कविराज पौडेल

नौला मार्ग प्रशस्त पूर्वजहरूआई मलाई दिऊन् ।
यौटा सिद्धि दिएर काव्य रसको सौन्दर्य मेरो पिऊन् ।
नौलो बिम्ब सजाउने हृदयको पाऊँ छहारी यहीँ ।
दुःखीको पसिना टिपेर कविता गाऊँ चहारी यहीँ ।

पाऊँ मानिसको उदात्त मनको सद्भावको आसन ।
आफै शव्द बनेर व्यक्तिन सकूँ सत्कर्मको जीवन ।
अर्पूँ भाव अभावमा बरु कुनै पाऊँ म सम्भावना ।
आफैमा विजयी हुने कलमको पाऊँ म आराधना ।

व्यर्थै शब्द उनेर मात्र गणकोआकार के नै दिऊँ ।
केही छैन रसानुभूति रसको आधार के नै दिऊँ ?
लेख्ने ञस्वान्त सुखायझ हो यदि भने लेख्दै नलेखूँ बरु,
देऊ सिद्धि स्वयं बनूँ म कविता चाहिन्न केही अरू ।

के सोचूँ म शिरीष फूल भुइँमा सर्माउँदै झर्नुमा ।
मेरो मुक्ति छ न्याय प्रेम समतासंसारमा छर्नुमा,
मेरा पाउ बढून् सदा सृजनको उक्ली नयाँ टाकुरा ।
हाम्रो जीवन फूलको श्रम–सुधा हुन् पौरखी पाखुरा ।

मेरो मौलिक सिर्जना अमृत होस् पूर्णेन्दुमा बास होस् ।
थाल्दा लेख्न कवित्व झङ्कृत भई श्रीविन्दुमा सास होस् ।
यस्तो लेख्न सकूँ कि लेखिरहँदा लेख्नै छ बाँकीसरि ।
यस्तो विम्ब मिलोस् कि हेरिरहँदा हेर्नै छ बाँकीसरि ।

यो पृथ्वी निरपेक्ष छैन जति छन् सापेक्षका सत्य छन् ।
छन् जे जे विपरीत तत्त्व तिनको संघर्षमा सत्य छन् ।
हेरेमा गतिशीलता प्रकृतिको माधुर्य माधुर्य छ ।
माने सुन्दर स्रोतचाहिँ श्रम हो सौन्दर्य सौन्दर्य छ ।