जोखिममा छन् बुटवलका बस्ती
जीवराज चालिसे
बुटवल
मिलनचोकमा न्यू दुर्गा डिजल्स प्रालि र भैरव डिजल्स करिब तीन सय मिटरको दुरीमा सञ्चालित छन् । नेपाल आयल निगमले दुई पेट्रोलपम्प बीचको न्यूनतम दूरी पूर्वपश्चिम राजमार्गको हकमा कम्तिमा पाँच सय मिटर हुनुपर्ने मापदण्ड तोकेको छ ।
न्यू दुर्गा डिजल्सको करिब दुई सय मिटर उत्तरमा नै भारी आयल स्टोर्स सञ्चालनमा छ । यो पेट्रोलपम्पको दुईवटा डिस्पेन्सर राखिएको छ । घरको देब्रे कुनामा राखिएको डिजेल डिस्पेन्सर बिना कुनै ओत खुलै राखिएको छ । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थलमा रहेका यी तीन पेट्रोल पम्प सिधै सडकमा नै जोडिएका छन् । उपभोक्ताका लागि तेल भर्न बिक्रेता ‘नोजल’ समाएर सडकमै आइपुग्छन् । मापदण्डमा सडकभन्दा २५ मिटर परको दूरीमा मात्रै पम्प सञ्चालन गर्न पाइने उल्लेख छ ।
मापदण्डअनुसार पम्प अगाडिको भू–भाग कालोपत्रे गरिएको छैन । यी दुवै पेट्रोलपम्प आवासीय घरहरूसँग जोडिएका छन् । सुरक्षाका लागि निगमले तोकेको ‘कम्पाउन्ड’ बिना नै सडक छेउमा सञ्चालित यी पम्प वरिपरि इलेक्ट्रोनिक पसल, एउटा मोटरसाइकल ‘वर्कसप’ लगायत आवासीय घरहरू छन् ।
मिलनचोकको भारी आयल सप्लायर्ससँगै जोडिएर रेश्मा टेण्ट हाउस सञ्चालनमा छ । टेण्ट आफैँमा प्रज्वलनशील कपडा भएकाले जुनसुकै बेलामा पनि आगलागीको सम्भावना रहन्छ । नेपाल आयल निगमको आधिकारिक बिक्रेताको बोर्ड झुन्ड्याएर सडकमा नजिकै अति प्रज्वलनशील पदार्थ बिक्री गरिरहेको यस पम्पमा सुरक्षाको प्रबन्ध छैन । यी पम्पहरूमा पेट्रोलियम पदार्थ बिक्री गर्दा आइलाग्नसक्ने जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वाधार छैनन् ।
मापदण्ड बिनै सञ्चालनमा रहेका रूपन्देहीका पेट्रोलपम्पले अत्यधिक जोखिम बढाएका छन् । बुटवल बजार क्षेत्रलगायत देवदह, सैनामैना तथा तिलोत्तमा नगरपालिकामा सञ्चालन भइरहेका अधिकांश पेट्रोलपम्पहरूले आयल निगमका मापदण्डलाई बेवास्ता गरेका छन् । सार्वजनिक सुरक्षालाई जोखिममा राखेर सञ्चालन भइरहेका पेट्रोलपम्पले आयल निगमको मापदण्ड पालना नगरेपछि लामो समयदेखि सार्वजनिक आलोजना खेप्दै आएका छन् ।
राजमार्ग चौराहादेखि केही पश्चिममा रहेको मिलन ब्रदर्श सप्लायर्सको हालत झनै नाजुक छ । पम्पमा रहेका पेट्रोल र डिजलका लागि बनाइएका दुई ‘फ्युल डिस्पेन्सर’ सडकपेटीमै जोडिएका छन् । पम्पको दाहिने दिशामा खुला क्षेत्रमा एउटा डिजेलको फ्युल डिस्पेन्सर यत्तिकै छाडिएको छ । पेट्रोललको फ्युल डिस्पेन्सर माथितिर विद्युत्का तारहरू झुण्डिरहेका छन् ।
जुनसुकै बेला पनि विद्युत् सर्ट भएमा सीधैं आगलागीको जोखिम स्पष्ट देख्न सकिन्छ । कुल ५५ हजार लिटर क्षमता भएको यो पेट्रोलपम्पसँगै जोडिएर आवासीय घरहरू रहेका छन् । व्यस्त सडकमा सवारी साधन सडकमै रोकिएर पेट्रोल भर्छन् अनि गन्तव्यतिर लाग्छन् ।
मापदण्डविपरीत सञ्चालनमा रहेका यस्ता पेट्रोलपम्पहरूबाट एकातर्फ उपभोक्ताले सास्ती बेहोर्नुपरेको छ भने अर्कातर्फ सिंगो बुटवल क्षेत्र नै ठूलो विपद्को जोखिममा परेको छ ।
