तिलोत्तमा । कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरूषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमाले भने बुधबारदेखि आफैले शव व्यवस्थपन गर्न थालेको हो । नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरूषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । तिलोत्तमा नगरपालिका वडा नं. ५ निवासी ४७ वर्षीय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिनदेखि होम आइसोलेसनमै रहेका थिए । स्वास्थ्यमा समस्या देखीएपछि उनलाई बुधबार बिहान क्रिमशन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । मृत्यु भएपछि शंकरनगर सामुदायिक वन क्षेत्रमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले शव व्यवस्थापन गरेको सिनियर अहेव अधिकृत गौतमले बताए । योसँगै तिलोत्तमामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । हालसम्म तिलोत्तमाका ७ सय २६ जनालाई कोरोना संक्रमण भएकोमा ३ सय ९३ जना निको भएका छन् भने ३ सय २५ जना सक्रिय संक्रमित छन् । तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।