गोविन्द घर्ती
देवदह
देवदह नगरपालिकाको सातौं नगरसभाको दोश्रो बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गरिएको छ । नगरसभामा उपप्रमुख विद्यालक्ष्मी गुरूङ्गले आर्थिक वर्ष २०७७÷०७८ को लागि एक अर्ब ६३ लाख ७८ हजार बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।
विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६÷०७७ को योजना सम्पन्न गर्न नसकिएकोले यस वर्ष पनि सोही योजनालाई निरन्तरता दिएको उपप्रमुख गुरूङ्गले बताइन् ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलाई विशेष प्राथमिकता दिएको उपप्रमुख गुरूङ्गले बताइन् । जसअन्र्तगत आर्थिक विकासतर्फ चार करोड ६२ लाख ३५ हजार, सामाजिक विकासतर्फ ४२ करोड १९ लाख, पूर्वाधार विकासतर्फ सात करोड १० लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड २७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १४ करोड ९१ लाख विनियोजन गरिएको छ ।
सातौं नगरसभाको दोश्रो बैठकमा दुई वटा विधेयक समेत पारित गरेको छ । नगरपालिकाको आर्थिक विधेयक २०७७ र देवदह नगरपालिका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक समेत पारित गरेको छ ।
नगरसभामा प्रस्तुत देवदह नगरपालिका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसहमतिले पारित गरेको छ ।
सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले आर्थिक वर्ष २०७६÷०७७ को लागि विनियोजित योजनाको समिक्षा गर्दै कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६÷०७७ को लागि विनियोजित योजना सम्पन्न गर्न नसकिएको बताए । उनले आर्थिक वर्ष २०७६÷०७७ मा चार सय २८ योजना अगाडि सारेकोमा दुई सय ३९ सम्झौता भइ काम भइरहेको, एक सय ८९ वटा सम्झौता हुन नसकेको, पाँच वटा मूल्यांकनको आधारमा भुक्तानी प्रदान गरेको र एक सय ५२ वटा काम सम्पन्न भइसकेको बताए ।
नगरप्रमुख खत्रीले विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण राहत वितरणलगायतका कार्यहरू गरेको बताए । उनले देवदह नगरपालिकाले कोभिड–१९ को रोकथामको लागि ४ वटा क्वारेन्टाइन निर्माण र व्यवस्थापनमा ५१ लाख १९ हजार खर्च भएको बताए । यसैगरी कोभिड–१९, ले दैनिक रूपमा ज्यालादारी र मजुदरी गरी जिविकोपार्जन गर्ने घरपरिवारमा पारेको नकारात्मक प्रभावलाई कम गर्न पाँच हजार ६ सय ९२ घरपरिवारलाई एक करोड ११ लाख आठ हजार बराबरको राहत वितरण गरेको जानकारी दिए ।
नगरप्रमुख खत्रीले कोभिड–१९ को चपेटाबाट प्रभावित शैक्षिक क्षेत्रलाई पुनःस्थापित गर्न रेडियो शिक्षा र टोल शिक्षा जस्ता कार्यक्रमहरू संचालन गरेको बताए ।
देवदह नगरपालिकाले यस आर्थिक वर्षमा राजश्व बढाएको नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपानेले बताए ।
उनले नगरपालिकाले दूधजन्य पदार्थ र कुखुरापालक किसानलाई उत्पादनको आधारमा अनुदानको व्यवस्था गरेको बताए । यस आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएको उनले बताए ।
यस आर्थिक वर्षमा प्रदेश ५, को सहकार्यमा देवदहमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र स्थापना गर्ने, वायो ईन्जिनियरिङ्ग कलेज समेत संचालन गर्ने गरी योजना निर्माण गरेको प्रवक्ता न्यौपानेले बताए । प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थीको संचालनमा भएको नगर सभामा सदस्यहरूले आ–आफ्ना भनाइ राखेका थिए ।