पूर्वपश्चिम राजमार्गमा रहेका रानीबगियाको एसके डिजल्स, ढबाहाको लम्साल आयल सप्लायर्स, बेलबासको डिजेल सप्लायर्स, जितगढीको एमएस ट्रेडिङ, जितगढी को गैरे डिजल्सलगायत बुटवलका पेट्रोलपम्पहरू मापदण्डविपरीत सञ्चालनमा छन् । धेरैजसो मापदण्डविपरीत बुटवलको मुख्य बजार क्षेत्रमा रहेका यी पेट्रोलपम्पहरूले रूपन्देही जिल्लाका अधिकांश पेट्रोलपम्पहरूको कथा बोलिरहेका छन् ।
पेट्रोलपम्पको धराप बुटवल मिलनचोकमा बिना कम्पाउण्ड नै सञ्चालनमा रहेको भैरव सप्लायर्स पेट्रोलपम्पको नजिकै मोटरसाइकल मर्मत गर्ने वर्कसप छ । वर्कसपमा दैनिक वेल्डिङलगायत काम भइरहने भएकाले उक्त पम्पमा आगलागीको जोखिम उच्च छ । सप्लायर्सको अर्कोतर्फ आवासीय घरहरू छन् ।
मापदण्डअनुसार महानगर वा उपमहानगर क्षेत्रभित्र पेट्रोलियम पदार्थको साधारण बिक्रेताका लागि जग्गाको लम्बाइ कम्तीमा २० मिटर, चौडाइ १२ मिटर र कुल क्षेत्रफल कम्तीमा डेढ रोपनी वा दुई कट्ठा हुनुपर्छ ।
अनुमति प्राप्त काजगातसहित चार फायर एस्टिङयुसर, बालुवा भरिएको १० लिटर क्षमताका चार बाल्टिन, एउटा÷एउटा सावेल र गैँती हुनुपर्छ । हजार लिटर पानी भरिएको ट्यांकी, ३ फिट वा बढीमा ५ फिटसम्म उचाइ भएको ‘कम्पाउन्ड’ पर्खाललगायत पूर्वाधार हुनुपर्ने प्रावधान छ ।
बुटवलमा रहेका पेट्रोल पम्पहरूले फायर सुरक्षाका लागि महत्वपूर्ण मानिएका यिनै मापदण्ड उल्लंघन गरेर सञ्चालनमा आएका हुन् । आठ लाख ७५ हजार जनसंख्या रहेको रूपन्देही जिल्लामा एक सय ८१ वटा पेट्रोलपम्प सञ्चालनमा छन् । तीमध्ये देवदह, बुटवल, तिलोत्तमा, सैनामैनालगायत मुख्य बजार क्षेत्रमा मात्रै ७५ वटाभन्दा धेरै पेट्रोल पम्पले कारोबार गरिरहेका छन् ।
निगमको भलवारी डिपोअन्तर्गत बाग्लुङ र स्याङ्जालगायत साबिकको लुम्बिनी अञ्चलका ६ वटै जिल्लाहरूमा गरी तीन सय ४१ वटा पेट्रोलपम्पहरूले कारोबार गरिरहेका छन् ।
बुटवलमा रहेका पम्पहरूको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जोसुकै व्यक्ति सलाई, लाइटरजस्ता आगजनीजन्य वस्तु लिएर र धूम्रपान गरेर संवेदनशील क्षेत्रमा जानसक्ने वातावरण हुनुले पेट्रोल पम्पहरू जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेका छन् ।
पाँच लाख जनसंख्या बसोबास गर्ने बुटवलमा अधिकांश पेट्रोल पम्प सडकमै आइपुगेका, घरसँग जोडिएका र सघन बस्तीभित्र छन् । केही स्कुलको नजिक छन् । यस्ता पम्पछेउ भएर तानिएका विद्युत्को तार सर्ट हुने जोखिम पनि छ । सम्भावित जोखिम नियन्त्रण गर्न चाहिने पर्याप्त पूर्वाधार यी पम्पसँग छैन ।
अधिकांश पम्पहरूले अग्नि नियन्त्रक यन्त्र राखेका छैनन् । केहीले बाल्टिनमा पानी र बालुवा तथा गिट्टी राखेको भए पनि अति प्रज्वलनशील पदार्थ रहने यस्ता पेट्रोलपम्पहरूका विपत्ति नियन्त्रण गर्न यी साधनहरू पर्याप्त छैनन् । यसले स्थानीयलाई त्रसिद पारेको छ ।
पेट्रोलपम्प आफ्नै घरको छेउमा हुँदा आफूलाई सधैं त्रास महसुस भएको मिलनचोकका स्थानीय रमेश अधिकारी बताउँछन् । ‘जुनसुकै बेलामा पनि आगलागीको जोखिम छ । अझै यी पेट्रोलपम्पहरू सुरक्षाका हेतुले मापदण्डविपरीत छन्भन्दा आङ नै सिरिंग हुन्छ ।’–अधिकारी भन्छन् ।
यता पेट्रोल, डिजेल, मट्टीतेलजस्ता अति प्रज्वलनशील पदार्थको कारोबारस्थल असुरक्षित र मापदण्डविपरीत भएको पटकपटक उजुरी गर्दासमेत नियमनकारी निकाय उदासीन देखिएका छन् । बजारमा रहेका पेट्रोलपम्पहरूको अनुगमन गर्ने जिम्मा नेपाल आयल निगमको हो । बुटवललगायत यस क्षेत्रका ८ वटा जिल्ला हेर्ने नेपाल आयल निगमको भलवारी डिपोका प्रमुख सुरज शाहले ‘फायर सुरक्षा’का हिसाबमा रूपन्देहीका पेट्रोलपम्पहरू मापदण्डविपरीत रहेको स्वीकार्छन् ।
