अर्जुन ज्ञवाली


२०७७ साल बैशाख २० गते तदनुसार अक्टुबर ६ तारिख २०२० का दिन साविकको ५ नं. प्रदेशका लागि विशेष दिन बन्न गएको छ । यसै दिन ५ नं. प्रदेश लुम्बिनी प्रदेश भएको छ । यसै दिन यस प्रदेशको राजधानी राप्ती उपत्यकाको देउखुरी हुन गएको छ । ढाई वर्षदेखि थाती रहेको प्रदेशको नामकरण र स्थानकरणको काम विधिवत् सम्पन्न हुनाका कारणले यो दिन यस प्रदेशका लागि ऐतिहासिक दिन हुन गयो । यो काम प्रदेशसभाको हो । प्रदेशसभाले दुई तिहाई मतबाट विधिवत् रुपमा यो काम सम्पन्न गरेको छ ।
प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी हुने भएपछि बुटवलमा तरंग पैैदा भयो । यसको संकेत प्राप्त भएपछि बुटवलमा असन्तोष प्रकट भएको हो । संसद् भवन घेरियो । जुलुस भए । टायर बाल्ने काम पनि भयो । आक्रोश व्यक्त गर्ने काम सत्ता पक्षबाट पनि भयो । विपक्षबाट पनि भयो । सदनमा कुर्सी भाँच्ने र सभामुखलाई अपमान गर्ने काम पनि भयो ।
बुटवल प्रदेशको अस्थायी राजधानी भएको हुँदा यहाँको मानसिकता यहीं स्थायी राजधानी हुन्छ भन्ने बनेको थियो । त्यही अनुसार केही पूर्वाधारका काम पनि भए । जनघनत्व, सडक सञ्जाल, उद्योग व्यापार, अन्तर्राष्ट्रिय विमानस्थल, प्रचुर मात्रामा शैक्षिक प्रतिष्ठानहरु र पर्यटकीय गन्तव्यहरुको साथ–साथ गौरवशाली इतिहास र संस्कृतिको धनी यो ठाउँ अवश्य पनि प्रदेशको राजधानी हुनका लागि सामथ्र्य राख्ने ठाउँ हो । इतिहासका कुरा गर्दा अंग्रेजसित लडेर जीत हासिल गरेको युद्ध सभ्यता छ बुटवलसित । त्यस्तै, बौद्ध सभ्यताको प्रचुर वैभव छ बुटवलसित । त्यस्तै सैनामैनासित छ । देवदहसित छ । बुटवल रहेको रुपन्देही जिल्लाको ढुंगा, माटो र पानीसित कुटकुट भरिएको छ बुद्धसभ्यता । तिनाउ नदीको नदी सभ्यता पनि छ बुटवलसित । प्रचुर मात्रामा राजधानी हुनका लागि चाहिने सामथ्र्य हुँदाहुँदै पनि प्रदेशको राजधानी बुटवल हुन नसक्दा बुटवलबासीका साथै सम्पूर्ण रुपन्देहीलाई दुःख लाग्नु स्वाभाविक हो ।


बुटवललाई प्रदेशको राजधानी बनाउँछौ भनेर नेताहरुले प्रतिनिधि सभा र प्रदेशसभाका लागि भोट मागेका छन् । यहाँका जनताले संमृद्ध प्रदेश सुखी प्रदेशवासी, संमृद्ध नेपाल सुखी नेपाली हुन भनेर र बुटवल प्रदेशको राजधानी हुन्छ भनेर नेताहरुलाई भोट दिएका हुन् । विष्णु पौडेल, लीला गिरी, भोजप्रसाद, भूमिश्वरहरुलाई भोट दिएका छन् । तर, त्यो बाचा पूरा भएन । सबै बाचा पूरा नहुन सक्छन् तर किन पूूरा हुन सकेन, चित्त बुझ्दो जवाफ नेताहरुले जनतालाई दिनुपर्छ ।
प्रदेशको राजनीतिक गणितमा ५ नं. प्रदेशको नाम र राजधानी तोक्ने जिम्मा नेकपाकै पोल्टामा थियो । यसमा इतरपक्षको सामथ्र्य पनि थिएन र दाबी पनि थिएन । उनलाई थाहा थियो– यो निर्णय नेकपाकै पोल्टामा छ । एकछिन आवेशमा प्रक्रियाका कुरालाई लिएर नेकपाका प्रतिनिधिहरुले पनि असन्तोष प्रकट गरे । असन्तोष राजधानीको निर्णय बुटवल बाहिर जाने भयो भनेर मात्र प्रकट भएको थियो ।
