गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी विगतमा जिल्लाको सबैभन्दा ठुलो विकासे अड्डाको योजना बनाउने लामो अनुभव संगालेका अधिकृत हुन् । उनी साविक जिल्ला विकास समितिको योजना अधिकृत थिए ।
गुल्मीकै इस्मा गाउँपालिका १ साविकको हस्तीचौर गाविसमा २०२९ साल फागुन ११ गतेका दिन पिता केशवराज उपाध्याय मरासिनी र माता मनरूपा उपाध्यायको कोखबाट जन्मिएका मरासिनी सामान्य परिवार र हालसम्म पनि सादा जीवनशैलिका व्यक्ति हुन् । उनले खरिदारदेखि उपसचिवसम्मको अनुभव संगालिसकेका छन् ।
साविक वस्तु गाविसस्थित हिमालय माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा हासिल गर्दैै उच्च शिक्षाकै दौरानमा २०५५ साल चैत्र १२ गते खरिदार तहको सरकारी सेवामा उनी प्रवेश गरेका थिए । नुवाकोट जिल्लाको साविक बुद्धसिंह गाविसको गाविस सचिवका रूपमा उनले ६ महिनासम्म काम गरेका थिए । त्यसपछि आफ्नै गृह जिल्ला साविकको पौदी अमराई गाविसमा गाविस सचिवको रूपमा ६ वर्षसम्म काम गरे । त्यसपछि दैलेख जिल्लाको जिल्ला विकास समितिको योजना अनुगमन तथा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरे ।
त्यस्तै उनी इलाम जिल्ला निर्वाचन कार्यालयमा दुई वर्ष शाखा अधिकृतको रूपमा काम गरे । दुई वर्षसम्म रामेछाप जिल्लाको जिल्ला वन कार्यालयमा काम गरे । प्रदेश सरकारको गठनपछि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा आठ महिनासम्म उपसचिवको जिम्मेवारी सम्हालेपछि मरासिनी जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृतको रुपमा दुई वर्षसम्म जिम्मेवारी समालेका थिए । यसरी सामान्य परिवारमा हुर्किएर खरिदारको पद हुँदै अहिले उपसचिवसम्मको ओहोदामा कार्यरत मरासिनी अहिले पनि हस्तिचौरस्थित आफ्नो खेतबारीमा हलोकोदालो गर्न पुगेकै हुन्छन् । माध्यमिक तहको अध्ययनसम्म घरको खेतीपाती थेगेका मरासिनी अहिले रेसुङ्गा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । विकट जिल्लाको गाउँदेखि मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका मरासिनीले आफ्नो सुरुवाती धरातललाई बिर्सेका छैनन् भन्ने कुरा उनको सादा जीवनले स्पष्ट पार्दछ । उनै प्रमुख प्रशासकीय अधिकृत मरासिनीसँग दैनिक लुम्बिनीका गुल्मी संवाददाता प्रेम सुनारले गरेको कुराकानी :

एउटा अनुभवी र कुशल अधिकृतका रूपमा तपाईंलाई नगरपालिकाले पायो, तपाईंले चाँही नगरपालिकालाई के दिएँ भन्ने लाग्छ ?
पहिलो कुरा त म दावाका साथ भन्न सक्छु मैले रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेदेखि अन्तर निकाय सम्बन्ध कायम गर्न सफल भएको छु । जस्तैः संघ, प्रदेश र स्थानीय तिनवटै सरकारबीच उन्नत विषयको सम्बन्ध कायम गर्न सफल छु । यस्तो सम्बन्ध राख्न कुनैपनि पालिकाले सकेका छैनन् भन्ने मेरो दाबा छ ।
जस्का कारण यस नगरपालिकामा संघ र प्रदेश सरकारबाट वर्षेनी करोडौं रकम भित्राउन सफल भएका छौं । अन्तर्राष्ट्रिय सम्बन्ध पनि कायम भएको छ । केही दिन अघि मात्र बेलायतको एक नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच भगिनि सम्बन्ध स्थापित भएको छ । रेसुङ्गा नगरपालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरी मजेङ खानेपानी योजना पार्नमा मेयर उपमेयरलगायतका जनप्रतिनिधिसहित मेरो पनि भूमिका रहेको छ । नेपालका ३३ वटा ठुला खानेपानी योजनामध्ये मजेङ खानेपानी योजना एक हो ।
त्यो योजना सम्पन्न नहुँदै पानीको समस्या भएका कयौं वडामा एक घर एक धारा पु¥याइसकेका छौं । जनप्रतिनिधिज्यूहरूसँगको सम्बन्ध नङ र मासुको जस्तै बनाउन सफल छौं । दोस्रो कुरा आन्तरिक प्रशासनमा सुधार ल्याएको छु । म आउने बेलासम्म कर्मचारी बीचको अन्तर सम्बन्ध राम्रो थिएन । विभाग र फाँटहरू अस्तव्यस्त थिए । तेस्रो कुरा सुशासन र पारदर्शितामा विशेष ध्यान दिइएको छ ।

