भीष्म साहनी
अनुवादः जंग बहादुर शाह

आमालाई देख्ने बित्तिकै देसी अफिसरका कतिपय मिमसाबहरु हाँसिदिए । त्यसै बखत चीफले सुस्तरी भने— “पूअर डियर ।”

(भीष्म साहनी भारतका चर्चित साहित्यकार हुन् । सन् १९१५मा रावलपिण्डीमा जन्मिएका साहनीको निधन २००३मा दिल्लीमा भएको थियो । उनी सिद्धहस्त नाटककारका साथै कथा र उपन्यासका सर्जक हुन् । उनको ‘तमस’ उपन्यास हिन्दु–मुुसलमान साम्प्रदायिक दंगाको क्रुर यथार्थ चित्रण मानिन्छ । साहनीको यो कथाको अनुवाद पाहुरका पाठकको लागि यहाँ पस्किएको छ । कथाको अनुवाद गरी साहनीको कथालाई नेपाली साहित्यभण्डारमा जोड्नुहुने आदरणीय जंग बहादुर शाहलाई धेरै धेरै धन्यवाद)

आज मिस्टर शामनाथको घरमा चीफलाई आमन्त्रित गरिएको छ भोजका लागि । शामनाथ र तिनकी धर्मपत्नीलाई पसीना पुछ्ने फुर्सत छैन । पत्नी ड्रेसिङ गाउन लगाएकी, अल्झिएका केशलाई समेटेर जुरो बनाएकी, अनुहारमा फैलिएको लाली ( Rouge) र पाउडरलाई बिर्सिएकी, अनि मिस्टर शामनाथ लगातार चुरोट तान्दै, चाहिने सामग्रीको सूची हातमा, एक कोठादेखि अर्को कोठामा आवत–जावत गरिरहेका थिए ।

अन्ततोगत्वा पाँच बजेतिर तयारी पूरा हुन थाल्यो, कुर्सीहरु, टेबल, तिपाईहरु, न्याप्किन्, फूल, सबै बरण्डामा पुर्याइए । ड्रिंककाे व्यवस्था बैठककोठामा नै गरियो । त्यसपछि घरका फाल्टु सामान, आल्मारीहरुका पछाडि र पलंगमुनि लुकाउन थालियो । त्यत्तिकैमा शामनाथसामु एउटा समस्या आइलाग्यो । आमालाई के गर्ने ?

यसबारे न तिनले र न तिनकी गृहणीले सोचेका थिए । मिस्टर शामनाथले फर्कंदै अंगरेजीमा भने—
“आमालाई के गर्ने ?”
काम गर्दागर्दै पत्नीका हात रोकिए । अलिबेर सोचेपछि भनिन्—
“आमालाई पछाडितिरको उहाँकी सहेलीका घर पठाइदिनू । रातभर त्यतै बसेर बिहान आए पनि हुन्छ ।”
मुखमा चुरोट च्यापेका शामनाथले आँखा खुम्चाउँदै पत्नीको अनुहारतिर हेर्दै, अलि बेर सोचे र मुण्टो हल्लाउँदै भने—
“अहँ ! म चाहन्नँ कि त्यस बूढीको यता फेरि आउजाउ शुरु होस्, बडा मुश्किलले त्यो आवागमन बन्द गराएको हुँ । आमासँग भनौंं कि छिटै खाना खाएर आफ्नो कोठरीमा जाऊन् । आमन्त्रितहरु आठ बजे आउलान् । त्योभन्दा अगावै आफ्ना काम सकुन ।”

सुझाउ ठीक थियो, दुवैले मन पराए, तर फेरि सहसा श्रीमतीले भनिन्—
“सुतेपछि निद्रामा उहाँ घुर्न थाल्नु भयो भने नि ! बरण्डा नजिकै छ जहाँ बसेर पाहुनाहरुले खाना खाने हुन् ।”

“त्यसो भए तिनलाई भनौंला कि भित्रबाट कोठरी थुन्नू, म बाहिरबाट ताल्चा ठोकिदिउँला । अथवा आमालाई भनौंला कि भित्र गएर सुत्ने होइन, बसिरहने हो । अनि के त !”

