश भयो र त्यसले तुरुन्तै आफ्नो शिरलाई ढाकी । मात्र बसन्तीको शरीर, हाँसो दबाउने प्रयासमा बारम्बार हल्लिरह्यो ।

गजाधर बाबूले मुस्कुराउँदै तिनीहरुतिर हेर्दै भने—
“के हो नरेन्द्र ! केको नक्कल हुँदै थियो ?”
“केही होइन बुवा !” नरेन्द्रले सकपकाउँदै भन्यो ।

गजाधर बाबूले चाहेका थिए कि तिनी पनि त्यस मनोरञ्जनमा सामेल होउन् तर तिनी आउने बित्तिकै सबै कुण्ठित भएर चुप लागे । त्यसकारण तिनको मनमा अलिकति खिन्नता उब्जियो । बस्दै तिनले भने—
“बसन्ती ! मलाई पनि चिया दिन्र । के तिम्री आमाको पूजा अझै चलिरहेको छ !”

बसन्तीले आमाको कोठातिर हेरी, अहिले आउँदै होलिन् । त्यसले कपमा चिया खन्याउन थाली । बुहारीचाहिं पहिल्यै सुटुक्क गइसकेकी थिई । अब नरेन्द्र पनि चियाको आखिरी घुड्को पिएर उठिहाल्यो । केवल बसन्ती, पिताको लिहाजमा,भान्साकोठामा बसेर आमाको प्रतीक्षा गर्ने भई । गजाधर बाबूले एक घूँट चिया खाएर भने—
“छोरी ! चिया त फिक्का छ ।”
“कप दिनुस्, अरु चिनी हालिदिन्छु ।”
“भयो छोरी ! तिम्री आमा आएपछि खाउँला पो चियो ।”

अलिबेरमा तिनकी पत्नी हातमा अर्ध्यको लोटा लिएर निस्किन र अशुद्ध स्तुति गर्दै लोटाको पानी तुलसीको बुटामा हालिदिइन् । तिनलाई देख्ने बित्तिकै बसन्ती पनि उठिहाली । पत्नीले आएर गजधार बाबूतिर हेर्दै भनिन्—
“अरे ! तपाईं एक्लै बस्नुभएको छ ? तिनीहरु कता गए ?”
गजाधर बाबूको मन बहुतै दुखी भयो—
“आ–आफ्ना काममा लागेका छन् । आखिर हुन् त बच्चा नै ।”

पत्नी आएर भान्साकोठामा बसिन् । तिनले नाक खुम्च्याउँदै, निधारमा गाँठो पार्दै चारैतिर जूठा भाँडा देखिन् र भनिन्—
“सारा जूठा भाँडा फालिएका छन् । यस घरमा धरम–करम केही छैन, पूजा सकेर सोझै भान्साकोठामा पस ।”
त्यति भनेर तिनले नोकरलाई बोलाइन् । जवाफ नआउँदा एकपटक फेरि चर्को स्वरमा बोलाइन् र पतितिर हेर्दै भनिन्—
“बुहारीले पठाएकी होलिन् बजार” र लामो सास तानेर चुप लागिन् ।

गजाधर बाबू बसेर चिया र नाश्तालाई पर्खिरहे । तिनलाई गनेशी याद आयो । सधैँ बिहान पैसेन्जर ट्रेन आउनुअगावै तात्ताता पूरी, जेरी र चिया ल्याएर राखिदिन्थ्यो । चिया पनि कति स्वादिलो । शीशाको गिलासमा माथिसम्म टम्म भरिएको । पूरा अढाइ चम्चा चीनी र बाक्लो मलाई । पैसन्जर ट्रेन भलै रानीपुर स्टेशन ढिला पुगोस्, गनेशीले चिया पुर्याउन कहिल्यै ढिलो गरेन । त्यसलाई कहिल्यै केही भन्ने पर्दैनथ्यो ।


