रिंकु वाग्ले


उपन्यासमा, हिन्दू र मुसलमान बिचका आगो जसरी गाउँकै मान्छेले सल्काएको छ । त्यसले नेपालमा सल्किन तमतयार भएको जातीय मतभेदलाई अंकित गर्न खोजेको मैले पाएँ ।

बिहानै पढ्न शुरु गरेको नयनराज पाण्डेको ‘लू’ उपन्यास सिद्धिसक्दा कतिबेला साँझ पर्यो पत्तै भएन । किताबको पछिल्लो गातामा उल्लेखित सीमाना सम्बन्धि उपन्यास भन्ने बित्तिकै मनमा एक प्रकारको त्रास उत्पन्न भैसकेको थियो । हुन त कति कहाली लाग्दो छ नेपाल र भारतको सीमाना नजिक पर्ने गाउँहरूको अवस्था तर लू पढ्दै जाँदा म त्यो पत्थरपुरवा गाउँमा यसरी हराएँ मानौँ मलाई बानी परिसकेको छ । मानौं, भारतीय सेनाको आऊजाऊ, अनेक हल्ला र दंगाफसादमा मेरो जिन्दगी अभ्यस्त भएको छ । र ममाथि बज्रपात नपरेसम्म, म पनि चुपचाप नै रहन्छु ।


यस उपन्यासका पात्रलाई लेखकले हृदयनजिक राखेर लेखेका छन् । मानौँ त्यहि सधैँ चलिरहने लू बनेर त्यहाँ भएका घटनालाई जस्ताको तस्तै पानाहरूमा पल्टाएका छन् । लेखकले प्रयोग गरेका भाषा र शब्दहरू प्रशंसनीय छन् । अब कतिबेला यो गाउँमा विपत्ति होला भनेर कुरिरहेको पाठकलाई बेलाबेला हँसाएर लेखकले, जस्तोसुकै दुःख र परिस्थितिमा हाँसो र आँसु सँगसँगै आउँछन् है भन्ने यथार्थ समेटेका छन् ।


कथा, इलैया, बजरंगि, बृजलाल र रेडियोलाल १० वर्षका हुँदादेखि सुरु हुन्छ र उनीहरूसँगै हुर्किन्छ । इलैया, कथाको रावण भनुँ कि राम, यी दुईबीच अल्मलिएको पात्र छ । उसको चरित्र चित्रण पढेर मलाई एउटा भाइको याद आयो, ठ्याक्कै त्यस्तै छ, जे नगर भन्यो त्यहि गर्ने, आफुले जे पनि गर्न सक्छु भनेर देखाउन उट्पट्याङ गरेर आमा बाउलाई दिनु पीर दिने, साथीहरूलाई अनेकौँ फटाही काम गर्न उक्साउने, गल्ति गरे हाकाहाकी गरेको हुँ भन्ने, कसैसँग नडराउने । बालक स्वभाव किन यस्तो हुन्छ भन्नेमा मेरो ध्यान गयो । यस उपन्यासमा देखाईए अनुसार इलैया भावना नै नभएको ढुगों त हैन, तर त्यो क्रान्तिको ज्वाला के ले भ¥यो उसको व्यवहारमा ? उपन्यासको मध्य अन्तिमतिर इलैयाको बाबु मरेको थाहा पाएपछि जब ऊ सानोको सबै कुराहरू सम्झिन्छ । तब उसले एउटा प्रश्न आफैसँग गर्छ, “के मेरा बाबुले मलाई कहिल्यै माया गरेनन् ?” यसले के देखाउँछ भने, सानैदेखि उसको मनमा बाबुप्रति डर थियो र मलाई आमाले मात्रै माया गर्छिन् भन्ने थियो । के उसको व्यवहार यस्तो हुनुमा बालापनको कुनै घटना थियो जुन लेखकले आफैसँग लुकाए ? इलैयाले तन, मन, धन दिएर प्रेम गर्ने नुसरतमा आफ्नी आमालाई देख्नुमा फ्रायडको सिद्धान्तले ठूलो भूमिका खेलेको छ । सायद यसैले कुदेको छ इलैयाको व्यवहार ।

