सन्दर्भः मन्त्रीमण्डल पुनर्गठन
रामजी ज्ञवाली

केही दिन यतादेखि मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा सरकारको ध्यान केन्द्रित भएको देखिन्छ । सरकारको यो नियमित प्रक्रिया पनि हो । तर ,‘के पात्र फेरिदैमा संस्कार फेरिन्छ त ?’ भन्ने प्रश्न पनि उत्तिकै चर्चित छ । यानि सरकारका मन्त्रीहरू फेरबदल गर्दैमा सरकारको सुशासन कायम हुन्छ र काम प्रभावकारी हुन्छ भन्ने के विश्वास ? मन्त्रीहरूले लोकप्रिय काम गर्छन् भन्ने आधार के ? आजको विचार यसै विषयमा केन्द्रित हुनेछ ।
यस प्रश्नको सटीक उत्तर न त स्वयं प्रधानमन्त्रीसँग न त कुनै राजनीतिक दलसँग, न त मन्त्रिपरिषदसँग, न त प्रशासनविद्हरूसँग नै छ । जसलाई मन लाग्यो उसैलाई राख्यो, जसलाई मन लागेन उसैलाई हटायो । हो, निश्चय पनि सरकारले मन्त्रीमण्डल पुनर्गठन गरी केही मन्त्रीहरूलाई विदाइ गर्ने, केही नयाँ मन्त्रीहरू नियुक्ति गर्ने, साविक मन्त्रीहरूको विभाग र जिम्मेवारी फेरबदल गर्ने अधिकार संविधानले नै प्रधानमन्त्रीलाई प्रदान गरेको छ । यसरी मन्त्रीमण्डल फेरबदल गर्दा वा मन्त्रीहरूलाई विदाई गर्दा वा नयाँ मन्त्रीहरू नियुक्ति गर्नुपर्दा कस्तो मापदण्ड, शैली र आधार बनाइन्छ यो नै आम देशबासीहरूको चासो र मुख्य प्रश्न हो । सामान्यतया प्रधानमन्त्रीलाई यी साविकका मन्त्रीहरूको काम कर्तव्यबाट सन्तोष हुन सकेको भए सम्भवतः मन्त्रीमण्डल पुनर्गठन गर्नु नै पर्ने थिएन । जब प्रधानमन्त्रीलाई केही २,४ जना मन्त्रीहरूको काम कर्तव्य सन्तोषजनक नदेखिएको र स्वाभिमानी देशबासीहरू पनि उनीहरूको सेवाप्रति सन्तुष्ट हुन नसकेकाले ती जिम्मेवारी बहन नगर्ने मन्त्रीहरूलाई विदाइ गर्नु स्वाभाविकै पनि हो । तर, मन्त्रीमण्डल पुनर्गठन र मन्त्रीहरूले सन्तोषजनक काम गर्न सकेनन् भन्ने बाहना बनाएर फेरि उस्तै गरी कतै आफ्नै लागेको बानी कतै आफन्त, नातागोता, आफ्नै परिवारका व्यक्ति, इष्टमित्र, बिहान बेलुका चाकडी चाप्लुसी गर्ने व्यक्ति, नेतृत्व र सरज्ञकारकोे प्रशंसा गरिरहने व्यक्ति, हजुर बिन्ती, यसपालि त मैले मन्त्रीको आशा गरेको छु । पहिले पनि हजुरले अर्काे पालि विचार गरौंला भन्नुभयो भएको थियो । एकातिर इत्यादि व्यक्तिहरूकोे चाहना अनि अर्काेतर्फ योग्यता, दक्षता, कुशलता, चरित्रता र लोकप्रियतालाई नहेरीकन, नबुझिकन शक्ति, सोर्स र पहुँचका आधारमा राम्रा होइनन् हाम्रा मान्छेलाई प्रोत्साहन गरियो भने, यस्तो नीतिले स्वयं सरकारलाई नै तत्कालीन तथा दीर्घकालीन रूपमा नै अत्यन्त घातक सिद्ध हुनेछ । अनि अनेकौं कर्मठ एवं योग्य नेताहरू र राष्ट्रसेवकहरूमा समेत यसको नकारात्मक प्रभाव पर्नेछ । यदि यस्तो नीतिलाई प्रश्रय दिइयो भने प्रधानमन्त्री एवं अर्का पार्टी अध्यक्षका गुटका नजिकका नेताहरूले पनि मेरा यी यी व्यक्तिहरूलाई