पत्नीको गुनासापूर्ण स्वर सुनेर तिनको विचारधारामा व्याघात पुग्यो । तिनी भन्दै थिइन्— “सारा दिन यस्तै कचकचमा बर्बाद हुन्छ । यस गृहस्थीमा भारी बोक्दा–बोक्दै उमेर सिद्धियो । कसैले पनि अलिकति मद्दत गर्दैन ।”
“बुहारीले के गर्छिन् ?” गजाधर बाबूले सोधे ।
“बसिरहन्छे । बसन्तीलाई भन्ने हो भने भन्छे— ‘कलेज जानुपर्छ’ ।”

गजाधर बाबूले जंगिएर बसन्तीलाई बोलाए । बसन्ती भाउजुको कोठाबाट निस्किएपछि गजाधर बाबूले भने—
“बसन्ती । आजदेखि साँझको खाना पकाउने जिम्मेदारी तिमीउपर । बिहानको खाना तिम्री भाउजुले पकाउलिन् ।”

बसन्तीले मुख लत्र्याउँदै भनी—
“बुवा ! पढ्न पनि त पर्छ ।”
गजाधर बाबूले सप्रेम सम्झाए— “तिमी बिहान पढ्ने गर । तिम्री आमा अब बूढी भइन् । अब तागत छैन । तिमी छौ, तिम्री भाउजु छिन् । दुवैले मिलेर काम गर्नुपर्ला ।”

बसन्ती बोलिन । त्यो गएपछि त्यसकी आमाले सुस्तरी भनिन्— “पढाइ त बहाना हो, काममा त्यसको मन कहिल्यै लाग्दैन । अनि लागोस पनि त कसरी ! शीलाबाट नै फुर्सद छैन । जवान केटाहरु छन् त्यस घरमा । त्यहाँ गइरहनु मलाई मन पर्दैन । न जा भन्दा नसुनेझै गर्छे ।”

घरमा गजधार बाबू बस्ने कुनै ठाउँ नै बचेको थिएन । जसरी कुनै पाहुनाका लागि अस्थायी व्यवस्था गरिन्छ, त्यस्तै गरी बैठक कोठामा कुर्सीहरुलाई भित्तातिर सारेर, माझमा गजाधर बाबूका लागि, कम चौडाइ भएको चारपाई राखिएको थियो । गजाधर बाबू त्यस कोठामा पल्टिएर कहिलेकाहीं अनायास नै, त्यस अस्थायीत्वलाई अनुभव गर्न लाग्दथे । तिनलाई याद आउँदथे त्यो रेलगाडीहरु जो आउँदथे र केही बेर रोकिएर कुनै अर्कै गन्तव्यतिर लाग्दथे ।

घर सानो हुनाले बैठककोठामा नै त्यस्तो व्यवस्था गरिएको थियो । तिनको पत्नीका लागि भने, भित्र एउटा सानो कोठा अवश्य थियो, तर त्यो एकातिर अचारका भाँडा, चामल–दालका कनस्तर र ध्यूका डिब्बाहरुले भरिएको थियो भने अर्कोतिर पुरानो सिरकहरु दरीले लपेटी डोरीले बाँधेर राखिएका थिए । तिनका नजिक टीनको एउटा ठूलो बाकसमा घरभरिका गरम कपडा राखिएका थिए । माझमा एउटा रस्सी बाँधिएको थियो जसमाथि प्रायः बसन्तीका लुगा लापरवाहीका साथ टाँसिएका हुन्थे । तिनी प्रायः त्यस कोठामा जाँदैनथे । घरको अर्को कोठा अमर र त्यसकी पत्नीका लागि थियो । तेस्रो कोठा, जो अगिल्तिर थियो बैठककोठा थियो । गजाधर बाबू आउनुभन्दा पहिले त्यसमा अमरका ससुरालीबाट आएका तीन कुर्सीवाला बेंतको सेट राखिएको थियो । कुर्सीहरुमा नीला रंगका गद्दा र बुहारीले कढाइ गरेका ‘कुशन’ राखिएका थिए ।