थप के गर्छु भन्ने लक्ष्य लिनु भएको छ ?
लक्ष्यहरू धेरै हुन्छन्, पहिलो कसरी छिटोछरितो र पारदर्शी सेवा दिन सकिन्छ भन्ने नै हो । मैले जिम्मेवारी सम्हाल्ने बेलासम्म नगरपालिकाका चौध वटै वडा कार्यालयका भवनहरू बनाएर व्यवस्थित कार्यलयहरू स्थापना गर्ने लक्ष्य लिएको छु ।
सोही अनुरूप सातवटा वडा कार्यालयका भवन बनिसकेका छन् । दशवटा स्वास्थ्य चौकी भवन सम्पन्न भएका छन् । रेसुङ्गा नगरपालिका भित्रका सबै विद्यालयहरूमा भवनको अभाव पूर्णरूपमा पूर्ति गर्न पाएकोमा हर्ष लागेको छ । मेरो यस नगरपालिकामा दुई वर्षको अनुभवमा कर्मचारी र जनप्रतिनिधि बीचको दुरी शून्यमा झरेको छ ।

धार्मिक क्षेत्रको विकास के–कति भयो ?
रेसुङ्गा पर्यटन पूर्वाधार कार्यक्रम सम्पन्न भएको छ । रेसुङ्गाको महादेव पोखरीदेखि यज्ञशालासम्म पदयात्रा गर्ने रेलिङसहितको आकर्षक सिंढी चिन्ने काम दुई करोड लागतमा सम्पन्न भएको छ । त्यहाँ ७० लाखको मन्दिर निर्माण गरियो । उन्नायचौरमा एकीकृत विकासको डीपीआरअन्र्तगत ७५ लाख लागतको खेलमैदान सम्पन्न भएको छ । अर्जुन लेकको मठ मन्दिर, प्रवेशद्धार र पार्क सजाउने काम पनि भइरहेको छ । नगरभित्रका अन्य धार्मिक क्षेत्रको संरक्षण र पर्यटकीय गन्तव्य खोज्ने र विकास गर्ने कार्यमा पनि नगरपालिका लागेको छ ।

ठुला योजनाहरू के के हुन् ?
हालसम्म ३४ करोडको काम भई सकेको मजेङ खानेपानी योजना नगरपालिकाको ठुलो योजना हो । त्यस्तै एक वडा एक ठुला योजनाअन्तर्गत खुट्टेखोला तारनेटा खानेपानी योजनामा यस चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ ।
उपल्लो तम्घास माविको चार कोठे भवन निर्माणमा ६० लाख, वडा ४ अर्खलेको विन्दाबासिनी सडक पिचका लागि ५० लाख, कृषिज्ञान केन्द्रदेखि वन कार्यालय भगवती मन्दिरतर्फ टी आकारमा ५० लाख लागतमा सडक पिच हुँदैछ । नगरपालिकाको प्रशासनिक भवन दुई करोड २४ लाख र अर्को ६३ लाखको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको छ । महेन्द्र माध्यमिक विद्यालयमा एक करोड लागतमा भवन निर्माण गरियो । एक घर एक धारा कार्यक्रम र खरको छाना मुक्त कार्यक्रम पनि ठुला बजेट भित्रै पर्दछन् ।

गौरवका योजनाहरू के–के हुन् ?
नगरपालिकाका १४ वटै वडामा एक वडा एक गौरबको योजना पारेका छौं । वडा नम्बर १ मा मोटर बाटो ढलाई, वडा नं. २ मा नाली निर्माण, ३ मा मोटरबाटो निर्माण ४ मा मोटरबाटो ग्रावेलिङ, ५ मा वडा कार्यालय भवन , ६ मा खानेपानी ७ मा मोटरबाटो परेको छ । त्यस्तै वडा नम्बर ८ मा सिद्धबाबामा विद्यालय भवन, ९ मा नाली ग्रावेलिङ १० मा मोटरबाटो ग्रावेलिङ ११ मा सिंचाई , १२ मा मोटरबाटो, १३ मोटरबाटो र वडा नम्बर १४ मा खानेपानी योजना । जसमध्ये वडा नम्बर को खानेपानीका लागि एक करोड २० लाख, वडा नम्बर ७ को मोटर बाटोकालागि एक करोड ३० लाख छुट्टाइएको छ भने बाँकीका लागि ५० लाखदेखि ७० लाखसम्मका रहेका छन् ।