नेकपामा दुई अध्यक्षको सहमतिमा पार्टी चल्ने पद्धति बनेको छ । पार्टी एकताको संक्रमणकालीन अवस्थामा सन्तुलनको लागि यस्तो विधि निर्धारण गरिएको थियो । पार्टी सञ्चालनको क्रममा कतिपय पेचिला सवालमा फरक खालका निर्णयहरु आउँथे । तिनको विश्लेषण गर्दा सन्तुलनका लागि यस्ता निर्णय भएका रहेछन् भन्ने बुझ्न पथ्र्याे । ५ नं. प्रदेशको सवालमा त्यस्तै भयो । अध्यक्षद्वयको सहमतिमा ५ नं. प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी भन्ने भयो । मलतब, लुम्बिनी र राप्तीको सन्तुलन । त्यसपछि तदनुसार प्रक्रिया अघि बढ्न थाल्यो । त्यसबीचमा नेकपाकै कतिपय नेताहरुका फरक–फरक भर्सन आए । कताकता स्थिति तरल हुने त हैन जस्तो भयो । अध्यक्षद्वयको सहमतिपछि बुटवल क्षेत्रबाट प्रतिनिधिसभामा सदस्य तथा महासचिव विष्णु पौडेललाई ठूलो धर्म संकट प¥यो । उनले यो निर्णय सच्याउनु पर्छ भनेर अध्यक्षद्वयलाई अनुरोध पनि गरे । त्यस्तै प्रदेशसभाका लीला गिरी, बैजनाथ, भोजप्रसाद, भूमिश्वर ढकाल, दधिराम न्यौपानेहरुलाई पनि धर्म संकट नपरेको होइन । धेरै जसो जिम्मेवार व्यक्तिहरुलाई धर्मसंकट प¥यो । एउटा झड्का लाग्यो भन्दा पनि हुन्छ । अवस्था तरल हुन थाल्यो । अवस्था तरल हुन थालेपछि पार्टीले ह्विप जारी गर्नु प¥यो । ग¥यो पनि । जब पार्टीले आफ्ना सदस्यहरुलाई ह्विप जारी ग¥यो तरलता सुस्तरी समलिन थाल्यो । अन्ततः त्यसले ठोस रुप लियो । कांग्रेसले पनि ह्विप जारी गरेको थियो ।
कार्यक्रम तालिका अनुसार प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत भयो । छलफल भयो । छलफलपछि निर्णयार्थ पेश भयो । निर्णयार्थ पेश हुँदा प्रस्ताव दुई तिहाई मतले पारित भयो ।
प्रस्ताव पारित गर्दा नेपाली कांग्रेसमा ह्विप उल्लंघन भयो । राप्ती पारिका कांग्रेसहरुले देउखुरीको पक्षमा मत दिए । राप्ती वारिका कांग्रेसहरुले बुटवल पक्षको संशोधन प्रस्तावमा मत दिए । नेकपाका सम्पूर्ण सदस्यले आफ्नो अदम्य इच्छालाई थाती राखी पार्टी ह्विपको सम्मान गर्दै देउखुरी लाई सघाए । यसलाई भन्नुपर्छ– संयम देखाए । यसलाई बुझ्नु पर्छ– पार्टी एकता प्रदर्शन गरे । यो संघीयताको मर्म पनि हो । राष्ट्रिय पार्टीको पहिचान पनि हो ।
नेपाली कांग्रेस जस्तो राष्ट्रिय पार्टीमा सदस्यहरुबाट जसरी ह्विपउल्लंघन भयो– यो पार्टी विधिको हिसाबमा अवाञ्छनीय हो । यो विषय कांग्रेसका लागि विशेष मूल्यांकनको विषय हो ।
जहाँसम्म देउखुरीको कुरा छ, प्रदेशको भौगोलिक हिसाबले मध्यभाग र आवश्यक जग्गा जमीन उपलब्धताको हिसाबले राजधानीको लागि उपयुक्त ठाउँ हो । पूर्वी रुकुम, सुदूर पश्चिमका बाँके–बर्दियाका लागि पनि उपयुक्त छ यो ठाउँ । सुदूर पश्चिम बाँके, बर्दियाको भूगोल पनि यसै प्रदेशको हो र त्यहाँका बासिन्दा पनि यसै प्रदेशका हुन् भन्ने अर्थमा देउखुरीलाई राजधानी बनाउने निर्णय सर्वथा न्यायपूर्ण हुन आएको छ । पूर्व दाउन्नेदेखि पश्चिम चिसापानीसम्म, उत्तर सिस्ने हिमालदेखि दक्षिण मर्चवारीसम्मका सम्पूर्ण क्षेत्रको केन्द्र भागमा पर्छ देउखुरी अर्थात राप्ती उपत्यका ।
देउखुरीसित राप्ती नदीको संमृद्ध सभ्यता छ । त्यसको आलोकमा सभ्य छन् त्यहाँका बासिन्दा । तिनमा अदम्य साहस छ । त्यसै साहसको जोडबलमा सम्पूर्ण प्रदेशबासीको सहयोगले छिटोभन्दा छिटो राजधानीलाई चाहिने भौतिक निर्माण पूरा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । राप्ती उपत्यका कृषिको लागि उर्वरक छँदैछ, संस्कृतिको उर्वरक हुँदै हो, अब उद्योगको लागि पनि उर्वरक हुन सक्छ । यो कुरा त्यहाँको धरातलीय विशेषता हो ।
