विद्यालयबाट क्वारेन्टाइन हटाउन दबाब, सुरक्षाका उपायसहित विद्यालय खोल्न अभिभावकको आग्रह, टिभी र मोवाइलमा व्यस्त हुँदा आँखामा देखिन थाले समस्या
कृष्ण पोखरेल

तानसेन
चार महिनादेखि विद्यालय बन्द छन् । बन्द भएका विद्यालयमा स्थानीयतहले क्वारेन्टाइन सञ्चालन गर्दै आएका छन् । जसको कारण सामजिक दुरी कायम गरेर आवश्यक सुरक्षा अपनाएर पनि विद्यालय सञ्चालन गर्ने वातावरण छैन । विद्यालय जान नपाएपछि घरमा बसीबसी बालबालिकाहरू आवश्यकताभन्दा बढी मोटाएका छन् । बालबालिकाको श्रृजनशिलता हराउँदै गएको छ । बालबालिकाहरू मोवाइल विना बस्न नसक्ने भएका छन् । बालबालिकामा एकहोरोपन बढ्दै गएको छ । सरल स्वभावका बालबालिकाहरूमा जिद्धिपन बढेको छ ।
बालबालिकाहरू घरमा जती बस्यो त्यती समस्या बढ्दै गएपछि पाल्पाका अविभावकहरू चिन्तित भएका छन् । बालबालिकामा समस्या बढ्दै गएपछि पाल्पाका अविभावकहरूले प्रधानाध्यापकहरूलाई आवश्यक सुरक्षा अपनाएर भए पनि विद्यालय सञ्चालन गर्न दबाब बढाएका छन् । अविभावकहरूको दबाब बढ्न थालेपछि प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले क्वारेन्टाइनको रूपमा प्रयोग भइरहेका सामुदायिक विद्यालय खाली गर्न पालिकामाथि दबाब बढाएका छन् ।
१० वर्षदेखि १८ वर्षसम्मका बालबालिकाको पहिरो रोजाइन नै पपजी र फ्रीफायर भिडियो गेम भएको छ । तानसेन १ का रवीन तामाङको आजकलको अधिकांश समय मोवाइलको फ्रिफायर भिडियो गेममा बित्ने गरेको छ । अधिकांश समयमा मोवाइलको स्क्रिनमा हेर्दा तामाङको आँखामा समस्या देखिन थालेको आमा सुमि तामाङले बताइन । मोवाइल, कम्प्युटर १ मिटर टाढा राखेर चलाउनु पर्ने भए पनि बालबालिकाले ज्यादै नजिकबाट मोवाइल, टिभी हेर्ने गरेको कारण बालबालिकाको आँखा सुख्खा हुने, आँखाको पावर घटी बढी हुने, टाउको दुख्ने, जस्ता समस्या आउने गरेको पाल्पा लायन्स लाकौल आँखा अस्पतालका नेत्र विशेषज्ञ अमृत बास्तोलाले बताए । विद्यालय सञ्चालन भएपछि आँखा अस्पतालहरूमा बालबालिकाको आँखा समबन्धी समस्या बढ्ने नेत्र विशेषज्ञ बास्तोलाले बताए ।
अहिलेकै अवस्थामा सामुदायिक विद्यालयका क्वारेन्टाइन खाली गरिएपनि सरसफाइदेखि अन्य किसिमको व्यवस्थापन गर्न कम्तीमा एक महिना लाग्ने भएकोले क्वारेन्टाइनको वैकल्पिक व्यवस्था गर्न विद्यालयका प्रधानाध्यापकहरूले पालिका प्रमुखहरूलाई आग्रह गरेका छन् ।
कोरोना संक्रमणको रोकथाम कहिले हुने हो ? अनिश्चत भएकोले क्वारेन्टाइनको रूपमा प्रयोग गरिएका विद्यालयहरूको विकल्प खोजी वैकल्पिक विधिको प्रयोग गरी बालबालिकाको शारीरिक विकासदेखि बौद्धिक विकासमा हुँदै आएको क्षतिबाट बचाउन सकिने जनता माध्यमिक विद्यालय तानसेनका पूर्व प्राचार्य बुद्धिप्रसाद शर्माले बताए ।