एक घर एक धारा कार्यक्रम कहाँसम्म पुग्यो ?
वडा नं. २, ४,५,६ देखि ११ सम्म प्रायः सबैमा एक घर एक धारा पुगेको छ र वडा १२, १३ र १४ मा यसै चालु आर्थिक वर्षमा सम्पन्न गरिने गरी खानेपानी योजनाहरू सञ्चालनमा छन् । हालसम्म ५५८ घरमा धारा पुगेको छ । त्यस्तै सुरक्षित आवास कार्यक्रमअन्तर्गत ८० घरधुरीलाई जस्तापाता वितरण गरी खरको छाना मुक्त घर बनेका छन् । यसै आर्थिक वर्षमा रेसुङ्गा नगरपालिका खरको छानामुक्त नगरपालिका घोषणा हुँदै छ । त्यसका लागि यस आर्थिक वर्षमा जस्तापाता खरिदका लागि ४० लाखको टेन्डर आव्हान गरिंदै छ । यसअघि पहिलो वर्ष ४५ लाख, दोस्रो वर्ष ५० लाख खर्च भइसकेको छ ।

नगरभित्रै चुहिने टहरामुनि बसेका जनताप्रति नजर छ्रैन नि ?
बुढीचौरको दलित बस्ती चुहिने छानामुनि र चिसो भूँइमा बसेको कुरा जुन तपाईले विगतमा उठाएको कुरा गर्नु भएको हो भने त्यस्ता बस्तीलाई खरको छानामुक्त कार्यक्रम सम्पन्न पछि सुरक्षित बस्ती निर्माणका लागि नगरपालिकाले त्यस्ता परिवारलाई पचास हजार रकम दिएर घर बनाइदिने योजना बनाएको छ ।

नगरपालिका भित्रका सम्भावना र चुनौति के हुन् ?
पर्यटन विकासलाई मुख्य सम्भावनाको रूपमा लिएका छौं । रेसुङ्गाको सिद्धबाबा मन्दिरलाई ट्रान्जिट पोइन्ट बनाउँदै रेसुङ्गा सर्किट निर्माण गरिंदै छ । सिद्धबाबा हुँदै पराल्मी जान्छौं । छल्दीमा ड्याम बनाउँछौ । इन्द्रेगौंडा हुँदै पनाघाट, स्याउवाको ऐतिहासिक जोगिथुम कोट, त्यहाँबाट सीमाघाट जहाँ ड्याम बनाएर पर्यटकहरू रमाउनेछन् ।
सीमाघाट हुँदै उन्नायचौरको ट्रि–हाउस, विशाल पार्कमा पर्यटकहरू रमाउनेछन् । उन्नायचौर अहिले पनि पर्यटकहरूको हब बन्न सुरु गरेको छ । त्यहाँ नजिकै गुफा पनि फेला परेको छ । त्यहाँबाट नेटा, सिमिचौरको विमानस्थल र त्यहाँका मठमन्दिरसहित वडा नं. १३ को भुवानेडाँडा, सानो रेसुङ्गा हुँदै पुनः रेसुङ्गाको सिद्धबाबा रेसुङ्गा सर्किट हुनेछ । त्यसको डीपीआर तयार पार्ने सोंचमा छौं । अर्कोकुरा तम्घास खाल्डो सदियौ देखिनै धार्मिक क्षेत्रका रूपमा चिनिदै आएको छ । जसलाई धार्मिक पर्यटक क्षेत्रका रूपमा विकास गरिनेछ ।
दोस्रो नगरपालिकाका १४ ओटै वडामा कृषि र पशुपालन पकेट क्षेत्र घोषणगरी कृषि पर्यटक बनाउन सकिन्छ । तेस्रो कुरा रेसुङ्गा नगरपालिकालाई शैक्षिक हबका रूपमा विकास गरिने छ । प्राविधिक शिक्षाकै माध्यमद्वारा यस नगरलाई शैक्षिक हब बनाउन सकिन्छ । मेडिकल कलेज खोल्ने सम्भावनाको खोजी गरिंदै छ ।
चौथो, साना औद्योगिक ग्राम स्थापना गरिने छ । त्यसकालागि ४२ रोपनी जग्गा खोज्दै छौं । नगरपालिकाको चुनौति यो हो कि आन्तरिक स्रोत कम छ । राजनैतिक सहमति फलामको चिउरा बनेको छ । प्राकृतिक दोहन न्यूनीकरण, जनचेतना छर्न् र रोक्न सकिएको छैन । रेसुङ्गा वन क्षेत्र भित्रभित्रै सकिसकेका छन् । गिट्टी बालुवालगायतको आम्दानीको स्रोत छैन ।
व्यवसायिक करबाट प्रति वर्ष ५० लाख, सिफारिस दस्तुरबाट २५ लाख अन्य विविध शुल्कबाट ४० देखि ५० लाख आम्दानीको स्रोत हो । गत आर्थिक वर्षमा एक करोड २० लाख आम्दानी भएको थियो । पहिलो वर्ष ४५ लाख आम्दानीबाट आम्दानीको दायरा बढाउँदै आगामी वर्षसम्म दुई करोडको हाराहारीमा आम्दानी बढाउने प्रयत्नमा छौं ।
रेसुङ्गा नगरपालिकाको विकास निर्माणमा जनताको शून्य सहभागिता अर्को एक चुनौति हो । १० प्रतिशत जनसहभागिता राज्यले अनिवार्य भनेको छ । जसलाई हामी विकास निर्माण लागत सहभागिता भन्ने गर्दछौं । जसमा शून्य सहभागिता रहेको छ ।