“अनि निदाइहाल्नु भयो भने ! डिनर कहिलेसम्म चल्ने हो, थाहा छैन । एघार–एघार बजेसम्म त तिमी ड्रिंक नै गरिरहन्छौ ।”
शामनाथले अलि रिसाउँदै, हात झट्कार्दै भने—

“तिनी खुशीसाथ आफ्नो भाइको घर जाँदै थिइन्, तिमीले त्यसै जाती बन्नका लागि बाधा पुर्यायौं ।”

“वाह ! तिमी आमा–छोराका बीचमा म किन नजाती हुने ! यस समस्याको समाधान तिमीले वा आमाले खोज्ने हो ।”

मिस्टर शामनाथ चुप लागे किनभने यो अवसर बहसको थिएन, समस्या–समाधानको थियो । तिनले फर्केर आमाको कोठरीतिर हेरे । कोठरीको ढोका बरण्डातिर खुल्दथ्यो । तिनले बरण्डातिर हेर्दै तुरुन्त भने—
“मैले उपाय सोचिसकें ।” र, आमाको कोठरी–बाहिर पुगेर उभिए ।

आमा चाहिं भित्तानेर राखिएको चौकीमा बसेर, दुपट्टाले सिर–मुख लपेटेर माला जपिरहेकी थिइन् । बिहानदेखि नै तयारी भइरहेको देखेर आमाको मुटु कामिरहेको थियो । छोराको दफ्तरका ‘बडे साहब’ घर आउँदैछन् । सबै काम आरामसाथ पूरा होउन् ।

“आमा ! आज छिटै खाना खानू । पाहुनाहरु साढे सात बजेसम्म आइसक्लान् ।”

आमाले सुस्तरी दुपट्टा हताइन् मुखबाट र छोरातिर हेर्दै भनिन्—
“बाबू ! आज त म खाना खादिनँ । तिमीलाई थाहा नै छ कि माछा–मासु पकाइएका दिन म केही खाँदिनँ ।”

“जसरी भए नि आफ्नो काम छिटो सक्नू ।”
“हुन्छ बाबू ।”
“अनि आमा ! हामीहरु पहिले बैठक कोठामा बस्नेछौं । त्यतिञ्जेल तिमी बरण्डामा बसिरहनू, अनि हामी यता आएपपिछ तिमी स्नानघरको बाटोगरी बैठककोामा गइाहाल्नु ।”
आमाले अवाक भई छोराको अनुहारतिर हेरिन् र सुस्तरी भनिन्—
“हुन्छ बाबू !”
“अनि आमा । आज छिटो नसुत्नू । तिमीले घुरेको आवाज टाढासम्म जान्छ ।”
आमाले लज्जित स्वरमा भनिन्—
“के गरुँ बाबू । यो मेरो वशको कुरा होइन । बिरामी भएर उठेपछि, नाकबाट सास फेर्न ग्राहाे हुन्छ ।”

मिस्टर शामनाथले इन्तजाम त गरिदिए तर तिनको शंका–आशंका भने खत्तम भएनन् ।

यदि चीफ एक्कासि त्यतैतिर गए भने ? आठ–दस पाहुना होलान्, देसी (भारतीय) अफिसर र तिनका पत्नीहरु होलान् । तीमध्ये कुनै पनि स्नानागारतिर जान सक्छ । यस्ता कुरा सोच्दा–सोच्दै तिनी क्षोभ र क्राेधकाे कारण चिढ्न थाले र एउटा कुर्सी उठाएर बरण्डामा, कोठरीबाहिर राख्दै भने—
“आऊ आमा ! तिमी यसमाथि बस ।”
आमा माला सँभाल्दै, पल्ला ठीक गर्दै उठिन् र सुस्तरी कुर्सीमाथि बसिन् ।
“यसरी होइन आमा ! खुट्टा माथि राखेर बस्ने होइन, यो खाट होइन ।”
आमाले खुट्टा तल झारिन् ।
“अनि कृपा गरी नांगै खुट्टा नहिंड्नू र न त्यो खडाउ लगाए सामुन्ने नआउनू । कुनै दिन म यो तिम्रो कठपाउ उठाएर बाहिर फालिदिनेछु ।”
आमा बोलिनन् ।
“लुगा कस्ता लगाउने आमा ?”
“जे छन्, त्यही लगाउँला बाबू । तिमी के भन्छौ त्यही लगाउनेछु ।”