कुनै बखत, जब तिनकी पत्नीलाई लामै शिकायत गर्न पर्थ्यो तब उनी चटाइ, बैठकमा ओच्याएर जान्थिन् । एकदिन उनी चटाइ लिएर आउँदा गजाधर बाबूले घर–गृहस्थीका कुरा शुरु गरे । तिनी घरको रवैया वा तौर–तरिका हेर्दै थिए । तिनले निकै सुस्तरी भने कि अब हातमा पैसा कम रहला, खर्च केही कम गर्नुपर्ला ।


“सबै खर्च न उचित नै छन्, न त चाहेजस्तो पहिरियो, न ओढियो ।”
गजाधर बाबूले आहत–विस्मित दृष्टिले पत्नीतिर हेरे । तिनलाई आफ्नो हैसियत थाहा थियो । तिनकी पत्नी अभाव अनुभव गरेर त्यसको उल्लेख गर्दथिन् । त्यो स्वाभाविक त थियो, तर त्यसमा सहानुभूतिको सर्वथा अभाव अनुभव गरेर गजाधर बाबूलाई पटक्कै राम्रो लागेन । तिनीसँग, यदि, घरको प्रबन्धन कसरी गर्नेबारे सर–सल्लाह गरिएको भए, तिनलाई चिन्ता कम र सन्तोष धेरै हुनेथियो । तर, तिनीसँग त गुनासा मात्र पोखिन्थे मानौं परिवारको सबै परेशानीका जिम्मेदार तिनी नै होऊन् ।

“तिमीलाई कुन कुराको अभाव छ अमरकी आमा ? घरमा बुहारी छन्, बच्चा छन्, रुपैयाँले मात्र मान्छे धनी हुँदैन ।” गजाधर बाबूले भने र साथसाथै अनुभव गरे कि त्यो तिनको अन्तर्मनको अभिव्यक्ति थियो । जो तिनकी पत्नीले बुझ्न सक्दै सक्दिनन् ।

“हो त ! बुहारीले निकै सुख दिएकी छे । आज पकाउन गएकी छे, हेरौं त के हुन्छ !” त्यसो भनेर पत्नीले आँखा चिम्म गरिन् र निदाइन् ।

गजाधर बाबू बसी–बसी पत्नीलाई हेरिरहे । के यिनी नै हुन् तिनकी पत्नी जसका हातका कोमल स्पर्श, जसको मुस्कानको यादमा तिनले सारा जीवन बिताइदिएका थिए ? तिनलाई लाग्यो कि ती लावण्यवती युवती, जीवनपथमा कतै हराइन् र तिनको ठाउँमा आज जो स्त्री छ, त्यो तिनका मन र प्राणका लेखा नितान्त अपरिचिता हो । प्रगाढ निद्रामा मस्त तिनको भारी शरीर बहुत बेडौल र कुरुप लागिरहेको थियो, श्रीहीन र रुक्ष थियो । गजाधर बाबूले केही बेरसम्म चुपचाप पत्नीतिर हेरे र पछि पल्टेर छानातिर हेर्नेलागे ।

भित्र कुनै वस्तु खस्यो र तिनकी पत्नी हडबडाएर उठिन्— “लौ ! बिरालोले कुनै चीज खसालिदियो शायद ।”
त्यति भनेर तिनी भित्रतिर दुगुरिन् । अलिबेरमा फर्केर आउँदा तिनको मुख फुलेको थियो ।
“हेर्नुभयो ! बुहारीले भान्साकोठा खुल्ला राखी । बिरालोले दालको देगची खसालिदियो । खाने बेला भयो, अब के खुवाउने !”