सरकारले असार १ गते बालबालिकाहरूलाई लक्षित गरी, रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट पढाइ सुरु गरेको छ । सरकारले गरेको वैकल्पिक प्रयास बालबालिकाको लागी प्रभावकारी नदेखिएको अभिभावकहरूले बताएका छन् । बालबालिकाहरू विद्यालय जान नपाउँदा, मोवाइल र टेलिभिजनका विभिन्न मनोरञ्जन शो, तथा कार्टुन दृश्य, र पछिल्लो समय पपजी र फ्रिफायर जस्ता भिडियो गेममा आर्कषित भएका छन् । बालबालिका विद्यालय नगई घरमै बस्दा, अल्छी भएको, मोटोपन बढेको, अध्यन गर्ने बानी हराइसकेको, मोवाइल ईन्टरनेटको कारण गलत सूचना तथा जानकारीमा बालबालिकाहरूको ध्यान मोडिएकोले तानसेन ३ भगवती टोलका अभिभावक मनोज गैरेले बताए । विद्यालयले तत्काल वैकल्पिक व्यवस्था अपनाएर पठनपाठन अगाडि बढाउन अभिभावक गैरेले जोड दिए । बालबालिका मोवाइलका किरा भएका छन्, घरमै बसी बसी बाबा, आमा लाई समेत नटेर्ने भएका छन्, विद्यालय बन्द भएपछि बालबालिकाको एकहोरो जिद्धि मोवाइल भएको छ, जसको घरझगडा समेत बढेकोे तानसेन नगरपालिका वडा नंं. ६ का सूर्यबहादुर केसीले बताए ।
विद्यालय बन्द छ , मोवाइल विना छोराछोरीलाई घरमा राख्न सक्ने अवस्था छैन, घरमा बस्दा बस्दा छोरा छोरी मोटाएका छन, विद्यालय जाँदा दिनहुँ गृहकार्य हुन्थ्यो, दैनिक रूपमा पिटी व्यायम तथा शारीरिक कसरतले बालबालिकाहरू नियमित अभ्यासमा थिए तर विद्यालय बन्द भएपछि, बालबालिकाका सबैजसो नियमित कामहरू प्रभावित भएको छ ।
बालबालिकाको भविष्य जोगाउन, संक्रमणको जोखिमबाट बालबालिकाहरूलाई जोगाउँदै केही गाईडलाइन बनाएर सावधानी अपनाएर विद्यालय संचालन गर्नुपर्ने तानसेनं. ३ बसन्तपुरका गोपल अधिकारीले बताए । मोवाइलको कारण बालबालिकाको सिर्जनशिलता हराउँदै गएकोमा अभिभावकहरू चिन्तित भएका छन् ।
बिहान १० बजेदेखि संचालन हुँदै आएको विद्यालय समयलाई बालबालिका बीच भौतिक दुरी कायम गर्न, बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र दिउँसो एक बजेदेखि बेलुका ६ बजेसम्म दोस्रो सिफ्ट बनाएर विद्यालय संचालन गर्न अभिभावकहरूले जोड दिएका छन् । अभिभावकको दबाब बढेपछि पाल्पाका शिक्षक अविभावक, तथा विद्यालय व्यवस्थापन समितिले तत्काल संचालनमा रहेका क्वारेन्टाइन हटाउन पालिका प्रमुखसंग माग गरेका छन् । निरन्तर विद्यालय क्षेत्रलाई क्वारेन्टाइन बनाउने हो भने भारत तथा तेस्रो देशबाट मानिसहरू नियमित रूपमा आइरहने र सामुदायिक विद्यालय सधै क्वारेन्टाइनको रूपमा संचालन भइरहने भएकोले तत्काल क्वारेन्टाइनलाई अन्य स्थानमा विकल्प खोल्न पालिकाका प्रमुखहरूसंग अनुरोध गरिएको नेपाल राष्ट्रिय शिक्षक महासंघका केन्द्रीय सदस्य विष्णु पोखरेलले बताए । ‘हामीले टोल टोलमा गएर सामाजिक दुरी कायम गर्दै बालबालिकाहरूलाई अध्ययन गरायांै, अनलाइन माध्यमबाट पनि पठनपाठन गराएका छांै, सरकारले वैकल्पिक विधिबाट पठनपाठन गराएपनि प्रभावकारी नदेखिएकोले आवश्यक सुरक्षा अपनाएर भौतिक दुरी कायम गर्दै विद्यालय संचालन गर्नुको विकल्प छैन, तानसेन नगरपालिका वडा नंं. २ देववाणी संस्कृत तथा साधारण माविका प्रधानाध्यापक कृष्ण थापाले भने ।
एक वर्षे शैक्षिकसत्रमा ४ महिना लकडाउनकै कारण बन्द भयो बाँकी रहेको ८ महिनालाई दुई÷दुई महिनाको पाठ्यक्रम निर्धारण गरेर नयाँ शैक्षिकशत्र संचालन गर्न सकिने नेपाल राष्ट्रिय शिक्षक महासंघ पाल्पाका अध्यक्ष देवीप्रसाद भट्टराईले बताए । जिल्लाका सबै सामुदायिक विद्यालयहरू क्वारेन्टाइनमा परिणत भएकोले कुनै वैकल्पिक विषयमा समेत छलफल हुन नसकेको अध्यक्ष भट्टराईले जोड दिए ।