मुखले चुरोट च्यापेका मिस्टर शामनाथले अर्धनिमीलिल आँखाले आमातिर हेर्न थाले र आमाले लगाउने लुगाबारे सोच्न थाले । शामनाथ प्रत्येक कुरा व्यवस्थित चाहन्थे । घरका सबै कुराको सञ्चालन तिनको हातमा थियो । कोठामा ह्यांगर कहाँ लगाउने, बिस्तरा कहाँ ओच्छ्याउने, कुन रङका पर्दा लगाउने, श्रीमतीले कुन रङको साडी लगाउने, टेबल कुन साइजको हुनुपर्छ…। शामनाथलाई चिन्ता थियो कि चीफ आमासामु आए भने, कतै लज्जित न हुनुपरोस् । तिनले आमालाई आपादमस्तक हेर्दै भने—

“तिमी सेतो कमिज र सेतो शलवार लगाऊ । जाऊ, पहिरेर आऊ । हेरौं त ।”
आमा सुस्तरी उठेर लुगा फेर्न कोठरीतिर लागिन् ।
मनैमन त्यसो भनेर अंगरेजीमा आफ्नी पत्नीसँगभने— “कुनै कुरा पनि ढंगको छैन । कुनै उल्टा–सुल्टा कुरा भए, चीफलाई नराम्रो लागे, सारा मोजमज्जा स्वाहा हुनेछ ।”

आमा सेतो कमीज र सेतो शलवार लगाएर बाहिर निस्किइन् । सेता लुगामा लपेटिएको सानो कद, सानो सुकेको शरीर, धमिला आँखा, आधा सिझिरिसकेका कपला पल्लाले ढाकिएकोले तिनी पहिलेभन्दा कम कुरुप देखिंदैथिइन् ।

“लौ, ठीक छ । चुरा–सुरा भए त्यो पनि लगाउनू, कुनै हर्ज होओइन ।”
“चुराहरु कहाँबाट तपाऊँ बाबू ! सबै गरगहना त तिम्रो पढाइमा गए ।”
यो वाक्य शामनाथलाई बाणजस्तो बिझ्यो । तिनले झर्किदै भने—

“यो कस्तो राग अलाप्न शुरु गर्यौ आमा ! सोझै ‘गरगहना झैनन्’ भनिदिएको भए पनि त हुन्थ्यो नि ! यहाँ पढाइलेखाइको कुरासँग के सम्बन्ध ? जति गहना बिके, तिनका साटो म केही बनेर नै आएको छु, उल्लू भएर त फर्किनँ नि ! जति दिएकी थियौ त्यसको डबल लिनू ।”

“मेरो जिब्रोमा आगो लागोस् बाबू ! तिमीसँग गहना लिने ! मेरो मुखबाट त्यसै निस्कियो । भए त लाखपटक लगाउने थिएँ ।”
“आमा ! सधैं बसेजस्तो चुपचाप र निश्चेष्ट नबस्नू । साहेबले यता आएर कुनै कुरा सोधे भने ठीक ढंगले जवाफ दिनू ।”

“न पढेकी, न लेखेकी, बाबू । मैले के कुरा गर्ने ! तिमीले भनिदिनू कि आमा अनपढ हुन्, केही जान्दिनन् । तिमीले त्यसो भनिदिए तिनले सोध्नेछैनन् ।”
सात बज्न लाग्दा आमाको मुटुले धक–धक गर्न थाल्यो । अनि चीफले आएर केही सोधे भने मैले के जवाफ दिने, मैले के भन्ने ? अंगरण्लाई त टाढैबाट देखेपनि डरलाग्छ । यी त अमेरिकाली हुन् । के थाहा तिनले के सोध्लान् । मैले के जवाफ दिने । यस्ता कुरा सोच्दा–सोच्दै आमाले चुपचाप घर–पछाडिको विधवा सहेलीकहाँ जाने कुरा सोचिन्, तर छोराको हुकुम कसरी नमान्ने ? चुपचाप कुर्सीमा नै खुट्टा झुण्ड्याएर त्यतै बसिरहिन् ।