तिनी सास फेर्न रोकिइन् र फेरि भनिन्—
“एक तरकारी र चार परौठा पकाउँदा डिब्बाको सारा ध्यू खन्याइदिई । अलिकति पनि पर्वाह छैन । कमाउनेले मरीमरी कमाओस् र यहाँ छ लुटान । मलाई त थाहा थियो कि यो काम कसैले गर्नै सक्दैन ।”

गजाधर बाबूलाई लाग्यो कि पत्नीले अरु केही भनिन् भने तिनका कान पाक्नेछन् । त्यसकारण ओठलाई टम्म बन्द गरेर तिनले पत्नीतिर पिठ्यूँ फर्काइदिए ।
रातको खाना बसन्तीले जानाजान यसरी पकाएकी थिई कि एक गाँससम्म निल्न सकिएन ।

गजाधर बाबू त्यस्तै खाना चुपचाप खाएर उठे, तर नरेन्द्रले थाललाई एकातिर सारेर उठ्यो र भन्यो— “म यस्तो खाना खान सक्दिनँ ।”
बसन्तीले रिसाउँदै भनी— “त्यसो भए नखाऊ न ! कसले खुशामद गर्दैछ ?”
“तिमीलाई खाना पकाउन कसले भनेको थियो ।” नरेन्द्र करायो ।
“बुवाले ।”
“बसी–बसी बुवालाई यस्तै कुरा गर्न मनपर्छ ।”

बसन्तीलाई उठाएर आमाले नरेन्द्रलाई फकाइन् र आफ्नै हातले केही पकाएर खुवाइन् । पछि गजाधर बाबूले पत्नीसँग भने—
“यत्री ठूली भएकी छोरीले खाना पकाउनसम्म नि जान्दिनँ ?”
“सबै कुरा जान्दछे, तर गर्न चाहन्ने ।” पत्नीले भनिन् ।
अर्को साँझ, आमालाई भान्साकोठामा देखेपछि बसन्ती लुगा फेरेर बाहिर निस्कँदा बैठककोठामा बसेका गजाधर बाबूले रोकिदिए— “कहाँ जाँदै छौ ?”
“पडोसन, शीलाको घर ।” बसन्तीले भनी ।
“कुनै आवश्यकता छैन, भित्र गएर पढ्नू ।” गजाधर बाबूले कडा स्वरमा भने । केही बेर अनिश्चित उभिएर बसन्ती भित्र गई ।

गजाधर बाबू साँझ सधैं तहल्न जान्थे । फर्केर आउँदा पत्नीले सोधिन्— “बसन्तीलाई के भन्नुभयो ? साँझदेखि मुख छोपेर सुतेकी छ । खाना पनि खाइन ।”
गजाधर बाबू खिन्न भए । तिनले पत्नीको जिज्ञासाको जवाफ दिएनन् । तिनले मनमा निश्चय गरे कि बसन्तीको बिहे छिटै गरिदिनुपर्ला ।

त्यस दिनदेखि बसन्ती, पितादेखि टाढा–टाढा बस्न थाली । कतै जानु पर्दा पछाडिको ढोका खोलेर जान्थी । गजाधर बाबूको पत्नीसित एक–दुईपटक सोध्दा, जवाफ आउँथ्यो— “रिसाएकी छ ।”

गजाधर बाबू झन रिसाए, केटीलाई यति घमण्ड ! बाहिर जान रोक्दा बाउसँग नबोल्ने । पछि तिनकी पत्नीले सूचना दिइन् कि अमर छुट्टिने तरखरमा छ ।
“के रे !” गजाधर बाबूले चकित भएर सोधे ।

पत्नीले सफा–सफा जवाफ दिइनन् । अमर र त्यसकी स्वास्नीका गुनासो धेरै थिए । तिनीहरुको भनाइ थियो कि गजाधर बाबू सधैं बैठककोठामा बसिरहनुहुन्छ । कुनै आउजाउ गर्नेलाई बसाल्ने ठाउँ पनि छैन । अमरलाई तिनी अझै पनि बच्चा गन्दथे र मौका बेमौका टोकिदिन्थे । बुहारीलाई काम गर्न पर्थ्यो । सासूचाहिं प्रायः फोहरीपनको ताना मारिरहन्थिन् ।
“म आउनुभन्दा पहिले पनि यस्ता गुनासा थिए ?”