मन्त्री बनाउन आग्रह गर्नेछन् । यदि यी आफ्नै सहयोगी नै नेताहरूको आग्रहलाई स्वीकार गर्न सकिएन भने भोलिका दिनहरूमा आफ्नै सहकर्मीहरू पनि आफ्नै नेतृत्व र सरकारसँग रूष्ट हुने छन् र सरकारका हरेक कामहरूमा बाधा सिर्जना र असहयोग गर्न सक्नेछन् । तसर्थ प्रधानमन्त्रीले यी सम्भावित प्रश्नहरूलाई आत्मचिन्तन गर्दैै हरेक कार्य र निर्णय पारदर्शी र न्यायोचित रूपले सबैको समर्थन सबैलाई मान्य हुने गरी विना भेदभाव कार्य सम्पादन गरेर सकेसम्म सबैलाई चित्त बुझाउने सदाशय देखाउनु आवश्यक छ ।
सरकारले यस्तो सर्वमान्य पारदर्शी नीति अपनाएर इमान्दारीपूर्वक कार्यान्वयन गर्न सक्ने हो भने यस नीतिप्रति देशका बहुसंख्यक बुद्धिजीवी, न्यायप्रेमी, राजनीतिज्ञ र आम देशबासीको सहर्ष समर्थन र स्वीकार हुनेछ । र, कसैले पनि सरकारको आलोचना गर्ने छैनन् । तसर्थ सरकारले यस अघि गरेको मन्त्रीमण्डलको पुनर्गठनमा पनि कामको मूल्यांकन राम्र्रोसँग नगरी हचुवाका भरमा एउटै मूल्यांकन गरेर तुलनात्मक रूपले केही सक्षम र इमान्दारपूर्वक काम गर्ने जनमानसमा लोकप्रिय भएका मन्त्रीहरूको समेत विदाइ भएको थियो । तसर्थ अब नयाँ नियुक्ति हुने मन्त्रीहरूले यस अघि निवर्तमान भएका र लोकप्रियता कमाएका मन्त्रीहरूको अनुशरण गर्ने र रचनात्मक काम गर्न र आफ्नो पदीय दायित्व निर्वाह गर्न नसकेका मन्त्रीहरूबाट पाठ सिकेर म जनताको शासक होइन, म सेवक हुँ भन्ने आत्मचिन्तन गर्दै देशको आर्थिक क्षमता र सरकारले प्रदान गरेको सीमित सेवा सुविधा राजी खुसी चित्तबुझाई, बढी सुविधाको लालसा नगरी अत्यन्त सादगी, मितव्ययिता र निःस्वार्थ रूपले लोकप्रिय काम गरेर देशबासीको सेवा गर्नु नै स्वाभिमानी मन्त्रीहरूको प्रमुख दायित्व हो । हो, यदि विविध कारणहरूले राम्रो काम गर्ने चाहना हुँदाहुँदै पनि राम्रो काम गर्न सकिएन भने, सरकार एवं आफ्नो पदीय जिम्मेवारीबाट राजी खुसी बहिर्गमन भएर पनि जनता र देशको सेवा गर्न सकिनेछ ।
आज किन सरकारका हरेक कार्यहरू किन बराबर विरोधी र आलोचित भइरहेका छन् ? या त यसमा सरकारका कमीकमजोरीहरू भएर हो वा आलोचना वा विरोध गर्नेहरू नै पूर्वाग्रही भएर हो ? विभिन्न पक्ष र कोणहरूबाट सरकारलाई आउने आलोचनाहरू कति स्वच्छ र जायज छन् वा कति पूर्वाग्रही र कपोलकल्पित छन् ? यो दूधको दूध, पानीको पानी गरी छुट्टयाउने काम सरकारको हो । तर, सरकारले यी बाहिरबाट आउने आलोचनाहरूलाई सुन्नै चाहन्न, छुट्टयाउनै चाहन्न । अनि आलोचना सुन्न नपाएपछि त सरकारले आफू खुसी जे जस्तो जनअपेक्षा अनुसार काम नगरे पनि गरे सरकार सदैव स्वच्छ र निःस्कलंक हुन चाहन्छ । र, सरकारलाई सबैले सदैव प्रशंसा मात्र गरिरहुन । कसैले पनि सरकारको आलोचना र विरोध नगरून भन्ने चाहन्छ । के यसरी जनआवाज नसुन्नु । गुनासा नसुन्नु ।