एउटा सफल पार्टी त्यो हो जसमा ड्रिंकले सफलता पाओस् । शामनाथको पार्टीले सफलताको शिखर चुम्न थाल्यो । कुराकानी त्यसै गतिमा चलिरहेका थिए जुन गतिमा पाहुनाका गिलास भरिंदै थिए । कतै कुनै रोकावट थिएन, कुनै अडचन थिएन । साहेबलाई व्हिस्की साह्रै मन परेको थियो । मिम साबलाई पर्दा राम्रा लागे, सोफा–कवरको डिजाइन मन परेको थियो, कोठाको सजावट राम्रो लागेको थियो । योभन्दा धेरै अरु के चाहियो ? साहेबले त ड्रिंकको दोस्रो राउण्डमा नै चुट्किला, कहानी सुनाउन थालेका थिए । दफ्तरमा जति रवाफ देखाउँदथे, यहाँ त्यति नै मित्र–हितैषी हुँदै थिए । तिनकी पत्नी कालो गाउन पहिरेर, गालामा मुक्तामाल, अत्तर र पाउडरका सुगन्धमा लटपटिएकी, कोठामा बसेका सबै देसी आइमाईहरुका आराधना–केन्द्र बनेकी थिइन् । प्रत्येक कुरामा हाँस्ने र मुण्टो हल्लाउने अनि शामनाथकी पत्नीसँग त यसरी कुरा गरिरहेकी थिइन् मानाैं तिनकी पत्नी सहेली होउन् ।

अनि यस्तै माहौलमा रक्सीइ खाँदा–खाँदै साढे दस बज्यो । समय कति छिटो दुगुर्यो, थाहा नै भएन । अन्ततः सबैजना आ–आफ्ना गिलासबाट आखिरी घूँठ (घुटको) तानेर खाना खानका लागि उठे र बैठकबाट बाहिर निस्किए । अगि–अगि शामनाथ बाटो देखाउँदै पछि–पछि चीफ र अन्य पाहुना ।

बरण्डामा पुग्ने बित्तिकै शामनाथ सहसा रोकिए । जो दृश्य तिनले देखे त्यसको परिणामस्वरुप तिनका खुट्टा लडखडाए र छिनभरमा तिनका नशा गायब हुन थाल्यो । ठीक कोठरीको बाहिर बरण्डामा आमा आफ्नो कुुर्सीमा ज्यूँका त्यूँ बसेकी थिइन्, तर दुवै खुट्टा कुर्सीमाथि राखेर । अनि टाउको दाहिनेदेखि बायाँतिर र बायाँदेखि दाहिनेतिर दोलायमान थियो र मुखबाट, घुरेको चर्को आवाज आइरहेको थियो । जब मुण्टो केही बेरका लागि एकातिर लत्रिन्थ्यो तब घुराइ झन् चर्को हुन्थ्यो । अनि एक्कासि निद्रा भंग हुँदा, मुण्टो फेरि दायाँ–बायाँतिर झुल्न थाल्दथ्यो । पल्ला सिरबाट खस्किएको थियो र झरेर बचेका केश, आमाको खल्बाट सिरमा यताउति छितरिएका थिए ।

देख्नासाथ शामनाथ क्रुद्ध भए । मनमा त आयो कि आमालाई धक्का दिएर उठाइदिउँ र कोठरीमा घेचडिदिउँ । तर, त्यसो गर्न सम्भव थिएन किनभने चीफ र अन्या पाहुना नजिकै उभिएका थिए ।

आमालाई देख्ने बित्तिकै देसी अफिसरका कतिपय मिमसाबहरु हाँसिदिए । त्यसै बखत चीफले सुस्तरी भने— “पूअर डियर ।”

आमा हडबडाएर उठिन् । सामुन्ने उभिएका त्यत्तिका मानिसदेखेर तिनी यति आत्तिइन् कि बोल्नै सकिनन् । तिनी तुरुन्तै सिरमा पल्ला राख्दै जुरुक्क उठिन् र भुइँतिर हेर्न थालिन् । तिनका खुट्टा लडखडाउन थाले, हातका औंला थरथर काम्न थाले ।

“आमा ! तिमी गएर सुतिहाल । तिमी यति बेरसम्म जाग्राम बसेकी ?” त्यति भनेर लज्जित नजरले चीफतिर हेर्न थाले शामनाथले । चीफको अनुहारमा मुस्कुराहट थियो । तिनले त्यहीं उभिई उभिई भने—
“नमस्ते ।”

आमाले हच्कँदै आफ्ना समेटिएका दुवै हात जोरिन्, तर एउटा हातले त दुपट्टाभित्र माला समातेको थियो र अर्को बाहिरतिर थियो । तिनले ठीकसँग नमस्ते पनि गर्न सकिनन् । शामनाथ यो देखेर खिन्न भए

त्यत्तिकैमा चीफले हात मिलाउनका लागि आफ्नो दाहिना हात आमा–अगाडि बढाए । आमा भने आत्तिइन् ।

“आमा ! हात मिलाऊ !”