शैक्षिक सुधारतर्फ के–के गरियो ?
नगरपालिका भित्र एउटा क्याम्पस, १२ वटा मावि, तीन वटा निमावि १७ वटा प्रावि छन् । त्यस्तै संस्थागततर्फ सात वटा मावि र तीन वटा प्रावि छन् । यी सबै विद्यालयमा भौतिक पूर्वाधारहरू पर्याप्त मात्रमा बनेका छन् । अर्थात भवन बनाउन बाँकी एउटा पनि विद्यालय बाँकी छैन । यी सबै विद्यालयमा आइसीटी माध्यमबाट पठनपाठन गराउँदै आएका छांै ।

कृषि क्षेत्रको विकास कसरी भइरहेको छ ?
हामीले कृषि पकेट क्षेत्र घोषणा गरेपछि केही उपलब्धिहरू देखा परेका छन् । तम्घासको चारीखोलामा दुई करोड १३ लाख लागतमा कृषि हाटबजार केन्द्र सञ्चालनमा ल्याएपछि उपलब्धि देखा परेको हो ।
कोभिड–१९ को कारण अहिले बन्दगर्नु परेपनि सञ्चालनको ६ महिना अघिसम्म त्यस हाटबजारमा ९० प्रतिशत स्थानीय कृषि उत्पादनले धानेको थियो । तरकारी, कुखुरा, खसीबोका, दूधअण्डा पनि स्थानीय उत्पादनले नै थेगेको थियो । कृषकहरूलाई प्रोत्साहित गर्नेगरी अनुदानका कार्यक्रमहरू सञ्चाालनमा ल्याइएको छ । यिनै कार्यक्रमहरूलाई टिकाउन सके कृषि पशुपालनबाट नगरबासीको भविश्यको शुभ संकेत देख्दछु ।

कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्ध कस्तो छ नी ?
वास्तवमा जनप्रतिनिधि भनेको नङ र मासुको सम्बन्ध जस्तै हो । रेसुङ्गा नगरपालिकाको हकमा जनप्रतिनिधि र कर्मचारीको बीचमा सौहार्दपूर्ण सम्बन्ध रहेको छ । लामो समयसम्म सरकारी सेवाको अनुभवबाट मैले पाएको यो छु कि पहिला कर्मचारीको एकाधिकार रह्यो ।
त्यसपछि कर्मचारी र जनप्रतिनिधि बीच लक्ष्मण रेखा खडा भयो, जुन लक्ष्मण रेखा दुबै पक्षले तोड्न खोजेको पाइयो । अपितु रेसुङ्गा नगरपालिकामा त्यस्तो नहोला तर अधिकांस पालिकाहरूमा लक्ष्मणरेखा एक अर्कोले तोड्ने गरेको पाइन्छ ।
त्यसको नकरात्मक असर जनतामा पर्ने गरेको छ । एकथरी जनताको मनोभावनामा प्रशासन र राजनीति प्रति वितिष्णा पैदा हुने अर्कोतिर जनताको आशा र अपेक्षा बढी हुने त्यो पूरा गर्न साधन स्रोतको अभाव हुने हुँदा आ–आफ्नो लक्ष्मण रेखा भित्र रहेर जनताको सेवामा जुट्नुनै कर्तव्यबोध ठानिनु पर्दछ ।
नगरपालिकाको गत वर्ष ४९ करोड बजेट थियो । यस आर्थिक वर्षमा ५६ करोड पु¥याइएको छ । यस बजेटबाट पनि जनताका पुरै अपेक्षा पूरा गर्न नसकेपनि धेरै अभाव र समस्याहरू समधान गरिंदै आएको छ । प्रत्यक्ष देखिने गरी विकास भएको छ । जुन जनताको नजरमा छर्लगंै छ ।
भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत, रेसुंगा नगरपालिका, गुल्मी