लोचना अधिकारी

सुनौलो बिहानी हेर्न
लालायित नजरहरू
तप्पतप्प मोतिका थोपामा
रगत र आँसु टप्किएको देखेपछि
अनयास बन्द हुन्छन्
निकै साँघुरिन्छ मष्तिष्क
खुम्चिन थाल्छ सिर्जनशीलता
कञ्चन रारालाई
घुर्मैलो देखेपछि
सहजै अनुमान गर्न सक्छु म
तिमी पनि निकै दुखेकी छौ
सुन्दर तलाउका सफेद कमलहरू
नफक्रदै क्रुर पञ्जाले निमोठिएर
फ्यात्त फालिन्छन् र अस्तित्व बिहीन हुन्छन् ।

लालीगुराँस !
तिम्रो यौवन पनि नफक्रिदै लुटियो
हेर्नै मन छैन
सुनाखरीका पहाडहरू
उजाड लाग्छन् सुन्दर बस्तीहरू
जहाँ भित्ताले पनि चिच्याहट गर्छ
बलेनीले रगत र आँसु झार्छ
हरेक दिन बिहान ब्यँुझिदा
प्राणको भिख माग्दै
तिमी छट्पटिएको सुनेपछि
समाल्नै नसक्ने गरी
छताछुल्ल पोखिन्छु
सिङ्गो धर्ति डगमगाउने गरी ।

तिम्रो सुकुमोल
शरीर छियाछिया भएर ढल्दा
अजङ्गको पहाडसंग ठोकिन्छु म
तिम्रो अस्तित्व जोगाउन नसक्नुको छटपटीमा
भित्र भित्रै मक्किन्छु म
अनगिन्ती पीडाले आहात हुँदा
न सपनालाई साँच्न सक्छु
न त शान्तिले बाँच्न सक्छु
जिउँदो लास जस्तै शुन्यतामा हराउँदै
ठिङ्ग उभिएको वर्तमानमा
चुपचाप र मौन छु म ।