संघीय सरकार कोरोना महामारीका बेला नागरिकको उपचार गर्नबाट पन्छिए पनि लुम्बिनी प्रदेश सरकारले भने यस प्रदेशका नागरिकको उपचार निःशुल्क गर्ने बताएर प्रदेशबासीको अभिभावकीय भूमिका निभाएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निःशुल्क उपचारको व्यवस्था रहेको बताएका छन् । मुख्यमन्त्रीको यो भनाइपछि नागरिकले राहत महसुस गरेका छन् । कुनैै पनि महामारी आएमा सरकारले सबै नागरिकको उपचार निःशुल्क गर्नुपर्ने हुन्छ । तर संघीय सरकारले केही दिन अघि सम्पूर्ण नागरिकको उपचार निःशुल्क गर्न नसकिने भन्दै नागरिकको उपचार पाउने हकलाई वञ्चित गरेको थियो ।
संघीय सरकारले निम्न वर्गको उपचार गर्न भने सकिने भन्दै निश्चित विधि बनाएको छ । तर वास्तविक कुरा के हो भने अधिकांश पैसा भएका धनाढ्यहरू भने सुविधा सम्पन्न निजी अस्पतालमा उपचार गराउने गरेका छन् । अहिलेको महामारीका बेलामा मात्र नभई अन्य अवस्था समेत उनीहरूले सुविधा सम्पन्न अस्पतालमा नै जाने गर्दथे । सरकारी अस्पतालमा सुविधा लिनेहरू अधिकांश निम्न मध्यम वर्गका नै हुन्छन् । महामारीका बेलामा विपन्न वर्गलाई कोरोना संक्रमणको उपचार निःशुल्क गरेर राहत दिनुको साटो हतोत्साहित बनाउने गरी संघीय सरकारले निर्णय गरेको थियो । जुन निर्णयको चौतर्फी आलोचना भए पनि सरकारले अझै सच्याएको छैन ।
यद्यपि लुम्बिनी प्रदेश सरकारले नागरिकहरूको जीवन रक्षाका लागि जिम्मेवार भूमिका खेलेको छ । यस्तै विपत्तिका बेलामा हो सरकार चाहिने । दुःखको समयमा हो अरूको साथ र मद्दत चाहिने । अरू बेला त नागरिकले आफै दुःख गरेर जीवन निर्वाह गरेका छन्, हुन्छन् । बरू लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम हेरेर आइसीयु र भेन्टिलेटर वृद्धि भने गर्नै पर्दछ । विकास निर्माणका काम एक वर्षपछि भएर केही फरक पर्दैन । सरकारको पहिलो प्राथमिकता भनेको नागरिकको जीवन रक्षा गर्नु हो । नागरिकले स्वास्थ्य उपचारको संविधान प्रदत्त अधिकार प्राप्त गर्नै पर्दछ ।
कोरोना भाइरस मूलतः दीर्घरोगीहरूका लागि अत्यन्त घातक देखिएको छ । यद्यपि युवा पुस्ता पनि यसको संक्रमणबाट जीवन गुमाउन बाध्य भइरहेका छन् । सरकारले कोरोना संक्रमण भएकाहरूलाई होम आइसोलेसनमा बस्न सक्ने व्यवस्था गरेपछि धेरैजसो घरमै आइसोलेसनमा बस्ने गरेका छन् । घरमै बसिरहँदा कोरोना भाइरसले च्यापेपछि अस्पताल लैजाने क्रममा कतिपयको ज्यान गएको छ । कतिपयले आइसीयुका लागि अस्पताल चर्हादा चर्हार्दै जीवन गुमाएका छन् । कम्तीमा बेलैमा महामारीको आंकलन गरेर आइसीयु थप गर्न सकेको भए ती नागरिकको जीवन जोगिन सक्थ्यो । अब यस्ता घटनाबाट पाठ सिकेर भविष्यमा आउन सक्ने संभावित जोखिमलाई ख्याल गर्दै लुम्बिनी प्रदेश सरकारले थप कदम चाल्न जरूरी छ ।
अर्काेतर्फ प्रदेशमा रहेका चार वटा कोरोना विशेष अस्पतालले मात्रै कोरोना संक्रमित बिरामी थेग्न सक्ने अवस्था देखिदैन । जाडोको मौसम सुरु हुँदैछ । कोरोनाले चिसो मौसममा झन् बढी सताउने आंकलन विशेषज्ञहरूले गरेका छन् । त्यसैले बेलैमा तयारी गरेर अन्य अस्पतालहरूलाई पनि कोरोना विशेष अस्पतालको रूपमा विकास गर्न जरूरी छ । त्यसका लागि ठोस काम गर्नुपर्दछ । बेलैमा होसियारी नपु¥याउने हो भने क्षति बढी हुन सक्दछ । लुम्बिनी प्रदेश सरकारले यसतर्फ पनि बेलैमा भूमिका खेल्न आवश्यक छ ।