तर, हात कसरी मिलाउने ! दाहिने हातमा त माला थियो । आमाले आत्तिएर आफ्नो बायाँ हात नै साहेबको दाहिना हातमाथि राखिदिइन् । शामनाथ मनैमन औधी रिसाए । देसी अफिसरका मिमसाबहरु खित्का छाडेर हाँसे ।

“यसरी होइन आमा । तिमी त जान्दछौ कि दाहिना हात मिलाइन्छन् । दाहिना हात मिलाऊ !”
तर, चीफले आमाको बायाँ हात नै बारम्बार हल्लाउँदै भनिरहेका थिए—
“हाउ डू यू डू ?”
“भन आमा ! म ठीक छु, सञ्चै छु ।”
आमा केही बडबडाइन् ।
“आमा भन्दैछिन्— ‘म ठीक छु’ । भन आमा— हाउ डू यू डू ?”
आमाले संकोचसाथ सुस्तरी भनिन्—
“हौ डू डू ?”
एकपटक फेरि खित्का छुटे ।

वातावरण हल्का हुन थाल्यो । साहेबले स्थिति सँभालिसकेका थिए । पाहुनाहरु हाँस्न र चहक्न थालेको थिए । शामनाथको क्षोभ पनि अलि कम हुन थालेको थियो ।

साहेबले आमाको हात अझैसम्म समातेका थिए । अनि आमाचाहिं खुम्चिंदै थिइन् । किनभने साहेबको मुखबाट रक्सीको गन्ध निस्कँदै थियो ।
शामनाथले अंगरेजीमा भने—
“मेरी आमा ग्रामवासिनी हुन् । जीवनभर गाउँमा नै बसिन् । त्यसकारण तपाईंसँग लाज मान्दछिन् ।

त्यस्ता कुरा सुनेर साहेब प्रसन्न देखिए र भने—
“हो र ! मलाई गाउँलेहरु असाध्यै मन पर्छन् । त्यसो भए तिम्री आमाले ग्रामगीत पनि गाउँदी होलिन् । नाच्न पनि जान्दी होलिन् ।”

त्यसो भनेर प्रसन्नतापूर्वक मुण्टो हल्लाउँदै आमातिर अपलक हेरिरहे ।
“आमा ! साहेब भन्नुहुन्छ कि कुनै गीत सुनाऊ, कुनै पुरानो गीत । तिमीलाई त धेरै याद होलान् ।”

आमाले सुस्तरी भनिन्—
“मैले कसरी गाउने बाबू ! मैले कहिले यो गाएकी छु ?”
“ओहो आमा ! पाहुनाले भनेका कुरा कसैले टार्दछ ? साहेबले कति रिझाएर भन्नुभएको हो । तिमीले गाइनौ भने साहेबलाई राम्रो लाग्नेछैन ।”
“म के गाऊँ बाबू ! मलाई के पो आउँछ र !”
“कुनै राम्रो टप्पा सुनाइदेऊ । दो पत्तर अनाराँदे ।”
यस्तो सुझाउ आएपछि देसी अफिसर र तिनका पत्नीहरुले थपडी बजाए । आमाले कातर दृष्टिले कहिले छोराको अनुहारतिर हेरिन् त कहिले बुहारीको अनुहारतिर ।

त्यत्तिकैमा छोराले आदेशात्मक गम्भीर पाराले भन्यो— “आमा !”
त्यसपछि त हुन्छ वा हुन्नको प्रश्न नै थिएन । आमाले बसेर दुर्बल र प्रकम्पित स्वरमा एउटा पुरानो विवाह–गीत सुनाउन थालिन्—
“हरिया नी माये, हरिया नी भैणे
हरिया ते भागी भरिया है…।”