शैक्षिकशत्र सकिएको बन्द अवस्थामा रहेको विद्यालय गाउँपालिकाको अनुरोधमा क्वारेन्टाइन बनाआंै, यही अवस्था रहेमा बालबालिकाको भविष्य नै खतरामा पर्ने भएकोले पालिका तथा वडा कार्यालयलाई विद्यालयलयको क्वारेन्टाइन हटाउन अनुरोध गरिएको दिव्यज्योति माध्यमिक विद्यालय माथागढी ३ सराईका प्रधानाध्यापक नारायण अधिकारीले बताए । सहरका बालबालिका मोवाइलमा पपजी र फ्रिफायर मस्ती, गाउँका बालबालिका टिभीका कार्टुनहरूमा मस्तीले नियमित गृहकार्यदेखि शारीरिक अभ्यासबाट बञ्चित हँुदा बालबालिकाको श्रृजनशिलतामा हराएकोमा प्रअ अधिकारी चिन्तित बनेका छन् ।
गाउँपालिकामा प्रशस्त मात्रामा सार्वजनिक भवनहरू नभएकोले आगामी दिनमा बाहिर बाट आउनेहरू लाई होटल, तथा होम क्वारेन्टाइनमा राख्ने गरी विधालयको क्वारेन्टाइन हटाउन पालिका तयार रहेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । यस विषयमा विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति र कार्यपालिका बीच छलफल गरी निर्णय पुग्ने बस्यालले बताए । पालिका भित्र प्रशस्त मात्रामा सामुदायिक भवनहरू नभएकोले विद्यालय प्रयोग नगरीए विदेशबाट आएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा राख्नुपर्ने अध्यक्ष बस्यालले बताए ।
गाउँ–गाउँमा प्रयाप्त सामुदायिक तथा सार्वजनिक भवन नभएकै कारण सबै लाई सजिलो सहताको कारण विद्यालयलाई क्वारेन्टाइन बनाउनु पर्ने बाध्यताहरू आफुहरूको रहेको र क्वारेन्टाइनको अन्य वैकल्पिक व्यवस्था नगरी विद्यालयबाट क्वारेन्टाइन हटाउन कठिन हुने रम्भा गाउँपालिका पाल्पाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । यस विषयमा सर्वपक्षिय भेला राखी निर्णयमा पुग्ने उनले बताए ।
पाल्पामा तीन सय ९४ वटा सामुदायिक विद्यालय रहेकोमा दुई सयभन्दा बढी विद्यालयहरू क्वारेन्टाइनको रूपमा प्रयोग हँुदै आएका छन् । अहिले तत्काल सरकारको निर्देशन विना जिल्लामा विद्यालय संचालन गर्ने अवस्था नभएको जिल्ला शिक्षा तथा समन्व ईकाई प्रमुख रमेशराज पौडेलले बताए । विभिन्न वैल्पिक विधिको प्रयोग गरेर शिक्षकले बालबालिकालाई शिक्षण सिकाई गराउन सकिने भएकोले पहिले शिक्षकलाई खोज्दै विद्यार्थी जाने प्रचलन थियो अहिले विद्यार्थी खोज्दै शिक्षक हिंड्नु पर्ने अवस्था आएको ईकाइप्रमुख पौडेलले बताए ।
प्रधानाध्यापक र शिक्षकको जागर चलाएमा विद्यालयमा नगईकन पनि विभिन्न अनलाइन प्रविधिमार्फत कक्षागत रूपमा पठनपाठन गराउन सकिने र दैनिक रूपमा बालबालिकाहरूलाई गृहकार्य दिई व्यस्त बनाउन ईकाइ प्रमुख पौडेलले पाल्पाका शिक्षकहरूलाई आग्रह गरेका छन् । सरकारले वैकल्पिक विधिबाट नर्सरीदेखि कक्षा १० सम्म दिनहुँ पठनपाठन गराइ रहेको छ, सोही आधारमा आ –आफ्ना विद्यालयका बालबालिकाहरूलाई दैनिक रूपमा गृहकार्य दिन पाल्पाका शिक्षकहरूलाई ईकाइ प्रमुख पौडेलले अनुरोध गरेका छन् ।