गजाधर बाबूले त्यसरी सोध्दा, पत्नीले मुण्टो हल्लाएर ‘नाइँ’ भनिन् । पहिले अमर घरको मालिक भएर बस्दथ्यो, बुहारीलाई कुनै रोकटोक थिएन, अमरका मित्रहरुको अड्डा यतै जमिरहन्थ्यो र भित्रबाट चिया–नाश्ता तयार भएर आउँदथ्यो । बसन्तीलाई पनि त्यस्तै मनपर्थ्याे ।
गजाधर बाबूले निकै सुस्तरी भने—
“अमरलाई भन्नू कि आत्तुरी गर्ने कुनै आवश्यकता छैन ।”

अर्को दिन घुमफिर गरेर आउँदा तिनले बैठककोठामा आफ्नो खाट देखेनन् । भित्र गएर सोध्नै लाग्दा तिनले भान्साकोठामा बसेकी पत्नीलाई देखे । तिनी, “बुहारी कता छिन्” भनी सोध्न चाहन्थे, तर कुनै कुरा याद गरेर चुप लागे । पत्नीको कोठामा झाँके । त्यहाँ अचार, सिरक र कनस्तरहरुका माझमा आफ्नो खाट पनि ओच्छ्याइएको देखे । गजाधर बाबूले कोट खोलेर कतै झुण्ड्याउनका लागि भित्तातिर हेरे । पछि त्यसलाई पट्याएर, तारमा झुण्ड्याइएका लुगाहरु परि सारेर, एक छेउमा झुण्ड्याइदिए र केही नखाईकन खाटमा पल्टिए । जेसुकै होस्, शरीर त बूढो नै थियो । बिहान–बेलुका घुमफिर गर्न अवश्य जान्थे, तर आउँदा–आउँदा थाक्दथे ।


गजाधर बाबुलाई आफ्नो ठूलो, खुल्ला क्वार्टर याद आयो । निश्चित जीवन— बिहान पैसेन्जर ट्रेन आउँदा स्टेशनको चहलपहल, चिर परिचित अनुहार । लोकल रेलमा चक्काहरुको ‘खट–खट’ जो तिनका लागि मधुर संगीतजस्तो थियो । तूफान र डाकगाडी (एक्सप्रेस र मेल ट्रेन– जो साना स्टेशनमा रोकिदैनन्) का इंजनहरुका चिँधाड, तिनका एक्ला रातका साथी थिए । सेठ रामजीमलको मिलका केही मानिसहरु कहिलेकाहीं तिनीसँग गफिन्थे । बस, त्यति नै थियो तिनको दायरा, त्यही तिनका साथी । त्यो जीवन अब तिनलाई गुमाएको निधिजस्तो लाग्यो । तिनलाई लाग्यो कि तिनी जीवनद्वारा ठगिएका हुन् । तिनले जे चाहेका थिए, त्यसमध्येबाट तिनले एक थोपा पनि पाएनन् ।

पल्टिएका तिनले घरभित्रबाट आइरहेका विविध स्वर सुनिरहे । बुहारी र सासूबीच सानो झडप, बाल्टिनमा खुल्ला पानीधाराको आवाज, भान्सा कोठामा भाडाहरु ठोक्किएको आवाज र तीबीच भँगेराहरुका वार्तालाप । अनि तिनले एक्कासि निश्चय गरिहाले कि अब–उप्रान्त घरको कुनै काममा दखल दिनेछैनन् । यदि गृहस्पानीका लागि घरमा एउटा खाट राख्ने ठाउँ छैन भने तिनी यतै बस्नेछन्, खाटलाई अन्यत्र लगे त्यतै जानेछन् । छोरा–छोरीहरुको जीवनमा तिनका लागि कुनै स्थान छैन भने, तिनी आफ्नै घरमा परदेसीजस्ता भई बस्नेछन् । अनि त्यस दिनदेखि गजाधर बाबु साँच्चि नै केही बोलेनन् । नरेन्द्रले पैसा माग्दा त्योसँग कारण नसोधीकनै रुपैयाँ दिए । निकै अँध्यारो भइसक्दा पनि बसन्ती पडोसीको घरबाट नआउँदा पनि तिनले केही भनेनन् । तर, तिनलाई सबभन्दा ठूलो दुःख त यो थियो कि तिनकी पत्नीले पनि तिनमा भएइको परिवर्तन देख्न सकिनन् । तिनी मनैमन कति बोझ बोकिरहेका थिए । त्यस्ता कुरा पनि तिनले थाहा नपाउने ! उनलाई त घरको मामिलामा पतिले हस्तक्षेप नगरिदिंदा नै शान्ति पाएकी थिइन् । कहिलेकाहीं उनी पनि भन्दथिन्—
“ठीक छ, तपाईं टोकाटाकी नगर्नुस् । बच्चाहरु ठूला भइसके । हामी आफ्ना कर्तव्य गरिरहेका छौं, पढाउँदै छौ, बिहे पनि गरिदिनेछौं ।”