आलोचना र विरोध नसुन्नु के यही प्रणाली नै लोकतन्त्र हो त ? यदि सरकारले आफै पूर्वाग्रही राखेर देशबासीका स्वच्छ आलोचनाहरूलाई समेत सुन्ने, देख्ने र सुधार्ने शक्ति र सामथ्र्य हुँदैन भने, सरकारले आफ्ना कमीकमजोरीहरूलाई कहिले सुधार्ने मौका पाउँछ त ? यदि सरकारले र नेताहरूको नियति स्वच्छ भए बाहिरबाट आउने हरेक पक्षका स्वच्छ आलोचनाहरूलाई ससम्मान सुन्नु, बुझ्नु पर्दछ । यी स्वच्छ आलोचनाहरू सरकारका निमित्त विरोध नभए सही मार्ग दर्शन हुन् ।
आज यो दुई तिहाईको नेकपाको बलियो सरकार हो । यो सरकार जनताको सरकार हो । सुशासनयुक्त सरकार हो । यो सरकार आम देशबासीको दुःख सुखमा अहोरात्र सेवारत छ । यस देशमा कसैले पनि भोकै मर्नु पर्दैन । आवश्यक उपचार सेवा नपाइकन कसैले अकालैमा मर्नु पर्दैन । सरकारले आदिआदि घोषणा गरे पनि व्यवहारमा त्यस्तो सुखानुभूति हुन सकिरहेको छैन । यति सामाजिक कामहरू मात्र होइनन् । आज न्यायपालिका लगायत कुनै पनि सर्वाेच्च संवैधानिक अंगहरू संविधानमा पूर्ण स्वतन्त्र हुने छन् भनिए तापनि व्यवहारमा पूर्ण स्वतन्त्र हुन सकिरहेका छैनन् । कार्यपालिका तथा सरकारले जसलाई जे जस्ता रायसल्लाह, आदेश निर्देश दिन्छ सोही अनुसार संवैधानिक अंगहरूले पनि बाध्य भएर सरकारको आदेश निर्देशलाई पालन गरिरहनु परेको देखिन्छ । यसरी सरकारबाट स्वतन्त्र संवैधानिक अंगहरूमा आवश्यकता भन्दा बढी राजतीतिक हस्तक्षेप हुन थालेपछि अन्यायमा परेका बहुसंख्यक पीडित जनताहरूले कहाँ कसरी स्वच्छ र न्यायोचित न्याय पाउन सक्लान् ? यसतर्र्फ सरकार अति गम्भीर हुनु आवश्यक छ ।
अन्त्यमाः भर्खरै मन्त्रीमण्डल पुनर्गठन हुँदैछ । त्यसमा विदाई भई जाने मन्त्रीहरूले पनि एक सांसदको हैसियतले बाहिर बसेर पनि जनता र देशको सेवा गर्नु होला । अनि नव आगन्तुक मन्त्री बन्न शुभ अवसर पाउनु हुने कुशल मन्त्रीहरूले पनि देशको अवस्था र माथि भनिएजस्तै सरकारको शासकीय प्रणालीलाई अधिक सुधार गर्दै, गराउँदै आफ्नो पदीय दायित्वलाई इमान्दारीपूर्वक निभाउँदै, आफ्नो पदीय कार्यकाल एक क्षण रहँदासम्म जनता र देशको सेवा र मलो गर्नु होला । राष्ट्रियताको रक्षा गर्नुहोला भन्ने अपेक्षा गर्दै सबै नवागन्तुक मन्त्रीज्यूहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
साथै हाल देशमा भइरहेको कोरोना भाइरसलाई हामी सबैले आवश्यक सुुरक्षात्मक उपायहरू अपनाउँदै आफै बचौं, अरूलाई बचाऔं र समग्र राष्ट्रलाई बचाउँ । सबैमा यही हार्दिक शुभकामना । पुनश्चः यो विचार प्रवाह गर्दागर्दैको प्राप्त सार्वजनिक समाचार अनुसार यही असोज २८गते सानो स्वरूपको मन्त्रीमण्डलको पुनर्गठन भएको छ । जस अनुसार ३ जना नयाँ मन्त्रीहरू नियुक्ति भएका छन् भने ३ जना मन्त्रीहरूको विभाग हेरफेर गरिएको व्यहोरा सादर ध्यानाकर्षण गराउन चाहन्छु ।
नागरिक जागरण अभियाद, देवीनगर