देउखुरीका बारेमा यी पंक्तिहरु लेखिरहँदा बुटवलभन्दा देउखुरी उपयुक्त छ भन्न खोजिएको होइन । तर, बुटवल अब पनि आफ्नो मौजुदा सामथ्र्यबाट विकासलाई, अग्रगमनलाई चुमिरहन्छ, देउखुरी अब यस प्राप्त अवसरबाट विकासलाई, अग्रगमनलाई चुम्न थाल्छ भन्न चाहिं अवश्य खोजिएको हो ।
प्रदेश राजधानीको यस सवालमा बुटवलमा विष्णु पौडेललाई तारो बनाइएको छ । जस जति आफूले लिने अपजस अर्काको टाउकोमा हाल्न सिपालुहरुले धमिलो पानीमा मजाले माछा मारिरहेका छन् । यसको मक्सद यिनको कद छोट्याउने रहेको छ । विष्णु पौडेल बुटवल क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन् । यस अघि पनि सदस्य हुन् । अर्थमन्त्री पनि भएका हुन् । अहिले एकीकृत नेकपाको महासचिव छन् । यिनको पहलमा यस क्षेत्रमा थुप्रै विकासका काम भएका छन् । यसै अर्थमा यहाँ यिनलाई ‘विकासे नेता’ भनिन्छ । समयको कुरा हो– स्थिति परिस्थिति फेरियो । मौसम बदलियो । रुखमा नयाँ पात आए । पहिल्यै भने जस्तो भएन ।बुटवलमा राजधानी राख्न यिनले कम प्रयास गरेका होइनन् । आफ्नो सम्पूर्ण शक्तिको प्रयोग यिनले यसमा गरेका हुन् । बुटवलमा राजधानी राख्ने सवालमा यिनी सम्पूर्ण रुपमा इमान्दार हुन् । यसमा यिनले यतिकन पनि बेइमानी गरेनन् । कुनै प्रकारको राजनीतिक बेइमानी गरेनन् । विष्णु पौडेलले यस क्षेत्रका लागि धेरै काम गरे । यो एउटा काम गर्न सकेनन् । गर्दागदै काम सम्पन्न गर्न नसक्नुलाई अपराध भन्न सकिन्न । यिनको कद घटाएर आफ्नो कद बढाउन चाहनेहरुले यिनको कद घटाएर आफ्नो कद बढाउन खोज्नुभन्दा आफ्नो कद बढाएर यिनको कद घटाउनु वेश होला । किन भने, यिनको कद धेरै दरो बनिसकेको छ । यिनको व्यक्तित्व धेरै माथि उठिसकेको छ । राष्ट्रिय व्यक्तित्व बनिसकेको छ । राष्ट्रिय व्यक्तित्वलाई जोगाउने हो, नष्ट गर्ने होइन ।
वास्तवमा विष्णु पौडेल विकासे नेता हुन् । यस क्षेत्र मात्रैको कुरा गर्दा पनि भैरहवाको अन्तर्राष्ट्रिय एयरपोर्ट, छ लेनको बुटवल भैरहवा सडक, बुटवलको अन्तर्राष्ट्रिय सभागृह, तिनाउ दानव करिडोर, बेथरी बेलवास सडक, नारायणघाट बुटवल सडक खण्डको विस्तार जस्ता विकासे योजना यिनका नामसित गाँसिएर आउँछन् । त्यस्तै तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेज, सिद्धबाबा सुरुङमार्ग, रुपन्देही–नवलपरासी–कपिलवस्तु जिल्लाको कायापलट गर्ने गण्डकी डाइभर्सन जस्ता थुप्रै योजना यिनकै नामसित गाँसिएर आउँछन् । यी यस्ता कतिपय विकास–स्तंभ छन् जसका कारण यिनलाई ढाल्न सजिलो छैन ।
विष्णु पौडेल विकासे चिन्तकका साथसाथ अलि फरक खालका राजनीतिक चिन्तक पनि हुन् । एमाले र माओवादीलाई एकीकृत गर्नमा, ओली र प्रचण्डलाई एकै ठाउँमा ल्याएर बलियो कम्युनिष्ट पार्टी बनाउनमा उनको सार्थक भूमिका छ । हरदम समन्वयकारी भूमिकामा देखिन्छन् उनी । उनी औसत मान्छे भन्दा फरक मान्छे हुन् भन्दा फरक पर्र्दैन ।
एक जना पंक्तिकारले विष्णु पौडेललाई राजनीतिकझड्का भनेर लेखे । म चाहिं यसलाई हल्का झड्का भनेर लेख्छु । विष्णु पौडेललाई झड्का लागेको छ । झड्का हल्का छ । हल्का झड्का लायो भन्दैमा विष्णु पौडेल जिम्मेवारीबाट भाग्न पाउँदैनन् । यस क्षेत्रको चौतर्फी विकासको जिम्मेवारी समाल्ने अर्काे विकासे नेता अझै देखिएको छैन । सानो झड्का लाग्यो भन्दैमा जिम्मेवार नेताले जिम्मेवारीबाट भाग्न कदापि शोभनीय हुँदैन । यस क्षेत्रका जिम्मेवार जनताले विष्णु पौडेललाई भाग्न पनि दिंदैनन् ।