गजाधर बाबूले आहत दृष्टिले पत्नीतिर हेरे । तिनले अनुभव गरे कि तिनी, पत्नी र बच्चाहरुका लागि धनोपार्जनका साधन मात्र हुन् । जुन व्यक्तिको अस्तित्वका कारण पत्नी सिउँदोमा सिन्दूर हाल्ने अधिकारिणी भएकी छ, समाजमा प्रतिष्ठा छ, त्यसका सामु दुई समयको भोजन थालामा राखिदिनाले मात्र सारा कर्तव्यबाट मुक्त हुन्छे । त्यो दाल र चिनीका डिब्बामा यति रमाएकी छ कि ती नै त्यसको सारा संसार बनेको छ । गजाधर बाबू तिनको जीवनका केन्द्र हुनै सक्दैनन् ।

तिनीमा त छोरीको बिहे गरिदिने उत्साह पनि मरिसकेको थियो । कुनै कुरामा हस्तक्षेप नगर्ने निश्चय गरेपछि पनि तिनको अस्तित्व त्यस वातावरणको एउटा अंश बन्न सकेन । तिनको उपस्थिति त्यस घरमा यसरी असंगत लागिरहेको थियो जस्तो कि सज्जित बैठककोठामा तिनी सुत्ने चारपाई थियो । तिनका सारा खुशी एउटा गहन उदासीनतामा डुब्दै गयो ।

ती सब निश्चयका बाबजुद गजाधर बाबूले एक दिन दखलै दिइहाले । आफ्नो स्वभावअनुसार छोरीले नोकरको शिकायत गरिरहेकी थिई—
“कति कामचोर हो । बजारको हर चीजमा पैसा बनाउँदछ । खान बसेपछि खाएको खायै ।”

गजाधर बाबू बराबर यो महसूस गरिरहेका थिए कि तिनीहरुको रहन–सहन र खर्च तिनको हैसियतभन्दा निकै धेरै छ । पत्नीका कुरा सुनेर तिनलाई लाग्यो कि नोकरमाथि खर्च गर्नु बिल्कुल बेकार हो । सानातिना काम छन्, घरमा तीन मर्द (पुरुष) छन्, कसैले त गरिदेला ! तिनले त्यसै दिन नोकरको हिसाब गरिदिए । अमरले दफ्तरबाट आउनासाथ नोकरलाई बोलाउन थाल्यो । अमरकी पत्नीले भनी— “बुवाले बिदा गरिदिनुभयो ।”
“किन ?”
“भन्नुहुन्छ कि खर्च धेरै छ ।”

यो वार्तालाप निकै सरल थियो, तर बुहारी जुन टोन (लहजा) मा बोली, त्यो गजाधर बाबूलाई बिझायो । त्यसदिन मन भारी भएकोले गजाधर बाबू टहल्न गएका थिएनन् । आलस्यका कारण उठेर बत्ती पनि बालेनन् । यस्ता कुराबाट बेखबर नरेन्द्रले आमासँग भन्न थाल्यो—
“आमा ! तिमी बुवालाई किन भन्दिनौ ! बसी–बसी केही काम नपाएर नोकरलाई धपाइदिनुभयो । यदि बुवाले यो सोच्नुभएको छ कि म साइकिलमाथि गहुँ राखेर पिठो पिसाउन जाउँला, त म यो काम गर्न सक्दिनँ ।”