देसी आइमाईहरु खित्का छाडेर हाँस्न थाले । तीन पंक्ति गाएर आमा चुप लागिन् । बरण्डा तालीको गडगडाहटले गुंजायमान भयो । साहेबले त ताली पड्काई नै रहे । शामनाथको क्राेध, प्रसन्नता र गर्वमा परिणत भइसकेको थियो किनभने आमाले पार्टीमा नयाँ रंग भरिदिएकी थिइन् ।
ताली पिटाइ सकिएपछि साहेबले भने—
“पंजाबको ग्रामीण दस्तकारी (हस्तशिल्प) के हो ?”
खुशीले झुमिरहेका शामलाले भने—
“धेरै छन् साहेब ! म तपाईंलाई ती चीजहरुको एक सेट टक्रयाउनेछु । तिनलाई देखेर तपाइ प्रसन्न हुनुहुनेछ ।”
तर, साहेबले मुण्टो हल्लाउँदै अंगरेजीमा फेरि सोधे—
“होइन, म पसलमा राखिएका वस्तु माग्दिनँ । पंजाबीहरुका घरमा के बनाइन्छन्, महिलाहरुले स्वयं के बनाउँछन् ?”

शामनाथले अलिबेर सोचेर भने—
“केटीहरु गुडिया बनाउँदछन् भने आइमाईहरु फुलकारी बनाउँदछन् ।”

फुलबारीको अर्थ बताउन असमर्थ भएपछि शामनाथले आमासँग भने—
“आमा कुनै पुरानो फुलकारी (कपडामा रेशमी धागोले कढाइ गरेर फूलबुट्टा बनाउने शिल्प) छ घरमा ?”

आमा चुपचाप घरभित्र गइन् र आफ्नो पुरानो फुलकारी उठाएर ल्याइन् । साहेबले निकै चाखका साथ त्यो फूलकारी हेर्न थाले । फुलकारी पुरानो भएकोले ठाउँ–ठाउँमा त्यसका धागा टुट्न थालेका थिए । कपडा पनि फाट्न थालेको थियो । साहेबको रुचि देखेर शामनाथले भने—

“यो त फाटेको छ साहेब ! म तपाईंका लागि नयाँ बनाउन लगाउनेछु । आमाले बनाइदेलिन् । कसो आमा ! साहेबलाई फुलकारी धेरै मनपर्ने रहेछ । यहाँका लागि एउटा यस्तै फुलकारी बनाइदेउली नि !”


आमा पहिले त चुप रहिन् तर पछि डराईडराईकन सुस्तरी भनिन्—
“अब मेरा आँखा त्यस्ता तेज कहाँ छन् र बाबू । बूढा आँखाले के देखून…।” तर आमाका कुरा बीचमै काट्दै साहेबसँग भने—

“आमाले अवश्य बनाइदेलिन् । तपाईं त्यो देखेर खुशी हुनुहुनेछ ।”
साहेबले मुण्टो हल्लाए, धन्यवाद भने र सुस्त–सुस्त झुम्दै खाना खाने टेबलतिर लागे । शेष पाहुनाहरु पनि तिनका पछि लागे ।

पाहुनाहरु खाना खान बसिसकेपछि, सबैका आँखाले आमालाई हेर्न छाडिसकेपछि, आमा सुस्तरी कुर्सीबाट उठिन् र कसैले नदेख्नेगरी आफ्नो कोठरीमा पुगिन् ।

तर, कोठरीमा बस्नासाथ तिनमका आँखाबाट बलिन्द्र झर्न थाले । दुपट्टाले जति पुछे पनि आँसु झरिहाल्थे, मानौं वर्षौदेखि जम्मा भएका आँसु, बाँध भत्काएर आइरहेका होउन । आमाले मनलाई मनाउने धेरै प्रयास गरिन्, हात जोरिन्, भगवान्को नाम लिइन्, छोराको लामो उमेरका लागि प्रार्थना गरिन्, बारम्बार आँखा चिम्म गरिन्, तर आँसु भने बरसातको पानीजस्तै रोकिन मान्दैनथ्यो ।
मध्यरातको समय होला । पाहुनाहरु खाना खाएर एक–एक गरी गइसकेका थिए । आमा भित्तामा टाँसिएर बसी विस्फारित आँखाले भित्तातिर हेरिरहेकी थिइन् । घरको वातावरणमा तनाव अलि खुकुलो भइसकेको थियो । टोलको नीरवता शामनाथको घरमा पनि छाइसकेको थियो । भान्साघरबाट मात्र प्लेटहरुको आवाज आउँदै थियो । त्यत्तिकैमा आमाको कोठरीको ढोका जोरसँग ढकढकाउन थाल्यो ।

“आमा ! ढोका खोल !”