यो उपन्यास पढ्दै गर्दा त्यो गाउँमा देखाइएको गरीबी, भोकमरी आदि सबै मेरो पाठक मस्तिष्कले सहजै स्वीका¥यो । कति लाचार रहेछु म । सीमानाको कथा भन्ने बित्तिकै यी घटनाहरू कहिले घट्लान भनेर कुरेर बस्ने । आखिर यति सजिलै स्वीकार्न मैले कसरी संकें ? मनमनै ग्लानि भयो । कुनै कहाली लाग्दो अपराध एक चोटि भयो भने मुटुमा राँको जल्छ, तर त्यो घटना बारम्बार घटिरह्यो भने बानी पर्छ रे । दुखद् तर साँचो । उपन्यासमा महिलाको स्थान उहि पुरुषलाई बर्बाद पार्ने, पतुरिया, पोईला जाने, छिमेकीसँग झगडा गर्ने आदि मै सीमित राखिएको छ । नुसरत पात्रलाई लेखकले पढ्न रहर गरेको भनेर बताउँदा मेरो मनमा निकै उमंग भरिएको थियो । अफसोच उसको बलात्कारपछि ऊ पढ्न जान छोड्छे अनि करिमको साथ पाएपछि नयाँ आशा भरिन्छ उसको मनमा । आफ्नाे साथी देवकीसँग जब उसले करिमसँगको सपनाको बखान गर्छे, उसका बखान सुकिला लत्ता कपडा र गरगहनामा मात्रै सीमित हुन्छन् । यसले मलाई अलिक खचक्क बनायो । हो ! समाजमा अधिकांश केटीहरू यस्ता सपना धेरै देख्छन् किन ? यिनै कुराहरू यसरी नै पढिन्छन्, देखिन्छन्, सुनिन्छन् अनि भोगिन्छन् । कथा भनेको यथार्थताको चित्रण भए पनि, यो पाठकलाई सोंच्न बाध्य बनाउने एउटा हतियार हो । नुसरतले आफ्नाे खयालि पुलावका बीचमा पढ्ने ईच्छा चुहाए कि भए ! करिमले अन्तिममा यति नमाज पढ्छु, कण्ठ पार्छु भन्दै गर्दा छुस्स नुसरतको मनमा पढ्ने एउटा झिनो आशा पलाएको भए ! मेरो नारीवादी मन शान्त हुने थियो तर त्यसो भएन ।

उपन्यासमा, हिन्दू र मुसलमान बिचका आगो जसरी गाउँकै मान्छेले सल्काएको छ । त्यसले नेपालमा सल्किन तमतयार भएको जातीय मतभेदलाई अंकित गर्न खोजेको मैले पाएँ । आफ्नाे व्यक्तिगत रिसिविईका कारण मिलेर बसेको समुदायमा, छिमेकी गुहारेर रडाको मच्चाउने कार्य नेपालमा भईरहेको पाइन्छ । पत्थरपुरवाले एउटा गाउँमात्र हैन, सिगों नेपाललाई प्रतिनिधित्व गरेको मैले महसुस गरें । भारतको रजाईँ, नेपालीबिचको सद्भाव,आफ्नै देशका केही देशद्रोहीहरू, कोही छुटेका छैनन् । यस उपन्यासमा । यो उपन्यासको अन्तिममा जब टुटे पण्डित जस्तो छुचो पात्रले उदार हृदय देखाउँछ तब एउटा कुराले मेरो मस्तिष्क छोयो । मान्छेमा लोभ र लालच परिस्थितिले निर्माण गर्छ तर उसको आत्मालाई मानवताले ।