“हो आमा !” बसन्तीको स्वर थियो—
“म कालेज पनि जाऊँ र फर्केर झाडू पनि लगाऊँ, यो मेरो बुता–बारिहको कुरा हो ।”
“बूढा मानिस हुनुुहुन्छ” अमर भुनभुनायो— “चुपचाप बसे हुन्छ नि ! प्रत्येक कुरामा किन दखल दिनुहुन्छ ?”
पत्नीले निकै व्यंग्यपूर्वक भनिन्—
“केही काम नपाएर बुहारीलाई नै भान्सामा पठाइदिनुभयो । त्यसले गएर पन्ध्र चल्ने राशन पाँच दिनमा नै सिद्ध्याइदिई ।”

बुहारीले केही भन्नुभन्दा पहिले नै बूढीमाउ भान्साघरमा पसिहालिन् । केही बेरमा आएर तिनले आफ्नो कोठाको बिजुलीबत्ती बालिन् । त्यहाँ गजाधर बाबूलाई लेटेको देखेर निकै आत्तिइन् । गजाधर बाबूको मुख–मुद्राबाट तिनले उनका भावहरुको अनुमान गर्न सकिनन् । तिनी चुपचाप आँखा चिम्लेर लेटिरहे ।

गजाधर बाबू हातमा चिठी लिई भित्र गए र पत्नीलाई पुकारे । तिनी भिजेका हातलाई आँचलले पुछ्दै नजिक आएर उभिइन् । गजाधर बाबूले कुनै भूमिकाबिना भने—
“मैले सेठ रामजीमलको चीनी कारखानामा नोकरी पाइहालें । केही नगरीकन बस्नुभन्दा त दुईचार पैसा घर आएको राम्रो । उहाँले त पहिल्यै भन्नुभएको थियो । मैले नै नाइँ भनेको थिएँ ।

केही बेरको अन्तरालपछि, निभेको आगोबाट झिल्का निस्केझैं, तिनले सुस्तरी भने—
“मैले सोचेको थिएँ कि वर्षौंसम्म तिमीहरुदेखि टाढा रहेर, अवकाश पाएपछि परिवारसँग बसूँला…। खैर…पर्सि जानुछ । तिमी पनि जाने ?”
“म !” पत्नीले हच्कँदै भनिन्— “म गए यहाँ के होला ! यति ठूलो गृहस्थी, अनि जवान छोरी…।”
बीचैमा कुरा काट्दै गजाधर बाबूले हताश स्वरमा भने—
“ठीकै छ, तिमी यतै बस । मैले त त्यसै भनेको थिएँ ।”
त्यति भनेर तिनी गहन मौनतामा डुबिहाले ।

नरेन्द्रले निकै तत्परतासाथ बिस्तरा बाँध्यो र रिक्शा बोलाएर ल्यायो । गजाधर बाबूको टीनको बाकस र सानो बिस्तरा त्यसमाथि राखिदियो । नाश्ताका लागि केही लड्डु र मठरी (नमकीन) को डलिया समातेर रिक्शामा बसे । तिनी गएपछि सबैजना भित्र फर्किए ।

बुहारीले अमरसँग सोधी—
“सिनेमा हेर्न जाने हो नि ?”
बसन्तीले उफ्रिंदै भनी—
“दाइ ! मलाई पनि…।”

गजाधर बाबूकी पत्नी सोझै भान्साकोठामा गइन् बचेका मठरीलाई कटोरदानमा राखेर आफ्नो कोठामा आइन् र कनस्तरहरुनेर राखिदिइन् । अनि बाहिर आएर भनिन्—
“अरे नरेन्द्र ! बुवाको खाटलाई कोठाबाट हटाइदे । यसले गर्दा हिंड्ने ठाउँ पनि छैन ।”