आमा भयाक्रान्त भइन् । हडबडाएर उठिन् कि मैले फेरि कुनै गल्ती गरें ? आमाले धेरै बेरसम्म आफैलाई सरापिरहिन् कि तिनी किन निदाइन्, किन उग्न थालिन ? के छोराले अझैसम्म क्षमा गरेको छैन ? आमा उठिन् र कामिरहेको हातले ढोका खोलिदिइन् ।

ढोका खुल्नासाथ शामनाथले झूम्दै अगि सरेर आमालाई आलिंगनबद्ध गरे ।
“ओहो आमा ! आज त तिमीले गजब गरिदियौ….। साहेब तिमीसँग यति प्रसन्न भए कि के भनूँ ! आमा, ओ आमा !”

आमाको सानो काया खुम्चिएर छोराको आलिंगनमा लुक्यो । आमाका आँखामा फेरि आँसु भरिए । आँसु पुछ्दै तिनले सुस्तरी भनिन्—
“बाबू ! तिमी मलाई हरिद्वार पठाइदेऊ, कहिलेदेखि भन्दैछु ।”

शामनाथको झूमाइ सहसा बन्द भयो र तिनको निधारमा फेरि तनावमा गाँठा पर्न थाले । तिनका भुजा आमाका शरीरबाट हटे ।
“के भन्यौ आमा ! तिमीले फेरि यो कुन राग अलाप्न थाल्यौ ?”

शामनाथको क्राेध बढ्न थालेको थियो । तिनी बम्कदै गए—
“तिमी मलाई बदनाम गर्न चाहन्छ्यौ ता कि दुनियाँले भनोस् कि छोराले आमालाई आफूसँग राख्न सकेन ।”

“त्यसो होइन बाबू । अब तिमी बुहारीसँग बसेर मन लागी गर । मैले आफ्नो भागको खानपान र पहिरन गरिसकें । अब यहाँ बसेर के गर्ने ? जे जति जीवन बाँकी छ त्यो भगवानको भजनमा काटिद्यूँला । तिमी मलाई हरिद्वार पठाइदेऊ ।”

“तिमी गयौ भने फुलकारी कसले बनाउला ? तिम्रो सामु नै मैले साहेबलाई फुलकारी दिने बचन दिएको हुँ ।”

“मेरा आँखा अब गइसके बाबू । म फूलकारी बनाउन सक्दिनँ । तिमीले कतै बनाउन लगाऊ वा बजारबाट किनेर ल्याऊ !”

“आमा ! तिमी मलाई यसरी धोका दिएर जाने तरखरमा । बन्न लागेको मेरो काम बिगारिने र थाहा छैन, साहेब खुश भए मेरो बढुवा हुन्छ भनेर ?”

आमाले छोराका कुरा सुनिन् । पछि छोराको मुखतिर हेर्दै भनिन्—
“के तिम्रो बढुवा होला ! के साहेबले तिमीलाई तरक्की देलान् । के तिनले तिमीसँग केही भनेका छन् ?”

“भनेका छैनन् । तर, देखिनौ कति खुश भएर गएका थिए ? भन्दै थिए कि जब तिम्री आमाले फूलकारी बनाउन शुरु गर्लिन् तब म हेर्न आउनेछु कि कसरी बनाइन्छ । साहेब खुश भए मैले योभन्दा ठूलो पद पनि पाउन सक्छु, म ठूलो अफिसर बन्न सक्छु ।”

आमाको अनुहारको रंग बदलिन थाल्यो । तिनको चाउरी परेको मुख सुस्त–सुस्त भास्वर हुन थाल्यो । आँखामा हल्का चमक आउन थाल्यो ।


“त्यसो भए तिम्रो बढुवा होला बाबू ?”
“बढूवा त्यसै होला र ! साहेबलाई खुश राख्न सके गर्लान्, होइन भने तिनको चाकरी गर्ने मानिसहरुको कमी छ र !”
“त्यसो भए, म बनाइदिउँला, जसरी भए पनि बनाइदिनेछु ।”

आमाले मनैमन छोराको उज्ज्वल भविष्यको कामना गर्न थालिन् अनि मिस्टर शामनाथ—
“अब सुतिहाल आमा” भन्दै, अलि लडखडाउँदै आफ्नो कोठातिर फर्किए ।