डिपो प्रमुख शाहले धेरै पेट्रोलपम्पहरू नियमावली जारी गर्नुपूर्व नै सञ्चालनमा आइसकेका हुनाले उनीहरूलाई मापदण्डभित्र ल्याउन गाह्रो परिरहेको बताउँछन् ।
‘केही पेट्रोलपम्पहरू निकै पुराना पनि छन् । स्थापना भइसकेपछि मापदण्ड आएकाले केही पेट्रोलपम्पहरूसँग न्यूनतम पूर्वाधारहरू पनि छैनन् । यस्ता पेट्रोलपम्पहरूलाई बन्द गरिहाल्ने अवस्थामा पनि छैनौं ।’– उनी भन्छन् ।
जिल्ला प्रशासन कार्यालय, रूपन्देहीमा मापदण्डहीन पेट्रोल पम्पले असुरक्षा बढाएको भन्दै उपभोक्ताले हालेको एक दर्जनभन्दा धेरै उजुरीहरू छन् । यी उजुरीका आधारमा जिल्ला प्रशासन बजार अनुगमनमा गएको छैन् ।
बरू दुई महिनाअगाडि जिल्ला प्रशासनले पेट्रोल पम्प व्यवसायीलाई नै आफैँ अनुगमन गर्ने जिम्मा दिएको थियो ।
व्यवसायी आफैँ गएर अनुगमन गर्दासमेत २५ प्रतिशत पेट्रोलपम्पहरू मापदण्ड विपरित भएको पाएको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपाने बताउँछन् । पेट्रोल पम्पहरूको नियमन गर्ने मुख्य जिम्मेवारी नेपाल आयल निगमको भए पनि पेट्रोल पम्पहरूले सुरक्षा जोखिम बढाए भने जिल्ला प्रशासन कार्यालयले समेत अनुगमन गर्न सक्छ । यद्यपी, अनुगमनका सम्बन्धमा प्रशासन कार्यालय उदासिन देखिएको छ ।
नेपाल आयल निगमले २०७५ सालमा नयाँ नेपाल आयल निगमको नयाँ मापदण्ड निकै महत्वकांक्षी भएकाले आफूहरू मापदण्डमा जान नसक्ने पश्चिमाञ्चल पेट्रोललियम डिलर्स एसोसियसनका अध्यक्ष प्रेम न्यौपाने बताउँछन् ।
२०७५मा निगमले केही हेरफेरसहित तोकेको नयाँ मापदण्डमा व्यवसायीहरूलाई निरूत्साहित बनाउने खालको भएको उनी टिप्पणी गर्छन् । ‘पेट्रोल पम्पहरू खोल्ने समयमा नै मापदण्ड मिचेर खोलिएका होइनन् ।
पछि नयाँ मापदण्ड आयो, बाटो विस्तार पनि भयो । यी दुवै कारणले मापदण्ड आफैँ मिचिन पुगेका हुन् । यद्यपि, हामीहरू सबै सुरक्षाका सबै सक्दो उपाय अवलम्बन गर्दै नयाँ मापदण्डमा विस्तारै जाँदैं छौं ।’– उनले भने ।

यस्तो छ मापदण्ड
पेट्रोल पम्प सञ्चालनसम्बन्धी पुरानो मापदण्ड र निर्देशिकामा एक पम्पदेखि अर्को पम्पको दूरी न्यूनतम ५०० मिटर हुनुपर्ने उल्लेख छ । निर्देशिकामा १० किलोका तीनवटा अग्नि नियन्त्रक ग्यास सिलिण्डर, न्यूनतम एक हजार लिटर पानी, बालुवा, साबेल, पिग, बाल्टिनलगायत सामग्री हरदम तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ ।
सडकभन्दा २५ मिटर परको दूरीमा मात्रै पम्प सञ्चालन गर्न पाइने मापदण्डमा उल्लेख छ साथै पम्प अगाडि रहेको जमिन कालोपत्रे हुनुपर्ने मापदण्डमा छ । पम्पमा आउने सेवाग्राहीलाई अनुकूल हुनेगरी शौचालयको व्यवस्था गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
त्यस्तै, २०७५मा आयल निगमले नयाँ पेट्रोलपम्पहरूका लागि जारी गरेको मापदण्डअनुसार साधारण बिक्रेता र पेट्रोल बिक्रेताबीचको बिक्री स्थलको दूरी कम्तीमा तीन सय मिटरको दूरीमा हुनुपर्नेछ । तर, पूर्वपश्चिम राजमार्गको हकमा भने उक्त दूरी पाँच सय मिटरबाहिर हुनुपर्नेछ ।